देश दुईदलीय प्रणालीतर्फ गयो : ओली

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गतेसम्म पनि आफूलाई निर्वाचन सार्न प्रस्ताव गरेको दाबी गरेका छन् । 

देश दुईदलीय प्रणालीतर्फ गयो : ओली

शुक्रबार स्थानीय तह निर्वाचन २०७९ को अवसरमा भक्तपुरको सूर्यविनायकस्थित महेन्द्रशान्ति विद्यालय ‘क’ मतदान केन्द्रबाट भोट हालेपछि अध्यक्ष ओलीले यस्तो बताएका हुन् । मतदानपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले प्रधानमन्त्री देउवाले गत वैशाख ९ गतेसम्म पनि औपचारिक रूपमा वैशाख ३० बाट चुनाव सार्ने प्रस्ताव गरेको बताए । उनले आफ्नो अस्वीकारले सहमति नमिलेपछि चुनाव तोकिएकै समयभित्र भएको बताए ।

अध्यक्ष ओलीले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गते मलाई स्थानीय निर्वाचन पर सारौँ भन्ने औपचारिक प्रस्ताव पठाउनुभएको थियो । धाक लगाउने कुरा होइन, मैले अस्वीकार गरेर देशलाई द्वन्द्वतिर नधकेल्नुस्, अलोकतान्त्रिक बाटो नहिँड्नुस्, भनेर उहाँलाई राम्रैसँग खबर पठाएको थिएँ । निर्वाचन रोक्ने कुरामा सहमति हुन नसकेपछि र कानुनले बाध्यता भएपछि उहाँहरु तयार हुनुभएको हो । ९ गतेसम्म पर सारौँ भन्नुहुन्थ्यो । आज आफैंले शंकाको बीचमा भोट हाल्नुभयो होला नि भन्नुभएको छ तर शंका होइन, सप्रमाणको कुरा बाहेक केही छैन । मैले यो कुरा भनेको थिइनँ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो गृहपालिका गन्यापधुरा वडा नं १ को मतदान केन्द्रमा भोट हालेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै भनेका थिए, 'चुनाव हुँदैन हुँदैन भन्ने केपी ओलीजीले पनि मतदान गर्नुभयो होला ।' प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन मिति घोषणा भएपछि पटक पटक प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताले चुनाव सार्ने षड्यन्त्र गरेको आरोप लगाउँदै आएका थिए ।

अध्यक्ष ओलीले देश मूलतः दुईदलीय प्रणालीतर्फ गएको समेत बताए । ‘देश मूलतः दुई दलीय प्रणालीतर्फ गएको देखिन्छ । कांग्रेस पनि एक्लै चुनाव लड्ने स्थितिमा रहेन । वडासम्म पनि एक्लै लड्ने हिम्मत रहेन,’ ओलीले भने ।

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा जनताको सहभागिता उल्लेख्य र उत्साहजनक रहेकोसमेत बताए ।

प्रकाशित : वैशाख ३०, २०७९ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?