२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

संसदीय यात्रामा अपराजित गगन : प्रधानमन्त्रीको कुर्सी कति नजिक ?

प्रकाश धौलाकोटी

काठमाडौँ — नेपालमा चुनाव अगावै प्रधानमन्त्रीको उम्मेदवार घोषणाको परम्परा छैन । तैपनि दलहरूले अनुकुलता हेरेर यस्तो अभ्यास नगरेका भने होइनन्, अझ व्यक्ति आफैँले प्रधानमन्त्रीको उम्मेदवारकारुपमा प्रस्तुत गरेका उदाहरण झनै कम छन् । यसपटक नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीकोरुपमा अघि सार्‍यो, र चुनावी प्रचार गर्‍यो । ओली आफैँले यो चुनावमा अपिल गरे– ‘चुनावपछिको  प्रधानमन्त्री शेरबहादुर देउवा हुने कि म ? तपाईंहरूले चुन्नुहोला ।’ 

संसदीय यात्रामा अपराजित गगन : प्रधानमन्त्रीको कुर्सी कति नजिक ?

ओलीले कांग्रेस सभापति देउवाको अनुहार देखाएर एमालेलाई भोट माग्दै गर्दा कांग्रेसले पार्टीको उम्मेदवार तोक्न सकेन । तर महामन्त्री गगनकुमार थापा भने आफूलाई चुनावपछिको प्रधानमन्त्रीे उम्मेदवारको रुपमा उभ्याएर भोट मागे । काठमाडौंमा स्वतन्त्र र नयाँ पार्टीको दबदबा बनिरहेका बेला तेस्रोपटक मैदानमा उत्रिएका थापा मतदाताबाट आफूलाई अब प्रधानमन्त्री उम्मेदवारको रुपमा अनुमोदन गराएका छन् ।

काठमाडौं–४ बाट ‘हृयाट्रिक’ जित निकालेपछि मंगलबार उनले अब पार्टीको संसदीय दलको नेता बन्ने तयारीमा लागेको घोषणा समेत गरे । भर्खरै खुलेका दल, युवा र नयाँ अनुहारले देशभर स्थापित दल र नेताहरूलाई चुनौती दिइरहेका बेला पार्टीमा नयाँ पुस्ताको नेतृत्व गर्ने ४६ वर्षे थापाको घोषणाले शीर्ष नेताहरूमाझ दबाब सिर्जना गरेको छ । गणतन्त्र स्थापनाको आन्दोलनमा पार्टीभन्दा पहिले फ्रन्टलाइनमा उभिएका थापा अहिले नेतृत्व पुस्तान्तरणको दबाब बढाउँदै देशको नेतृत्व गर्न सक्ने युवा पुस्ताको अग्रपंक्तिमा छन् ।

पार्टीभित्र रुपान्तरण र पुस्तान्तरणको एजेन्डा बोकेर लोकप्रिय मतसहित महामन्त्री निर्वाचित भएका थापाको यो घोषणाले अब राष्ट्रिय राजनीतिमै पुस्तान्तरणको दबाब सिर्जना गर्ने देखिएको छ । त्यसो त थापाका लागि कांग्रेसको संसदीय दलको नेता बन्ने बाटो त्यति सहज भने छैन । कांग्रेसमा संसदीय दलको नेता बन्न उम्मेदवारी नै घोषणा गर्ने थापा पहिलो हुन् । तर, उनी दलको नेता बन्न पार्टीभित्रको गुटगत समीकरणमा ठूलै परिवर्तन आउनुपर्छ ।

टिकट वितरणमा सभापति देउवाको दबदबा जमाएका छन् । सभापति देउवाले नै फेरि दलको नेता बन्न चाहे अहिलेकै समीकरणमा उनलाई कसैले रोक्न सक्दैन । तर, चौथोपटक संसद्को यात्रा तय गरेका थापाले त्यतिका चुनौतीमाझ पनि मंगलबार सांसद निर्वाचित भएलगत्तै संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरे, अहिलेको अवस्थामा कांग्रेसले मात्रै मुलुकलाई नयाँ नेतृत्व दिनसक्ने दाबी गरे ।

उनले कांग्रेसबाट निर्वाचित सांसदहरूलाई आफ्ना मतदाताको मन बुझेर, मतदाताको साँच्चिकै प्रतिनिधि बनेर संसद्मा आउन समेत आग्रह गरेका छन् ।

‘यो निर्वाचनको परिणाम हेर्दा नेपाली जनताले स्थिर सरकारमात्रै खोजेको होइन, अब नेपाललाई हाक्ने नयाँ चालक पनि खोजिरहेका छन् । त्यस्तो नयाँ चालक आजको दिनमा कसैले दिन सक्दछ भने त्यो नेपाली कांग्रेसले मात्रै दिनसक्छ,’ थापाले भनेका छन्, ‘कांग्रेसबाट निर्वाचित भएर आउँदै गर्नुभएका साथीहरूलाई मेरो विशेष आग्रह छ, तपाईंहरू चुनाव जितेर आउँदै हुनुहुन्छ, तपाईंलाई मतदाताले मतमात्रै दिनुभएको छैन, मन पनि दिएर पठाउनुभएको छ । तपाईंको मतदाताले के चाहान्छन् ? मनन् गरेर, सोधेर आउनुहोला ।’

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य संसदीय दलको नेता बनेर प्रधानमन्त्रीका हुने थापाको दाबीलाई स्वभाविक भन्छन् । अहिलेको निर्वाचनले नयाँ राजनीतिक धरातल बनाएको दाबी गर्ने उनी पुरानो पुस्तामाथि दबाब बढेको बताउँछन् ।

‘हरेक सांसद प्रधानमन्त्रीको लागि योग्य हुन्छ । दलीय व्यवस्थामा दलभित्र स्वीकारिएको मान्छे, दलको नेता भएको मान्छे प्रधानमन्त्रीको उम्मेदवार बन्ने हो । गगन थापाको हकमा उनी मन्त्री र पार्टीको महामन्त्री भइसकेका, पटक–पटक सांसद भइसकेकाले त्यो स्वभाविक छ,’ उनले भने, ‘फेरि यो चुनावले नयाँ राजनीतिक धरातल तयार हुँदैछ । देशमा परिवर्तनको हुटहुटी र छटपटी मतदाताले व्यक्त गरेका छन् । यसले पुरानो पुस्तामाथि ठूलो दबाब सिर्जना भएको छ ।’

नेपालमा व्यक्ति वा दलले प्रधानमन्त्री घोषणा गर्ने परम्परा छैन । तर, चुनावी मैदानकाबीच थापाको दलको नेता बन्ने घोषणालाई आचार्यले दुई अर्थमा बुझेको बताए । ‘यो उनको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने रणनीति पनि हुनसक्छ, अर्को वास्तविक आकांक्षा पनि हुनसक्छ,’ उनले भने ।

विगतमा संसद्मा हुँदा चर्को खबरदारी र निर्णायक मोडमा बलियो गरी जिम्मेवारी निभाएका थापा वाचाल समेत छन् । स्वच्छ सार्वजनिक छविका कारण पछिल्ला राष्ट्रिय राजनीतिक मुद्दामा उनको अडानलाई पार्टीको नेतृत्व र जनताले समेत रुचाएको देखिन्छ । पछिल्लो समय संसद्बाट एमसीसी सम्झौता अनुमोदनको प्रक्रियामा थापाले त्यस्तै भूमिका निभाए, जसले कांग्रेसजन र समग्र नेपाली राजनीतिमै उनको चर्चा भयो ।

अहिले कांग्रेसमा मात्रै होइन, राष्ट्रिय राजनीतिमै कतिपय मुद्दामा उनको बोली यति अर्थपूर्ण बन्ने गर्दछ कि कुनै विवादास्पद मुद्दामा गगनले के बोल्छन् ? त्यो हेरेरमात्रै उनको पार्टी र अन्य राजनीतिक दलका नेताहरूले धारणा बनाउँछन् । चुनावअघि नै प्रधानमन्त्री बन्ने घोषणा गरिसकेका नेपालको अहिलेको संसदीय व्यवस्थामा आगामी पाँच वर्षसम्मै प्रधानमन्त्री नबन्न पनि सक्छन् । तर, सार्वजनिकरुपमा भने थापाले आफूलाई पुष्टि गरिसकेका छन् ।

०६२/०६३ को जनआन्दोलनताका राजसंस्था फाल्ने र मुलुकलाई गणतन्त्रको बाटोमा अघि बढाउने वा नबढाउने भन्नेमा पार्टी अनिर्णित थियो । तर त्यही बेला गणतन्त्रको बाटो रोजेर स्पष्ट अडान पेश गरेका थापा आन्दोलनको 'फ्रन्टलाइन'मा थिए ।

गणतन्त्र स्थापनापछि पहिलो संविधानसभामा समानुपातिकबाट सांसद भए । प्रत्यक्ष टिकट वितरणमा उनले टिकट नपाएपछि आन्दोलनका 'फ्रन्टलाइनर'लाई नै टिकट नदिइएको भनेर आलोचना भएपछि उनी सा‌ंसद भएका थिए । त्यसयताका दुई दशकमा उनी पटक–पटक परीक्षण भएका छन् । उनले निरन्तर राष्ट्रिय राजनीति र संसद्मा दबाबपूर्ण उपस्थिति दर्शाएका छन् । पार्टीमा दुई पुस्तालाई पछि पार्दै महामन्त्री बनेका थापाले यसपटक प्रधानमन्त्री उम्मेदवारकोरुपमा आफूलाई प्रस्तुत गरेका छन्, उनी उम्मेदवार मात्रै होइन, आगामी पाँच वर्षमा देश यसरी चलाउँछु भन्ने खाकासहित प्रस्तुत हुँदैछन् ।

पार्टीमा नेतृत्वको आशीर्वादमा होइन, पार्टीका कार्यकर्ता र मतदाताको माझबाट चुनिएर नेतृत्वमा पुगेका छन् उनी । कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको उपाध्यक्ष र महामन्त्री भएर काम गरेका थापा ०६४ सालमा ३१ वर्षमै संसद् छिरे ।संविधानमा प्रभावकारी देखाएका थापा ०६७ को कांग्रेस महाधिवेशनबाट सर्वाधिक मतसहित केन्द्रीय सदस्य भए । ०७२ मा एकैपटक महामन्त्रीको चुनाव लडेका थापा यसपटकको महाधिवेशनमा भने सर्वाधिक मतसहित महामन्त्री बनेका हुन् । उनको संसदीय यात्रा पनि अहिलेसम्म अपराजित छ ।

पहिलो संविधानसभामा समानुपातिकबाट सांसद भएका उनी ०७० मा काठमाडौं–४ बाट चुनाव लडे । त्यसबेला उनले एमालेका निर्मल कुइँकेललाई १३ हजारभन्दा धेरै मतले पराजित गरे ।

थापाले २२ हजार ३३६ मत ल्याउँदा एमालेका कुइँकेलले ९ हजार १३५ मत ल्याएका थिए । थापा ०७४ पनि त्यही क्षेत्रबाट दोहोरिएर निर्वाचित भए । देशभर बामगठबन्धन हुँदा थापाले भने एमालेका राजन भट्टराईलाई ३ हजार ४१६ मतले पराजित गरेका थिए । त्यसबेला थापाले २१ हजार ५५८ मत ल्याउँदा भट्टराईले १८ हजार १४० मत पाएका थिए । थापाले यसपटक ७ हजार ४४७ मतले एमालेका भट्टराईलाई पराजित गरेका छन् । उनले २१ हजार ३०२ मत ल्याउँदा एमालेका भट्टराईले १३ हजार ८५५ मत पाएका छन् ।

संसदीय दलको नेता बन्न पार्टीबाट निर्वाचित सांसदमध्ये बहुमत जुटाउनुपर्छ । संसदीय दलको नेता बनेपछि प्रधानमन्त्री बन्न संसदमा बहुमत जुटाउनुपर्छ । राजनीतिक विश्लेषक आचार्य अहिलेकै अवस्थामा भने थापालाई दलको नेता र प्रधानमन्त्री दुवै बन्न असहज देख्छन् ।

‘प्रधानमन्त्री बन्न पहिले पार्टीका सांसदहरूको बीचबाट दलको नेता निर्वाचित हुनुपर्छ, त्यसपछि गठबन्धनका दलले पनि विश्वास गर्नुपर्ने हुन्छ, अहिलेको अवस्था हेर्दा त्यो सहज चाहिँ छैन,’ उनी भन्छन्, ‘फेरि हाम्रा पार्टीका महामन्त्रीहरू मन्त्री पनि नभई राजनीतिबाट बाहिरिएका उदाहरण पनि छन् ।’

प्रकाशित : मंसिर ६, २०७९ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?