युवाहरूमा पदलोलुपता हुनु हुँदैन : ओली- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युवाहरूमा पदलोलुपता हुनु हुँदैन : ओली

'युवाहरूमा वैचारिक स्पष्टता र दह्रोपन आवश्यक छ । त्यसलाई व्यवहारमा एकताबद्ध र अनुशासित रूपमा उतार्न सक्नुपर्छ । पद प्राप्तिका लागि होइन काममा प्रतिस्पर्धा गर्नुपर्छ ।'
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरूमा पदलोलुपता हुन नहुने बताएका छन् । शनिबार राष्ट्रिय युवा संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले युवा पंक्ति अनुशासनमा हिँड्न आवश्यक रहेको बताएका हुन् । 

युवाहरू पदबिनै बस्न नसक्ने अवस्था आयो भने पार्टीमा २०/३५ जनासम्म उपाध्यक्ष बनाउनुपर्ने उनले बताए । युवाहरूमा कमजोरीहरू देखा परेको भन्दै उनले भने, 'युवाहरूका केही कमिजोरीका पक्षहरू पनि देखिएका छन् । युवाहरूमा ती कमीकमजोरीका पक्ष हुनु भएन । युवा उमेर भनेको भर्खरभर्खर राजनीतिमा प्रवेश गर्दै गरेको उमेर हो । यतिबेलै पदलोलुपता आयो भने, यतिबेलै महत्त्वाकांक्षी पलायो भने, पदबिनै बस्न नसक्ने अवस्था भयो भने, पदै दिनका लागि ३०/३५ जना उपाध्यक्ष बनाउनुपर्ने अवस्था आउन सक्छ।'

त्यस्तै युवाहरूले माथिल्ला पदहरूमा मात्र दाबी गर्ने हो भने पार्टी बलियो नहुने उनको भनाइ थियो । पछिल्लो समय राजनीतिमा युवापंक्तिलाई अवसर नदिइएको भन्ने आरोप लागिरहेका बेला ओलीले भने युवा उमेर भर्खरभर्खर राजनीतिमा प्रवेश गर्ने उमेर भएको बताएका हुन् । ओलीले अगाडि भने, 'युवाहरूलाई माथिल्ला पद नभइ नहुने भएर ठूला-ठूला कमिटी बनाउनुपर्ने अवस्था आयो भने त्यो पनि राम्रो होइन। आफूले भनेजस्तो भएन भने अनुशासन उल्लंघन गरेर हिँड्ने युवासुलभ गुण होइनन् । त्यसकारण युवाहरूमा वैचारिक स्पष्टता र दह्रोपन आवश्यक छ । त्यसलाई व्यवहारमा एकताबद्ध र अनुशासित रूपमा उतार्न सक्नुपर्छ । पद प्राप्तिका लागि होइन काममा प्रतिस्पर्धा गर्नुपर्छ ।'

अहिले पनि एमाले देशको सबैभन्दा ठूलो पार्टी भएको उनले बताए । चौतर्फी घेराबन्दीका बाबजुद पनि युवा शक्तिकै कारण एमाले देशको सबैभन्दा ठूलो र लोकप्रिय पार्टी भएको उनले बताए ।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि वृद्ध र प्रौढ चाहिँदैन भनेर केही व्यक्तिहरूले समाज भत्काउने विचार अघि सारेको बताएका थिए । शनिबारै आयोजित एक कार्यक्रममा दाहालले भनेका थिए, 'एकथरि मान्छेहरू आजभोलि बूढाहरू, प्रौढहरू चाहिँदैन, हामी केटाकेटी मात्रै भए पुग्छ भन्याजस्तो गरी आउन थालेका छन्, त्यो समाज भत्काउने विचार हो ।'

सम्बन्धित समाचार

प्रकाशित : श्रावण १४, २०७९ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्

समाजवादमा मात्रै पूर्ण मानवअधिकार : खनाल

रासस

काभ्रे — नेकपा (एकीकृत समाजवादी)का सम्मनित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी समाजमा मात्रै पूर्ण मानवअधिकार प्रत्याभूति हुने बताएका छन् । उनले शनिबार काभ्रेपलाञ्चोकको बनेपामा नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी)को जिल्ला भेलालाई सम्बोधन गर्दै मुलुकमा समाजवाद स्थापनापछि मात्रै पूर्ण मानवअधिकारको प्रत्याभूति हुने बताए ।

'मुलुक अहिले पुँजीवादी समाजमा आइपुगेको छ, अब समाजवाद स्थापनापछि मात्रै साँचो अर्थमा पूर्ण मानवअधिकार प्रत्याभूति हुन्छ, यसले नागरिकको नैसर्गिक अधिकारको रक्षा हुन्छ,' उनले भने । उनले नेपाली समाज समाजवादी क्रान्तितर्फ उन्मुख भएको दाबीसमेत गरे ।

नेता खनालले समाजवाद स्थापनापछि मात्रै नेपालीले सुख, शान्ति र समृद्धि प्राप्त गर्ने उल्लेख गर्दै समाजवादी क्रान्तिको रुपान्तरणको चरणपछि नयाँ युग नै समाजवाद भएको जिकिर गरे । 'समाजवादी पार्टी समाजको अगुवा क्रान्तिकारी पार्टी हो, यथास्थितिवादीलाई निमिट्यान्न पारी समाजवाद स्थापना गर्नु नै यो पार्टीको उद्देश्य हो,' उनले भने ।

यथास्थितिवादी र पूँजीपति वर्गले नागरिकलाई अझै शोषण र दमन गरिरहेकाले नेपालको मानवअधिकार खुम्चन पुगेको नेता खनालको तर्क थियो । उनले भने, 'तीनै यथास्थितिवादी, शोषण र दमनको अन्त्य गर्न समाजवादको आवश्यकता परेको हो ।'

कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य कृष्णप्रसाद सापकोटाले लोकतन्त्रका लाभहरू सबै समुदाय र वर्गले समानरूपमा पाउनुपर्ने बताउँदै सबै दलले वर्गीय र लैंगिक असमानताको विरुद्धमा लाग्ने प्रतिबद्धताको आवश्यकता औंल्याएका थिए । पार्टीका केन्द्रीय सदस्य टोकबहादुर वाइबाले एकीकृत समाजवादी पार्टी स्थापित गर्न संगठन विस्तार अभियानमा लागिएको बताए ।

प्रकाशित : श्रावण १४, २०७९ १७:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×