२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११
युक्रेन-रुस युद्ध

युद्धभूमिबाट ज्यान जोगाएर फर्किएका रोशन 

एमबीबीएस तेस्रो वर्षका विद्यार्थी रोशन भन्छन्, ‘ज्यान त जोगियो, अब भविष्यको चिन्ताले सताएको छ,  पढाइ कसरी पूरा हुन्छ ?’
राजेश मिश्र

नयाँदिल्ली — रोशन झा (वर्ष २४) लाई लागेको थिएन रसिया–युक्रेनको लडाइँबाट बचेर आउँछु । पछिल्ला दिनमा सबैभन्दा बढी उनले आमाबुबालाई सम्झेका छन् । सोमबार दिल्लीस्थित नेपाली दूतावासमा भेटिएका झाले भने, ‘आमाबुबाको आर्शिवाद र भगवानको कृपाले युद्ध भूूमिबाट सकुशल आइपुग्न सफल भएको छु ।’ 

युद्धभूमिबाट ज्यान जोगाएर फर्किएका रोशन 

युक्रेनको सम्झना मात्रले उनको आँखा रसाएर आउँछ, घरबाट छिनछिनमा बुबाआमा, भाइबहिनी र हजुरबुबाको फोन आइरहेको छ । उनी दिल्ली आइपुगेका छन् । महोत्तरीको बिजलपुरमा अवकाशप्राप्त शिक्षक बुबा भोगेन्द्र झा, आमा विशेषादेवी तथा दुई जना भाइ र बहिनीसँगै उनको घरपरिवार र सिंगो समाज उनको कुशलताको कामना गर्दै उनलाई पर्खिरहेको छ । घरबाट आउने फोनहरुले उनलाई झनै भावुक बनाइरहेको छ ।

युक्रेनको खार्किभ नेसनल मेडिकल युनिभर्सिटीमा तेस्रो वर्षको एमबीबीएसका छात्र झालाई आफ्नो पढाइको बीचमै यस्तो युद्धको सामाना गर्नुपर्ला भनेर कुनै कल्पनामा थिएन । पछिल्लो केही महिनादेखि मिडियामा रसियाले आक्रमणको तयारी गरेको सूचना आइरहेको थियो । तर जनजीवन सहज नै थियो, नियमित कक्षाहरु भइरहेका थिए, युनिभर्सिटीका तर्फबाट पनि असुरक्षाका विषयमा कहिल्यै कुनै सूचना दिइएको थिएन । उनी भन्छन्, ‘पढाइ चलिरहेको थियो, हाम्रो सम्पूर्ण ध्यान त्यतै थियो ।’

फेब्रुअरी २४ को बिहान खार्किभको–९ तलामाथिको उनको फ्ल्याट भुईंचालो आउँदाजस्तै हल्लियो । ठूला विस्फोटका आवाजहरुबाटै निद्रा उनको खुल्यो । त्यतिन्जेल रुसले आक्रमण गरिसकेको उनले भेउ पाए । एमबीबीएसकै अन्य तीनजना भारतीय छात्रहरुसँग एउटै फ्ल्याटमा उनी बस्दै आएका थिए । ‘एकदम नजिकैबाट मिसाइल उडेको जस्तो लाग्यो, ठूला आवास र घरको थरथराहटले एकदमै डर भयो, अब बाँचिदैन सबै सकियो जस्तो लाग्न थाल्यो,’ उनले सुनाए, ‘कोठामा रासन पानी थिएन । नजिकैको पसल १० बजे खुल्थ्यो । त्यहाँ पुग्दा ठूलो लाइन लागिसकेको थियो । एटीएममा पनि त्यस्तै लाइन थियो ।’ ‘मुश्किलले खाने कुरा त, थोरै किन्न सकियो तर, एटीएममा पालो आउँदा पैसा सकिएको रहेछ, पैसा पाइएन,’ उनले बताए ।

‘जताततै, डर र तनाव मात्रै थियो, सबैको अवस्था उस्तै देखिन्थ्यो । अपरान्ह ४ बजेबाट फेरि विस्फोटका ठूला आवाजहरु सुनिन थाल्यो । माथिल्लो तल्ला सुरक्षित लाग्ने । नजिकको मेट्रो स्टेसनको बेसमेन्ट सुरक्षित हुन्छ भनेर भागेर सबै त्यता जाँदै थिए । हामी पनि त्यतै पुग्यौं,’ झाले बताए । अत्यन्तै त्रासदीपूर्ण समय थियो । अन्डरग्राउन्ड मेट्रोको बेसमेन्ट अटाई नअटाई हजारौं मानिसले एकै छणमा भरिन पुगेको थियो ।

आफ्ना भारतीय साथीहरुसँग झाले २८ तारिखसम्म चार दिन मेट्रोको बेसमेन्टमा बिताएका थिए । पानीको पनि समस्या हुन थालेपछि, गोलीले बचे पनि अब भोक र प्यासले नै मरिन्छ भन्ने त्रास सबैमा देखिन थालेको थियो । ‘फोनले काम गरेको थियो, घरबाट बुबाआमाको फोन आउँदा के भन्ने ? जस्तो लाग्थ्यो, अत्यन्तै त्रासदीपूर्ण समय थियो,’ उनले भने ‘मसँग भएको पैसा सकियो, एटीएमले काम गरेन । भारतीय साथीहरुले नै सहयोग गरे ।’ मार्च १ मा बिहान धेरै फायरिङ हुन थालेपछि भोक प्याससँगै डर पनि बढेर गएको उनले बताए । अब खार्किभ छोड्नुपर्छ, भारतीय साथीहरुलाई आफ्ना सरकारबाट कुनै न कुनै एडभाइजरी पाइरहेका थिए, उनीहरुसँगै लागेर मेट्रोभन्दा ८ किलोमिटरको दूरीमा रहेको रेल्वे स्टेसन पुगेको उनले बताए ।

त्यही बेलामा एकजना भारतीय विद्यार्थीलाई गोली लागेको खबर फैलियो । त्यस घटनाले थप त्रास फैलियो । ‘अब बाँचिन्छ भन्ने कसैलाई लागेको थिएन, तर पनि खार्किभबाट बाहिरिने कोसिसलाई छाड्ेनौं,’ उनले भने ‘जेनतेन ट्रेन चढेर तथा पैदल यात्रा गरेर पोल्यान्ड छिरेपछि बाँचियो भन्ने लाग्यो ।’ भारत सरकारले आफ्ना नागरिकको उद्धारका लागि अधिकतम प्रयास गरेको छ । त्यसैको बलमा आफूले पनि सहयोग पाएको उनले बताए । पोल्यान्डमा भारतीय साथीहरुको सहारामा खाना र बस्ने उपाय लाग्यो । ‘तर, अब भारतीय एजेन्सीले मलाई दिल्ली लैजान्छ कि लैजाँदैन भन्ने चिन्ताचाहिँ थियो,’ उनले भने ‘बुबाले नेपाली नागरिकलाई ल्याइदिन नेपालले भारतलाई आग्रह गरेको र भारत त्यसमा सकारात्मक रहेको समाचार सुनाउनुभयो । मैले बर्लिनमा रहेको नेपाल एम्बेसीलाई सम्पर्क गरिरहेको थिए । भारतीय एजेन्सीलाई मैले आफैले आग्रह गरिरहेको थिए ।’

आफूसँगैका दुईजना साथी उडिसकेको र आफूलाई नबोलाएपछि पोल्यान्डमै अलपत्र परिने डर थियो उनलाई । ‘तर, अर्को फ्लाइटमा मेरो पनि नाम बोलाइएपछि खुशीको सीमा रहेन,’ उनले भने ‘पोल्यान्डबाट शनिबार साँझ उडेर आइतबार बिहान ८ बजेतिर दिल्ली आइपुगे ।’

दिल्लीमा भारतीय विद्यार्थीलाई उनीहरुको प्रदेशको ठेगानाअनुसार जम्मा पारिँदै थियो, रोशन त्यहीँबाट भारतीय मित्रहरुसँग छुट्टिएर विमानस्थलबाट बाहिर आए । घरबाट सम्पर्क ठेगाना पाएको दिल्लीभन्दा बहिरको गाजियाबादस्थित आफन्तकहाँ पुगे । सोमबार दिल्लीस्थित दूतावास आएका उनलाई दूतावासले घरजान जयनगरसम्मको ट्रेनको टिकट काटिदिने र बेखर्ची रहेका उनलाई बाटोमा खाना खर्च दिने बताएको छ । उनले आफ्नो उद्धारमा सघाउने बर्लिन र दिल्लीका नेपाली दूतावास र सिंगो भारत सरकारलाई धन्यवाद दिन्छन् ।

झाले युक्रेनमा सयौंको संख्यामा नेपालीहरू रहेको मिडियाबाट सुनेपनि आफूलाई २५/२६ जनाजति एमबीबीएसको विद्यार्थी रहेको सूचना रहेको बताए । ‘म पढ्ने युनिभर्सिटीमै एक जना सप्तरीको छात्र हुनुहुन्थ्यो,’ उनले भने ‘तर, उहाँ मभन्दा अगाडि नै खार्किभ छाडेको थाहा पाएको थिएँ । तर, पछि कुनै सम्पर्क भएन ।’ यस अवधिमा कुनै पनि अन्य नेपाली विद्यार्थीसँग आफ्नो सम्पर्क हुन नसकेको उनले बताए ।

युद्धबाट ज्यान जोगिएर आएकोमा उनी खुसी त छन् । तर, अब पढाइ के हुने हो भनेर चिन्ता थपिएको छ । पढाइमा ठूलो लगानी भइसकेको छ, मध्यभागमा पढाइ छाड्नुपर्ने स्थिति बनेको छ । लडाइँ कहिले थामिएला ? लडाइँपछिको युक्रेनको अवस्था कस्तो होला ? पढ्नलाई फेरि त्यता जान पाइएला ? जस्ता कुराको चिन्ताले उनलाई सताउन थालेको छ । ‘भारतले युक्रेनबाट बीचमै पढाइ छाड्न बाध्य आफ्ना विद्यार्थीलाई भविष्यको चिन्ता नलिन भनेको सुनेको छु,’ उनले भने ‘हाम्रो पढाइ कसरी कन्टिन्यु गर्ने नेपाल सरकारले पनि सोचिदिनुपर्छ ।’

प्रकाशित : फाल्गुन २३, २०७८ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?