कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

देउवा र दाहालको सत्तायात्रा जोखिममा

संसद्‌मा अर्का महामन्त्री शर्माको उपस्थिति संसदीय दलको नेता बन्ने थापाको लक्ष्यमा ठूलो बल पुग्ने देखिन्छ

काठमाडौँ — संसद्को समीकरण कस्तो बन्ला भन्ने स्पष्ट भइनसके पनि गठबन्धनका प्रमुख दुई नेता कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रारम्भिक नतिजा प्रतिकूल देखिएको छ । निर्वाचनपछि आलोपालो प्रधानमन्त्रीमा जाने गरी गठबन्धनलाई निरन्तरता दिन सहमत भएका यी दुई नेतालाई सरकारमा पुग्ने यात्रा सहज छैन ।

देउवा र दाहालको सत्तायात्रा जोखिममा

एमाले कमजोर बनाउने रणनीतिका साथ अघि बढेका देउवा र दाहालको अबको सत्तायात्रा कति विश्वासका साथ अघि बढ्छ भन्ने प्रस्ट नहुँदै कांग्रेसभित्र महामन्त्री गगन थापाले देउवाको विकल्पमा आफूलाई अघि बढाएका छन् । पार्टीमा संख्यात्मक हिसाबमा देउवा बलियो हुन सक्ने भए पनि समानुपातिक र प्रत्यक्षतर्फ पार्टीलाई प्राप्त जनादेश अपेक्षित नभएकाले कांग्रेसभित्र सरकारको नेतृत्व बदल्न सशक्त दबाब बढ्ने संकेत थापाले गरेका छन् । अहिलेकै नेतृत्वलाई प्रधानमन्त्रीमा निरन्तरता दिँदा पार्टीको भविष्य थप संकटमा पुग्ने भन्दै थापाले सरकारको नेतृत्व बदल्ने आफ्नो मुद्दा अझै बढी सान्दर्भिक बनेको बताए ।

काठमाडौं–४ बाट एमालेका राजन भट्टराईलाई ७ हजार ४ सय ४७ को फराकिलो मतान्तरले पराजित गरेलगत्तै थापाले अबको प्रतिस्पर्धा पार्टीको संसदीय दलको नेतामा हुने र त्यसका लागि तयारी अघि बढाउने बताए । थापाले २१ हजार ३ सय २ र भट्टराईले १३ हजार ८ सय ५५ मत प्राप्त गरेका छन् । ०६४ मा समानुपातिकबाट संसद् छिरेका थापा त्यसयताका तीनवटै चुनावमा निरन्तर निर्वाचित हुँदै आएका छन् । ‘अब ड्राइभिङ सिटबाटै चालक नबदलेसम्म मुलुक बदलिन्न, पार्टी पनि बदलिन्न,’ उनले भने ।

पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि जारी मतगणनामा जितनिकट छन् । संसद्मा उनको उपस्थिति संसदीय दलको नेता बन्ने थापाको लक्ष्यमा ठूलो बल पुग्ने देखिएको छ । झापा–१ बाट शर्माले मुख्य प्रतिस्पर्धी एमालेका अग्निप्रसाद खरेललाई १० हजारभन्दा बढी मतान्तरमा पछि पारेका छन् । कांग्रेसमा अर्का युवा नेता प्रदीप पौडेल एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरी विजयी भइसकेका छन् ।

नेता कृष्णप्रसाद सिटौला समूहको कित्तामा भए पनि पौडेल सरकारको नेतृत्व बदल्ने कित्तामा थापा र शर्मासँगै छन् । छैटौं पटक प्रधानमन्त्री हुने देउवाको योजनालाई निर्वाचनबाट प्राप्त जनादेश र दुई महामन्त्रीसहित युवा सांसदहरूको हस्तक्षेपले असहज बनाउने देखिन्छ । एमालेलाई कमजोर बनाउने रणनीतिसाथ देउवाले माओवादीसहित पाँच दलसँग एकसूत्रीय गठबन्धनमा जोड दिएका थिए । बलियो गठबन्धन बनाउँदा पनि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सोचेअनुसार परिणाम नपाउने देखेपछि देउवा पार्टीमै प्रतिरक्षात्मक पोजिसनमा पुगेका छन् । बालुवाटार स्रोतका अनुसार देउवाले प्रत्यक्षतर्फ ६५ भन्दा माथि र समानुपातिकमा ४०/४१ सिट आउने अनुमान लगाएका थिए । प्रत्यक्ष र समानुपातिकबाट देउवाकै पक्षमा बलियो उपस्थिति हुने देखिन्छ तर जनादेशको भावना उनको पक्षमा नभएकाले विकल्पको खोजीमा अघि बढाउने महामन्त्रीद्वय थापा–शर्माको तयारीले उनलाई सहजता भने हुने छैन । देउवासँग प्रतिस्पर्धाका लागि तयार थापाले जनादेशको सन्देशलाई अंकगणितको भाषामा बुझ्नु नै गलत हुने बताए ।

पहिलो पटक संसद्मा छिर्ने बलियो सम्भावना बोकेका अर्का महामन्त्री शर्माले उमेर र एजेन्डा दुवैका दृष्टिले अबको सरकारको नेतृत्व युवाले गर्नुपर्ने बताए । ‘बदल्ने, नबदल्ने कुरै होइन, अब बनाउने हो । ताजा जनादेशको व्याख्या गरेर त्यसले दिएको जनादेशअनुसार अघि बढ्ने हो । जनादेशलाई गणितीय रूपमा मात्रै बुझ्न हुन्न,’ उनले भने । मतदाताले पार्टीलाई रूपान्तरण गर भनेर प्रमुख सन्देश दिएको उनको भनाइ छ । ‘ठूलो र पुरानो पार्टीले यो सन्देशलाई बुझ्नुपर्छ,’ शर्माले भने, ‘संसदीय दलको पहिलो बैठकमा यस विषयमा छलफल अघि बढ्छ ।’ निर्वाचनअघिदेखि नै उनले सांसद निर्वाचित भए संसदीय दलको नेतामा थापाको प्रस्तावक भएर उभिने बताउँदै आएका छन् ।

देउवाका विश्वासपात्र तथा पार्टी प्रवक्ता प्रकाशशरण महतले भने अपेक्षाअनुसारको जनादेश प्राप्त नभए पनि गठबन्धनको नेतृत्वमा सरकार बन्ने दाबी गरे । कांग्रेसकै नेतृत्वमा सरकार रहने र देउवा नै प्रधानमन्त्री हुने उनको भनाइ छ । ‘बाहिर धेरै बहस गर्नुभन्दा पनि पार्टीको विधि र विधानअनुसारको प्रक्रियामा परीक्षण गर्ने मौका सबै निर्वाचित सांसदलाई हुन्छ, गगनजीलाई पनि छ,’ उनले भने । प्रत्यक्ष र समानुपातिक दुवैमा अपेक्षाकृत नतिजा नआउनुमा एउटा नेतृत्व मात्रै नभई पार्टीको सामूहिक भावना जोडिने बताए । सबै निर्वाचन क्षेत्रमा उम्मेदवार नहुनु, सामाजिक सञ्जालमा प्रमुख पार्टीविरुद्ध अभियान बढाउनु जस्ता कारण पनि चाहेजस्तो परिणाम नआएको महत बताउँछन् ।

यसैबीच, काठमाडौं–१ मा १ सय २५ मतको झिनो मतान्तरमा कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । सिंहले ७ हजार १२ सय ४३ मत ल्याउँदा राप्रपाका रवीन्द्र मिश्रले ७ हजार १८ मत पाएका छन् ।

प्रधानमन्त्री पत्नी आरजुका विश्वासपात्र उमेश श्रेष्ठ र विश्वनाथ पौडेल भने जोखिममा छन् । चितवन–१ बाट उठेका पौडेल तेस्रो स्थानमा छन् । त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता लिएका छन् । दोस्रोमा एमाले नेता सुरेन्द्र पाण्डे छन् । चितवन–२ बाट उम्मेदवार रहेका श्रेष्ठ पनि तेस्रो स्थानमा पुगेका छन् । त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् भने उनीसँगको निकट प्रतिस्पर्धामा एमालेका कृष्णभक्त पोखरेल छन् । गृहमन्त्री बालकृष्ण खाँण र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि कडा चुनौतीको सामना गरिरहेका छन् । खाँण रूपन्देही–३ मा राप्रपाका दीपक बोहरासँग र कार्की एमालेका जगदीशप्रसाद कुसियैतसँग कडा टक्करमा छन् ।

देउवानिकट भरत शाह रूपन्देही–५ मा एमालेका वासुदेव घिमिरेसँग पछि परेका छन् भने कैलाली–४ मा एमाले सचिव लेखराज भट्टसँग वीरबहादुर बलायर जोखिममा छन् । सुनसरी–३ मा विजयकुमार गच्छदार तेस्रो स्थानमा छन् । झापा–३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलासमेत राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पछि परेका छन् । लिङ्देनले मतान्तर बढाउँदै लगेका छन् । ०७४ मा वामदेव गौतमलाई हराएका सञ्जयकुमार गौतम बर्दिया–१ बाट पछि परेका छन् । उनलाई नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ठाकुरसिंह थारूले पछि पारेका हुन् ।

प्रकाशित : मंसिर ७, २०७९ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?