कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नाबालिग बलात्कारको सफाइ नपाउँदै राष्ट्रिय टोलीमा सन्दीप

फागुन २ देखि एक साता चल्ने विश्वकप लिग–२ त्रिकोणात्मक शृंखला खेल्दै

काठमाडौँ — नाबालिग बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेलाई समेट्दै नेपालले नामिबिया र स्कटल्यान्डविरुद्ध हुने विश्वकप लिग–२ त्रिकोणात्मक शृंखलाको अन्तिम टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गर्दै सन्दीपलाई पनि समेटेको हो ।

नाबालिग बलात्कारको सफाइ नपाउँदै राष्ट्रिय टोलीमा सन्दीप

कीर्तिपुरस्थित त्रिवि मैदानमा एक सातासम्म चल्ने खेल फागुन २ देखि सुरु हुनेछ । नेपालको टिममा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, ललित राजवंशी, गुलशन झा, भीम सार्की र सूर्य तामाङ परेका छन् ।

लामिछानेमाथि गत भदौ ५ मा एक नाबालिगलाई काठमाडौंको तिलगंगास्थित होटलमा लगेर बलात्कार गरेको अभियोग छ । राष्ट्रिय क्रिकेट टिमको नेतृत्व गरेर ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलका लागि केन्या उड्नु अघिल्लो साँझ उनी क्लोज क्याम्पबाट निस्केर नाबालिग बलात्कारमा मुछिएका हुन् । केन्याका खेलहरू सकेर जमैकामा सीपीएल खेलिरहेका बेला लामिछानेविरुद्ध पीडित किशोरीले भदौ २१ मा जाहेरी दिएकी थिइन् । त्यसपछि उनलाई सीपीएलले प्रतियोगिताबाट हटाएको थियो भने क्यानले भदौ २३ मा कप्तान र राष्ट्रिय खेलाडीबाट निलम्बन गरेको थियो ।

जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गर्दा दोषी पाएपछि सन्दीपविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । अदालतले प्राप्त प्रमाणका आधारमा दोषी देखिएको भन्दै गत कात्तिक १८ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । फौजदारी कानुनमा तीन वर्षभन्दा बढी कैद हुन सक्ने कसुरमा तत्काल प्राप्त प्रमाणका आधारमा अभियुक्त दोषी देखिए थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने प्रावधान छ ।

कसुर स्थापित भएका लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद हुन सक्छ । यस्तो कानुनका आधारमा जिल्ला अदालतले उनलाई थुनामा पठाएको थियो तर पाटन उच्च अदालतले गत पुस २८ मा लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दियो ।

उच्च अदालतले लामिछानेलाई तत्काल प्राप्त प्रमाणका आधारमा दोषी देखिने भने पनि थुनामा पठाउनुको साटो धरौटीमा छाडेपछि महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत पुगेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फँॅयालको एकल इजलासले शुक्रबार लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको फैसलासहितका मिसिल झिकाउने आदेश दिएको छ । लामिछानेविरुद्ध लागेको अभियोग, तत्काल प्राप्त प्रमाण तथा जिल्ला र उच्च अदालतले गरेका आदेशसमेत भएको ‘कैफियत प्रतिवेदन’ मगाउने आदेश भएको सर्वोच्च अदालतले जनाएको छ । उच्च अदालतले सर्वोच्चमा लामिछानेलाई धरौटीमा छाड्ने आदेश केका आधारमा भएको हो भन्नेबारे पनि छुट्टै रिपोर्ट बुझाउनुपर्नेछ ।

मुद्दाको अन्तिम टुंगो नलाग्दै नेपाल क्रिकेट संघ (क्यान) को माघ १७ मा बसेको बोर्ड बैठकले लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो । प्रतिबन्ध फुकुवा गरेसँगै क्यानले उनलाई खेलमा फर्काउँदै राष्ट्रिय टोलीमै समावेश गरेको हो ।

लिग–२ मा नेपालको यो सातौं शृंखला हो । नेपालले फेब्रुअरी १४ मा नामिबियासँग पहिलो खेल खेल्नेछ । फेब्रुअरी १५ मा नामिबिया र स्कटल्यान्ड, फेब्रुअरी १७ मा नेपाल र स्कटल्यान्ड, फेब्रुअरी १८ मा नेपाल र नामिबिया, फेब्रुअरी २० मा नामिबिया र स्कटल्यान्ड तथा फेब्रुअरी २१ मा नेपाल र स्कटल्यान्डबीच खेल हुनेछ ।

प्रकाशित : माघ २७, २०७९ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?