कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय मान्यता नपाउने दलका सांसद पनि नेतृत्वकै नियन्त्रणमा

प्राप्त मत परिणामका आधारमा प्रतिनिधिसभामा १२ दलको प्रतिनिधित्व हुनेछ, बढीमा आधा दर्जन दलले राष्ट्रिय मान्यता प्राप्त गर्ने सम्भावना
तुफान न्यौपाने

काठमाडौँ — प्रतिनिधिसभाको आगामी कार्यकालमा दर्जन दलको प्रतिनिधित्व हुने भएको छ, तर बढीमा आधा मात्र दलले राष्ट्रिय मान्यता पाउने भएपछि बाँकी दलका सांसद स्वतन्त्र हुन्छन् वा दलको नियन्त्रणमा भन्ने प्रश्नमा छलफल भइरहेको छ । कानुन भने स्पष्ट छ– राष्ट्रिय मान्यता पाउन असमर्थ दललाई राज्यको सुविधा कम हुन्छ, तर सांसद स्वतन्त्रसरह हुँदैनन्, दलको विधानले उनीहरूलाई बाँध्छ, ह्वीप लाग्छ ।

राष्ट्रिय मान्यता नपाउने दलका सांसद पनि नेतृत्वकै नियन्त्रणमा

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५२ अनुसार समानुपातिकतर्फ तीन प्रतिशत पार गर्ने तथा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्ने दलले राष्ट्रिय मान्यता पाउँछन् । अघिल्लो पटक आठ दल संसद्मा थिए तर एमाले, कांग्रेस, माओवादी, राजपा र संघीय समाजवादी फोरमले मात्रै राष्ट्रिय मान्यता पाएका थिए । नेमकिपा, राजमो र राप्रपा एक/एक सांसदसहित प्रतिनिधिसभामा थिए ।

बुधबार मध्यरातसम्म गणना भएको १३ लाख ८१ हजार ५ सय २५ मतका आधारमा यसपालि पनि ५ दलले नै राष्ट्रिय मान्यता पाउने सम्भावना बलियो छ । अद्यावधिअनुसार एमाले (२६.२५ प्रतिशत), कांग्रेस (२४.०६ प्रतिशत), राष्ट्रिय स्वतन्त्र पार्टी (१४.०१ प्रतिशत), माओवादी (११.५२ प्रतिशत) र राष्ट्रिय प्रजातन्त्र पार्टीले (७.४७ प्रतिशत) मत पाएका छन् । जसपा पनि ‘थ्रेस होल्ड’ वरिपरि छ, उसले ३.२१ प्रतिशत मत प्राप्त गरेको छ ।

बुधबार साँझसम्म मतगणना सकिएको १३ लाख ८१ हजार मत आफैंमा कुल मतको करिब १२ प्रतिशत मात्रै हो । तर, समानुपातिकतर्फको प्रारम्भिक मत परिणाम सार्वजनिक भएयता नै दलहरूले प्राप्त गरेको मत परिणाम करिब–करिब यही अनुपातमा छ ।

प्रत्यक्षतर्फबाट एकीकृत समाजवादी, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी पनि प्रतिनिधिसभामा पुग्दै छन् ।

तर उनीहरूले राष्ट्रिय मान्यता पाउने गरी ३ प्रतिशत मत कटाउने संकेत अझै देखिएको छैन । एकीकृत समाजवादीले १.६ प्रतिशत, जनमत पार्टीले १.७ प्रतिशत, नागरिक उन्मुक्ति पार्टीले १.१ प्रतिशत मत पाएका छन् । यी दलको मतभार सुधार नभएमा समानुपातिकमा प्रतिनिधित्व गराउन सक्ने छैनन् ।

राष्ट्रिय मान्यता प्राप्त गर्न असमर्थ भए पनि प्रतिनिधिसभामा पुग्ने दलले संसदीय दल गठन गर्ने र आफ्ना सांसदमाथि नियन्त्रण कायम गर्ने कानुनी व्यवस्था छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा २४ ले ‘संघीय संसद् वा प्रदेशसभाको निर्वाचनमा कम्तीमा दुई सिटमा निर्वाचित भई प्रतिनिधित्व गर्ने दलले संसदीय दल गठन गर्न सक्ने’ व्यवस्था गरेको छ । संसदीय दल गठन गर्न राष्ट्रिय मान्यता प्राप्त हुनुपर्ने अनिवार्यता छैन । जुन दलबाट निर्वाचित भएको हो, ती व्यक्ति स्वत: सम्बन्धित संसदीय दलको सदस्य हुने व्यवस्था पनि उक्त ऐनमा छ ।

संसदीय दलका नेताको निर्देशनमा उक्त दलका सचेतकले आफ्ना सांसदहरूलाई विभिन्न चार विषयमा ह्वीप लगाउन सक्छन् । सोही ऐनको दफा २८ मा भनिएको छ, ‘सरकारको विश्वास वा अविश्वासको प्रस्ताव, सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्ने विषय, वार्षिक बजेट पारित गर्ने विषय र राष्ट्रिय वा सार्वजनिक महत्त्वका अन्य कुनै विषयमा लगाइएको ह्वीप प्रत्येक सांसदले पालना गर्नुपर्ने छ । कसैले ह्वीप उल्लंघन गरेमा सम्बन्धित दलको सचेतकले पार्टीको केन्द्रीय समितिलाई त्यसको जानकारी दिन सक्छ, त्यसउपर स्पष्टीकरण सोधेर केन्द्रीय समितिले पार्टीबाट निष्कासन गर्न सक्ने र त्यसरी निष्कासनमा पर्ने सांसदको पदसमेत खारेज हुनेछ,’ ऐनमा व्यवस्था छ । यी सबै प्रावधान राष्ट्रिय मान्यता प्राप्त गर्ने वा नगर्ने दलका सांसदका हकमा एकै हुन् ।

राष्ट्रिय मान्यता नपाउने दलको हकमा दुई असुविधा हुन्छन् । पहिलो, अर्को चुनावमा उनीहरूको चुनाव चिह्न दलको आकारअनुसारको क्रममा हुँदैन । त्यस्तै संसदीय दल र नेताका लागि कार्यालय राख्ने व्यवस्था पनि नहुन सक्छ । ‘राष्ट्रिय दल भए वा नभए पनि १० भन्दा कम सांसद भएका दललाई कार्यालय दिने गरिएको छैन,’ संसद् सचिवालयका एक अधिकारीले भने ।

प्रकाशित : मंसिर ८, २०७९ ०२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?