अमेरिकी पासपोर्टमा नेपाल छिरेको १६औं दिनमा नेपाली पासपोर्ट - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकी पासपोर्टमा नेपाल छिरेको १६औं दिनमा नेपाली पासपोर्ट 

सांसद बन्ने योग्यतामाथि परेको मुद्दामा संवैधानिक इजलासमा आज अन्तिम सुनुवाइ सुरू हुँदै
जयसिंह महरा

काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले एकै पटक अमेरिकी र नेपाली दुवै नागरिकका हैसियतमा नेपालमा बसेको पुष्टि भएको छ । अमेरिकी पासपोर्ट बोकेर सन् २०१५ मा नेपाल आएको १६औं दिनमा उनले नेपालको पनि पासपोर्ट लिएका थिए । तर अमेरिकी पासपोर्ट भने उनले सन् २०१८ मा मात्र त्यागेका हुन् । 

५१२९६६९८१ नम्बरको अमेरिकी पासपोर्टमा गैरपर्यटक (नाता) भिसा लगाएर उनी ११ मे २०१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । २७ मे २०१५ मा उनले ०८८३४८३८ नम्बरको नेपाली पासपोर्ट लिएका थिए । यो पासपोर्ट लिन उनले २०५० फागुन १० मा जारी भएको १८२२२ नम्बरको नेपाली नागरिकता बुझाएका थिए । जबकि उनको समेत भनाइमा अमेरिकी नागरिकता लिएपछि नेपाली नागरिकता कायम थिएन ।

पर्यटक भिसामा काम गर्ने अनुमतिलगायतका विषयमा विवाद भएसँगै लामिछानेले सन् २०१८ मा अमेरिकाको नागरिकता र पासपोर्ट त्यागको प्रक्रिया थालेका थिए । उनले २०७५ जेठ ५ मा नेपालस्थित अमेरिकी दूतावासमा निवेदन दिई नागरिकता त्याग्न लाग्ने दस्तुर बुझाएर प्रक्रिया अगाडि बढाएका थिए । उनले अमेरिकी नागरिकता परित्याग र पासपोर्ट ‘सरेन्डर’ गरेको स्वीकृतिपत्र २०७५ असार १४ मा प्राप्त गरेका थिए । उनले सन् २०१५ मै लिएको नेपालको पासपोर्ट प्रयोगमा ल्याएका थिए । सन् २०१८ सेप्टेम्बर २० मा जापान र कोरिया भ्रमण जाने क्रममा उनले उक्त पासपोर्ट प्रयोग गरेका थिए ।

नेपालको पासपोर्ट ऐन, २०७६ मा ‘झूटा विवरण दिई पासपोर्ट वा यात्रा अनुमतिपत्र लिए वा लिन प्रयत्न गरे’ जरिवाना र सजाय हुने व्यवस्था छ । त्यस्तो गर्ने व्यक्तिलाई दुईदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि तीन वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । दुई देशको पासपोर्ट बोकेको तथा निष्क्रिय भएको विवरण दिएर पासपोर्ट लिएको विवाद सार्वजनिक हुँदा पनि जिल्ला प्रशासन कार्यालयले अनुसन्धान नगरी विवरणमात्रै अदालतमा पठाएको छ । लामिछाने सांसद बन्ने योग्यतामाथि परेको मुद्दामाथि बुधबार संवैधानिक इजलासमा अग्राधिकारसहित सुनुवाइ सुरु हुँदै छ ।

नागरिकतामा नजिर बनाउँदै गृहमन्त्रीको मुद्दा

सर्वोच्च अदालतले नागरिकतासम्बन्धी छानबिनको फाइल झिकाएकामा प्रहरीले भने अधुरै प्रतिवेदन पठाएको छ । लामिछानेको नागरिकताका सम्बन्धमा परेको उजुरीमाथि जिम्मेवारीपूर्वक छानबिन तथा अनुसन्धान गर्न गृह मन्त्रालयले गत मंसिर १२ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र पठाएको थियो । अमेरिका र नेपालको दोहोरो नागरिकताका सम्बन्धमा जिल्ला प्रशासनले त्यही दिन प्रहरी परिसरलाई पत्र लेखेको थियो । तर सर्वोच्चमा अनुसन्धानको अधुरो फाइल पुगेको छ ।

काठमाडौं प्रहरी परिसरका एक अधिकृतले लामिछानेको नागरिकता विवादसँग सम्बन्धित अनुसन्धानको सक्कली फाइल सर्वोच्च पठाइएको बताए । ‘फाइलमा गृहले पठाएको पत्र, त्यससँग सम्बन्धित निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय चितवन र जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायतसँग भएका पत्राचार छन्,’ उनले भने ।

जिल्ला प्रहरी परिसर काठमाडौंले पासपोर्ट विभागलाई पनि पत्र पठाएको थियो । विभागबाट लामिछानेका नाममा सन् २००६ जनवरी ३० र सन् २०१५ मे २७ मा गरी दुईपटक पासपोर्ट जारी भएको जवाफ प्रहरीले प्राप्त गरेको छ । अमेरिकास्थित नेपाली दूतावासबाट समेत लामिछानेले पासपोर्ट लिएको र त्यसक्रममा पेस गरेको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि माग गरिए पनि प्राप्त नभएको जानकारी विभागले प्रहरी परिसरलाई दिएको छ ।

प्राप्त पत्राचारहरूको विवरण संकलन गरेर प्रहरीले सर्वोच्चलाई पठाएको छ । यसमा थप अनुसन्धान भने गरेको छैन । नागरिकतामाथि छानबिन जारी रहेको बेला लामिछाने पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका थिए । लगत्तै उनी कार्यक्षेत्रभित्र नपर्ने पासपोर्ट विभागमा अनुगमन गर्न पनि पुगेका थिए । आफ्नै नागरिकताको विषयमा अनुसन्धान गरिरहेको मन्त्रालयको नेतृत्वमा आउँदा स्वार्थ बाझिन्छ नि भन्ने प्रश्नमा लामिछानेले भनेका थिए, ‘गृह प्रशासनले सबैलाई समान रूपमा हेर्छ । भइरहेको अनुसन्धानलाई स्वतन्त्र रूपमा अघि बढाउँछ ।’

गृहमन्त्री लामिछानेले सर्वोच्च अदालतलाई आफूले २०५० फागुन १० मा लिएको नेपाली नागरिकता अमेरिकी नागरिकता प्राप्त गरेपछि पनि नत्यागेकाले पुनः प्राप्तिको प्रक्रियामा जान नपर्ने जिकिर गरेका छन् । नेपाल नागरिकता ऐन, २०६३ को दफा १० ले ‘नेपालको कुनै नागरिकले आफूखुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन’ भन्ने व्यवस्था गरेको छ । त्यसरी प्राप्त विदेशी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता लिन चाहेमा निश्चित प्रक्रिया पूरा गर्नॅपर्ने पनि ऐनको व्यवस्था छ ।

ऐनको दफा ११ मा ‘कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरी पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ’ भनिएको छ । त्यसका लागि अनुसूची ११ बमोजिमको निवेदन दिनुपर्ने पनि भनिएको छ । लामिछानेले भने यस प्रक्रियामा आफू सहभागी नभएको स्वीकार गरेका छन् । उनले भनेका छन्, ‘नेपाली नागरिकता त्यागी विदेश (अमेरिका) गएको अवस्था नहुँदा नियम ११ को कार्यविधिअनुसार नागरिकता त्यागी विदेश गएको र पुनः कायम गरी पाउँ भनी हुँदै नभएको झूटा विवरण दिई निवेदन गर्न सक्ने अवस्था आउँदैन ।’

संसद् सदस्यका लागि लामिछाने अयोग्य रहेको जिकिर गर्दै युवराज पौडेलले एकल तथा रविराज बसौला र नानीबाबु खत्रीले संयुक्त रूपमा सर्वोच्चमा रिट दर्ता गरेका थिए । रिटमा निर्वाचन आयोग र लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि विपक्षी बनाइएको छ । रिट निवेदकले लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीमा रहेका सबैखाले आबद्धता (सभापति र साधारण सदस्य) गैरकानुनी घोषणा गर्न माग गरेका छन् । निर्वाचन आयोगमा उम्मेदवारको योग्यतासम्बन्धी उजुरी पर्दा निर्णय गरिरहन नपर्ने भनेर आयोगले मंसिर १३ मा गरेको निर्णय र लामिछानेलाई सांसदका रूपमा मान्यता दिने सम्पूर्ण दस्ताबेज एवं प्रमाणपत्र उत्प्रेषणको आदेशले बदर गर्न रिटमा माग गरिएको छ ।

निवेदकले लामिछानेलाई कैद सजाय र जरिवाना हुनुपर्ने माग पनि गरेका छन् । उनीहरूको निवेदनमा नेपाली नागरिकले मात्रै मतदान गर्न पाउनुपर्ने कानुनी व्यवस्थाको उल्लंघन गरी निर्वाचन आयोगले गैरनेपाली नागरिक लामिछानेलाई मतदान गर्न दिएको र त्यस्तो गर्नेलाई कारबाही नगरेको हुनाले निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३, को दफा १४ अनुसार एक लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय गर्नका लागि परमादेश माग गरिएको छ ।

लामिछानेले कायम नरहेको नागरिकतालाई वैध नागरिकता भनी झूटो विवरणका आधारमा कायम नभएको नागरिकता प्रचलनमा ल्याई प्रयोग गरेकामा नेपाल नागरिकता ऐन, २०६३ को दफा २१ को व्यवस्थाअनुसार १ वर्षदेखि ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न पनि माग गरिएको छ । लामिछानेले २०५० फागुन १० मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट वंशजको नागरिकता लिएका थिए ।

प्रकाशित : माघ ११, २०७९ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्

परिवारले प्रेम सम्बन्ध नस्वीकार्दा...

बलात्कार आरोप खेपेर थुनामा परेका राजेशले छुटेपछि पवित्रालाई फेरि प्रत्यक्ष भेटेको–बोलेको घरपरिवारले देखेका थिएनन्
अर्जुन राजवंशी

कचनकवल, झापा — डेढ वर्षदेखिको तनावपूर्ण प्रेम सम्बन्धमा रहेका एक जोडी मंगलबार मृत भेटिएका छन् । कचनकवल गाउँपालिका–४ का २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशीको शव स्थानीय एभरेस्ट चिया बगानको शिरीषको रूखमा एउटै पासो झुण्डिएको अवस्थामा फेला परेको हो ।

केही वर्षयता प्रेम सम्बन्धमा रहेका उनीहरूले २०७८ साउन ११ मा भागी विवाह गरेका थिए । सीमावर्ती आदिवासी बस्तीका दुवैका परिवारले भागी विवाह स्वीकार गरेको थिएन । केटी नाबालिग नै भएकाले कानुनी रूपमा समेत सम्बन्ध जोड्न उनीहरूलाई कठिन भएको थियो । करिब डेढ महिना पवित्रा राजेशको घरमा बसेकी थिइन् । त्यसपछि माइती पक्षले सम्झाइबुझाइ फर्काएर लगेका थिए । छोरीको प्रेम प्रसंगका कारण राजवंशी परिवार गाउँमा लज्जित थियो ।

पवित्राका पिता भुवनलालले छोरीमाथि जबर्जस्ती करणी गरेको आरोप लगाउँदै राजेशविरुद्ध सोही वर्ष असोजमा प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीपछि राजेश पक्राउ परे । उनी दुई महिना थुनामा जिल्ला कारागार बसे । घटनाले कानुनी रूप लिइसकेकाले मिलेर अघि बढ्न सामाजिक दबाब परेपछि दुवै परिवार पटक–पटक छलफलमा बसे ।

अन्ततः दुवै परिवारको सहमतिअनुसार केटी पक्षले अदालतमा बयान फेर्‍यो । बयान फेरिएपछि राजेश थुनामुक्त भए । केचनास्थित महेन्द्ररत्न आधारभूत विद्यालयमा कक्षा ८ की छात्रा पवित्राको पढाइ छुट्यो । उनी घरमै बस्न थालिन् । एक किलोमिटरको दूरीमा घर भएका दुवै जनाको हिँडडुलको बाटो एउटै थियो । पवित्राको घरनजिकै माछापोखरी छन् । गाउँपालिकाअन्तर्गतका ती पोखरीमा राजेश काम गर्थे । केही महिनायता पोखरीको डिलसँगै राजेशले आफ्नै कुखुरा फार्मसमेत खोलेका थिए । उनी फार्ममै बढी समय बिताउँथे ।

‘फोन पनि थिएन । घर ल्याएपछि उनीहरू दुवै कहिल्यै सँगै बोलेको पनि थाहा भएन,’ पवित्राकी आमा मनवती राजवंशीले छोरी वियोगको पीडा पोख्दै भनिन्, ‘राम्रैसँग बसेकी थिइन् । पहिला जस्तै सामान्य अवस्थामै थिइन् । कसरी यति कठोर निर्णयमा पुगिन् हामीलाई सोच्नै गाह्रो भइरहेको छ ।’

पवित्राको घरदेखि करिब पाँच सय मिटरपूर्व राजेशको कुखुरा फार्म छ । राजेश सोमबार राति त्यही फार्ममा भाइ दिनेशसँगै सुतेका थिए । दिनेशका अनुसार राजेश करिब बिहान ३ बजे उठेर बाहिर निस्किएका थिए । पिसाब गर्न बाहिर गएका होलान् भनेर भाइले वास्ता गरेनन् । निन्द्रामा परे । बिहान करिब ५ बजे ब्युँझिएर हेर्दा दाजुलाई ओछ्यानमा नदेखेपछि दिनेश आत्तिए । उठेर टर्चलाइट बालेर कुखुरा फार्मको चारैतिर हेरे । बाहिर निस्किएर माछा पोखरीतिर पनि हेरे । देखेनन् । उनले टर्चलाइट पोखरीको दक्षिणपट्टि रहेको चिया बगानतिर बाले ।

टर्चलाइटको उज्यालोले रुखमा कोही झुण्डिएकोजस्तो देखे । दिनेशले चिच्याउँदै गुहार मागे । उनको चिच्याहटले गाउँलेहरु ब्युँझिए । दौडिंदै बगानमा पुगेका दिनेशले दाजु राजेशसँगै पवित्रालाई पनि एउटै पासोमा झुण्डिएको अवस्थामा भेटे । राजेश जिन्स पाइन्ट र खैरो ज्याकेटमा थिए । पवित्राले गुलाबी रंगको कुर्तासुरुवाल र वीन ज्याकेट लगाएकी थिइन । आपसमा मुखामुख गरेर झुण्डिएकी पवित्राको सिउँदो एवं अनुहार रातो रंगले रंगिएको थियो ।

साँझ परिवारका सबैलाई खान पकाएर खुवाएर दुई बहिनीसँगै सुतेकी पवित्रा राति कति बजे उठेर घरबाट निस्किएकी हुन् भन्ने थाहा नभएको उनकी माइली दिदी महवतीले बताइन् । ‘कल्पना नै गर्न नसकिने घटना भयो,’ राजेशका सानो बुबा लालबहादुर गणेशले भने, ‘परिवारको जेठो छोरो । घरको सबै जिम्मेवारी सम्हाल्दै थियो । उसैमाथि यस्तो घटना भयो ।’

उनले प्रेम सम्बन्धका कारण दुवै परिवार केही समय तनावमा रहे पनि केही महिनायता अवस्था सामान्य भइसकेको बताए । ‘राजेशले पवित्रालाई भगाएर ल्याएपछि केही महिना निकै समस्या भयो । मुद्दा मामिलासमेत भयो । तर, मुद्दा मिलिसकेपछि राजेश आफ्नो दैनिकीमा फर्किसकेका थिए,’ उनले भने, ‘भर्खरै मात्र राजेशले अढाई बिघा खेतीमा मकै लगाएका छन् । कुखुरा पनि एक लट बिक्री गरेर अर्को लट तयार गरिरहेका थिए । अचानक यस्तो घटना भयो ।’

गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद राजवंशीले परिवारले प्रेम सम्बन्ध स्वीकार गर्न नसक्दा यस्तो दुःखद् घटना भएको बताए । उपाध्यक्ष नवराज भट्टराईले आदिवासी समुदायमा चेतनाको कमी तथा अन्तरजातीय विवाहलाई स्वीकार गर्न नसक्दा घटना भएको बताए । राजेश र पवित्राले आत्महत्या गर्नुअघि फिल्मी शैलीमा विवाह गरेका छन् । राजेशले पवित्राको सिउँदोमा सिन्दुर लगाइदिएर आत्महत्या गरेका थिए । ‘घटनाको प्रकृतिले परिवारले छुट्टाए पनि उनीहरूको मन छुट्टिएको रहेनछ भन्ने देखियो,’ जिल्ला प्रहरीका डीएसपी वसन्त पाठकले भने ।

गत साउन १० मा कचनकवल–५ दलेगाउँमा तीन जना किशोरी एउटै रूखमा भुन्डिएको अवस्थामा मृत फेला परेका थिए । स्थानीय सुनकोसी चिया बगानभित्र बयरको रूखमा १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जली गणेश र १७ वर्षकै कल्पनाकुमारी गणेश झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । उनीहरू तीनै जना चिया बगानका मजदुर थिए ।

घटनाको जिल्ला र प्रदेश प्रहरी कार्यालयबाट टोली खटिएर अनुसन्धान गरिए पनि उनीहरूको मृत्युको कारण अझैसम्म खुल्न सकेको छैन । ‘धेरैपटक विभिन्न कोणबाट अनुसन्धान गरे पनि घटनाको कारण यही हो भनेर ठोस तथ्य पत्ता लगाउन सकेका छैनौं,’ डीएसपी पाठकले भने ।

प्रकाशित : माघ ११, २०७९ ०७:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×