भुसको आगोझैं ‘बम्बई रोग’

सुदूरपश्चिमको ठूलो प्रताडना हो– एचआईभी संक्रमण र त्यसको विस्तार । भुसको आगोझैं फैलिइरहे पनि राजनीति र समाजमा यसबारे बहस छैन । सचेतना र नियन्त्रण सम्बन्धमा कुनै दल वा उम्मेदवारले चुनावी एजेन्डासमेत बनाएका छैनन् ।

कार्तिक १२, २०७९

तुफान न्यौपाने, मेनुका ढुंगाना

अछाम — रोजगारीका लागि भारतमाथिको निर्भरताबाट सुदूरपश्चिमका आप्रवासी कामदारले पाएको सम्भवत: सबैभन्दा ठूलो प्रताडना हो– स्थानीयस्तरमा ‘बम्बई रोग’ भनेर चिनिने एचआईभी संक्रमण र परिवारमा त्यसको विस्तार ।

कुनै समय थियो– संक्रमित पहिचान गर्न, उनीहरूलाई उपचार गर्न र थप फैलिन नदिन जनचेतना जगाउने काममा सरकारी र गैरसरकारी संस्था दिनरात खट्थे । सुदूरपश्चिमको पहाड नै एचआईभी संक्रमणबाट आक्रान्त भएको विषय मूलधारका मिडियामा बरोबरी रिपोर्टिङ हुन्थे । राष्ट्रिय बहसको विषय बन्यो तर यसबारे अहिले कसैले चर्चा गरेको सुनिँदैन । स्वास्थ्य संस्थाहरूका नियमित कार्यक्रम त चलिरहेकै छन् तर राजनीति र समाजमा यसबारे बहस छैन । सिंगो प्रदेशभर ‘भुसको आगोझैं फैलिरहेको’ एचआईभी संक्रमणबारे सचेतना र नियन्त्रण सम्बन्धमा कुनै दलका चुनावी एजेन्डा पनि बन्न सकेका छैन् । 

यस्तो लाग्छ, यो ‘भुसको आगो’ बारे अचेल कसैलाई चिन्ता छैन । यस्तो अवस्था देख्दा अछामको कमलबजार नगरपालिका–५ मानसिंह गाउँकी ४४ वर्षीया चन्द्रकला उपाध्याय अचम्मित छिन् । ‘अहिले पनि समाजमा संक्रमण सकिएको छैन, भित्रभित्रै सल्किएको हुन सक्छ तर अचेल कसैले वास्तै गर्दैनन्,’ उनी भन्छिन् ।

भारतमा काम गर्न आउजाउ गरिरहने श्रीमान् अन्तिमपटक सिकिस्त बिरामी परेर घर आइपुगेका थिए । उपाध्यायले अस्पताल लगिन् । एचआईभी संक्रमण देखियो । त्यसकै कारण केही समयपछि उनको मृत्यु भयो । परीक्षण गर्दा उपाध्यायमा पनि संक्रमण देखियो (कान्तिपुरले उनको सहमति लिएर नाम र तस्बिर प्रयोग गरेको हो ।) ‘छोरी सानै थिई, त्यसबेला मेरो एउटै प्रार्थना थियो– मेरो त सर्वस्व सकियो, कम्तीमा छोरी संक्रमित नभएकी होस्,’ उनले भनिन् । जिल्ला अस्पताल लगेर परीक्षण गराउँदा छोरीमा भने संक्रमण देखिएन । अहिले चन्द्रकलाले बुझिसकेकी छन्– संक्रमण हुनेबित्तिकै आफ्नो सर्वस्व सकिएको पनि होइन रहेछ ।

समाजमा अहिले पनि थुप्रै संक्रमित सार्वजनिक हुन नसकिरहेका बेला उनले संक्रमित बाबुआमाकी छोरी हुन् भन्ने कुरा बताएरै गत वैशाखमा २४ वर्षीया छोरीको बिहे गरिदिइन् । नियमित औषधि सेवन गर्‍यो भने सामान्य अवस्थाको जीवनयापन गर्न सकिने रहेछ भन्ने बुझिन् । २०६४ देखि जिल्ला अस्पताल मंगलसेनबाट एआरटी औषधि नियमित खाइरहेकी छन् । गुजाराका लागि घरनेर किराना पसल राखेकी छन् । ‘पहिले–पहिले त दुव्र्यवहार थियो । मैले हात लगाएको ठाउँमा अरूले छुन खोज्दैनथे, अहिले व्यवहार फेरिएको छ । किराना पसलबाट सामान बेच्न पनि खासै समस्या छैन,’ उनी भन्छिन् ।

एकातर्फ श्रीमान् वियोगको पीडा, अर्कोतर्फ सोच्दै नसोचेको रोगबाट संक्रमित । त्यसमाथि एक्लै नाबालिग छोरी हुर्काउनुपर्ने दायित्व । सुरुसुरुमा उपाध्यायको जीवन असाध्यै कष्टकर बन्यो । एचआईभीबाटै श्रीमान्को मृत्यु र उनीसमेत संक्रमित भएको खबर एक कान दुई कान मैदान भयो । 

आफन्त र छिमेकी हुँदै गाउँभर पुग्यो । त्यसपछि सुरु भयो दुर्व्यहारको अनन्त शृंखला । भन्छिन्, ‘लुकेर बस्नुभन्दा सार्वजनिक भएरै यससँग जुध्ने विचार गरें । मलाई त भयो भयो, अरूलाई नहोस् भनेर खुलेर आएँ ।’

संक्रमितका रूपमा सार्वजनिक भएपछि सामान्य लेखपढ गर्न मात्र सक्ने उपाध्यायले त्यही क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाहरूमा सामाजिक परिचालकको रूपमा काम पाइन् । संक्रमितको घरघर जाने, नियमित औषधि सेवनको महत्त्वबारे जानकारी दिने, औषधि खाए–नखाएको बारे बुझ्ने, औषधि कति बाँकी छ भन्ने रेकर्ड राख्ने र सकिन लागेका बखत लिन स्वास्थ्य संस्थामा पठाउने गर्न थालिन् । त्यसले उनमा आत्मविश्वास पनि भरिँदै गयो । ‘गाउँमा भैंसी पालेर बसेका महिला संक्रमित भएपछि समाजले तिनीसँग दूध किन्न रोक्यो, त्यस्तो अवस्थाका महिलालाई हरेस नखान काउन्सिलिङ गर्थें, पाइला पाइलामा विभेद थियो, यो अवस्थामा आउन सजिलो थिएन,’ उनी भन्छिन्, ‘अहिले पनि गाउँमा स–साना बच्चा हुर्काइरहेका संक्रमित महिलाले त्यस्तो विभेद भोगिरहेकै छन् । बच्चाले पनि विभेद भोगिरहेका छन् । तर, अचेल किन हो कुन्नि पहिलेजस्तो यसबारे कसैले चर्चा गर्दैनन् ।’

समुदायमा काम गर्दाको अनुभवका आधारमा उपाध्यायले सुदूरपश्चिम पहाडमा सल्किएको यो रोगको मूल जरो भारतमा रहेको आफूले पाएको बताउँछिन् । ‘कहिल्यै आफ्नो गाउँ नछाडेका महिला पनि संक्रमित भएका छन्, रोजगारीका लागि भारत जाने र त्यहीं संक्रमित भएर आएका श्रीमानबाट श्रीमती र बच्चाहरूमा यो रोग फैलिएको पाएकी छु,’ उनले भनिन्, ‘अहिलेसम्म यो क्रम रोकिएको छैन । तर, संक्रमित खोज्ने अभियान भने रोकिएको छ । श्रीमान्को मृत्युपछि कतिपय एकल महिला (जो संक्रमित भएको उनीहरूलाई नै थाहा थिएन) को अर्को बिहे हुँदा पनि सरिरहेको देखिन्छ । संक्रमित बालबालिकाले पछि बिहे गर्दा पनि यो रोग अझ फैलिएको हुनसक्छ । त्यसतर्फ कसैको ध्यानै छैन ।’

- आमाहरू पर्खंदै झ्यालैमा

उपाध्यायलाई एचआईभी संक्रमणले ग्रामीण इलाकामा पारेको असरमा स्थानीय तहले गर्न सक्ने जति पनि काम गरेनन् भन्ने लाग्छ । ‘संक्रमितहरूले बल प्रयोग गर्नुपर्ने काम गर्न नसक्ने हुनाले वडा कार्यालयले उनीहरूलाई कुनै व्यवसाय गर्ने तालिम दिनसक्थे, मैले जस्तै सामान्य गुजाराका लागि पसल राख्न केही हजार सहयोग पनि गर्नसक्थे,’ उनले भनिन्, ‘संक्रमितका सन्तानलाई स्कुलमा छात्रवृत्ति दिनसक्थे । तर, केही गरेनन् ।’

अछाममा मात्रै एचआईभी संक्रमित

  • ०७८/७९ मा नयाँ संक्रमित– ५७
  • ०७७/७८ मा नयाँ संक्रमित– ६४
  • ०७८/७९ मा संक्रमितको मृत्यु– ८
  • औषधि सेवन गर्ने संक्रमित– ६४२

जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख, वरिष्ठ जनस्वास्थ्य अधिकृत झनक ढुंगाना आर्थिक वर्ष २०७८/७९ मा जिल्लाभरमा ५७ जना नयाँ संक्रमित पत्ता लागेको बताउँछन् । त्यसअघिको आर्थिक वर्षमा ६४ जना नयाँ संक्रमित भेटिएका थिए । अहिले जिल्लाभरमा ६ सय ४२ जना संक्रमितले एआरटी औषधि सेवन गरिरहेको तथ्यांक जिल्ला स्वास्थ्य कार्यालयसँग छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा ८ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयले जिल्लाभरका ५ हजार गर्भवती महिलामा परीक्षण गर्दा कसैमा पनि एचआईभी संक्रमण नपाइएको ढुंगानाले बताए । उनका अनुसार बर्सेनि भेटिएका नयाँ संक्रमितमा कामका लागि भारत गएर फर्किएकाहरू छन् । 

एचआईभी संक्रमित भएपछि पनि कामका लागि भारत जाने क्रम रोकिएको छैन । उपाध्यायले जिल्लामा थुप्रै परिवारले नियमित रूपमा अस्पतालबाट औषधि लिएर कामका लागि भारत गएका पुरुषहरूलाई पठाइदिने गरेको बताइन् । भारतमा एचआईभी संक्रमणपछि खाने औषधिमा पहुँच नभएका आप्रवासी कामदारलाई नेपालबाटै परिवारले पठाइदिन्छन् । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख ढुंगाना अहिले एक जना संक्रमितका लागि बढीमा दुई महिनासम्मका लागि मात्रै औषधि दिन पाइने व्यवस्थाका कारण भारत गएका व्यक्तिका परिवारले हरेक दुई–दुई महिनामा औषधि लिएर भारत पठाइदिने गरेको बताए । 

‘नेपाल–भारत आप्रवासी श्रमिक’ का विषयमा अध्ययन गरेका सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक दीपकचन्द्र भट्ट औषधि खान नपाएर भारत गएका सुदूरपश्चिमका कैयौं संक्रमित कामदारको मृत्युसमेत भएको बताउँछन् । ‘भारतमा स्वास्थ्य संस्थामा पहुँच नभएका कतिपय कामदारले नेपालबाट लगेको औषधि पुर्‍याइपुर्‍याई खाइरहेको घटना त अध्ययनका क्रममा स्वयं मैले अभिलेख गरेको छु,’ उनले भने, ‘अहिले कतिपय संक्रमितका परिवारले नेपालका स्वास्थ्य संस्थाबाट औषधि लिएर नियमितजसो भारत पठाइदिने गरेका छन् ।’ 

सुरुमा जिल्ला अस्पतालबाट मात्रै वितरण हुँदै आएको एआरटी अहिले अछाममा जिल्ला अस्पताल मंगलसेन (एआरटी सेवनकर्ता २०८ जना) र बयलपाटा अस्पताल (एआरटी सेवनकर्ता २२० जना) तथा कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र (एआरटी सेवनकर्ता १०२ जना) र चौरपाटी प्राथमिक स्वास्थ्य केन्द्र (एआरटी सेवनकर्ता ११२ जना) गरी चार स्थानबाट वितरण भइरहेको छ । अर्थात् जिल्लाभरबाट संक्रमित वा उनीहरूका परिवार नियमित औषधि लिन यी चार स्थानसम्म आउनैपर्ने बाध्यतामा छन् । ‘एआरटी औषधि वितरणको मात्र काम कम्तीमा पालिकास्तरका स्वास्थ्य चौकीबाट गर्ने व्यवस्था हुने हो भने यहाँका संक्रमितलाई धेरै सहज हुने थियो,’ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख ढुंगानाले भने ।

तुफान न्यौपाने कान्तिपुर दैनिकमा राजनीति, न्याय प्रणाली तथा सुशासनसम्बन्धी रिपोर्टिङ गर्छन् ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully