हिमचुलीमा हिउँ हैन डढेलो

चाँदीझैं टल्किने हिमाल धूवाँले फुङ्ग काला
पुसमा मात्रै गौरीशंकर क्षेत्रका ११ वनमा डढेलो
हिमपात नहुँदा किसानलाई खडेरी पर्ने चिन्ता
डढेलो चरण क्षेत्रसम्म आउनेमा गोठाला त्रसित
नाम्चे क्षेत्रमा दिउँसो गर्मी बढ्यो
केदार शिवाकोटी, भानुभक्त निरौला

दोलखा,सोलुखुम्बु — हिउँले ढाकिएर सेताम्मे हुने हिमाली क्षेत्रका डाँडाकाँडा यतिबेला डढेलोको धूवाँले धुम्मिएका छन् । सेताम्मे देखिने गौरीशंकर गाउँपालिका–८ स्थित सोतलीडाँडा गत बिहीबारयता लागेको डढेलोको धूवाँले डम्म ढाकिएको छ । गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने उक्त वनमा लागेको डढेलोबाट निस्केको धूवाँले आइतबारसम्म पनि गौरीशंकर हिमालसहित रोल्वालिङ हिमशृंखला ढाकेको छ ।

वनमा लागेको डढेलोका कारण चाँदीझैं टल्किने हिमाल धूवाँको तुँवालोले फुङ्ग देखिएका छन् । यतिबेला हिमपात भएर हिउँले ढाकिनुपर्ने उच्च लेकाली वनपाखा यस वर्ष पुसबाटै सुरु भएको डढेलोले थप कालो बनेका छन् ।

आइतबार भीमेश्वर नगरपालिका–२ स्थित निपुल सामुदायिक वनमा लागेको डढेलो स्थानीय र अग्नि नियन्त्रकले बल्लतल्ल नियन्त्रणमा लिएका थिए । गतसाता कालिञ्चोक क्षेत्रमा पर्ने बुकिनी डाँडाको सुक्राम सामुदायिक वनमा सल्केको डढेलो निभ्न नपाउँदै सोतलीमा लागेको डढेलोका कारण हिमाली शृंखला नै धूवाँले ढाकेको छ । यो क्षेत्रमा अहिले कुहिरो जस्तै गरी वन डढेलोको धूवाँ मात्रै देखिन्छ ।

यसअघि मध्य मंसिरबाट नै हिमपात हुन सुरु हुने हिमाली क्षेत्रमा यस पटक माघ आधाआधी बितिसक्दा पनि अझै हिमपात भएको छैन । हिउँदको समयमा उच्च लेकाली भेगका जंगलमा डढेलो विरलै लाग्ने गर्छ । तर यो वर्ष माथिल्लो क्षेत्रका वनमा निरन्तर डढेलो लगिरहेको छ । कालिञ्चोकका ७३ वर्षीय निमाछिरिङ तामाङले यहाँका वनमा हिउँदमै डढेलो लागेको पहिलो पटक थाहा भएको बताए । ‘मंसिर अन्तिमबाटै यी डाँडा हिउँले सेताम्मे हुन्थे,’ उनले भने, ‘यो वर्ष के भएको हो ? वनभरि आगो लागेको देखिन्छ, हिउँ देख्न पाएका छैनौं ।’ उनी २६ वर्षदेखि कालिञ्चोक क्षेत्रमा बस्दै आएका छन् । यहाँ माघ महिनामा ३ फिटसम्म हिमपात हुने गरेको उनले बताए । यो वर्ष यतिबेलासम्म हिमपात नहुँदा उनलाई खडेरी परेको चिन्ता छ । कालिञ्चोकको वनमा बिहानबाट डढेलो लागिरहेकाले चौंरीचरन क्षेत्रमा डढेलो पस्ने उनलाई चिन्ता छ । ‘डढेलो बढ्दै गएको छ, चरण क्षेत्रतिर पो जान्छ कि ?,’ उनले भने, ‘यस्तो मौसम आजसम्म भोग्नुपरेको थिएन, डढेलो आए गोठालाले चौंरी कता धपाउने ?’

गत पुस २५ मा कालिञ्चोक गाउँपालिका–५ स्थित नामथाली कालीपोखरी सामुदायिक वनमा लगातार दुई दिनसम्म डढेलो लागेको थियो । हिउँले ढाकिने उक्त जंगलमा डढेलो लागेको पहिलो पटक देखेको स्थानीय सुवास थामीले पनि बताए । ‘यी वन र डाँडा पुस पहिलो साताबाटै हिउँले ढाक्थ्यो,’ उनले भने, ‘पहिलो पटक वैशाखसम्म हिउँले ढाकिने जंगलमा पुस, माघमै डढेलो देख्दै छु ।’ हिमपातले वैशाखसम्म ढाकिने माथिल्लो क्षेत्रका जंगलमा विरलै डढेलो लाग्ने गरेको छ । समयमा हिमपात नहुँदा उच्च हिमाली क्षेत्रका वनहरूमा डढेलो लाग्न थालेको हो । जसका कारण वन्यजन्तुसमेत डढेलोको चपेटामा पर्ने गरेका छन् । पुसमा मात्रै गौरीशंकर संरक्षण क्षेत्रका ११ वटा वनमा डढेलो लागेको सूचना अधिकृत तुलसीप्रसाद दाहालले बताए । हिउँले ढाकिने डाँडा पुसबाटै डढेलोको धूवाँले ढाकिन थालेको उनले बताए ।

खासगरी दुर्लभ हार्वेको बासस्थान रहेको जिरी नगरपालिका–१ स्यामाको उच्च हिमाली क्षेत्रको जंगलमा लागेको डढेलो दुई दिन लगाएर नियन्त्रणमा लिइएको उनले बताए । ‘हिमपात हुनुपर्ने बेलामा उच्च हिमाली क्षेत्रका जंगलमा डढेलो लाग्न थालेको छ,’ उनले भने, ‘यसले माथिल्लो क्षेत्रका वन्यजन्तुको बासस्थानमा असर गरेको हुन सक्छ ।’ जंगलमा गोल पोल्न पसेका व्यक्तिले आगो निभाउन बिर्संदा वनमा क्षति हुने गरेको उनले बताए । पुसदेखि मध्य माघसम्म जिल्लामा १७ भन्दा बढी सानाठूला वनमा डढेलो लागिसकेको छ । तीमध्ये ११ वटा हिमाली वन रहेको संरक्षण क्षेत्रले जनाएको छ ।

हिमपात नभएपछि स्थानीयले वनमा जिलौटा पोल्दा हिमाली क्षेत्रमा तीव्र हावा चलेर वनमा डढेलो लाग्नेक्रम बढेको छ । माथिल्लो क्षेत्रमा हिमपात नहुँदा डढेलो मात्रै होइन उच्च भेगका किसान पनि प्रभावित बनेका छन् । यतिबेला उच्च हिमाली क्षेत्रमा आलु रोप्ने मौसम पनि हो । हिमपात नभएका कारण बारीमा चिस्यान नपसेर यहाँका किसानले आलु रोप्न पाएका छैनन् । उनीहरू रोप्न राखेका बीउमा मुना बढेर राखेकै ठाउँमा खेर जाने चिन्तामा छन् । दोलखाको ३५ प्रतिशत अर्थात् १९ हजार हेक्टर उच्च हिमाली क्षेत्रमा आलु खेती हुँदै आएको छ । बिगु गाउँपालिका–५ खार्थलका लाक्पा शेर्पाले आलु रोपे पनि माटोमा चिस्यान नपसेको बताए । ‘पुस पहिलो साता नै हिउँ पर्ला भनेर मंसिरमै आलु रोप्न बारी खनेर ठिक्क पारेका थियौं,’ उनले भने, ‘अहिलेसम्म हिमपात भएन, टुसा नआई बारीमै आलु मर्ला भन्ने चिन्ता छ ।’ कतिपयले आलु रोप्न हिउँ पर्ने साइत पर्खेर बसेको उनले बताए । माथिल्लो क्षेत्रमा हिमपात नभएमा देशैभरि खडेरी पर्ने उच्च हिमाली भेगका बासिन्दा बताउँछन् ।

हिमालहरूको गाउँ सोलुखुम्बुको खुम्बुमा जाडोयाम सकिनै लाग्दा एक पटक पनि हिउँ नपरेपछि स्थानीय चिन्तित छन् । सेताम्मे देखिनुपर्ने हिमालहरू काला पहाड जस्ता मात्रै देखिन थालेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाले बताए । ‘आजभन्दा १० वर्ष अगाडि पुसमै हिउँ पर्थ्यो, नाम्चे बजार र सबै हिमालहरू हिउँले ढाकिएका हुन्थे,’ उनले भने, ‘माघ अन्तिमसम्म त हिउँ पर्ने चक्रको अन्त्य नै हुन्थ्यो । यो वर्ष हिउँ पर्ने छाँटकाँट नै छैन ।’ यतिबेला जाडोले दिनभर कठ्यांग्रिने नाम्चे बजारमा हिजोआज दिउँसो गर्मी सुरु हुन थालेको छ । ‘सात दिन अगाडि नाम्चेको तापक्रम माइनस १० डिग्री सेन्टिग्रेड थियो तर आजकाल बिहान पनि माइनस १ भन्दा तापक्रम तल झर्न सकेको छैन,’ सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख भूमिराज उपाध्यायले भने, ‘अचम्मै भयो यो पटक त । पत्यारै नलाग्ने कुरा, नाम्चेमा दिउँसो गर्मी हुन्छ ।’

उनका अनुसार अहिले नाम्चे र स्याङबोचेबाट देखिने सबै हिमालहरूमा हिउँ छैन । कतिपय हिमाल त काला पहाड जस्तो मात्रै देखिन थालेका छन् । विश्वव्यापी जलवायु परिवर्तनको प्रत्यक्ष असर सगरमाथा क्षेत्रमा देखिन थालेको बुझाइ स्थानीय अगुवाहरूको छ । ‘पुसमा हिउँ पर्ने त कुरै छाडौं तुषारोसमेत परेन,’ नाम्चेका युवा तथा पर्यटन व्यवसायी छिमिकाल्देन शेर्पाले भने । उनका अनुसार हिउँ नपर्दा कृषिलाई समेत नकारात्मक असर पर्नेछ । ‘आलुलगायत बाली रोप्नका लागि जमिन भिज्नुपर्ने थियो, न हिउँ पर्छ न त पानी नै,’ उनले भने । उनका अनुसार हिउँ पर्ने सिजनमा नै बदलाव आएको छ ।

‘पहिला फागुनतिर त हिउँ पर्ने सिजन नै अन्त्य हुन्थ्यो तर अहिले भने माघ उकालो लाग्दासमेत हिमपातको सुरसार नै छैन,’ शेर्पाले भने । यता खुम्बु क्षेत्रमा तत्काल हिउँ पर्ने सम्भावना नरहेको मौसमविद्हरू बताउँछन् । आउँदा ३–४ दिनको मौसम हेर्दा खुम्बुमा हिमपात तथा वर्षाको सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए । ‘पश्चिमी न्यून चापीय वायुले ल्याउने मनसुनी प्रभाव अहिले पश्चिम नेपालतिर मात्रै देखिएको छ,’ उनले भने, ‘पूर्वमा तत्काल हिमपात र वर्षाको सम्भावना देखिन्न ।’ विश्वको सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरमाथिका अग्ला ४ वटा हिमाल रहेको खुम्बु क्षेत्रमा हिमपात नहुँदाको असर कस्तो पर्ला भन्ने चिन्तामा स्थानीय छन् ।

प्रकाशित : माघ १६, २०७९ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्

प्रहरी हिरासतको पर्खाल भत्काएर धनुषामा ६ थुनुवा फरार

सन्तोष सिंह

धनुषा — धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतको पर्खाल भत्काएर थुनुवाहरु फरार भएका छन् । लागुऔषध, हातहतियार, अभद्र व्यवहारका ७ जना थुनुवामध्ये ६ जना थुनुवा फरार भएका हुन् ।

पुरानो घरमा रहेको हिरासत कक्षको शौचालयको ढोका फोडेर ढोकाको बिड लिएर पर्खालबाट इँटा झिकेर बिहान ३ बजे थुनुवाहरु फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खडकाले बताए ।

थुनुवा फरार घटनाको छानविनकालागि समिति गठन गरिने र फरारहरुको खोजि गर्न विशेष टोली खटाइएको खडकाले बताए ।

प्रहरी हिरासतमा रहेका लागुऔषध मुद्दाका आरोपित विनोद कुमार शर्मा, सार्वजनिक अपराध मुद्दाका आरोपित अमित मण्डल, रोशन यादव, अभद्र व्यवहार मुद्दाका आरोपित हसिम सिंह, रोशन महतो र हातहतियार मुद्दा आरोपित रोशन महतो र शंकर सिंह पर्खाल भत्काएर फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । हिरासतबाट फरार ६ जनालाई म्याद थप गराएर अनुसन्धानका लागि हिरसातमा राखिएको थयो ।

थुनुवा फरार भएपछि इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेचन यादव विवादमा तानिएका छन् । लामो समय देखि इलाका प्रहरी कार्यालय महेन्द्र नगरको इन्चार्जमा रहेका यादव यसअघि पनि पटकपटक विवादमा तानिएका छन् । यादव यसअघि महिला प्रहरीलाई दुर्व्यवहार गर्दा विवादमा तानिएका थिए ।


प्रकाशित : माघ १६, २०७९ ०९:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×