मधेसमै जसपा र लोसपालाई धक्का

जसपालाई मधेसका ६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अग्रता, अर्को दल लोसपा एक स्थानमा मात्र अगाडि, शीर्ष नेताहरु पराजय उन्मुख
‘यसपालिको निर्वाचनमा मधेसी दलको कुनै एजेन्डा थिएन, समाजमा निराशा थियो तर मधेसवादी दलको अवस्था यति नाजुक हुन्छ भन्ने अपेक्षा गरिएको थिएन’
भूषण यादव

वीरगन्ज — मतगणनाको दोस्रो दिनमा मधेस केन्द्रित दलका उम्मेदवार कमजोर देखिएका छन् । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित हुने निश्चित देखिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले अग्रता लिएका छैनन् ।

मधेसमै जसपा र लोसपालाई धक्का

पाँच वर्ष प्रादेशिक सरकार नेतृत्व गरेको जसपाले मधेस प्रदेशका ३२ मध्ये ६ स्थानमा मात्र अग्रता लिएको छ । लोसपाले एक स्थानमा मात्र अगाडि छ । अन्य क्षेत्रमा कांग्रेस, एमाले, माओवादी, जनमत पार्टी र स्वतन्त्रले अग्रता लिएका छन् । प्रतिनिधिसभा र मधेस प्रदेशको मंगलबार रातिसम्मको समानुपातिक मतगणनामा जसपाभन्दा जनमत पार्टी अगाडि छ ।

मधेस प्रदेशसभामा जनमत पार्टीले दुई सिट जितिसकेको छ । मधेस सरकारका अर्थमन्त्रीसमेत रहेका जसपाका शैलेन्द्र प्रसाद साहलाई सप्तरी २ (१) मा जनमत पार्टीका सतिशकुमार सिंहले पराजित गरेका छन् । सिंह १६ हजार ७ सय ३४ मत ल्याएर निर्वाचत भएका हुन् । शैलेन्द्रप्रसाद साहले ८ हजार २ सय ९२ मत मात्र प्राप्त गरे । सप्तरीकै २ (२) मा जनमत पार्टीका महेश यादव विजयी भएका छन् । माओवादीले टिकट नदिएपछि मनोनयनको अघिल्लो रात यादव जनमत पार्टीमा प्रवेश गर्दै उम्मेदवारी दर्ता गराएका थिए । उनले पूर्व सिँचाइमन्त्री उमेश यादवलाई ६ हजार ३ सय २ मतान्तरले पराजित गरेका हुन् । जसपाको पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव पर्सा २(१) मा कांग्रेसका श्याम पटेलबाट पराजित भएका हुन् । पटेलले १३ हजार ७ सय ८४ मत ल्याउँदा यादवले १२ हजार १ सय १७ मत मात्र पाए ।

मंगलबार बेलुकासम्मको गणनामा जसपाबाट सप्तरी १ मा नवलकिशोर साह सुडी, धनुषा १ मा दीपक कार्की, सिरहा २ मा राजकिशोश यादव, महोत्तरी २ मा शरतसिंह भण्डारी, बारा ३ मा रामबाबुकुमार यादव र पर्सा १ मा प्रदीप यादवले अग्रता लिएका छन् । महोत्तरी १ मा लोसपाका रामप्रसाद चौधरीले अग्ररता लिएका छन् । जनमतबाट सप्तरी २ सीके राउत, सिरहा २ मा विनोदकुमार यादवले अग्रता लिएका छन् ।

यसपटक जसपाले १४ जिल्लामा एमालेसँग तालमेल गरेको थियो, जसअनुसार प्रतिनिधिसभामा १७ र त्यसमध्ये मधेस प्रदेशमा १४ निर्वाचन क्षेत्र जसपाको भागमा परेको थियो । मधेस प्रदेशसभाका ३२ क्षेत्रमा जसपाले एमालेसँग तालमेल गरेर उम्मेदवारी दिएको थियो । सत्ता गठबन्धनसँग तालमेल गरेको लोसपाले भने मधेस प्रदेशमा प्रतिनिधिसभातर्फ सात र प्रदेशसभामा १६ सिटको हिस्सा पाएको थियो ।

राजनीतिक विश्लेषक रोशन जनकपुरी मधेसको जनमत विस्तारै अर्कोपट्टि सर्दै गएको विश्लेषण गर्छन् । ‘अब उपेन्द्र यादवबाट काम चल्दैन भन्ने सोचेर मधेसी मत सीके राउतको पार्टीतर्फ गएको देखिन्छ,’ उनले भने ।

एमालेसँग गठबन्धन भए पनि एमालेको भोट जसपाले नपाएको जनकपुरीको बुझाइ छ । अन्तिम अवस्थामा सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गर्नु जसपाका लागि घातक भएको उनले टिप्पणी गरे । ‘उपेन्द्रको अति आत्मविश्वासले उनैलाई डुबायो,’ जनकपुरीले भने, ‘उनले एकपछि अर्को गल्ती गर्दै आएका थिए । यसपालिको निर्वाचनमा मधेसी दलको कुनै एजेन्डा थिएन । समाजमा निराशा थियो । तर मधेसवादी दलको अवस्था यति नाजुक हुन्छ भन्ने अपेक्षा गरिएको थिएन ।’

२०७४ को आमनिर्वाचनमा मधेस केन्द्रित दुई दलले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १९ वटा सिट जितेका थिए । तत्कालीन संघीय समाजवादी फोरम ९ र राष्ट्रिय जनता पार्टी १० ठाउँमा विजयी भएका थिए । मधेस प्रदेशसभामा फोरमले २९ र राजपाले २५ सिट जितेका थिए । अन्य ६ प्रदेशमा एमाले र माओवादीको वाम गठबन्धनले सरकार बनाउँदा मधेसमा फोरम र राजपाको सरकार बनेको थियो । मुख्यमन्त्री फोरम र सभामुख राजपाले लिएका थिए ।

वीरगन्ज निवासी राजनीतिक विश्लेषक विनोद गुप्ता मधेसी दलले मधेसमा लगातार ५ वर्ष सरकार चलाए पनि जनतामा खासै परिवर्तनको अनुभूति दिलाउन नसक्दा मत पाउन नसकेको टिप्पणी गर्छन् । ‘जनताको दैनिक जीवनसँग जोडिएका समस्या समाधान भएनन्,’ उनले भने, ‘मधेसी दलको चरित्र देखेर जनता आजित भइसकेका थिए ।’ उनले नागरिकता कानुनका लागि विगतमा आन्दोलन गरेको जसपाले यसपटक निर्वाचनमा नागरिकताको विषयमा केही बोल्दै नबोलेको बताउँछन् । ‘जसपा आफ्नो एजेन्डामा नटिक्दा नाजुक अवस्थामा पुग्यो,’ गुप्ताले भने ।

प्रकाशित : मंसिर ७, २०७९ ०५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?