कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सुरु

अन्तर्राष्ट्रिय वायुसेवाका विमान अब काठमाडौंमा अवतरण गर्न नसके विकल्प भैरहवा
गौतम बुद्धबाट अन्तर्राष्ट्रिय उडान जेठ २ देखि

काठमाडौं‚ भैरहवा — ५६ वर्षअघि एकल इन्जिनयुक्त पिलाटसपोर्टर तथा सैनिक विमान डकोटाबाट हवाई यातायात सुरुवात भएको भैरहवा विमानस्थल बिहीबार विधिवत् रूपमा ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’ मा परिणत भएको छ । यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि नेपालको दोस्रो अन्तर्राष्ट्रिय हवाई अड्डा बनेको हो । 

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सुरु

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बिहीबार विमानस्थलको ‘गौतम बुद्ध विमानस्थल’ हटाउँदै ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’ नाम चलाएको सूचना जारी गरेका छन् । विमानस्थल प्रमुख गोविन्द दाहालका अनुसार आन्तरिक उडान भर्ने वायुसेवाका पाइलटले बिहीबार नयाँ धावनमार्गबाट जहाज उडान र अवतरण सफलतापूर्वक गरेको बताए । ‘अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्गमा पहिलो दिन २० वटा अवतरण र २० वटा टेकअफ भए,’ उनले भने, ‘पहिलो दिन काठमाडौं, पोखरा र भरतपुरबाट उडान भए । हाम्रो टावरले भैरहवामाथिको आकाश हुँदै अन्यत्र जाने २० वटा आन्तरिक उडानलाई पनि सहजीकरण गरिदिएको थियो ।’

भैरहवाको नयाँ धावनमार्ग ३ हजार मिटर लामो छ । यो काठमाडौंपछिको सबैभन्दा लामो धावनमार्ग हो । पुरानो धावनमार्गलाई नयाँ धावनमार्ग जाने ‘ट्याक्सी वे’ मा परिणत गरिएको छ । पुरानो धावनमार्ग १ हजार ५ सय मिटर लामो र ३० मिटर चौडाइको थियो । नयाँ धावनमार्गको चौडाइ ४५ मिटर छ ।

विमानस्थल प्रमुख दाहालले अबदेखि भैरहवा र काठमाडौं विमानस्थल सँगसँगै बिहान खुल्ने र राति १२ बजेसम्मै सञ्चालन हुने जानकारी दिए । यो विमानस्थललाई अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) ले अग्नि निवारणको वर्गीकरणमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसरह नवौं नम्बर राखेको छ । यसले विमानस्थलमा ३ सय हाराहारी यात्रु क्षमता भएका एयरबस ए ३३० र बोइङ ७७७ स्तरका वाइडबडी जहाजलाई अग्नि निवारण सेवा दिन सक्ने क्षमता रहेको बुझाउँछ ।

गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भने जेठ २ देखि हुने भएका छन् । प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार कुवेतको जजिरा एयरवेजलाई प्राधिकरणले सातामा तीन दिन उडानको अनुमति दिएको छ । ‘काठमाडौंमा सेवा दिँदै आएको जजिराले भैरहवामा सोमबार, बुधबार र शुक्रबार उडान गर्ने छ,’ प्रवक्ता कर्णले भने, ‘जजिराको जहाज राति साढे १ बजे भैरहवामा अवतरण गर्ने र २ बजे कुवेत फर्किने तालिका स्वीकृत भएको छ ।’ विमानस्थलले जेठ २ अघि नै केही अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुने सम्भावना रहेको पनि जनाएको छ ।

विमानस्थलका निमित्त निर्देशक तथा प्रवक्ता श्यामकिशोर साहका अनुसार अन्य एयरलाइन्सले पनि भैरहवाबाट अन्तर्राष्ट्रिय उडानका लागि चासो देखाइरहेका छन् । ओमानको सलाम एयर, थाई स्माइल एयरलाइन्स र श्रीलंकन एयरलायन्स, कतार एयरलाइन्सलगायतले हवाई उडान सञ्चालनका लागि चासो देखाउँदै आवश्यक प्रक्रियामा जुटेका छन् ।

काठमाडौं विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अब कुनै कारणले विदेशी विमान काठमाडौंमा अवतरण गर्न नसक्ने अवस्था आइपरे भैरहवामा अवतरण गराउन सकिनेछ । ‘न्यारोबडी र वाइडबडी विमान डाइभर्ट हुनुपर्ने अवस्था आइपर्दा भैरहवा वैकल्पिक विमानस्थल भयो,’ ठाकुरले भने, ‘अब विदेशी वायुयानले ढाका, कोलकाता, लखनउ, दिल्ली, ल्हासा डाइभर्ट हुनुपर्दैन ।’ काठमाडौं विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भएको करिब ६ दशकपछि विदेशी विमानलाई आफ्नै देशभित्रको विमानस्थलमा डाइभर्ट गराउन सकिने भएको हो । यो सेवा दिएबापत भैरहवा विमानस्थलको आम्दानी पनि वृद्धि हुने भएको छ ।

विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालनका लागि विदेशी एयरलाइन्स कम्पनी र यात्रुलाई आकर्षित गर्न तयार पारिएको विमानस्थल सेवा शुल्क नियमावली सरकारबाट स्वीकृत भइसकेको छ, जसमा अन्तर्राष्ट्रिय एयरलाइन्सलाई अवतरण र पार्किङलगायत शुल्कमा छुटको व्यवस्था गरिएको छ । विमानस्थलभित्र भन्सार, अध्यागमन, प्रहरी, ग्राउन्ड ह्यान्डलिङ र अन्य यात्रु सेवा केही दिनमै सञ्चालनमा ल्याउन लागिएको छ । भैरहवामा पाइलटलाई उडानमा सघाउन १० जना एयर ट्राफिक कन्ट्रोलर खटाइएका छन् । विमानस्थल आसपासमा कुनै घटना भए ५ वटा दमकल, चारवटा एम्बुलेन्स र २६ जना अग्नि नियन्त्रक छन् । ‘भैरहवामा जहाजलाई छेडेर आगो निभाउन सक्ने क्षमताको दमकल ल्याइएको छ, यस्तो दमकल काठमाडौंमा पनि छैन,’ विमानस्थल प्रमुख दाहालले भने ।

यसैबीच प्राधिकरणले काठमाडौंमा यात्रुको अत्यधिक चाप वृद्धिको कारण देखाउँदै वैशाख १५ देखि धनगढी, नेपालगन्ज, भैरहवा, सिमरा, जनकपुर, विराटनगर र चन्द्रगढी विमानस्थलको सञ्चालन समय १८ घण्टा पुर्‍याउने निर्णय गरेको छ । प्राधिकरणको हवाई यातायात विभागका उपप्रबन्धक ज्ञानेन्द्र भुलका अनुसार अब यी विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म खुला रहनेछन् ।

प्रकाशित : वैशाख ९, २०७९ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?