यस्तो छ अमेरिकाले नेपाली सेनासँग सहकार्यका लागि गरेको 'एसपीपी' सम्झौताको प्रस्ताव [१० बुँदासहित]- समाचार - कान्तिपुर समाचार

यस्तो छ अमेरिकाले नेपाली सेनासँग सहकार्यका लागि गरेको 'एसपीपी' सम्झौताको प्रस्ताव [१० बुँदासहित]

जगदीश्वर पाण्डे

काठमाडौँ — नेपाल सरकार र अमेरिकाको उटाह राज्यको राष्ट्रिय पहरेदार (नेशनल गार्ड) बीच राज्यस्तरीय सहकार्य कार्यक्रम (एसपीपी) गर्नका लागि अमेरिकाले प्रस्ताव गरेको छ । प्रस्ताव गरिएको साझेदारी पत्रमा १० बुँदा समेटिएका छन् । 

उक्त एसपीपी कार्यक्रमलाई लिएर सत्तारुढ दल माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष एमालेले प्रश्न र विरोध गरिरहँदा अमेरिकी पक्षबाट नेपाललाई प्रस्ताव गरिएको दस्तावेज बाहिर आएको हो ।

कान्तिपुरलाई प्राप्त उक्त दस्तावेज अनुसार सम्झौता नेपालको रक्षा मन्त्रालय र अमेरिकाको पनि रक्षा मन्त्रालयमार्फत हुने उल्लेख छ । अमेरिकाले नेपाललाई सन् २०१५ मा एसपीसी कार्यक्रममा सहभागिताको लागि आग्रह गरे पनि नेपालले हालसम्म त्यसमा सहमति जनाइसकेको छैन ।

अमेरिका र नेपाल बीच उन्नत सहकार्यको सहमतिलाई निष्कर्षमा पुर्‍याउने इच्छा गर्दै दुबै पक्षको सार्वभौमिकता र संयुक्त राष्ट्रसंघको बडापत्रका उद्देश्यसँगै अन्य अन्तर्राष्ट्रिय सहमतिबाट उत्पन्न पक्षहरूका दायित्वको पूर्ण सम्मानमा यस सहकार्य आधारित रहने तथ्य पुष्टि गर्दै उक्त सहमति गर्ने भनिएको छ ।

यस्तै, यस सहकार्यले नेपाली सेनाको संस्थागत तथा प्राविधिक क्षमताको सबलीकरणमा योगदान दिने तथ्यको कदर गर्दै एवं अन्तर्राष्ट्रिय शान्ति तथा स्थायित्वमा योगदान दिन एवं रक्षा र सुरक्षाजस्ता विषयमा साझेदारी सबलीकरण गर्न आपसी सहकार्यलाई वृद्धि गर्नुपर्ने आवश्यकता प्रस्तावित सहमति पत्रमा उल्लेख छ । अमेरिकाले उक्त प्रस्ताव अघि सारे पनि नेपाल सरकारले यसलाई लिएर कुनै पनि प्रतिक्रिया दिएको छैन । तर सदन भित्र र बाहिर समेत सत्तागठबन्धन र प्रतिपक्षका नेताहरुले समेत प्रश्न उठाएपछि एसपीपी सम्झौता पेचिलो बन्दै गइरहेको छ ।

ती नेताहरुले एसपीपीलाई इन्डो प्यासिफिकको अंग रहेको अरोप लगाउदै नेपालको असंलग्न परराष्ट्र नीतिबाट मोडिन नहुने बताएका छन् ।

यस्ता छन् प्रस्तावित सहमतिको मस्यौदाका १० बुँदाहरु

धारा १ : परिभाषा

यस सहमतिको प्रयोजनका लागि, निम्न शब्द तथा शब्दावलीलाई निम्नानुसार परिभाषित गरिएको छ :

१. ‘राष्ट्रिय पहरेदार’ भन्नाले संयुक्त राज्य अमेरिकाको उटाह राष्ट्रिय पहरेदार बलका सदस्यहरू, तिनका गैरसैनिक खण्ड तथा नेपाली सेनाको प्रशिक्षण तथा संस्थागत क्षमता विकासका लागि नेपालमा उपस्थित रहन सक्ने तोकिएका कर्मचारीहरूका सम्पूर्ण सम्पत्ति, यन्त्रउपकरण तथा सामग्रीसमेतको निकाय बुझिन्छ ।

२. ‘तोकिएका निकाय’ भन्नाले संयुक्त राज्य अमेरिकाको रक्षा मन्त्रालय, नेपाली सेना तथा समयसमयमा हरेक पक्षका सरकारले निर्णय गरेअनुसार एवं लिखित रूपमा सूचित गरेअनुसार यस सहमतिका कारण उत्पन्न कुनै सम्बन्धका अन्य विन्दुहरू बुझिन्छ ।

३. ‘गैरसैनिक खण्ड’, ‘निर्भर’ एवं ‘संयुक्त राज्यको ठेकेदार’ भन्नाले आवश्यकताअनुसार आपसी सहमतिमा पक्षहरूले निर्धारण गरेअनुसारको अर्थ बुझिन्छ ।

४. ‘सहमत भएका सुविधाहरू’ भन्नाले धारा २ बमोजिमका सुविधाहरू तथा यस सहमतिअनुसार पक्षहरूले भविष्यमा सहमति गरेअनुसारका सुविधाहरू बुझिन्छ, जसका लागि यस सहकार्यका अवधिमा नेपालको क्षेत्रमा उपस्थित हुन सक्ने संयुक्त राज्य राष्ट्रिय पहरेदारका तोकिएका कर्मचारीलाई नेपाली सेनाले पूर्ण सहयोग गर्नेछ ।

५. ‘सहमत भएका सहकार्यका क्षेत्रहरू’ भन्नाले धारा ३ बमोजिमका क्षेत्रहरू तथा यस सहमतिअन्तर्गत पक्षहरूले भविष्यमा कार्यादेश दिन सक्ने क्षेत्रहरू बुझिन्छ, जसका लागि संयुक्त राज्यको रक्षा मन्त्रालयले नेपाली सेनालाई पूर्ण सहयोग गर्नेछ ।

धारा २ सहमत भएका सहकार्यका सुविधाहरू

१. नेपाली कानुनको पूर्ण सम्मानका साथ, सहमति भएका सुविधा तथा क्षेत्रहरूको प्रयोगमा संयुक्त राज्य राष्ट्रिय पहरेदारको पहुँच हुनेछ । सहमत भएका सुविधा तथा क्षेत्रहरूसम्बन्धी प्राविधिक विवरण, हरेक सुविधा तथा क्षेत्रका लागि नेपाली सेनाको मापक कार्यविधिअनुसार हुनेछन् । संयुक्त राज्य राष्ट्रिय पहरेदार तथा संयुक्त राज्यका ठेकेदार(हरू), संयुक्त राज्यद्वारा वा यसका लागि सञ्चालित सम्बन्धित सवारी वा हलुका विमानले प्रशिक्षण, स्थानान्तरण, सहयोग तथा सम्बन्धित क्रियाकलाप सवारी वा विमानको इन्धन भर्ने काम वा अस्थायी मर्मतसम्भार, कर्मचारी आवास, तिनका विभाग तथा सञ्चार बल तथा सामग्रीको प्रस्तुति वा परिचालन तथा तोकिएका निकायहरूका लागि पक्षहरू सहमत भएअनुसारका अन्य उद्देश्यहरूका लागि यसरी सहमत भएका सुविधा तथा क्षेत्रहरू प्रयोग गर्न सक्नेछन् । आग्रह गरिएका बखत नेपाल सरकारले नेपाली स्थानीय सरकारहरूको नियन्त्रणमा रहेका क्षेत्रहरूमा पनि संयुक्त राज्य राष्ट्रिय पहरेदारलाई सीप अभ्यास तथा प्रशिक्षणमा प्रयोगका लागि अस्थायी पहुँच उपलब्ध गराउनेछ ।

२. धारा २(१) को उद्देश्यका लागि संयुक्त राज्यले सम्पूर्ण वित्तीय तथा भौतिक खर्च सहयोग गर्नेछ ।

३. सुविधा तथा क्षेत्रहरू उपलब्ध गराउँदा नेपाल सरकारले संयुक्त राज्य राष्ट्रिय पहरेदारका सञ्चालनगत तथा सुरक्षा चासोहरूमा यथोचित ध्यान दिनेछ ।

४. सहमत भएका सहकार्यका क्षेत्रहरूको उद्देश्यका लागि आवश्यक हलुका निर्माण, बदलाव तथा सुधारमा संयुक्त राज्य राष्ट्रिय पहरेदार बलको सहजीकरणका लागि नेपालको तोकिएको निकायले पहल गर्नेछ ।

५. सहमत भएका सुविधा तथा क्षेत्रहरू प्रयोगका लागि निर्माण वा विकास हुँदा संयुक्त राज्यले यस्तो निर्माण वा विकास, सञ्चालन तथा मर्मत खर्च ब्यहोर्नेछ ।

धारा ३ सहमत भएका सहकार्यका क्षेत्रहरू

१. संयुक्त राज्य राष्ट्रिय पहरेदार र नेपाली सेनाले निम्न क्षेत्रहरूमा सहकार्य गर्नेछन् :

१.१. नेपालमा उच्च भूभाग भएका क्षेत्रमा संयुक्त प्रशिक्षण अभ्यास,

१.२. नेपालमा संयुक्त विपद् व्यवस्थापन तथा उद्धार अभ्यास,

१.३. नेपाली सेनाका अधिकृतहरूका लागि संयुक्त राज्यमा संयुक्त फेलोसिप कार्यक्रम,

१.४. उटाह राष्ट्रिय पहरेदारका अधिकृतहरूका लागि नेपालको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा अल्पकालीन फेलोसिप कार्यक्रम,

१.५. नेपालमा अन्तरसञ्चालनयोग्यता अभ्यास,

१.६. नेपालको तोकिएको निकायले सिफारिस गरेअनुसार संयुक्त राज्यमा नेपालका लागि नागरिक नेतृत्वको संलग्नता,

१.७. नेपाली सेनाको मागबमोजिम हलुका तथा गैरघातक सैन्य सामग्रीको सहयोग,

१.८. नेपाली सेनाका लागि साइबर सुरक्षा प्रशिक्षण तथा उपकरण सहयोग,

१.९. नेपाली सेनाको आतङ्कवाद विरोधी सुराकी क्षमता विकास ।

२.पक्षहरूबीचको आपसी सहमतिमार्फत नेपाली सेनाको आवश्यकताबमोजिम सहमत भएका सहकार्यका क्षेत्रहरू परिवर्तन हुन सक्नेछन् । लिखित सूचना पत्रमार्फत यस्तो परिवर्तनको अभिलेख राखिनेछ र लागू भएपछि यसै सहमतिको अङ्ग मानिनेछ ।

धारा ४: बन्दोबस्त

१. यस सहमतिबमोजिम क्रियाकलापहरू सञ्चालन गर्न नेपालमा संयुक्त राज्य राष्ट्रिय पहरेदारलाई आवश्यक परेअनुरूप तथा लिखित आग्रहबमोजिमको बन्दोबस्त सहयोग उपलब्ध गराउन नेपाल सरकारले उच्चतम प्रयास गर्नेछ ।

२. आग्रह गरिएको तथा प्राप्त भएको बन्दोबस्त सहयोगका लागि संयुक्त राज्यले उचित रकम तिर्नेछ । यस क्रममा नेपाल सरकारले संयुक्त राज्य राष्ट्रिय पहरेदारलाई नेपाली सेनाभन्दा कम सकारात्मक व्यवहार गर्नेछैन र यस्तै सहयोगमा नेपाली सेनाले तिर्ने शुल्कभन्दा कम सकारात्मक दर लागू गर्नेछैन ।

धारा ५:सम्पत्ति तथा कर

१. यस सहमतिबमोजिम संयुक्त राज्य राष्ट्रिय पहरेदारलाई उपलब्ध गराइएका सुविधा तथा क्षेत्रहरूको स्वामित्व तथा अधिकार नेपाल सरकारकै कायम हुनेछ । सुधार वा निर्माणका लागि आश्यक सम्भाव्य क्षतिपूर्तिसमेत सहमत भएका सुविधा वा क्षेत्र फिर्ता गर्ने सहमतिबारे तोकिएका निकायहरूले परामर्श गर्नेछन् ।

२. यस सहमतिको उद्देश्यका लागि उनीहरूले आयात गर्ने वा नेपालभित्रै प्राप्त गर्ने सम्पूर्ण उपकरण,

सामग्री, स्थानान्तरण गर्न सकिने संरचना तथा अन्य चल सम्पत्तिमा नेपाल सरकारले कर छुट दिनेछ ।

धारा ६:सुरक्षा

१. यस सहमतिबमोजिम नेपालमा उपस्थित संयुक्त राज्य राष्ट्रिय पहरेदार तथा तिनमा आश्रित मानिसहरूको संरक्षण, तथा सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारले आफ्नो अधिकारभित्र सबै तर्कसङ्गत उपाय अवलम्बन गर्नेछ । यस सहमतिको कार्यान्वयनका लागि कर्मचारी, गैरसैनिक व्यक्ति तथा सामग्रीको आवतजावतका लागि पक्षहरूले सकारात्मक व्यवहार गर्नेछन् ।

२. पक्षहरूको वा उनीहरूले तोकेका निकायहरूबीचको आपसी सहमतिमा, सहमत सुविधा वा क्षेत्रबाहिर तिनको आवतजावतका लागि सुरक्षा प्रदान गर्न संयुक्त राज्य राष्ट्रिय पहरेदारलाई अधिकार दिइनेछ ।

धारा ७ :कार्यान्वयन प्रबन्ध

यस सहमतिको कार्यान्वयनको व्यवस्था गर्न उपयुक्त हुने गरी पक्षहरू वा तिनका तोकिएका निकायले कार्यान्वयन सहमतिमा हस्ताक्षर गर्न सक्नेछन् । तोकिएका निकायहरूले टुङ्ग्याएको प्रबन्ध त्यसमा हस्ताक्षर गरिएको मितिदेखि लागू हुनेछ ।

धारा ८ :वित्त तथा अवधि

१. नेपाल सरकारको सैनिक वित्तीय साधनमार्फत संयुक्त राज्यले नेपाल सरकारलाई ५० करोड अमेरिकी डलर अनुदान उपलब्ध गराउनेछ र यसैमार्फत यस सहमतिबमोजिमका आपसी सहकार्यका सबै क्रियाकलापको खर्च ब्यहोरिनेछ । यस सहमति बाहेकका उद्देश्यमा यो वित्तीय अनुदान प्रयोग नहुन सक्नेछ ।

२. संयुक्त राज्य तथा नेपाल सरकारका तोकिएका निकायले यस सहमतिमा हस्ताक्षर गरेको मितिदेखि पााच वर्षसम्म यस लगानीको अवधि कायम गरिनेछ ।

धारा ९:व्याख्या तथा विवाद

पक्षहरूबीचको परामर्शबाट यस सहमतिको व्याख्या वा कार्यान्वयनसम्बन्धी सवाल वा विवादको समाधान गरिनेछ र यसलाई अन्य राष्ट्रिय वा अन्तर्राष्ट्रिय न्यायाधीकरण वा तेस्रो पक्षसमक्ष सम्प्रेषण गरिनेछैन ।

धारा १०: कार्यान्वयन, खारेजी तथा संशोधन

१. यस सहमतिको कार्यान्वयनका लागि आवश्यक आन्तरिक कानुनी आवश्यकताहरू पूरा भएको भनी कूटनीतिक माध्यममार्फत नेपालबाट संयुक्त राज्यले लिखित सूचना प्राप्त गरेको दिनदेखि यो सहमति कार्यान्वयन हुनेछ, र यसको प्रारम्भिक अवधि पााच वर्ष हुनेछ । तत्पश्चात् कुनै पक्षले अर्को पक्षलाई कूटनीतिक माध्यमबाट छमहिने लिखित सूचना दिई सहमति खारेज गरेको अवस्थामा बाहेक यो सहमति निरन्तर कार्यान्वयनमै रहनेछ ।

२. पक्षहरूबीचको लिखित सहमतिमार्फत यो सहमति संशोधन हुन सक्नेछ र धारा १० (१) बमोजिम नै यस्तो संशोधन पनि कार्यान्वयन हुनेछ ।


उल्लिखित व्यवस्थामा सहमत हुँदै, हरेक सरकारका अधिकारप्राप्त प्रतिनिधिहरूले यस सहमतिमा आ-फ्ना हस्ताक्षर गर्ने भन्ने उल्लेख छ ।






प्रकाशित : जेष्ठ ३१, २०७९ ०२:१०
प्रतिक्रिया
पठाउनुहोस्

३० वर्षमा ६४ गुणाले फैलियो मिचाहा पाती झार

पाती झारको अनुसन्धानका लागि नेपाली महिला वैज्ञानिकलाई अन्तर्राष्ट्रिय पुरस्कार
गोविन्द पोखरेल

काठमाडौँ — हेर्दा, तीतेपाती जस्तै देखिन्छ । झुप्पा परेको सेतो फूल । २ मिटरसम्मको उचाइमा वर्षभरि फुल्छ । बिउचाहिँ काला र मसिना छन् । खेतबारी, सार्वजनिक स्थान,चौर, खुला क्षेत्र, नदी उकास क्षेत्र जताततै देखिन्छ । फैलावट यति तीव्र छ कि सावर्जनिक वा खाली जग्गामा झपक्कै उम्रिएको देखिन्छ । यसबाट निस्कने ‘एलोपेथिक रसायन’ ले माटोको अम्लियपनालाई फेरबदल गर्दै अन्य बिरुवा उम्रन पाउँदैनन् ।

पाती झार र यसमा लागेको खपटे किरा । तस्बिर सौजन्यः सिर्जना महर्जन

‘पार्थेनियम हिस्टेरोफोरस’ भनिने पाती झार अचेल नेपालका हरेक जसो खुला ठाउँमा छ्याप्छ्याप्ती देखिन थालेको छ । कृषि, मानव स्वास्थ्य र गाईवस्तुलाई समेत असर गर्ने यो झारलाई सन् २०१८मा आईयूसीएनले ‘संसारका सय खतरनाक मिचाहा झार’को सूचीमा राखिदियो । दक्षिण अमेरिकामा पाइने यो झार नेपालमा सन् १९६७मा भारत हुँदै आएको रेकर्ड भएको थियो । भारतको कोलकाता हुँदै नेपाल आइपुगेको यो झार काठमाडौं उपत्यकामा सन् १९९० मा आइपुग्यो । त्यसयता यो झारले रैथाने वनस्पतिको अस्तित्वमा धावा बोल्दै फैलिरहेको छ ।

यही झारको अनुसन्धान र नियन्त्रणमा विद्यावारिधि गरेर यसको नियन्त्रण र अनुसन्धानमा सहयोग पुर्‍याएको भन्दै एक नेपाली महिला वैज्ञानिकलाई अमेरिकी अवार्ड दिइएको छ । अमेरिकी राष्ट्रपतिले खाद्य तथा कृषि सुरक्षाका लागि भनेर गठन गरेको ७ सदस्यीय विज्ञ सल्लाहकार समिति बिफाड (बोर्ड फर इन्टरनेसनल फुड एन्ड एग्रिकल्चर डेभ्लप्मेन्ट) को अवार्ड २०२१ मा नेपालकी महिला अनुसन्धानकर्ता सीर्जना महर्जनले पाएकी हुन्। बिफाडले ‘स्टुडेन्ट रिर्सच क्याटेगरी’मा महर्जनलाई सन् २०२१को अवार्ड दिने निर्णय गरेको हो । वनस्पति विभागमा सहायक वैज्ञानिक अधिकृतको रुपमा कार्यरत महर्जनले सन् २०२१मा विद्यावारिधि पूरा गरेकी हुन् ।

रसुवाको टिमुरेदेखि दार्चुलासम्म भेटिएको यो मिचाहा झार अहिले नेपालका लागि ‘टाउको दुखाइ’को विषय बनेको छ । वनस्पति विभागले पनि यो झारलाई ‘नेपालमा फैलिएका खतरनाक बाहृय मिचाहा प्रजाति’को सूचीमा रखेको छ । तराईका सबैजसो जिल्लामा फैलिएको यो झार पहाडी जिल्लाहरुमा फैलिने क्रममा रहेको अनुसन्धान कर्ता महर्जनले बताइन् ।

अनुसन्धानकर्ता महर्जन

‘जर्नल अफ माउन्टेन साइन्स’मा महर्जनको प्रकाशित अनुसन्धानात्मक पेपरमा अहिलेकै अवस्थाको तापक्रम बढ्न हो भने यसको फैलावट २० प्रतिशत क्षेत्रमा पुग्ने उल्लेख छ । ‘म्याक्सेन्ट मोडलिङ विधि’ मार्फत् उनले गरेको उक्त अनुसन्धानले सन् २०५०मा अहिलेको अवस्थाअनुसार यो प्रजातिको क्षेत्र १० प्रतिशतले बढ्ने देखिएको छ ।

०००

दक्षिण अमेरिकाबाट पाती झारको सन् १८१०मा भारतको कोलकातास्थित रोयल बोटानिकल गार्डेनबाट गरिएको थियो । पछि सन् १९५६मा भारतका विभिन्न स्थानमा फैलिएको उल्लेख छ । भारतमा फैलावट हुन थालेको ११ वर्षपछि अर्थात सन् १९६७मा नेपाल यो प्रजाति अभिलेख भएको आईयूसीएन नेपालले सन् २००५मा प्रकाशन गरेको रिपोर्टमा उल्लेख छ ।

यो झारको फैलावट सन् १९९० पछि हेर्ने हो यसको वृद्धिदर ६३ गुणाले फैलिएको पाइएको छ । सन् १९९० मा ६.४ वर्ग किलोमिटर क्षेत्रमा मात्रै भेटिएको पाती झार सन् २०१८मा ४०५ वर्गकिलोमिटर क्षेत्रफलमा भेटिएको छ । महर्जनको अनुसन्धानले चितवन अन्नपूर्ण क्षेत्रमा यो झार सन् १९९०मा ६.४ वर्ग किलोमिटर, सन् २०००मा २४.५ वर्ग किलोमिटर, सन् २०१०मा २८३ वर्ग किलोमिटर, सन् २०१८मा ४०५ वर्ग किलोमिटरमा फैलिएको देखाएको छ ।

यो झारलाई विशेषगरी गाईभैंसीभन्दा बाख्राले धेरै खान्छ । यसले श्वासप्रश्वास नलीमा पनि असर गर्ने विज्ञहरुले जनाएका छन् । झारका ‘अनसिन हेल्थ इफेक्ट’ हुने विज्ञहरुले बताएका छन् । सिजनमा रुघा खोकी लाग्ने, आँखा चिलाउने, जिउ चिलाउने जस्ता एलर्जी यसका पराग(पोलेन)ले गर्ने अनुसन्धानकर्ता महर्जनले बताइन् । पार्थेनियममा पाइने ‘पार्थेनिन’ रसायनले स्वास्थ्यलाई असर गर्छ । जसले गर्दा गाई/बाख्राको दूध तितो हुने, मासुमा असर गर्ने, गन्हाउने जस्ता समस्या देखिन्छन् ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले एउटा पार्थेनियम झारको माटोमा रहने बिउ ‘स्वाइल सिड’ २५ हजारवटासम्म भेटिएको छ । महर्जनले यो झारको फैलावट, यसको नियन्त्रणका लागि प्रयोग गर्नुपर्ने जैविक उपायको अनुसन्धानलाई आधार मान्दै बिफाड अवार्ड–२०२१ पाएकी हुन् ।

ढुसी लागेको पाती झार ।

उनले यो झार नियन्त्रणका लागि नेपालमा दुई वटा जैविक उपाय प्रभावकारी हुन सक्ने जनाएकी छन् । ढुसी र खबटे किराको प्रयोग गरेर नियन्त्रण गर्न सकिने उनको अनुसन्धानले देखाएको छ । उनको अनुसन्धानले किराहरू आउने समयअघि ढुसीलाई प्रयोग गर्न सकियो भने नियन्त्रण गर्न सकिने देखाउँछ । यस्तै, तराई तथा गर्मी क्षेत्रमा किराको प्रयोग र जाडो/ओसिलो क्षेत्रमा ढुसीको प्रयोग गरेर यो झारको फैलावटबाट रोक्न सकिने महर्जनको अनुसन्धानमा उल्लेख छ ।

०००

पाती झारलाई ‘जाइगोग्रामा बाइकोलोरटा प्यालिस्टर(लिफ इटिङ बिटल)’ भनिने एक प्रकारको खबटे किरा र विन्टर रस्ट समेत भनिने ‘पक्सिनिया’ ढुसीको माध्यमबाट नियन्त्रण गर्न सकिने उनको अनुसन्धानमा उल्लेख छ । यो ढुसी र किरा यी झारमा आश्रित हुन्छन् ।

खबटे किराको अवस्थाबारे उनले हेटौंडा र काठमाडौंमा अध्ययन गरेकी थिइन् । किराले झारको ‘बायोमास’ र उचाइ घटाइदिएको उनको अनुसन्धानले देखाएको छ । ‘विशेष गरेर यसले तराई क्षेत्रमा बढी मिचाहा झारलाई खाएको र असर गरेको देखिन्छ ट्रोपिकल क्लाइमटेमा बिटलको एक्टिभिटी हाइ देखियो, अनि टम्प्रेटमा कम,’ महजर्नले कान्तिपुरसित भनिन् । उनको यो वैज्ञानिक आलेख नास्टको जर्नलमा प्रकाशित छ । जुन अनुसन्धानले गर्मी ठाउँमा किराको प्रयोग गर्ने र अलिक चिसो/ओसिलो क्षेत्रमा ढुसीको प्रयोग गर्न सुझाव दिएको छ ।

विन्टर रस्ट समेत भनिने ‘पक्सिनिया’ ढुसीले मिचाहा झारलाई धेरै असर गरेको देखिन्छ । उपत्यकामा उनले गरेको अनुसन्धानले झारलाई नियन्त्रणमा गरेको देखिन्छ । यो ढुसीका कारणले गर्दा बिउ उत्पादन कम भएको पाइएको छ । जसमा यो ढुसीले झारको बायोमासलाई ४७ प्रतिशतले घटाइदिएको छ । यो ढुसी पाती झार भएको ९८ प्रतिशत ठाउँमा भेटिएको थियो । यो ढुसीले बिरुवाको वृद्धि विकासमा असर गर्छ । ढुसीको असरबारे उनले गरेको अनुसन्धान जर्नल अफ इकोलोजी एन्ड इन्भारोन्मेन्टमा प्रकाशित छ ।

किरा प्रयोग गरेर नियन्त्रण गर्न सकिने सम्बन्धमा थप अनुसन्धान गर्दै नार्क

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले यो झार नियन्त्रणका लागि ढुसी र किरा प्रयोग कसरी गर्ने सम्बन्धमा विस्तृत अनुसन्धान गरिरहेको छ । नार्कका वरिष्ठ वैज्ञानिक अजय श्रीरत्न बज्राचार्यले किरालाई प्राकृतिक र मावननिर्मित वातावरणमा बिरुवामा पठाएर अनुसन्धान गरेका थिए । हरेक एक वर्ग मिटरमा किराहरु छाडेर गरिएको अनुसन्धानमा किराले झारलाई खाएको र नियन्त्रण गर्ने सक्ने निचोड निकालिएको थियो ।

एउटा बिरुवामा यो किरा ३० देखि ४० हजार वटासम्मको संख्यामा नार्कका वैज्ञानिकहरुले पाएका थिए । फूल फुल्ने समयभन्दा अघिको अवस्थामा किरालाई छाड्दा यो मिचाहा झार नियन्त्रण गर्न सकिने उनीहरुको अनुसन्धानले देखाएको छ । ‘ल्याबबाट उत्पादित यो खबटे किरालाई ठूलो मात्रामा प्रयोग गर्न सकियो भने नियन्त्रण गर्न सकिन्छ,’ वरिष्ठ वैज्ञानिक बज्राचार्यले कान्तिपुरसित भने ।

पाती झार ।

यो खपटे किरा पनि भारत हुँदै नेपालमा आएको मानिन्छ । भारतले यो मिचाहा झार नियन्त्रणका लागि भनेर सन् १९८३मा मेक्सिकोबाट ल्याएको बज्राचार्यले जानकारी दिए । विभिन्न माध्यम हुँदै किरा पनि झारमा आएको हुन सक्ने उनले औंल्याए । खबटे किराले यही मिचाहा झारमा मात्रै आफ्नो ४५ दिनको जीवनचक्र पूरा गर्छ ।

वैज्ञानिकहरूका अनुसार यो किराको विशेषता भनेको पार्थेनियम झारमा मात्रै आफ्नो जीवन चक्र सम्पन्न गर्नु हो । यो किराको मोबिलिटी भने धेरै कम रहेको वैज्ञानिकहरुले बताएका छन् ।

महर्जनको अनुसन्धानले मिचाहा झारलाई फैलावट हुन नदिनका लागि नियन्त्रण समन्वय आवश्यक रहेको सुझाव दिएको छ । ल्याबमा कल्चर गरेर किराको उत्पादन गरी छाडिदिने र ढुसी पनि उत्पादन गरेर स्प्रे गरी बिरुवाहरुमा छर्कन सके नियन्त्रण गर्न सकिने उनको अनुसन्धानको सुझाव छ ।

तस्बिरहरु सौजन्यः सिर्जना महर्जन

प्रकाशित : जेष्ठ ३०, २०७९ २१:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×