२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

लामिछानेको बयान अदालत खुलेपछि

कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद हुन सक्ने
मातृका दाहाल

काठमाडौँ — नाबालिग बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेसँग अदालत खुलेपछि मात्र बयान हुने भएको छ । प्रहरीमा जाहेरी दर्ता भएको एक महिनापछि उनी बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

लामिछानेको बयान अदालत खुलेपछि

उनलाई काठमाडौं प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ । अमेरिका हुँदै कतारको दोहा ट्रान्जिट भएर बिहीबार बिहान पौने ११ बजे विमानस्थल अवतरण गरेलगत्तै उनलाई अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको थियो । अध्यागमन कार्यालयका एक कर्मचारीका अनुसार लामिछानेले आफू अमेरिकाबाट कतार हुँदै आएको उल्लेख गरेका थिए ।

पक्राउपछि आरोपितलाई अदालतबाट थुनामा राख्ने अनुमति लिएपछि बयान प्रक्रिया अघि बढाउनुपर्नेमा दसैं बिदा परेकाले आइतबार मात्रै अदालत खुल्नेछ । त्यसपछि लामिछानेलाई अदालत उपस्थित गराइनेछ । पक्राउलगत्तै प्रहरीले उनको स्वास्थ्य परीक्षण गराइसकेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार अनुसन्धान भइरहेको छ । उनीविरुद्धको कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरीमा उनले आफूलाई भदौ ५ मा गाडीमा राखेर नगरकोट पुर्‍याएको, त्यही साँझ अबेर फर्किएर तिलगंगाको एक होटलमा लगेर बलात्कार गरेको उल्लेख गरेकी छन् । होटलमा बसेको भोलिपल्टै लामिछाने केन्यासँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न राजधानी नैरोबी प्रस्थान गरेका थिए । केन्यासँग ट्वान्टी–२० पछि एकदिवसीय शृंखला पनि भएको थियो तर लामिछाने उक्त शृंखला नखेली क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न बेस्ट इन्डिज पुगेका थिए । लामिछाने वेस्ट इन्डिजमै रहँदा भदौ २२ मा उनीविरुद्ध प्रहरीमा बलात्कार आरोपमा जाहेरी दर्ता भएको थियो । त्यसको भोलिपल्ट काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको थियो ।

अदालतले पक्राउ अनुमति दिएलगत्तै लामिछाने प्रहरीको फरार सूचीमा समेटिएका थिए भने त्यही दिन नेपाल क्रिकेट संघ (क्यान) ले कप्तानबाट निलम्बन गरेको थियो । प्रहरीको फरार र अध्यागमनको कालो सूचीमा समेटिँदा तथा अदालतले पक्राउ गर्न अनुमति दिँदा लामिछाने सीपीएलमै आबद्ध थिए । भदौ २४ मा जमैकाबाट फेसबुक र ट्वीटरमार्फत लामिछानेले आफू निर्दोष रहेको र कानुनी लडाइँ लड्न छिट्टै नेपाल आउने बताए पनि त्यसको केही दिनमै उनी अमेरिका उडेका थिए । स्रोतका अनुसार लामिछाने अमेरिका पुगेको सुइँको नेपालस्थित अमेरिकी दूतावासले प्रहरीलाई दिएको थियो । लामिछानेले भने आफू रहेको स्थानबारे केही खुलाएका थिएनन् ।

दोस्रो पटक असोज ९ मा लामिछानेले पुनः फेसबुकमार्फत नै आफू छिट्टै नेपाल आएर कानुनी लडाइँ लड्ने बताएका थिए । त्यसबेला अमेरिकामा रहेका उनले आफू रहेको मुलुकबारे पनि केही उल्लेख गरेनन् । तर, त्यसको दुई दिनअघि नै प्रहरीले असोज ७ मा विश्वका प्रहरीको साझा संगठन इन्टरपोलको डिफ्युजन नोटिसमा समेटेर खोजी कार्य अघि बढाएको थियो ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने’ उल्लेख छ । संहितामा १६ देखि १८ वर्ष उमेरको नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको पुष्टि भएमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

प्रकाशित : आश्विन २२, २०७९ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?