चुनावमा सत्ता गठबन्धनले धाँधली गर्‍यो : एमाले- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनावमा सत्ता गठबन्धनले धाँधली गर्‍यो : एमाले

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमालेले मतदान र मतगणनाको क्रममा गठबन्धनले योजनावद्ध रुपमा धाँधली गरेको आरोप लगाउँदै खेद प्रकट गरेको हो । 

महासचिव शंखर पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचनमा मतदान र मतगणनाको समयमा गठबन्धनले योजनाबद्ध रुपमा धाँधली गरेको आरोप लगाएका हुन् । एमालेले आफूविरुद्ध मोर्चाबन्दीले मात्रै नपुगेर चुनावमा भइरहेको योजनाबद्ध धाँधलीलाई तत्काल रोक्न माग गरेको छ ।

‘हामी सत्ता गठबन्धनबाट नेकपा एमालेविरुद्ध गरिएको मोर्चाबन्दीको बाबजुद निर्वाचनमा उभिएको पार्टी हो । मोर्चाबन्दीले नपुगेर धाँधलीमा उत्रेको, योजनाबद्ध धाँधलीलाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको हुँदा यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गर्दछौँ,’ पोखरेलले विज्ञप्तिमार्फत भनेका छन् । उनले पुनः मतदान र मतगणनाका लागि नेकपा एमालेले दिएको उजुरीउपर गम्भीरताका साथ ध्यान दिई कार्यान्वयन गर्न माग गरेका छन् ।

एमालेले निर्वाचन परिणामलाई सत्ता गठबन्धनको पक्षमा पार्न दोलखाको बैतेश्वर, तामाकोशी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको सुनकोशी, काभ्रेको पाँचखाल, बाराको पचरौता, अछामको साँफेबगर, पञ्चदेवल विनायक, मंगलसेन, बझाङको छबिसपाथीभरा, सर्लाहीको धनकौल, बलरा, रामनगर, बागमती, बरहथवा, रौतहटको करुनिया लगायत दर्जनौँ स्थानमा बुथकब्जा गरेको आरोप लगाएको छ ।

त्यस्तै, निर्वाचन सुरु हुनुभन्दा अगाडि सत्ता गठबन्धनलाई सहयोग हुने गरी गृह प्रशासनले प्रहरी र कर्मचारीहरु खटाएको, मतदातालाई हतोत्साह गर्न गिरफ्तारी गर्ने र मतदानपछि मात्र छाड्ने कार्य गरेको, मौन अवधिमा अनुचित प्रभाव पार्ने गरी विभिन्न गतिविधि गरेको आरोप लगाएको छ ।

प्रकाशित : जेष्ठ १, २०७९ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्

तीन दलीय गठबन्धनलाई हराउँदै थबाङमा माओवादी केन्द्र विजयी

अध्यक्षमा ऋषिकेशव र उपाध्यक्ष शर्मिला बुढामगर विजयी
काशीराम डाँगी

रोल्पा् — रोल्पाको थबाङमा पुनः माओवादी केन्द्रले विजय हासिल गरेको छ । गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर र उपाध्यक्षमा माओवादी केन्द्रकै शर्मिला बुढामगर विजयी भएका छन् ।


आइतबार दिउँसो मतगणना सकिएपछि दुवैलाई विजयी घोषित गरिएको हो । अध्यक्षमा ऋषिकेशवले २ हजार १ सय २२ मत ल्याएका छन् भने उपाध्यक्ष शर्मिलाले पनि २ हजार १ सय २२ मत ल्याएर विजयी भएकी हुन् । अध्यक्ष र उपाध्यक्षका निकटम प्रतिद्वन्द्वीहरू दलजित रोकामगरले १ हजार ५ सय ६ र रायबहादुर पुनमगरले १ हजार ४ सय ६८ मत पाएका थिए ।

निर्वाचनमा भाग लिन माओवादी केन्द्रका उम्मेदवारविरुद्ध नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, एमाले र कांग्रेसबीच गठबन्धन बनाइएको थियो । दलजित र रायबहादुरले गठबन्धनको समर्थनमा स्वतन्त्रको तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए । सबै मतदाता ७ हजार १ सय ७० रहेकोमा थबाङमा ४ हजार १ सय ३८ जनाले अर्थात् ५७ दशमलब ७१ प्रतिशत मतदान भएको थियो ।

अघिल्लो पटकको निर्वाचनमा माओवादी केन्द्रकै वीरबहादुर घर्तीमगर र रामकिरणी रोकामगर अध्यक्ष र उपाध्यक्षमा विजयी भएका थिए । नवनिर्वाचित अध्यक्ष ऋषिकेशव माओवादी केन्द्रका पूर्वलडाकु कमान्डरसमेत हुन् । विजयी भएपछि गाउँको विकासमा पारदर्शीता गर्नुका साथै सबै पक्षलाई मिलाएर लैजान पहल गर्ने बताए । उनी रोल्पाबाट सुरु भएको माओवादी सशस्त्र द्वन्द्वको सुरुवाती समयदेखि अन्त्यसम्ममा कार्यरत एकमात्रै सदस्य हुन् । सोझा, इमान्दार र पारदर्शी उनको विजयपछि सामाजिक सद्भाव वृद्धि हुने स्थानीयले अपेक्षा गरेको बताए ।

५ वटा वडा रहेको थबाङमा ४ नम्बर वडामा बाहेक माओवादी केन्द्रकै प्यानल विजयी भएका छन् । वडा नं. ४ उवामा एमालेका उम्मेदवार हिक्मत घर्तीमगरको प्यानल नै विजयी भएको छ । वडा नं. १ मा निर्वाचित वडाध्यक्ष हिराबहादुर बुढामगर, २ मा अविलाशा रोकामगर, ३ मा जनक बुढामगर र ५ मा गोवर्द्धन घर्तिमगर माओवादीको तर्फबाट हुन् ।

वडा नं. ४ मा एमालेलाई चन्द समूहको समर्थन रहेको थियो । एमालेले जितेको उक्त वडा मगर संघ रोल्पाका पूर्वअध्यक्ष एवं एमाले रोल्पाका इन्चार्ज नवीन रोकामगरको गाउँ हो । उनकै नेतृत्वमा उक्त वडामा जित हासिल गरेपछि थबाङको माओवादी गढ भत्काउने प्रयास भएको हो । पूर्वमाओवादी नेता उनी नेता रामबहादुर थापा बादलसँगै एमालेमै रहेका थिए ।

उनकै प्रभावका कारण थबाङमा एमाले, कांग्रेसले स्थानीय कमिटी गठन गरेका हुन् ।

थबाङमा निर्वाचित अध्यक्ष र उपाध्यक्ष ऋषिकेशव बुढामगर र शर्मिला बुढामगर

प्रकाशित : जेष्ठ १, २०७९ १७:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×