सरकारी सर्भर डाउन भएकोमा चासो राख्दै नीतिगत सुधार गर्न प्रधानमन्त्री दाहालको निर्देशन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारी सर्भर डाउन भएकोमा चासो राख्दै नीतिगत सुधार गर्न प्रधानमन्त्री दाहालको निर्देशन

‘साइबर सुरक्षा कसरी गर्ने, एकीकृत डाटा प्रणाली कसरी व्यवस्थित गर्ने, सूचना प्रणालीलाई कसरी एकीकृत र प्रभावकारी बनाउने भन्नेमा हामी छौं । सर्भर डाउन भएको घटनाबाट पनि हामीले शिक्षा लिन सक्नुपर्छ । त्यसका लागि नीतिगत र व्यवथापकीय क्षेत्रमा सुधार आवश्यक छ ।'
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारी निकायका सर्भर डाउन भएर सेवा नै ठप्प हुने अवस्था आएकोप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले चासो राख्दै यस सम्बन्धी नीतिगत सुधार गर्न निर्देशन दिएका छन् । गत शनिबार सरकारी सेवाका सर्भर डाउन हुँदा अध्यागमन लगायत सार्वजनिक सेवा ठप्प भएको थियो ।

यसबारे अहिलेसम्म के भएको भन्नेबारे यकिन जानकारी सार्वजनिक गरेका छैनन् । उक्त अवस्थाप्रति प्रधानमन्त्री दाहालले मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय मातहतका निकायहरूको बैठकमा चासो राखेका हुन् । यस क्रममा प्रधानमन्त्री दाहालले देशमा उच्चस्तरीय प्रशासन सुधार आवश्यक भएको बताएका छन् ।

उनले भने, ‘उच्चस्तरीय प्रशासन सुधार कार्यदल बनाउने कुरामा मेरो ध्यान गएको छ । अनावश्यक कार्यालय हटाउने, दोहोरो कार्यबोझ हटाउने, अनावश्यक कर्मचारी र खर्च घटाएर प्रशासनयन्त्र र सेवा प्रवाहलाई चुस्त बनाउन आवश्यक छ ।’

यस्तै उनले साइबर सुरक्षा कसरी गर्ने, डेटा प्रणाली कसरी व्यवस्थित गर्ने, सूचना प्रणालीलाई कसरी प्रभावकारी बनाउने लगायत विषयमा आफूहरू लागिरहेको बताएका थिए ।

‘साइबर सुरक्षा कसरी गर्ने, एकीकृत डाटा प्रणाली कसरी व्यवस्थित गर्ने, सूचना प्रणालीलाई कसरी एकीकृत र प्रभावकारी बनाउने भन्नेमा हामी छौं । सर्भर डाउन भएको घटनाबाट पनि हामीले शिक्षा लिन सक्नुपर्छ । त्यसका लागि नीतिगत र व्यवथापकीय क्षेत्रमा सुधार आवश्यक छ । त्यसका लागि नियमित बैठक र छलफल गर्नुपर्छ । बैठक र छलफल भएपछि मात्र समस्या कहाँ छ, समाधान कसरी गर्ने भन्ने थाहा हुन्छ । त्यसका लागि हामी सबै गम्भीर बनौं,’ प्रधानमन्त्री दाहालले भनेका छन् ।

यसैबीच उनले देश अहिले पनि अप्ठेरो अवस्थामै रहेको भन्दै आफूहरूले गम्भीर रुपमा काम गरेर परिणाम नदिए राष्ट्रको आवश्यकता सम्बोधन गर्न नसकिने चिन्ता व्यक्त गरेका थिए । तर अहिले मिलेर देश बनाउने र यस्तो अवस्था सुधार गर्ने सरकारका लागि अवसर भएको पनि उनको भनाइ थियो ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो तेस्रो कार्यकाल सिंहदरबारबाटै चलाउने पनि बताए । यसअघि सिंहदरबार बाहिर वा निवासबाटै शासन चलाउने गरेको प्रसंग जोड्दै उनले यसपटक त्यो गल्ती नदोहोर्‍याउने बताए । विशेष परिस्थितिमा बाहेक सिंहदरबारबाटै काम गर्ने सोच बनाएको उनको भनाइ थियो ।

‘यसपटक सिंहदरबारबाटै शासनको नेतृत्व गर्ने सोचेको छु, यसको विशेष अर्थ छ’, प्रधानमन्त्री दाहालले भने, ‘प्रधानमन्त्रीले सिंहदरबारबाट काम गर्नु भनेको राज्यका सबै अंगहरूको एकीकृत परिचालनको नेतृत्व गर्नु हो । राज्यका सबै अंगलाई जवाफदेही र उत्तरदायी बनाउनु पनि हो, दण्ड र पुरस्कारको व्यवस्थित प्रणाली स्थापित गर्नु हो ।’

उनले यसपटक आफूले नयाँ अठोटका साथ सरकारको नेतृत्व गरेको भन्दै सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षा पूरा गर्ने कुरालाई गम्भीर रुपमा लिएको बताए ।

बैठकमा बोल्दै नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले प्रधानमन्त्रीको सक्रियताले आफूहरूमा काम गर्ने उर्जा प्राप्त भएको प्रतिक्रिया दिएका थिए । उनले कागजमा उल्लेख गरेका विषय परिणाममा देखिनुपर्नेमा सबै सचेत हुनुपर्ने बताएका थिए । 'प्रधानमन्त्रीज्यूले काम गर्ने राम्रो वातावरण बनाउनुभएको छ । यो हामी सबैका लागि राम्रो अवसर हो । प्रधानमन्त्रीज्यू यसपटक केही गरेर छोडौँ भन्नेमा हुनुहुन्छ । त्यसले हामीलाई पनि उर्जा दिएको छ । त्यसका हामी सबैको पनि उच्च मनोवलका साथ क्रियाशीलताको खाँचो छ,’ मुख्यसचिव बैरागीले भने ।

प्रकाशित : माघ १७, २०७९ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्

पतिले जलाउँदा घाइते भएकी महिलालाई काठमाडौं पठाइयो

रुपा गहतराज

नेपालगन्ज — पतिले आइतबार राति पेट्रोल छर्केर आगो लगाउँदा जलेकी कोहलपुरकी महिलालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । कोहलपुर नगरपालिका वडा नं. २ का भानुभक्त विकले २६ वर्षीय पत्नी गंगा र दुई वर्षीय छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका थिए ।

आगोले जलेर घाइते भएका प्रिन्सको सोमबार मृत्यु भइसकेको छ । गम्भीर घाइते रहेकी गंगालाई थप उपचारका लागि मंगलबार दिउँसो काठमाडौं पठाइएको हो ।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंका अनुसार घाँटी, ढाडसहित शरीरको १८ प्रतिशत भाग जलेकी गंगालाई थप उपचारका लागि एम्बुलेन्सबाट काठमाडौं रिफर गरिएको हो ।

कोहलपुर प्रहरीले पत्नी र छोरालाई आगो लगाउने विकलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ ।आइतबार ६ बजेतिर घरमा पति भानुभक्त विकले पत्नी गंगा र दुई वर्षीय छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाएका थिए ।

प्रकाशित : माघ १७, २०७९ १९:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×