सबै प्रदेशमा मिलीजुली सरकार !

अघिल्लो पटक सबैतिर वर्चस्व बनाएको एमाले यसपालि करिब आधा सिट गुमाउँदै, कांग्रेसको बढोत्तरी, माओवादी र मधेसी कमजोर
कलेन्द्र सेजुवाल

काठमाडौँ — प्रदेशसभा प्रत्यक्षतर्फको मत परिणामले सातै प्रदेशमा मिलीजुली सरकार बन्ने संकेत गरेको छ । २०७४ को निर्वाचनमा मधेसबाहेक सबै प्रदेशमा पहिलो दल बनेको एमाले यस पटक करिब आधा सिट गुमाउँदै छ, माओवादी र मधेसी पनि कमजोर देखिएका छन् ।

सबै प्रदेशमा मिलीजुली सरकार !

अघिल्लो निर्वाचनमा एमालेले प्रदेश १ मा ५६ मध्ये ३६ सिट जितेको थियो । यस पटक बुधबार रातिसम्म ४ स्थानमा जितेको छ भने १६ स्थानमा अगाडि छ । जबकि ६ सिटको मात्र रुझान आउन बाँकी छ । एमालेबाट मुख्यमन्त्रीका प्रमुख दाबेदार हिक्मतकुमार कार्की पनि झापा ५ (१) बाट अगाडि छन् ।

गत निर्वाचनमा ८ सिट जितेको कांग्रेसले ५ स्थानमा जित निकाल्दै ९ स्थानमा अग्रता लिएको छ । कांग्रेसबाट मुख्यमन्त्रीका दाबेदार गुरुराज घिमिरे भने मोरङ ४ (१) मा एमालेका जयप्रकाश चौधरीसँग पराजित भएका छन् ।

मोरङबाटै निर्वाचन लडेका मुख्यमन्त्रीका आकांक्षी अमृत अर्याल, भीम पराजुली र सुनसरीबाट निर्वाचन लडेका राजीव कोइरालाको अन्तिम मत परिणाम आएको छैन । मुख्यमन्त्रीको आकांक्षासहित प्रदेश सभापति उद्धव थापा समानुपातिक सूची (खसआर्यतर्फ १ नम्बर) मा छन् ।

माओवादीले २ स्थानमा जितेको छ भने ७ स्थानमा अग्रता कायम गरेको छ । गत निर्वाचनमा उसले प्रत्यक्षतर्फ १० सिट जितेको थियो । माओवादीबाट मुख्यमन्त्रीका आकांक्षी इन्द्रबहादुर आङबो पाँचथर (२) बाट २७ सय मतले अगाडि छन् ।

एमालेबाट विभाजित एकीकृत समाजवादीले दुई स्थान जितेको छ भने ५ स्थानमा अगाडि छ । प्रदेश १ मा पुन: मुख्यमन्त्री बन्ने आकांक्षासहित भोजपुर (१) बाट लडेका एकीकृत समाजवादीका राजेन्द्र राई एमाले उम्मेदवारभन्दा बुधबार रातिसम्म करिब ४ हजार मतले अगाडि छन् । राप्रपाले एक स्थानमा जितेको छ भने २ स्थानमा अग्रता लिएको छ ।

मधेस प्रदेशमा पनि सत्ता संघर्ष निकै चर्को हुने देखिएको छ । गत निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम र राजपाको संयुक्त सरकार बनेको थियो । दुई दलबीच पार्टी एकता भएर बनेको जसपा विभाजित भएपछि कांग्रेस, माओवादी र समाजवादीले सरकार टिकाइदिएका थिए । यसपालि मधेसमा एक्लै वा दुई दल मिलेर बहुमत पुग्ने सम्भावना कम छ ।

मधेसमा प्रत्यक्षतर्फ ७ दलको प्रतिनिधित्व हुने भएको छ । कांग्रेस, एमाले, माओवादी, जनमत, जसपा, एकीकृत समाजवादी र लोसपाले प्रत्यक्षतर्फ चुनाव जितिसकेका छन् । बुधबार रातिसम्म जसपाले १ सिटमा जितसहित १० सिटमा अग्रता लिएको छ । लोसपाले पनि २ सिटमा जित र ३ सिटमा अग्रता लिएको छ । मधेसमा जनमत पार्टीको पनि उदय भएको छ । उक्त दलले बुधबार रातिससम्म प्रत्यक्षतर्फ ३ स्थानमा जितेको छ भने १ स्थानमा अग्रता लिएको छ ।

मधेसमा कांग्रेस, एमाले र माओवादीको अवस्था गत निर्वाचनको भन्दा खासै फरक देखिँदैन । प्रत्यक्षतर्फ ८ सिट जितेको कांग्रेसले यस पटक सामान्य सुधार गर्ने देखिन्छ । कांग्रेसले ३ स्थानमा जितेको छ भने १० स्थानमा अग्रता लिएको छ । अघिल्लो पटक १४ सिट जितेको एमालेले बुधबार रातिसम्म २ सिट जितेको छ भने १५ स्थानमा अग्रता कायम राखेको छ । त्यसैगरी माओवादी केन्द्रले २ सिटमा जितसहित ५ स्थानमा अग्रता लिएको छ । एकीकृत समाजवादीले १ सिटमा जितेको छ भने २ सिट अगाडि रहेको छ । गत निर्वाचनमा माओवादी केन्द्रले ६ सिट जितेको थियो ।

मधेस मामिला विश्लेषक चन्द्रकिशोर यस पटक फरक किसिमको समीकरण हुने सम्भावना औंल्याउँछन् । ‘२०७४ को निर्वाचनपछि मधेस आन्दोलनका दुई सहयात्री दल संघीय समाजवादी फोरम र राजपाले बलियो जनमत ल्याएर संयुक्त सरकार बनाए, अन्तिमतिर गएर केन्द्रको सत्ता गठबन्धनअनुसार सरकार बन्यो,’ उनी भन्छन्, ‘यस पटक कुनै दुई दलको बहुमत पुग्ने सम्भावना देखिँदैन ।’ पहिलो पटक उदाएको जनमत पार्टीको पनि सरकार निर्माणमा भूमिका रहन सक्ने उनले बताए ।

पुन: मुख्यमन्त्री बन्ने योजनासहित लालबाबु राउत पर्सा १ (२) बाट निर्वाचित भएका छन् । मुख्यमन्त्रीका अर्का आकांक्षी विजय यादव सिराहा २ (१) बाट चुनाव लडेका छन्, अन्तिम परिणाम आइसकेको छैन । एमाले गठबन्धनको सरकार बन्ने स्थिति भएमा राउत मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् । तर सत्ता गठबन्धनबाट मुख्यमन्त्रीका अर्का दाबेदार रामसरोज यादव धनुषा ३ (१) बाट लडेका छन् । उनी प्रतिस्पर्धीभन्दा करिब ३ हजार मतले अगाडि छन् । मुख्यमन्त्रीका अर्का आकांक्षी कृष्णप्रसाद यादव रौतहट १ (२) बाट प्रतिस्पर्धीभन्दा करिब ३ हजार मतले अगाडि छन् ।

गत निर्वाचनमा एमालेको एकल बहुमत रहेको वाग्मतीमा यस पटक कुनै पनि दलको बहुमत पुग्ने सम्भावना देखिएको छैन । प्रत्यक्षतर्फका ६६ मध्ये ४२ सिटमा जितेको एमालेले बुधबार रातिसम्म ५ स्थानमा जितेको छ भने १४ स्थानमा अग्रता राखेको छ । अब २ सिटमा मात्र गणना हुन बाँकी छ ।

गत निर्वाचनमा ७ सिटमा सीमित कांग्रेसले बुधबार रातिसम्म १६ सिटमा जित हात पारेको छ, ४ सिटमा अग्रता लिएको छ । माओवादी २ सिटमा विजयी हुँदै १० सिटमा अगाडि छ । गत निर्वाचनमा २ सिट जितेको विवेकशील साझा वाग्मती प्रदेशसभमा उपस्थिति हुने सम्भावना छैन बरु राप्रपा र एकीकृत समाजवादीको प्रतिनिधित्व हुने भएको छ । राप्रपाले ३ सिटमा जितसहित ४ सिटमा अग्रता लिएको छ भने समाजवादीले १ सिटमा जितसहित ३ सिटमा अग्रता कायम गरेको छ । लोसपाले १ सिटमा जितसहित अर्को १ सिटमा अग्रता लिएको छ ।

प्रदेशसभाको अघिल्लो कार्यकालमै मुख्यमन्त्री हुन निकै कसरत गरेका कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँ मकवानपुर २ (२) बाट निर्वाचित भएका छन् । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेल पनि मुख्यमन्त्रीको दाबीसहित माओवादीबाट धादिङ १ (२) मा निर्वाचन लडेका छन्, उनको सुरुवाती अग्रता छ । एमालेबाट मुख्ममन्त्रीका दुई दाबेदार निवर्तमान सभामुख सानु श्रेष्ठ काठमाडौं २ (१) मा राप्रपाका सुनील केसीसँग र पूर्वप्रदेशमन्त्री रामेश्वर फँ‘याल काठमाडौं ३ (२) मा कांग्रेसका विमल ठकुरीसँग पराजित भएका छन् ।

गत निर्वाचनमा गण्डकीमा ६ सिट मात्र जितेको कांग्रेसले यस पटक १० सिटमा जितसहित ५ सिटमा अग्रता लिएको छ । कांग्रेसका प्रदेश सभापति मुख्यमन्त्रीको आकांक्षासहित समानुपातिकको बन्दसूचीमा छन् । मन्त्री बिन्दुकुमार थापा पनि मुख्यमन्त्रीका दाबेदार हुन् । उनी कास्की २ (२) बाट चुनाव लडेका छन् ।

१७ सिट जितेको एमालेले भने केही सिट गुमाउनेछ । उसले बुधबार रातिसम्म ३ सिट मात्र जितेको छ, ८ सिटमा अग्रता राखेको छ । एमालेबाट मुख्यमन्त्रीका आकांक्षी खगराज अधिकारी कास्की १ (१) बाट लडेका छन्, उनको क्षेत्रमा मत गणना जारी छ ।

९ सिटमा जित हात पारेको माओवादी केन्द्रले यस पटक ३ सिटमा जित हासिल गरेको छ, ३ सिटमा अग्रता लिएको छ । राप्रपा १ सिटमा अगाडि छ । २०७४ मा मनाङ (२) बाट स्वतन्त्र निर्वाचित राजीव गुरुङ यस पटक सोही क्षेत्रबाट निर्विरोध भइसकेका छन् । तनहुँ १ (२) बाट लडेका हरिबहादुर चुमान माओवादीबाट मुख्यमन्त्रीका आकांक्षी हुन् । उनको क्षेत्रमा अन्तिम मत परिणाम आएको छैन ।

मधेसमा झैं लुम्बिनीमा पनि आधा दर्जनभन्दा बढी दलको प्रतिनिधित्व हुने भएको छ । गत निर्वाचनमा प्रत्यक्षतर्फ ७ सिट मात्र जितेको कांग्रेसले १ सिटमा जितसहित १२ सिटमा अग्रता लिएको छ । एमालेले ४ सिटमा जित्नुका साथै १४ सिटमा अग्रता लिएको छ । अघिल्लो पटक उसले २७ सिट जितेको थियो । त्यसैगरी माओवादी १ सिटमा जितसहित ३ सिटमा अगाडि छ । माओवादीले गत निर्वाचनमा १५ सिट जितेको थियो । यस पटक जसपाले २ सिट, जनमत र लोसापले एक–एक सिट जितेका छन् । राप्रपा २ सिटमा अगाडि रहेको छ ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दाबीसहित रोल्पा (२) बाट चुनाव लडेका कांग्रेस प्रदेश सभापति अमरसिंह पुन माओवादीका बागी उम्मेदवार दीपेन्द्रकुमार पुन मगरसँग पराजित भएका छन् । मुख्यमन्त्रीका आकांक्षी डिल्लीबहादुर चौधरीले भने दाङ ३ (१) बाट अग्रता लिइरहेका छन् । माओवादी केन्द्रबाट मुख्यमन्त्रीका आकांक्षी सदर्शन बराल गुल्मी १ (१) बाट निर्वाचन लडेका छन्, उनको परिणाम आएको छैन । अर्का आकांक्षी जोखबहादुर महरा रोल्पा (१) बाट निर्वाचित भएका छन् । एमालेका मुख्यमन्त्रीका आकांक्षी लीला गिरी रूपन्देही २ (१) बाट लडेका छन् ।

२०७४ मा कर्णालीमा प्रत्यक्षतर्फ एक मात्र सिट जितेको कांग्रेसले यस पटक ४ सिटमा जित हात पार्नुका साथै २ सिटमा अग्रता लिएको छ । १४ सिट जितेको एमालेले भने बुधबार रातिसम्म एक सिट मात्र जितेको छ । ३ सिटमा अग्रता लिएको छ । गत निर्वाचनमा ९ सिटमा जितेको माओवादीले यस पटक ७ स्थानमा अग्रता लिइरहेको छ । कर्णालीको जुम्ला (१) बाट कांग्रेसका बागी उम्मेदवार देवेन्द्रबहादुर शाहीले पार्टीका प्रदेश सभापति ललितजंग शाहीलाई पराजित गरेका छन् । सभापति शाही मुख्यमन्त्रीका दाबेदार थिए ।

मुख्यमन्त्री जीवनबहादुर शाही पनि दोहोरिन चाहन्छन्् । हुम्ला (२) मा कांग्रेसबाट निर्वाचन लडेका उनको मत परिणाम आइसकेको छैन । मुख्यमन्त्रीका अर्को आकांक्षी राजीवविक्रम शाह जाजरकोटबाट निर्वाचित भएका छन् । एमालेबाट मुख्यमन्त्रीका आकांक्षीमा स्थायी कमिटी सदस्य यामलाल कँडेल र प्रदेश अध्यक्ष विनोदकुमार शाह छन् । क्रमश: सुर्खेत २ (१) र दैलेख २ (२) बाट प्रतिस्पर्धा गरेका दुवै जनाको परिणाम आइसकेको छैन । माओवादीबाट राजकुमार शर्मा र बिन्दमान विष्ट आकांक्षी छन् । रुकुमपश्चिम (२) बाट लडेका शर्मा र सुर्खेत २ (२) बाट लडेका विष्टको परिणाम आएको छैन ।

गत निर्वाचनमा सुदूरपश्चिमका ३२ सिटमध्ये १७ सिटमा जितेको एमालेले यस पटक वर्चस्व गुमाएको छ । बुधबार रातिसम्म १ सिट जित हात पारेको छ भने ५ सिटमा अग्रता लिएको छ । अघिल्लो पटक ४ सिट मात्र जितेको कांग्रेसले भने दोब्बरभन्दा बढी जित्ने देखिएको छ । कांग्रेसले २ सिटमा जितसहित ८ सिटमा अग्रता लिएको छ । त्यसैगरी माओवादीले ३ सिटमा जितसहित २ सिटमा अग्रता लिएको छ । उसले अघिल्लो पटक १० सिट जितेको थियो । एकीकृत समाजवादी २ सिटमा अगाडि छ ।

यस पटक सदूरपश्चिमको तराईबाट नागरिक उन्मुक्ति पार्टीको उदय भएको छ । उक्त पार्टीले प्रदेशसभाका २ सिटमा जित्नुका साथै ३ सिटमा अग्रता लिएको छ । सुदूरपश्चिममा माओवादीबाट खगराज भट्ट मुख्यमन्त्रीका दाबेदार हुन् । डडेलधुरा (१) बाट निर्वाचन लडेका उनको अन्तिम मत परिणाम आएको छैन । कैलाली १ (१) बाट लडेका कांग्रेसका रणबहादुर रावल पनि मुख्यमन्त्रीका आकांक्षी हुन् ।

यस पटक प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ उल्लेख्य मत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा निर्वाचनमा भाग लिएको छैन । त्यसैले प्रदेशको समानुपातिक मत परम्परागत राजनीतिक दलबीच करिब विगतकै अनुपातमा बाँडफाँट हुनेछ । मधेसमा भने जनमत पार्टीले समानुपातिक मत पनि प्रभावित पार्नेछ ।

प्रकाशित : मंसिर ८, २०७९ ०२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?