२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बर्सेनि तुइनले लान्छ ज्यान

बुधबारको घटनासहित २५ वर्षको अवधि महाकाली नदीका तुइनबाट खसेर मात्र २६ जनाले ज्यान गुमाइसकेका छन् भने अन्य नदी तथा खोलाका तुइनले पनि यो अवधिमा धेरैको ज्यान लिइसकेको छ । तुइन विस्थापनको नीति पूर्ण कार्यान्वयन हुनु त कता हो कता तुइनबाट मृत्यु हुनेको एकीकृत अभिलेखसमेत सरकारसँग छैन ।

काठमाडौं,दार्चुला — २०७८ साउन १५ मा भारतीय सुरक्षाकर्मीले तुइनको लठ्ठा खुस्काइदिएपछि महाकाली नदीमा खसेर ब्यास गाउँपालिका–२, मालघाटका ३३ वर्षीय जयसिंह धामी बेपत्ता भए । नेपाल तर्फको मालघाटबाट भारतको धार्चुलामा पर्ने गस्कु हुँदै दार्चुला सदरमुकाम खलंगा हिँडेका धामी तुइनबाट नदी पार गर्नेक्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)का सुरक्षाकर्मीले लठ्ठा खुस्काइदिएपछि महाकालीमा खसेका थिए ।

बर्सेनि तुइनले लान्छ ज्यान

उनको शव अझै भेटिएको छैन । त्यसको वर्ष दिन बित्न नपाउँदै ब्यास गाउँपालिका–२, दुम्लिङका १७ वर्षीय सचिन बुढाथोकी भारतबाट महाकाली तरेर नेपाल तर्फआउने क्रममा तुइनबाट खसेर बुधबार बेपत्ता भए । भारतीय बजारबाट किनमेल गरी फर्किने क्रममा उनी तुइनबाट खसेर महाकालीमा हेलिएका थिए ।

दार्चुला जिल्लामा तुइनबाट खसेर २०६७ सालमा इन्जिनियर राजेन्द्र न्यौपाने बेपत्ता भएका थिए । गृह मन्त्रालयकाअनुसार बुधबारको घटनासहित हालसम्म महाकालीको दार्चुला क्षेत्रमा मात्रै तुइनबाट खसेर हालसम्म २६ जनाको मृत्यु भएको अभिलेख छ । १ सय ९७ किमि लम्बाइको नेपाल–भारत सीमा लम्बाईमध्ये महाकाली नेपाल–भारत सीमवर्ती नदी हो । घरायसी र दैनिक उपभोग्य बस्तु किनमेल गर्न भारतीय बजारमा जानुपर्ने बाध्यता छ । सहजै वारपार गर्न पायक पर्ने ठाउँमा पुल छैनन् । निर्माण योजनामा रहेका पुल पनि समयमै नबन्दा तुइनबाट ज्यान गुमाउनेको संख्या बढिरहेको छ । झोलुङ्गे पुल नहुदाँ तुइनको भरमा वारपार गर्नुपर्ने स्थानीयको बाध्यता छ । अरु जिल्लामा पनि तुइनबाट खसेर स्थानीयले ज्यान गुएका छन् ।

२०७७ साउन ६ मा हेटौंडाका ७७ वर्षीय कृष्णप्रसाद पराजुलीले सामरी र राप्ती खोलाको दोभान नजिकै टाँगिएको तुइनबाट खसेर ज्यान गुमाए । त्यही महिनाको साउन १९ मा लमजुङको दोर्दी खोला तर्ने क्रममा तुइनबाट खसेर दोर्दी गाउँपालिकाकी फूलमाया गुरुङ बेपत्ता भएकी थिइन् । २०७२ पुसमा दार्चुलाकै सुन्सेराका ५५ वर्षीय चन्द्रसिंह कुँबर तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।

दार्चुलाको महाकालीमा तुइन बिस्थापन गरी सुरक्षित र सहज आवागमन गर्न ब्यास गाउँपालिका–६, बडूगाउँ र मालिकार्जुन गाउँपालिका–६, बाँकु तथा ब्यासकै मडगाउँमा झोलुङ्गे पुल प्रयोगमा आएका छन् । गतवर्ष जयसिंह धामीको मृत्युपछि तुइन भएको ठाउँ मालमा पुल निर्माण कार्य अघि बढेको छ । दार्चुलाकै महाकालीको ब्यास-४ स्थित मलघट्टे र भारत जोड्ने पुल निर्माणका क्रममा छ । तर, कहिले सकिने भन्ने टुंगो छैन ।

अरु थुप्रै स्थानमा विद्यार्थीदेखि मेलापात र घाँस दाउरा गर्दा पनि तुइनकै भर पर्नुपर्ने बाध्यता हटेको छैन । महाकाली, कर्णाली, सेती, कालीगण्डकी भेरी लगायत ठूला नदी हुन वा स्थानीय खहरे र ठूला खोला, आवश्यकताअनुसार पायक पर्ने ठाउँमा पुल नबन्दा ज्यान गुमाउनु परेका दुःखदायी घटना मात्र होइन, नदी तथा खोलाबाट तुइन मार्फत् दैनिक जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छैन ।

आब २०७६/७७ भित्र देशबाट तुइन बिस्थापित गरिसक्ने योजना तत्कालीन केपी शर्मा ओली सरकारले घोषणा गरेको थियो । त्यसअघि २०७५ साउन १८ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत योजना तथा अनुगमन शाखाले सबै स्थानीय तहलाई पत्र पठाउँदै विभिन्न स्थानमा रहेका नदी, खोला वारपार गर्न सुरक्षित उपाय नभएको अवस्थामा निर्माण गरिएका तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापन गरी तुइन निर्माण कार्य रोक्न निर्देशन दिएको थियो ।

त्यसअघि ओली पहिलो पटक प्रधानमन्त्री बन्दा २०७२ असोज २५ मा उनले आफ्नो प्राथमिकतामा परेको पहिलो मन्त्रिपरिषदबाटै तुइन बिस्थापन गरिने निर्णय गरेका थिए । तुइन हटाउन २०७३ मा सरकारले ‘सार्वजनिक तुइन बिस्थापन कार्यविधि' नै जारी गरेको थियो । त्यसको दुई वर्षपछि मन्त्रिपरिषद्को २०७५ भदौ २९ को बैठकले तुइनको प्रयोग रोकथाम, नियन्त्रण, निरुत्साहित गर्न तथा तुइन दुर्घटनाबाट प्रभावित व्यक्तिको उद्धार तथा सहायतासम्बन्धी कोष सञ्चालन नियमावली–२०७५ ल्याएको थियो ।

तर, मानवीय क्षति हुने गरी वर्षेनी घटना दोहोरिने गरेका छन् । तर, नियमावलीमा उल्लेखित प्रावधान अनुसार प्रभावित क्षेत्र लक्षित विशेष कार्यक्रम ल्याएर तुइन प्रयोग नियन्त्रण हुन सकेको छैन । पहिलो कार्यकालमा ओलीले तुइन बिस्थापन अभियानलाई मूख्य उपलब्धीका रुपमा लिएका थिए । त्यसपछि सरकारले तुइन बिस्थापन गरी त्यस स्थान तथा वरपर स्थानीयलाई पायक पर्ने ठाउँमा झोलुङ्गे पुल निर्माणको कार्यक्रम अघि बढाइएको थियो । २०७२/७३ मै देशभर १ सय ९८ स्थानमा तुइन रहेको पहिचान भएको थियो । त्यसमध्ये हालसम्म १ सय ३० बढी स्थानमा तुइन बिस्थापन गरी पुल बनाइएको सरकारले जनाएको छ । तर बाँकी ठाउँमा पुल नबन्दा जोखिमपूर्ण यात्रा मात्रै होइन, ज्यानै जाने घटना दोहोरिइरहेका छन् ।

तुइन बिस्थापन अभियान कार्यक्रम अनुसार पुल बन्न सकेको छैन । दार्चुला सदरमुकाम खलंगादेखि सोही जिल्लाको ब्यास गाउँपालिकास्थित नेपाल–भारत सीमावर्ती महाकाली नदी तर्न मात्रै दुवैं देशका स्थानीयले डेढ दर्जन बढी स्थानमा तुइन प्रयोग गर्ने गरेका थिए । पछिल्लो पटक अहिले आधा दर्जन बढी ठाउमा लुकिछिपी स्थानीयले तुइनबाट महाकाली वारपार गर्ने गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका एक अधिकारी बताउँछन् ।

बुधबार महाकालीमा खसेर दार्चुलाकै १७ वर्षीय एक किशोर बेपत्ता भए । यसले पुनः एक पटक तुइन बिस्थापन अभियान छिटो टुंगोमा पुर्‍याउनु पर्ने दबाब सरकारमाथी परेको छ । महाकालीमा मात्रै सरकारले तुइन बिस्थापन गरी ११ ठाउँमा पुल निर्माण गर्नुपर्ने गरी कार्ययोजना ल्याएको थियो । त्यसमध्ये २ ठाउँमा निर्माण सम्पन्न, २ ठाउँमा निर्माणाधीन र अरु ७ ठाउँमा निर्माण हुने सुरसार छैन ।

प्रकाशित : असार २३, २०७९ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?