सोमबार रातिसम्ममा २९८ नेपालीले युक्रेन छाडे- समाचार - कान्तिपुर समाचार

सोमबार रातिसम्ममा २९८ नेपालीले युक्रेन छाडे

द्वन्द्वग्रस्त सहर खार्किभबाट पनि तीन नेपाली निस्कन सफल
होम कार्की

काठमाडौँ — द्वन्द्वग्रस्त युक्रेनबाट सोमबार रातिसम्ममा २९८ नेपाली सुरक्षित रुपमा बाहिरिन सफल भएका छन् । यस्तै रुसको हमालबाट त्रसित खार्किभ सहरमा फसेका तीन नेपाली पनि त्यहाँबाट निस्किएर सुरक्षित स्थानतर्फ लागेको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ ।

युक्रेन मामिला हेर्दै आएका नेपाली राजदूत रामकाजी खड्काका अनुसार सोमबार रातिसम्म २९८ नेपालीले युक्रेन छाडिसकेका छन् । जसमध्ये २ सय ३२ जना पोल्यान्ड, ३९ जना स्लोभाकिया, २३ जना रोमानिया र ४ जना हंगेरी पुगेका छन् ।

जर्मनको राजधानी बर्लिनस्थित नेपाली दूतावासका अनुसार मेडिकल अध्ययन गर्न पुगेका नेपालीले खार्किभ छोड्न सफल भएका छन् । उनीहरु रेल चढेर सुरक्षित स्थानतर्फ गइरहेका जनाइएको छ ।

‘खार्किभबाट चार जना नेपाली विद्यार्थीहरु सर्म्पकमा आउनुभएको थियो । तीन जना विद्यार्थीहरुले खार्किभ छोड्नुभयो । उहाँहरु सुरक्षित स्थानतर्फ गइसक्नुभएको छ,’ उनले भने, ‘एक नेपाली युवतीले भने छोड्नु भएको छैन । उहाँ भारतीय विद्यार्थीहरुसँगै सुरक्षित हुनुहुन्छ ।’ उनलाई भारतीय विद्यार्थीसँगै उद्धारको तयारी भइरहेको पनि राजदूत खड्काले बताए ।

रूसले फागुन १२ गते युक्रेनमाथि आक्रमण गरेदेखि उनीहरु खार्किभ छोड्न सकिरहेका थिएनन् । मंगलबार बिहान खार्किभमा एक भारतीय विद्यार्थी मारिएको भारतले जनाएको छ ।

हालसम्म दूतावाससँग भने २ सय ५८ जनामात्रै सर्म्पकमा पुगेका छन् । दूतावासको सर्म्पकमा भएकामध्ये अझै ४० जना नेपालीहरु युक्रेनको सीमामा रोकिएका छन् । ‘सीमामा रोकिएकाहरुलाई प्रवेश दिनको लागि व्यक्तिगतरुपमै पत्र पठाइरहेका छौं,’ राजदूत खड्काले भने, ‘त्यो पत्र देखाएर उनीहरुलाई युक्रेनको सीमा छोड्न सहज हुन्छ ।’

प्रकाशित : फाल्गुन १७, २०७८ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्

पानीको चरम अभाव, तातो हावाको लहर अझ धेरै बढ्ने

अनूकलनभन्दा तीव्र रूपमा जलवायु परिवर्तनले पृथ्वीलाई असर 
तातो हावा र उष्ण दबाबका कारण हुने मृत्यु झन् बढ्ने
साढे ३ अर्ब मानिस जलवायु परिवर्तन असरको उच्च जोखिममा
गोविन्द पोखरेल

काठमाडौँ — जलवायु परिवर्तनका कारण यो शताब्दीको अन्त्यसम्म उष्ण दबाब(हिट स्ट्रेस)को ५० देखि ७० प्रतिशतले वृद्धि हुने जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल(आईपीससी)को नयाँ रिपोर्टले जनाएको छ । हरेक ३ जनामध्ये एक जना मानिसले अहिले उष्ण दबाबको सामना गरिरहेका छन् । 

जलवायु परिवर्तनको असरले मानिसले अनूकलन गर्न सक्नेभन्दा छिटो पृथ्वीलाई हानी गरिरहेको प्रतिवेदनमा उल्लेख छ । आईपीसीसीले सोमबार सार्वजनिक गरेको छैटौं वैज्ञानिक प्रतिवेदन(एआर–६)को दोस्रो खण्डको रिपोर्टले शताब्दीको अन्त्यसम्म हरेक वर्षको एक याममा पानीको चरम अभावको सामना गर्नुपर्ने अवस्था आउने चेतावनी दिएको छ । विश्वका ३ अर्ब ५० करोड मानिसहरु जलवायु परिवर्तन असरको उच्च जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ ।

आगामी दिनमा जलवायु परिवर्तनको कारण झन् ‘भयावह’अवस्था आउने सक्ने अनुसन्धानले देखाएको छ । लु वा तातो हावा र उष्ण दबाब(हिट स्ट्रेस)झन् बढ्ने प्रतिवेदनमा औंल्याइएको छ ।

६७ मुलुकका २७० जना लेखक, ६७५ जना सहयोगी र ६२ हजार ४१८ जना विज्ञ र सरकारी निकायका प्रतिनिधिहरुको संलग्नतामा सार्वजनिक गरिएको ‘आईपीसीसी वार्किङ ग्रुप २ रिपोर्ट क्लाइमेट चेन्ज २०२२: इम्प्याक्टस,एडाप्टेसन एन्ड भल्नरेबिलिटी’ले मानिसका कारण बढिरहेको तापक्रम वृद्धिले आगामी दिन झन् भयावह हुने आउने चेतावनी दिएको हो । आईपीसीसीका १९५ पक्ष राष्ट्रले यो रिपोर्टलाई अनुमोदन गरेका छन् ।

जलवायु परिवर्तनका कारण सबैभन्दा बढी असर मानिस र पारिस्थितिकीय प्रणालीलाई असर गर्ने देखिएको छ । आईपीसीसीका अध्यक्ष होउसेङ लिले प्रतिवेदन सार्वजनिक गर्दै जलवायु परिवर्तन मानिसका लागि मात्रै खतरा नभएर पृथ्वीकै लागि चुनौती थपिदिएको छ । ‘प्रतिवदेनले हामीले आज गरिरहेको कार्यले भविष्यमा हामी कसरी अनकूलन हुन सक्छौं र जलवायु परिवर्तनलाई प्रकृतिले कसरी लिन्छ भन्ने सवालमा पनि हाम्रो भविष्य भर पर्छ,’ लिले पत्रकार सम्मेलनमा भने ।

प्रतिवेदनअनुसार अबको दुई दशकमा पनि पृथ्वीमा धेरै किसिमका जलवायुजन्य जोखिमको सामना गर्नुपर्नेछ । बढ्दो जलवायुजन्य जोखिमलाई सम्बोधन गर्नका लागि तत्काल उपयुक्त कदम चाल्न आवश्यक रहेको पनि प्रतिवेदनमा औंल्याइएको छ । अत्यधिक गर्मीका कारण मानिसको मुत्युदर बढ्ने, खडेरीका कारण रुखहरू मर्ने, समुद्री तह तातो हुँदा ‘कोरल रिफ’हरूमा क्षति हुने प्रतिवेदनले औंल्याएको छ । यसलाई सम्बोधन नगर्ने हो भने आगामी दिन झन चुनौतीपूर्ण हुने छ । प्रतिवेदनले अफ्रिका, एसिया,मध्य र दक्षिण अमेरिकामा पनि खाना र पानीको असुरक्षा बढेको देखाएको छ ।

जलवायुजन्य जोखिम न्यूनीकरणका लागि हरित गृह ग्यास उत्सर्जनको व्यापक कटौती गर्नुपर्ने सुझाव छ । जलवायुजन्य जोखिम न्यूनीकरणका लागि स्वच्छ पारिस्थितिकीय प्रणाली आवश्यक हुने र यसले मानिसको जीवनस्तर पनि उकास्न मद्दत पुग्ने प्रतिवेदनले भनेको छ । एआर–६को वर्किङ ग्रुप–२का सह–अध्यक्ष ह्यान्स–ओटो पोर्टनरलदले पत्रकार सम्मेलनमा भने,‘क्षति भएका पारस्थितिकीय प्रणालीको पुन:स्थापना गर्दै पृथ्वीको ३० देखि ५० प्रतिशत जमिन मात्रै संरक्षण गर्ने हा भने कार्बन सञ्चिति क्षमता पनि बढ्छ र दिगो विकासको लक्ष्य हासिल गर्न पनि सहज हुन्छ ।’

जलवायुजन्य जोखिम न्यूनीकरणका लागि यो विषयको गहन छलफल र बहस ल्याउन जरुरी रहेको वैज्ञानिकहरूले बताएका छन् । जथाभावी प्रयोग हुने प्राकृतिक स्रोत,बढ्दो सहरीकरण,सामाजिक असुरक्षा र भारी वर्षा र क्षतिसम्बन्धीको बहस आवश्यकता रहेको आईपीसीसीको भनाइ छ ।

सयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम(युनेप)की प्रमुख कार्यकारी निर्देशक इंगर एन्डरसनले जलवायु परिवर्तनको असर अब मानिसले भोग्न थालेको बताइन् । उनले भनिन्, ‘१.५ डिग्री सेल्सियस तापक्रम बढ्न नदिँदा त यसको असर यस्तो देखिन्छ । हामी, ३ डिग्री सेल्सियस तापक्रम वृद्धि नजिकतिर गइसकेका छौं यसले ठूलो विपत्ति ल्याउँदै छ । पारस्थितिकीय प्रणालीको पुन:स्थापनाका कार्यक्रमहरु ल्याउनुपर्ने आवश्यकता देखिएको छ ।’

आईपीसीसी जलवायु परिवर्तनको विज्ञानसम्बन्धीको अनुसन्धान र जानकारी दिने संयुक्त राष्ट्रसंघको अंग हो । यो सन् १९८८ मा स्थापना भएको थियो । आईपीसीसीमा तीनवटा कार्य समूह छन् । वर्किङ ग्रुप १,२ र ३ । वार्किङ ग्रुप १ मा फिजिकल बेसिस अफ साइन्स । २ मा असर,अनूकलन र जोखिम छन् । ३ मा न्यूनीकरणका उपाय सुझाइएका छन् ।

आईपीसीसको सन् २०१५को ४१औं सम्मेलनले छैटौं रिपोर्ट(एआर–६) बनाउने भनेको थियो । पहिलो रिपोर्ट सन् २०१८मा प्रकाशित भएको थियो । जसमा १.५ डिग्री सेल्सियुस तापक्रम बढ्दा पृथ्वीमा कस्तो असर पर्छ भन्ने उल्लेख थियो । सन् २०१९ को रिपोर्ट जलवायु परिवर्तन र जमिनसम्बन्धी थियो । सन् २०२१को अगस्टमा वर्किङ ग्रुप १ को रिपोर्ट सार्वजनिक भएको थियो । वर्किङ ग्रुप–२को रिपोर्ट फेब्रुअरीमा सार्वजनिक भएको हो ।

एसिया क्षेत्रमा कस्तो असर पर्छ ?

वर्किङ ग्रुप–२को रिपोर्टमा बढ्दो तापक्रमले गर्मी बढ्ने, दक्षिण एसियामा खडेरी हुने, मनसुनी बाढीको प्रकोप बढ्ने र हिमालका बरफहरु पनि पग्लने उल्लेख गरको छ । एसियाली मुलुकहरुमा शताब्दीको अन्त्यसम्म ५ देखि २० प्रतिशतसम्म खडेरी वृद्धि हुने अनुमान छ । सन् २०५०सम्म एसियाका अमु दर्या, इन्दस, गंगा नदीमा पानीको अभाव हुने र मौसमी चक्र फरक–फरक हुने अनुमान छ ।

एसिया क्षेत्रमा जलवायु परिर्वतनका कारण संरक्षित वनस्पतिहरूको बासस्थान विनाशसँगै जैविक विविधतालाई धेरै असर गर्ने उल्लेख छ । उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटनको घटनाका खतरा बढ्ने, बरफ पग्लने प्रतिवेदनले भनेको छ । पान–आर्कटिक क्षेत्रमा २०५० सम्ममा ६९ प्रतिशत मानवनिर्मित संरचनाहरु उच्च जोखिममा पर्ने औंल्याइएको छ ।

दक्षिण एसियाली सहरहरू मुम्बई र ढाकामा समुद्री सतहको बढ्दाको प्रभावसँगै बाढीबाट हुने क्षति उच्च हुने आकलन गरिएको छ । गर्मीसँग सम्बन्धित मृत्युदर पनि एसियामा बढ्ने प्रतिवेदनमा उल्लेख छ । यसमा ‘भेक्टर बर्न’ रोगहरु पनि बढ्ने उल्लेख छ । दक्षिण एसियामा खाद्यान्नको अभाव र वृद्धिदर झन् बढ्ने प्रतिवेदनले औंल्याएको छ ।

वर्षाका घटनाहरु आएको फेरबदलले ऊर्जा संकट हुने र एसियाका ११ विकासोन्मुख मुलुकहरुमा ऊर्जा संकट हुने प्रतिवेदनले भनेको छ । जलवायु परिवर्तनको अनुकूलनका लागि स्मार्ट कृषि, पारस्थितीक प्रणालीमा आधारित विपद् जोखिम न्यूनीकरणलगायत कार्यहरू गर्न सुझाव दिइएको छ । तापक्रम वृद्धि हुँदै जाँदा हिमाली क्षेत्रबाट आउने नदीमा सन् २०५० सम्म २० प्रतिशत पानी घट्ने प्रक्षेपण गरिएको छ ।

आईपीसीसीको छैटौं प्रतिवेदन(एआर–६)को वर्किङ ग्रुप-१ को रिपोर्टले २०११ देखि २०२०मा मात्रै पृथ्वीको सतही तापक्रम १.१ डिग्री सेल्सियस पुगेको बताएको छ । उक्त रिपोर्टले १.१ डिग्री सेल्सियस तापक्रम बढ्दा गर्मी समयमा यो २.८ गुणाले वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्वमा १.५ डिग्री सेल्सियस तापक्रम बढ्दा हिमाली क्षेत्रमा २.१ डिग्री सेल्सियस तापक्रम बढ्ने प्रक्षेपण गरिएको छ जसको प्रत्यक्ष प्रभावमा नेपालमा समेत पर्ने देखिएको छ ।

प्रकाशित : फाल्गुन १७, २०७८ १६:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×