अपूर्वविरुद्ध फौजदारी अभियोगमा ४ मुद्दा, ५ वर्षसम्म कैद दाबी

जातीय भेदभाव गरेको, अपमानजनक वा अमानवीय व्यवहार गरेको, सामाजिक रीतिथितिमा खलल पुर्‍याएको र सार्वजनिक शान्ति खलल पुर्‍याएको अभियोग
घनश्याम खड्का

काठमाडौँ — कमेडियन अपूर्व क्षितिज सिंहविरुद्ध सरकारले काठमाडौं जिल्ला अदालतमा बुधबार चार अलग–अलग मुद्दा दायर गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयले तयार पारेको एउटै अभियोगपत्रमा अपूर्वले फौजदारी अपराध संहिता २०७४ का दफा ६५, १६५, १६६ र १६८ अनुसार कसुर गरेको जिकिर गरिएको छ । 

अपूर्वविरुद्ध फौजदारी अभियोगमा ४ मुद्दा, ५ वर्षसम्म कैद दाबी

अभियोगपत्रमा अपूर्वले दफा १६६ को उपदफा १ बमोजिम जातीय भेदभाव गरेको भन्दै त्यसैको उपदफा २ बमोजिम ३ वर्षसम्म कैद वा तीन हजारसम्म जरिवाना वा दुवै मागदाबी गरिएको छ । अपमानजनक वा अमानवीय व्यवहार गरेको अभियोगमा दफा १६८ को उपदफा २ बमोजिम पाँच वर्षसम्म कैद र ५० हजार जरिवाना दाबी गरिएको छ ।

यस्तै अपूर्वले सामाजिक रीतिथितिमा खलल पुर्‍याएर दफा १६५ को उपदफा १ बमोजिमको कसुर गरेको जिकिर गर्दै सोही दफाको उपदफा २ बमोजिम १ वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना हुनुपर्ने मागदाबी सरकारी वकिलको कार्यालयले गरेको छ । उनीविरुद्ध दायर अर्को मुद्दामा संहिताको दफा ६५ को उपदफा १ बमोजिम सार्वजनिक शान्ति खलल पुर्‍याएको भन्दै त्यसैको उपदफा २ बमोजिम १ वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुनुपर्ने माग गरिएको छ ।

जाति समुदायको भावनामा आघात पुर्‍याएको भन्दै अभियन्ताहरूले उजुरी दिएपछि अपूर्वलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरीले तयार गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो । अभद्र व्यवहार गरेको अभियोगमा उनीविरुद्ध अर्को छुट्टै मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने तयारी पनि भइरहेको छ ।

अपूर्व फेरि थुनामा

युट्युबमा अपलोड गरेको भिडियो हटाएर माफी मागेको भिडियो अपलोड गरेका अपूर्व आफैं प्रहरी कार्यालय पुगेका बेला पक्राउ परेका हुन् । गत भदौ १२ मा पक्राउ परेका अपूर्व कोरोना संक्रमण भएपछि भदौ २२ मा हाजिरी जमानीमा छुटेका थिए । सोमबार हाजिर हुन जाँदा उनलाई पुनः पक्राउ गरिएको हो ।

अभियन्ताको दबाबमा अपूर्वमाथि सरकारले बदनियतपूर्वक मुद्दा दायर गरेको उनका कानुन व्यवसायीको भनाइ छ । ‘यो अति भयो,’ अपूर्वका कानुन व्यवसायी तथा उच्च अदालत बारका अध्यक्ष शान्तिराम खतिवडाले भने, ‘एउटै अभिव्यक्तिमा चारवटा कसुर दाबी गरी एउटै अभियोगपत्रमा फरक–फरक दफा प्रयोग गरेर मुद्दा दायर भएको मैले कहिल्यै देखे–सुनेको छैन । अपूर्वलाई जसरी पनि थुनामा राख्ने र दुःख दिने नियत देखिन्छ ।’

अपूर्वलाई साथ दिन सर्लाहीदेखि आएका बाबु जयशंकर सिंह एकपछि अर्को गर्दै अभियोग दर्ता भएपछि निराश भएका छन् । ‘छोरो छुटेर आउला भनेको त मुद्दामाथि मुद्दा परेको सुनेर मेरो हंसले ठाउँ छाडेको छ,’ उनले बुधबार भने ।

प्रकाशित : कार्तिक ३, २०७९ ०६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?