कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अपूर्व फेरि थुनामा

उजुरी परेको सुनेपछि पहिलो पटक प्रहरी चौकी जाँदा अपूर्वलाई हतकडी लागेको थियो, मुद्दा टुंग्याउन भन्दै दोस्रो पटक आफैं जाँदा फेरि पक्राउ परे
प्रहरीले मुद्दा चलाउने रायसहित मंगलबार सरकारी वकिलको कार्यालयमा अपूर्वको फाइल बुझाएको छ । अब मुद्दाको प्रकृति हेरी केही फाइल सीडीओ कार्यालयकहाँ जानेछ भने केही जिल्ला अदालतमा पेस हुनेछन्
घनश्याम खड्का

काठमाडौँ — यति बेला जयशंकर सिंह लामो बिदापछि खुलेको विद्यालयको पठनपाठन सञ्चालन गरिरहेका हुन्थे । तर, सर्लाही हरिवनको महादेव जनता नमुना माविका यी ५८ वर्षे प्रधानाध्यापकले आफ्ना २ हजार विद्यार्थीको पढाइको चाँजोपाँचो मिलाउन सकिरहेका छैनन् । दुई महिनादेखि बिथोलिएको उनको दैनिकीमा मंगलबारदेखि अर्को छटपटी थपिएको छ ।

अपूर्व फेरि थुनामा

पेसाले चार्टर्ड एकाउन्टेन्ट र सोखले कमेडियन छोरा अपूर्व क्षितिज सिंहको हातमा हतकडी छ, केही दिन छाडेर उनलाई प्रहरीले फेरि हिरासतमा लिएको छ ।

नेवारी संस्कृतिमाथि अपूर्वले गरेको स्ट्यान्डअप कमेडीविरुद्ध उजुरीका कारण अपूर्व दसैंअघि नै १२ दिन थुनामा परिसकेका थिए । चार वर्षदेखि धेरै पटक धेरै ठाउँमा नेवार साथीहरूकै माझमा देखाएको स्ट्यान्डअप कमेडीको भिडियो युट्युबमा राख्दा संस्कृति अभियन्ताले आपत्ति व्यक्त गरेपछि उनले तत्काल माफी माग्दै भिडियो हटाए ।

माफी मागेको भिडियो युट्युबमा अपलोड गरेपछि अभियन्ता र प्रहरीले क्षमा देलान् भनेर उनी प्रहरी वृत्त टेकु पुगेका थिए तर थुनामा परे । ‘त्यसपछि म भोलिपल्टै काठमाडौं आएँ, अभियन्ताहरूको खुट्टैमा ढोगें । तर पनि छोराविरुद्ध जाहेरी फिर्ता भएन, हजार पटक माफी माग्दा पनि प्रहरीले सुनेन,’ जयशंकर भन्छन् । बरु, अभद्र व्यवहार गरेकोदेखि साम्प्रदायिक सद्भावमा खलल परेका लगायत आरोपमा दर्जनभन्दा बढी उजुरी पर्दै गए ।

छोरा पक्राउ परेपछि बाबु पनि प्रहरी चौकी धाउन बाध्य भए । प्रहरीले एउटा कोठाबाट अर्काे कोठामा लग्ने क्रममा छोरालाई लगाएको हतकडी देख्दा जयशंकर झस्किन्थे । १२ दिनसम्म निवेदकहरूलाई हात जोड्दा पनि छोरालाई उनले छुटाउन सकेनन् ।

थुनामै रहँदा कोभिड संक्रमण भएपछि प्रहरीले हाजिरी जमानीमा छाडिदिएको थियो । त्यतिखेर अपूर्व र बाबु दुवैलाई अब मुद्दा सामसुम भयो भन्ने लागेको थियो । ‘अनि मैले छोरालाई घर लगें दसैं मनाउन,’ जयशंकर भन्छन्, ‘तर ऊ रमाउनै सकेन, धुमधुम्ती कोठामै बसिरह्यो, कसैलाई भेट्न कहीं गएन ।’ उनका अनुसार अपूर्व गाउँ फिरेका बेला प्राय: साथीहरूकहाँ बस्थे, रमाउँथे । छोराको यो मनोदशाले सिंह परिवारको दसैंको सबै उल्लास हरायो ।

दसैं सकिएपछि अपूर्व काठमाडौं फर्किए । छोरालाई ढाडस दिन हरेक दिनजसो जयशंकरले फोन गरिरहे । कोठामा एक्लो र उदास छोरालाई मनोबल थप कमजोर होला कि भन्ने डरले जयशंकर सर्लाहीमा ढुक्क हुन सकेनन्, न आमा संगीताको आँसु रोकियो । यहीबीच सोमबार बिहानै जयशंकरले काठमाडौंको बस समाते । लोकन्थलीस्थित छोराको डेरामा आए, जहाँ अपूर्व धुमधुम्ती बसिरहेका थिए ।

हाजिर जमानीमा छुटे पनि अपूर्वलाई प्रहरी चौकीमा रहेको फाइलले तनाव दिई नै रहेको थियो । ‘म अब यो धेरै झेल्न सक्दिनँ बुबा,’ अपूर्वले दु:ख बिसाए, ‘आजै प्रहरीकामा जान्छु र मुद्दा टुंग्याएर आउँछु ।’

मुद्दा टुंगो लगाउन बाबु जयशंकर पनि मंगलबार अपूर्वसँगै प्रहरीकहाँ गए । यस पटक उनीहरू दुवैलाई पूरा विश्वास थियो, मुद्दा तुरुन्तै टुंगिन्छ । तर, जानेबित्तिकै जिल्ला सरकारी वकिलले अपूर्वको मुद्दामा जिल्ला अदालतबाट पक्राउ पुर्जीको म्याद थप गर्न लगाए । प्रहरीले उनलाई हिरासतमा लियो । बाबुछोरा हेरेको हेर्‍यै भए । ‘केही हुँदैन भन्दाभन्दै छोरालाई फसाउने भए भन्ने चिन्ताले निदाउन सकिरहेको छैन,’ जयशंकर भन्छन्, ‘पहिलो पटक भन्दा पनि दोस्रो पटकको थुनाइले मनमा हजार आशंका जन्माएको छ, हामीले माफी माग्दा पनि सुख पाएनौं ।’ फेरि हतकडी लगाउने पुरानै हालतमा छोरा पुगेपछि न्याय संयन्त्रमै जयशंकरको मनमा शंका बढेको छ ।

नेवार समुदायका सयौं युवायुवतीले नै अपूर्वको शीघ्र रिहाइको अपिल गर्दै उनको युट्युब भिडियोमा प्रतिक्रिया दिएका छन् । ‘नेवार हुनुको नाताले म यहाँ कुनै खराबी देख्दिनँ, मैले त बरु (प्रस्तुतिको) अन्त्यसम्मै आनन्द लिएँ,’ अपूर्वप्रति सहानुभूति दर्शाउनेमध्येकी एक सजिना डंगोलले लेखेकी छन्, ‘अपूर्व, तपाईंलाई थप शक्ति मिलोस्, तपाईंमाथि भएको घटनाले मलाई दु:खी तुल्याएको छ ।’

अपूर्वमाथिको कारबाहीलाई प्रहरीले भने सामान्य प्रक्रिया भनेको छ । ‘उजुरी परेपछि मुद्दा नचलुन्जेल हामीले हिरासतमा लिनैपर्छ,’ महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी भरत बोहरा भन्छन्, ‘अपूर्व बिरामी परेपछि बाबुको जिम्मामा छाडेका मात्रै हौं, कारबाही सकिएको थिएन ।’

प्रहरीले मुद्दा चलाउने रायसहित मंगलबार सरकारी वकिलको कार्यालयमा अपूर्वको फाइल बुझाएको छ । अब मुद्दाको प्रकृति हेरी केही फाइल सीडीओ कार्यालयकहाँ जानेछ भने केही जिल्ला अदालतमा पेस हुनेछन् । त्यतिन्जेल उनी भने हिरासतमै रहने प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक २, २०७९ ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?