'लास्ट इनिङ्स'मा देशले पछिसम्म सम्झिनलायक काम गर्न मन छ : दाहाल


काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन् । शनिबार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पुनः एकपटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् । आफ्ना लागि आगामी निर्वाचनबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने उनको विश्वास थियो ।


दाहालले आगामी निर्वाचनबाट पार्टी दोस्रो दल बन्ने दाबी गरेका छन् । उनले संघीय र प्रदेश सभाको निर्वाचनमा कांग्रेससँग गठबन्धन हुने त्यसबाट माओवादी केन्द्र देशको दोस्रो पार्टी बन्ने दाबी गरेका हुन् । 'मैले नेपाली कांग्रेसका नेताहरूसँग भनेको छु आगामी निर्वाचनबाट सायद पहिलो पार्टी अहिले तपाईं नै हुनुहुन्छ । दोस्रो माओवादी केन्द्र हुने हो । त्यसमा सहयोग भयो भने सब चिज सहज जान्छ, होइन भने सहज जाँदैन,' कांग्रेसका नेताहरूले दिएको प्रतिबद्धताबारे दाहालले भने, 'त्यसमा नेतृत्व तहमा राम्रो समझदारी छ । तपाईंहरू ढुक्क हुनुस् गडबड हुँदैन, स्थानीय तह चुनावजस्तो हुँदैन भन्नुभएको छ ।'
आगामी निर्वाचनबाट माओवादी केन्द्र वामपन्थी दलमध्ये पहिलो हुने लक्ष्य रहेको दाहालले बताए । स्थानीय तह निर्वाचनमा पार्टीको आन्तरिक विवादका कारण जितेका ५० स्थानीय तह गुमाउनुपरेको उनको भनाइ थियो । 'संघीय र प्रदेशको आउने निर्वाचनमा तालमेलले गर्दा पनि हामी पहिलो हुने हो, वामपन्थी आन्दोलनको पहिलो पार्टी हुने सम्भावना छ,' उनले भने ।
स्थानीय तह निर्वाचनमा गठबन्धनको बलमा १ सय ७५ तह जित्ने आँकलन गरेकोमा पार्टीभित्रको एकता सुदृढ नहुँदा तेस्रो हुनुपरेको दाहालको भनाइ थियो । अबको संघीय र प्रदेश निर्वाचनमा भने दोस्रो दल बन्नैपर्ने भन्दै उनले कार्यकर्ताहरूलाई अहिले देखि नै अभियान थाल्न निर्देशन दिए । 'हामी त्यसरी जाँदा देशको बागडोर हाम्रै हातमा आउँछ । हामीले एकचोटी देशलाई कसरी विकास, सुशानस र समृद्ध गर्ने देखाउनुपर्छ,' उनले भने ।
फेरि प्रधानमन्त्री बन्ने दाहालको चाहना
दाहालले आफ्नो राजनीतिको 'अन्तिम इनिङ्स' हुनसक्ने बताउँदै पछिसम्म सम्झिनलायक काम गर्ने योजना रहेको पनि बताए । पुन: एक पटक सत्ताको बागडोर आफूहरूको हातमा आउने भन्दै उनले भने ,'हामीले यसरी विकास, सुशासन, समृद्धि भनेर देखाउनुछ । मलाई भन्नुहुन्छ भने यो मेरो लास्ट इनिङ्स् होस् । यो लास्ट इनिङ पछिसम्म सम्झनेगरी देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु । माओवादी भनेको माओवादी केन्द्र मात्रै हो अरु माओवादीको अर्थ छैन भन्ने कुरा यो पटकदेखि प्रमाणित भयो । किरण माओवादी काम छैन अब, विप्लव माओवादी पनि अब अर्थ छैन । बाबुराम त माओवादी नै होइनन्, तिनको हिसाब नै भएन ।’
त्यस्तै, वृद्ध र प्रौढ चाहिँदैन भनेजसरी केही व्यक्तिहरूले समाज भत्काउने विचार अघि सारेको दाहालको भनाइ थियो । 'आजभोलि एउटा बहस केही मानिसहरूले ल्याउन खोजेका छन् । यो परिवर्तनवाहकहरूलाई उत्तेजित पार्ने कसरत भएका छन् । कतिपय मानिसले सजुनसुकै पार्टीका भए पनि नेताहरूलाई हराउनुपर्छ भन्ने गरेको पाइन्छ,' उनले भने, 'मानव समाज व्यवस्थित रूपले अगाडि बढ्छ । त्यो समाजमा युवाहरूको तागत, गतिशीलताबिना अगाडि बढ्दैन । त्यसमा अनुभवी प्रौढ पनि हुन्छन् । उनीहरूको भूमिका बिना पनि अगाडि बढ्न सक्दैन । वृद्धहरूलाई हामी सबैले सम्मान गर्छौं । उहाँहरूका उपदेश, जीवन, भोगाइ, पीडा सुन्छौं र त्यसबाट शिक्षा लिएर समाजलाई अझ राम्रो बनाउने कोसिस गर्छौं । तर यहाँ एकथरि मान्छेहरू आजभोलि बूढाहरू, प्रौढहरू चाहिँदैन, हामी केटाकेटी मात्रै भए पुग्छ भन्याजस्तो गरी आउन थालेका छन् । त्यो समाज भत्काउने विचार हो ।'
पूर्वप्रधानमन्त्रीहरूलाई पराजित गर्नुपर्छ, राजनीतिक दलका नेताहरूलाई पराजित गर्नुपर्छ भनेर चालिएका अभियान लक्षित दाहालको भनाइ थियो, 'समाज अघि बढाउन युवा, प्रौढ र वृद्धवृद्धा सबै चाहिन्छ । युवा नभई पनि समाज अघि बढ्दैन । परिवर्तन नचाहनेहरू कहिले युवा, कहिले वृद्ध, कहिले नेताहरूलाई निषेध गरेर आइरहेका छन् ।'
प्रकाशित : श्रावण १४, २०७९ १५:४९