एसपीपीबारे एमाले : 'नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने प्रयास स्वीकार्य छैन'- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसपीपीबारे एमाले : 'नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने प्रयास स्वीकार्य छैन'

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)सम्झौतालाई लिएर मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने नगर्न चेतावनी दिएको छ । एमालेले एसपीपी सम्झौताले मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने र त्यसलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने बताएको छ । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा पूर्वपरराष्ट्रमन्त्री तथा एमालेका सांसद प्रदीप ज्ञवालीले एसपीपीबारे सरकारलाई संसद्‍मा जवाफ दिन माग गरेका छन् । एसपीपी सम्झौताको मस्यौदाले मुलुकलाई चिन्तामा पारेको उनको भनाइ थियो ।

नेपाल सैन्य गठबन्धनमा जोडिँदा नेपालको परराष्ट्रनीति उल्लंघन हुने ज्ञवालीको भनाइ थियो । प्रस्ताव भनेर सार्वजनिक भएका विषय गम्भीर रहेको उनले बताए । नेपाल संयुक्त राष्ट्रसंघको आह्वानमा संसारका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि मात्रै नेपाली सेना जाने गरेको तर सरकारले अहिले आएर सैन्य गठबन्धनमा जोड्न खोजेको आरोप लगाए । उनले प्रश्न गरे, 'कसको कमान्ड, ब्यानरमा नेपाली सेनालाई अगाडि लिन खोजिँदैछ ? नेपालको एउटा छिमेकीको ढोकैनेर गएर सैनिक गतिविधि गर्न दिने ?'

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पनि एसपीपी सम्झौताबारे कुरा आएको तर उक्त सम्झौताका समग्र पक्षबारे अध्ययन गरेर मात्रै जवाफ दिने भनेर 'होल्ड'मा राखिएको ज्ञवालीले बताए । त्यतिबेला उनी परराष्ट्रमन्त्री थिए । त्यसको प्रभाव, त्यसले परराष्ट्र सम्बन्धमा पार्ने प्रभावलगायतका विषयलाई लिएर अध्ययन नगरेसम्म केही जवाफ नदिने भनेर स्थगित गरिएको उनले बताए ।

प्रकाशित : असार १, २०७९ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्

मिटरब्याजको चक्रमा सर्वस्व गुम्दै

अवधेशकुमार झा

राजविराज — विद्युतीय सामग्रीको व्यापार गर्ने सप्तरीको छिन्नमस्ता–१ बरही वीरपुरका ३५ वर्षीय सञ्जीव मिश्र गत मंसिर २ मा राजविराजको एक होटलमा मृत भेटिए । विष सेवन गरेर किन आत्महत्या गरे भन्ने कारण खोतल्दै जाँदा उनी मिटरब्याजीको चक्रमा फसेको पुष्टि भयो । व्यापार गर्ने क्रममा उनले चार जनासँग मिटरब्याजमा पैसा लिएको र बढ्दै गएको ब्याज तिर्न नसकेपछि उनले मृत्युको बाटो रोजेको आफन्त बताउँछन् । 

‘मिटरब्याजमा पैसा दिनेहरूले दैनिक फोन गर्दै धम्क्याउन थाले, घरै पुग्न थाले,’ सञ्जीवका मामा बुदुरले भने, ‘लगातारको धम्की झेल्न नसक्दा उनले ज्यानै गुमाउनुपर्‍यो ।’ सञ्जीवले लिएको रकमबारे थाहा नभएको परिवारको भनाइ छ । मिटरब्याजीले दबाबमा पारी लिएको चेकलाई बाउन्स गराएर पक्राउ गरिदिने धम्कीले उनी तनावमा फसेको परिवारका सदस्य बताउँछन् ।

सञ्जीवको मृत्युपछि परिवारका सदस्यले गत माघ २० मा ४ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । तर, प्रहरीले दर्ता नै नगरी आलटाल गर्दै आएको बुदुरको भनाइ छ । सप्तरीका एसपी अभिनारायण काफ्ले उक्त घटना विभिन्न कोणबाट अनुसन्धान भइरहेको दाबी गर्छन् । मिश्रको परिवार आश्वस्त छैन । ‘हामी बारम्बार प्रहरी कार्यालय पुग्छौं । पक्राउ गर्दै छौं भन्छन्, गर्दैनन्,’ बुदुरले भने, ‘आरोपितलाई सोधपुछ पनि नगरेकाले प्रहरीको अनुसन्धान पनि शंकास्पद नै छ ।’

सप्तरीमा मिटरब्याजमा फसेकाको सूची लामो छ । ऋण लिनेहरूले साहुलाई ३ देखि ५ गुणासम्मको कागज गर्ने र लिएको रकमको चेकसमेत हुने भएकाले पीडितहरू खुल्न डराउँछन् । मिटरब्याजमा हुने लेनदेनलाई स्थानीय भाषामा ‘खेपी ब्याज’ भनिन्छ । यसको ब्याजदर निश्चित हुँदैन । ऋणीलाई कति समस्या छ, त्यसका आधारमा धनीले ब्याजको अधिकतम दर तोक्छन् । कारोबार दैनिक ब्याजदरमा हुन्छ । जस्तो– एक लाखको कम्तीमा दैनिक ३ सयदेखि एक हजार रुपैयाँसम्म ब्याजदर तोक्ने गरिएको छ ।

धेरै दिनका लागि पैसा लिए घरजग्गा पास गर्नुपर्ने, थोरै अवधिका लागि लिए कम्तीमा ऋणको ३ गुणा र बढीमा ५ गुणासम्मको कागज बनाइनुका साथै ब्ल्यांक चेकको समेत लेनदेन हुने गरेको छ । घरजग्गा पास, कागज र चेकलाई भने धरौटीका रूपमा लिने गरिन्छ । पैसा लिएर मिटरब्याजअनुसार नदिए तत्कालै चेक बाउन्सदेखि घरजग्गा नियन्त्रणमा लिने कार्य साहुले गर्ने गरेका छन् । कान्तिपुरको सम्पर्कमा आएकामध्ये धेरैले एउटाको ऋण निखन्न १० औं जनासँग चक्करमा फस्नुपरेको बताएका छन् । एक जनासँग लिएको पैसा बढेर माथि पुग्ने र तिर्नका लागि अर्कोसँग फेरि मिटरब्याजमै फँसिने एक पीडितले बताए ।

तिरहुत गाउँपालिकाको मयनाकरेडीका पप्पु यादवले साथीको कामका लागि जितेन्द्र गुप्तासँग मिटरब्याजमा ६ लाख रुपैयाँ लिएका थिए । दैनिक ६ हजार ब्याज तिर्ने गरी पप्पुले १५–१५ लाखको २ वटा कागज र चारवटा चेक गुप्तालाई दिए । उनले लिएको रकम केही दिनअघिसम्म ब्याजसमेत गरी २५ लाख पुग्यो । राजविराजमा बस्ने पप्पु अहिले ऋणको भारीका कारण मोबाइल बन्द गरेर बसेका छन् । दास र उनीबीच विवाद भएपछि दुई साताअघि नगर प्रहरी कार्यालय राजविराजमा पञ्चायती भएको थियो । त्यहाँ गुप्ताले दासलाई २७ लाख नभई १५ लाख ७० हजार तिर्ने सहमति भएको स्रोतले बतायो । दासले अर्कैबाट लिएर पैसा दिएकाले समस्यामा रहेको सुनाएका थिए ।

मिटरब्याजको धन्दामा जिल्लाका केही सहकारी संस्था प्रमुख, बैंकका शाखा प्रबन्धक र कर्मचारीसमेत संलग्न रहेको स्रोतको दाबी छ । उनीहरूमध्ये धेरैले दैनिक र साप्ताहिक रूपमा मात्र मिटरब्याजमा पैसा लगाउने गरेका छन् । बैंक वा सहकारी संस्थाकै पैसा दिएर त्यसबाटै मिटरब्याज कमाउन केही स्टाफ र म्यानेजरहरू लागेको एक बैंक कर्मचारीले बताए ।

घर खर्च प्रयोजनका लागि ऋण लिँदा मिटरब्याज असुल गरेको आरोप लागेका सप्तरीको खडग–७ घर भई धरान–१९ बस्दै आएका रामदेव साह तेलीविरुद्ध सोमबार राजविराजमा पीडितहरूले प्रदर्शन गरेका छन् । उनीहरूले तत्काल पक्राउ गरी कारबाही गर्न पनि माग गरे । बोदे बरसाइन–५ का ६९ वर्षीय रामप्रसाद खत्बे, ७ नम्बरका ५८ वर्षीय मो. तैयब अली, ९ का ४३ वर्षीय शीतल यादव, खडक–६ का ५१ वर्षीय छेदीलाल पासवान, ७ का ५३ वर्षीय देवनारायण साह, ८ का ६० वर्षीय बच्चालाल साह, शम्भुनाथ–११ की ४० वर्षीया ललितादेवी मण्डल, सुरुंगा–६ का ७२ वर्षीय गुलाबचन्द साह तेली र वडा २ की ३३ वर्षीया सबुरदेवी चौधरीले साहुकार रामदेवसहित उनको परिवारका सदस्यमाथि ६ महिनाअघि नै उजुरी दिएका थिए 

प्रहरीले रामदेवका छोरा नन्दकिशोरलाई धरानबाट र छोरी अनुराधालाई काठमाडौंबाट पक्राउ गरे पनि रामदेव फरार छन् । सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेका अनुसार ९ जना निवेदकले १ करोड १७ लाख ४२ हजार २ सय ५६ रुपैयाँ रामदेवसँग ऋण लिएका थिए । त्यसको ब्याज तिरिसक्दा पनि धितोबापत मालपोत कार्यालयमा लिखत पास गरिएको जग्गा फिर्ता गर्न नमानेको पीडितको भनाइ छ ।

प्रकाशित : असार १, २०७९ ११:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×