सागरको राजनीतिक सन्देश- समाचार - कान्तिपुर समाचार

सागरको राजनीतिक सन्देश

डडेलधुरामा ३१ वर्षीय सागरले प्रधानमन्त्री देउवासँग चुनावी प्रतिस्पर्धा मात्रै गरेनन्, संगठित शक्ति र विरासतबिनै कसरी सम्मानजनक मत ल्याउन सकिन्छ भनेर देखाए
डीआर पन्त

डडेलधुरा — चार महिनाअघि सामाजिक सञ्जालमा ‘नाइट बस चढेर डडेलधुरा जाँदै छु’ लेखेर फेसबुकमा पोस्ट गर्ने बेलासम्म सागर ढकाल जिल्लाका निम्ति परिचित नाम थिएन । पुराना नेतादेखि कार्यकर्ता कसैसँग सागरको न कुनै सम्बन्ध थियो न सामान्य चिनाजानी । तर, यही अपरिचित भूगोलमा आएर नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग स्वतन्त्र उम्मेदवारी दिएर पराजय बेहोरे पनि सागरले सिंगो डडेलधुरामा नयाँ राजनीतिक बहस सुरु गराइदिए ।

देउवाले २५ हजार ५ सय ३४ मत ल्याए भने सागरले पुराना प्रतिस्पर्धी दलका अन्य उम्मेदवारले भन्दा धेरै अर्थात् १३ हजार ४३ मत ल्याए । उनको यो मतले दशकौं पुरानो राजनीतिक विरासतमा प्रश्न मात्रै छाडेको छैन, धेरैको मन पनि जितेको छ ।

अढाई दशकदेखि देउवाका प्रियपात्र रहेका कर्ण मल्लदेखि अन्य दलका रैथाने उम्मेदवारलाई मतले पछि पारेर गुल्मी सत्यवती–६ खैरेनीका ३१ वर्षीय सागरले व्यक्तिगत अठोट मात्रै भयो भने जहाँबाट पनि चुनाव उठ्न सकिन्छ र त्यसका निम्ति कुनै शक्तिको छातामुनि बस्न पर्दैन भन्ने सन्देश दिएका छन् । सुरुवाती दिनमा सागरको चुनावी कुदाकुदको दृश्य धेरैका निम्ति अनौठो थियो । चार महिनामा जिल्लाका ५२ वटै वडा घुमेका सागरले यसबीच जात्रा र मेलामा डेउडा गाउनेदेखि स्थानीयकै चुलोमा बसेर खाना खाएर उनीहरूलाई नजिकबाट बुझ्ने प्रयत्न गरे । जनतासँग नजिकिएकै कारण कुनै संगठित शक्ति र विरासतबिनै सागरले दोस्रो धेरै मत ल्याएका छन् ।

चुनावी कुदाकुदमा उनले सुदूरपश्चिमको भूगोल मात्रै बुझेनन्, यहाँको भाषा, संस्कृति र परम्परालाई पनि नजिकबाट नियाले । सुरु–सुरुमा शक्तिशाली दलको सभापतिको किल्लामा चुनाव लड्न आएको भन्दै उनलाई हियाउने पनि कम थिएनन् । अहिले उनीहरूले नै राजनीति गर्नेहरूका निम्ति जनतासँगको संवादको कति अर्थ रहेछ भनेर बुझ्न थालेका छन् ।

नाइट बसमा डडेलधुरा पुग्दा सागरले काठमाडौंबाट हिँड्ने बेला लेखेको स्टाटस भाइरल भइसकेको थियो । डडेलधुरा पुगेर सुरुमा परशुरामपुरका स्थानीय इन्जिनियर महेश धामीलाई भेटे । यही भेटपछि उनले चुनावी अभियान सुरु गरे । प्रदेश १ बाट उम्मेदवार बनेका महेशले उनलाई डडेलधराको भूगोल मात्रै चिनाएनन्, सदरमुकामका युवा सुरत तमोली, दीपक नाथ, नवीन साउद, ईश्वर नेपाललगायतलाई प्रचारप्रसारको टिममा पनि जोडे । यसरी शून्यबाट सुरु भएको उनको राजनीतिक गतिविधि बिस्तारै गाउँतर्फ मोडिँदै गयो । प्रचारका क्रममा मतदाताकै घरमा खानेबस्ने गरे, उनको यो शैलीले स्थानीयसँग नजिकिन सघायो । कतिपय गाउँलेले त उनलाई चन्दा नै उठाएर खर्च पानी पनि जुटाइदिए ।

‘म सदरमुकाममा एक जना दिदीको घरमा कोठा भाडा लिएर बसेको छु,’ सागरले भने, ‘उहाँको नाम थाहा छैन, जिल्ला प्रशासन जाने बाटोमा उहाँको घर छ ।’ साढे दुई हजार रुपैयाँ पर्ने एउटा कोठा भाडामा लिएर झोला बिसाएपछि कैयौं दिनसम्म सागर डेरामा फर्किएनन् । बुधबार कान्तिपुरसँग कुराकानी गर्दै उनले भने, ‘इतिहासको ब्याज मात्र खाएर मुलुक बन्न सक्दैन, समाजमा असल छवि भएका, पढेलेखेका र मुलुकका लागि केही गर्नुपर्छ भन्ने भावना बोकेका युवा राजनीतिमा आउनुपर्छ भन्ने मान्यता बोकेर डडेलधुरा आएको हुँ ।’ इमानदार भएर जनतामाझ जाने हो भने चुनावमा कुनै खर्च लाग्दैन भनेर पनि उनले बुझ्न पाए । ‘कहीं पनि मैले खानबस्नका लागि खर्च गर्नुपरेन । गाउँलेले माया गरेर खाना दिए, बासको प्रबन्ध मिलाए,’ उनले भने, ‘एक सयदेखि २५ हजारसम्म आर्थिक सहयोग पनि गरे ।’ डेरा लिएको कोठामा आफू मतगणना सुरु भएपछिका चार दिन मात्रै सुत्न पाएको उनी बताउँछन् ।

सागरले चुनावी प्रचारमा सहरभन्दा गाउँलाई धेरै प्राथमिकतामा राखेका थिए । सुरुमा जिल्लाका दुर्गम गाउँ पुगेका उनले दोस्रो चरणमा सदरमुकाम क्षेत्रका गाउँलक्षित प्रचार गरे । तेस्रो चरणमा मात्रै सहरी क्षेत्रका मतदातासम्म पुगे । सागरको प्रचारलाई नियालिरहेका जोगबुढाका युवा हरि धामी भन्छन्, ‘प्रचार गर्दा उनी मुलुकमा भइरहेको बेथिति, विकास हुन नसक्नुका कारण, दल र दलका नेताको अकर्मण्यतादेखि वडा र प्रधानमन्त्री कार्यालयसम्म भइरहेको संस्थागत भ्रष्टाचारका विषयमा सर्वसाधारणलाई जानकारी गराउँथे, त्यसैले धेरैले उनका कुरा सुने ।’ सागरले स्वदेशमा रोजगारी नपाएर विदेशिनुपर्ने बाध्यताका कथादेखि रोजगारी सिर्जना हुन नसक्नुका कारण र कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने विषयलाई पनि केन्द्रमा राखे । परम्परागत दलका उम्मेदवारले कहिल्यै नसुनाएका कुरा उनले बुझाइरहेको आफूले आएको धामी बताउँछन् ।

भागेश्वरका युवक ललित भट्टका अनुसार ‘देउवाविरुद्ध चुनाव लड्ने केटो कस्तो रहेछ’ भनेर सर्वसाधारण सुरु–सुरुमा सागरलाई हेर्ने जान्थे । ‘सागरले जसरी मसिनो तरिकाले मतदातालाई आफ्नो उद्देश्य बताउन थाले, दोस्रो पटक गाउँ आउँदा सर्वसाधारण स्वस्फूर्त उनैको सभामा ओइरिन थाले ।’ चुनावी पराजयपछि पनि सागर जिल्लामा चर्चाको केन्द्रमा नै छन् । उनले छोटो अवधिमै कसरी यति धेरै मत ल्याए भनेर धेरैले कुरा गरिरहेका भेटिन्छन् ।

सागरले दुई/अढाई हजार मत ल्याउलान् भन्ने धेरैले सुरुमा अनुमान गरेको भागेश्वर गाउँपालिकाका शिक्षक भुवन भट्टले सुनाए । लामो समय राजनीतिमा बिताएका कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्लभन्दा झन्डै दोब्बर मत ल्याएका सागर भन्छन्, ‘रोजगारीका लागि बिदेसिएका युवाका परिवार, जिल्लामै रहेका १८ देखि ४० वर्षमुनिका अधिकांश युवा, पार्टी र पार्टीका उम्मेदवारप्रति असन्तुष्ट मतदाताले मलाई मत दिएका हुन् ।’ भट्टका अनुसार सामाजिक सञ्जालमा सक्रिय रहेकाले पनि तेस्रो मुलुक र भारतमा रोजगारीमा रहेका युवाले आफ्ना परिवारलाई सागरलाई मत हाल्न आग्रह गरेका थिए । यस्ता परिवारले सागरलाई स्वस्फूर्त आर्थिक सहयोग पनि गरेको भट्ट बताउँछन् । ‘रोजगारीका लागि देशबहिर रहेका युवा साथी र प्रचार क्रममा गाउँमा जाँदा स्थानीयले दिएको चन्दा जोड्दा झन्डै १६ लाख रुपैयाँ जम्मा भएको छ,’ सागरले भने ।

प्रधानमन्त्री देउवाबाहेक डडेलधुरामा कांग्रेस बीपीका कर्ण मल्ल, राप्रपाका गोविन्द खडायत दलबाट उम्मेदवार थिए । एमालेका केन्द्रीय सदस्य भइसकेका विक्रम शाही स्वतन्त्र उम्मेदवार थिए । एमालेले सुरुमा मल्ललाई सहयोग गर्ने निर्णय गरे पनि पछि जिल्लास्तरका कमिटीले सहयोग नगर्ने निर्णय गरे । यस्तो पृष्ठभूमिमा एमालेको असन्तुष्ट मत पनि सागरले पाउँदा उनको धेरै मत आएको कतिपयको आकलन छ । स्वतन्त्र उम्मेदवार शाहीले ५ सय मत पनि पाएनन् । राजनीतिक दलमा आबद्ध तर नेतृत्वप्रति असन्तुष्टको ठूलो मत सागरले पाएको देखिन्छ ।

दलसँग आबद्ध शिक्षक र बुद्धिजीवीको एउटा तप्का खुलेर नलागे पनि भित्री रूपमा उनीहरूले सागरलाई नै सहयोग गरेका थिए । ‘विदेशमा रहेका युवाका परिवार मात्र होइन जिल्लाका शिक्षित र विवेकशील मतदाताका मत पनि मैलै नै पाएको छु,’ सागरले भने ।

पाँच वर्षअघि बीबीसी मिडिया एक्सनको साझा सवाल कार्यक्रममा तत्कालीन प्रधानमन्त्री देउवासँग सवालजवाफ गरेर त्यसबेला चर्चामा थिए सागर । पुल्चोक क्याम्पसबाट हाइड्रो मेकानिकल इन्जिनियरिङको पढाइ सकेका उनले पराजयपछि पनि आफ्नो राजनीतिक यात्रा नरोकिने सुनाए । ‘यो सुरुवात मात्रै हो, म सुदूरपश्चिमबाट अर्को आमनिर्वाचनका लागि अभियान सुरु गर्ने तयारीमा छु,’ उनले भने ।

शीर्ष नेतृत्वपछिको राजनीतिक पुस्ता पनि परम्परागत रहेको बताउँदै उनले ४० वर्षमुनिका युवाको राष्ट्रिय सञ्जाल बनाएर अगाडि बढ्ने योजना रहेको सुनाए । ‘सबैभन्दा पहिले डडेलधुराका ५२ वटै वडामा पुगेर मतदातालाई धन्यवाद दिनेछु,’ उनले निर्धक्क भएर भने, ‘निर्वाचनमा भएका सबै गतिविधि सार्वजनिक गरेपछि मेरो नयाँ अभियान सुरु हुन्छ । पाँच वर्षपछि फेरि डडेलधुराबाटै निर्वाचन लड्छु ।’

प्रकाशित : मंसिर ८, २०७९ ०६:१९
प्रतिक्रिया
पठाउनुहोस्

राज्यसँग ‘बुलेट’ र पार्टीसँग ‘ब्यालेट’ विद्रोह

माओवादीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका सुरूलको संघर्ष
महेश केसी

रुकुम पूर्व — पुथाउत्तरगंगा–१ मैकोटका ४४ वर्षीय सुरुल पुन १७ वर्षको उमेरमै माओवादी लडाकु बने । ३० वर्षअघि समाज परिवर्तन गर्ने उद्देश्यले सशस्त्र विद्रोहमा सहभागी उनी रुकुम पूर्व (१) बाट हाल प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका उनले जित हासिल गरेका हुन् ।

‘मलाई स्वतन्त्र उम्मेदवार हुन बाध्य पारियो,’ उनी भन्छन्, ‘माओवादीबाटै चुनाव लड्न चाहन्थें तर अवसर प्राप्त भएन ।’ २०५२ सालदेखि २०६३ सम्मै उनले माओवादी लडाकुका रूपमा सशस्त्र विद्रोहमा सहभागी भएर बन्दुक बोकेका थिए । परिवर्तन गर्ने भनेर बन्दुक बोके पनि त्यसरी लडेर निर्माण गरेको पार्टी संगठन राम्रो हुन नसकेको उनको बुझाइ छ । माओवादीप्रति माया भए पनि विश्वास नरहेको उनी बताउँछन् ।

शान्ति प्रक्रिया सुरु भएपछि उनी रोल्पाको दहबनस्थित क्यान्टोन्मेन्टमा बसेका थिए । त्यसपछि घर फर्किएर सामान्य जीवन थाले । ‘खेती किसानी गरें, गाउँघरमा अर्मपर्ममा सरिक भएँ,’ उनले भने, ‘तर, राजनीतिक चेत जोगाइराखें । पार्टीले दिएको काम र जिम्मेवारीमा खटिइरहें ।’ पार्टी बुलेटबाट ब्यालेटमा प्रवेश गरेदेखि नै आफूलाई संसदीय यात्रामा सरिक हुने चाहना भएको उनले बताए । ‘जनप्रतिनिधि हुन्छु भन्यो भने छुच्चो ठहरिएला भनेर म चुपचाप पार्टी काममै लागें,’ उनले भने, ‘हामीलाई पद र जिम्मेवारी होइन, परिणाम चाहिएको थियो । यसकारण अरूलाई पालो दिएँ ।’

यस पटक पार्टीले अवसर नदिए पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्नुपर्छ भनेर कार्यकर्ताले सुझाएको उनले बताए । उनले माओवादी जिल्ला इन्चार्ज तेजबहादुर वलीविरुद्ध बागी उम्मेदवारी दिएका थिए । संगठनकै विभिन्न जिम्मेवार नेताको समर्थनमा पहिलोपल्ट चुनावी मैदानमा उत्रिएका उनलाई पार्टी हितविपरीत गएको भन्दै कारबाही पनि गरिएको थियो । ‘सबै सहुँला, बुझाउँला भन्दै अघि बढें,’ उनले भने । उनको उम्मेदवारीपछि एमालेले प्रदेशमा आफ्नो उम्मेदवार निष्क्रिय तुल्याएर सहयोग गर्ने घोषणा गरेको थियो । ‘म जनताको काम गर्न आएको हँु । अवसर पाएको छु, गरेर देखाउँछु,’ उनी भन्छन्, ‘कसैसँग केही गुनासो छैन, हिजोसम्म म एउटा पार्टीमा थिएँ, अब जनताको भएको छु । सबैको भएको छु ।’

२०५० सालमा तत्कालीन एकता केन्द्रको कलाकार टोलीबाट राजनीतिमा प्रवेश गरेका उनी त्यसबेला पार्टीका कार्यक्रममा नाच्ने र गाउने गर्थे । एकता केन्द्र जनमोर्चा हुँदै तत्कालीन माओवादीमा परिणत भएपछि उनी सशस्त्र युद्धमा सरिक भए । ‘पार्टी संगठनले खटाएको ठाउँमा गएर जनताका विभिन्न काम गरें,’ उनले भने, ‘ग्राम सुरक्षा दल हँुदै २०५२ सालपछि ‘जनमुक्ति सेना’को सैन्य प्लाटुन सदस्य बनेर काम थालें ।’ पूर्व–पश्चिमका विभिन्न स्थानमा भएका साना–ठूला आक्रमणमा सहभागी भएका उनीसित द्वन्द्वका तीतामिठा अनुभूति छन् ।

दहवन क्यान्टोन्मेन्टमा बसेका उनले सेनामा समायोजन नहुने निर्णय गरे र घर फर्किए । २०६४ सालमा पहिलो र २०७० मा दोस्रो संविधानसभाको निर्वाचन भयो । माओवादी संसदीय राजनीतिमा संलग्न भयो । पुनलाई घर–व्यवहार चलाउन गाह्रो भयो । वृद्ध बाआमा, जहान अनि दुई छोराको जिम्मेवारी काँधमा आएपछि दैनिक खर्च धान्न हम्मे परेको उनी सुनाउँछन् । २०७० को दोस्रो संविधानसभा निर्वाचनपछि आफूसँगैका साथीहरू धेरैले विभिन्न अवसर पाए पनि आफूलाई जीवन धान्न गाह्रो भएपछि काम खोज्दै भारत गएको उनको भनाइ छ । ‘क्रान्तिको राग थियो । अब देशमा गरिब, निमुखाको हित हुन्छ भन्ने आस थियो,’ उनले भने, ‘शान्ति प्रक्रियापछि हामी निकै आशावादी थियौं तर आसैआसमा मरिन्छ जस्तो भयो । २०७० सालतिर म काम खोज्दै भारत पसें ।’ भारतको हरिद्वारमा चार महिना मजदुरी गरेर फर्किएपछि खेती–किसानी सुरु गरेको उनले बताए ।

दुई पटकको संविधानसभा अनि आमनिर्वाचन र स्थानीय तह निर्वाचन गरेर जम्मा चारवटा निर्वाचनमा माओवादी सहभागी भयो । ‘विगतमा राम्रो होला भन्ने आसा अरूलाई छोडियो,’ उनले भने, ‘यस पटक पनि मेरो क्षेत्र र समुदायको प्रतिनिधित्व नहुने देखेपछि म विद्रोह गरेर माओवादीकै विरुद्धमा चुनावी मैदानमा उत्रिन बाध्य भएँ ।’ बागीभन्दा आफूलाई ‘विद्रोही’ उम्मेदवार भन्न रुचाउने सुरुललाई यस पटक रुकुम पूर्वकै विभिन्न माओवादी नेताको घोषित साथ रह्यो भने एमालेले समेत आफ्नो उम्मेदवारलाई पछि सारेर समर्थन गर्ने जनाएपछि चुनावी मैदानमा उनी बलशाली देखिए । त्यही बलमा उनले चुनाव लडे र जिते ।

चुनावअघि माओवादी लुम्बिनी प्रदेश सदस्य रहेका पुनलाई पार्टीले कारबाही गरिसकेको छ, अब उनी स्वतन्त्र हैसियतमा छन् । आगामी राजनीतिक यात्रा के–कसरी अगाडि बढ्छ, त्यसमा उनी अहिले नै केही भनिहाल्ने पक्षमा छैनन् ।

प्रकाशित : मंसिर ८, २०७९ ०६:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×