१८ सिटमा गठबन्धन, एकमा एमाले निर्वाचित- समाचार - कान्तिपुर समाचार
राष्ट्रिय सभा निर्वाचन

१८ सिटमा गठबन्धन, एकमा एमाले निर्वाचित

क-कसको सकिँदैछ पदावधि ?
कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सभाका १९ पदका लागि बुधबार भएको निर्वाचनमा १८ पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यो निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए ।

तर, प्रदेश १ मा गठबन्धनबाट जसपाका उम्मेदवार हेमराज राई पराजित भएका छन् । अपांगता वा अल्पसंख्यकतर्फको सो पदमा एमालेका सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएका हुन् । बाँकी १८ पदमा भने गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन भएका १९ पदमा एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४–४ र कांग्रेसका ३ सदस्यको आगामी २० फागुनमा पदावधि सकिँदैछ । तर यो निर्वाचनबाट एमालेले ८ मध्ये एक पदमात्रै जोगाउन सकेको छ भने ७ पद गुमाएको छ । ७ पद कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले लिएका छन् ।

राष्ट्रिय सभामा अब कांग्रेसले ३, माओवादी केन्द्र र एकीकृत समाजवादीले १-१ र जसपाले १ सिट बढाएका छन् । तर अझै पनि राष्ट्रिय सभाको पहिलो ठूलो दल भने एमाले नै रहनेछ । हाल राष्ट्रिय सभामा एमालेका २४ सिट छन् । अब ७ गुमाएर पनि एमाले १७ सिटसहित पहिलो ठूलो दल बनेको छ ।

यससँगै माओवादी केन्द्रले १५ सिट पुर्‍याएको छ भने कांग्रेसले १० सिट पुर्‍याएको छ । त्यस्तै, एकीकृत समाजवादीले ८ र जसपाले ३ सिट पुर्‍याएका छन् ।

राष्ट्रिय जनमोर्चा भने पहिलो पटक राष्ट्रिय सभामा प्रवेश गरेको छ । २०५१ सालदेखि संसदीय राजनीतिमा प्रवेश गरेको जनमोर्चा पहिलो पटक राष्ट्रिय सभामा पुगेको हो ।

लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका हुन् । प्रदेश १ मा महिलातर्फ एकीकृत समाजवादीकी जयन्तीदेवी राई र कांग्रेसका गोपालकुमार बस्नेत विजयी भएका छन् ।

यस्तै, मधेस प्रदेशबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टीका महम्मद खालिद सिद्धिकी निर्वाचित भएका छन् । वाग्मती प्रदेशमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र कांग्रेसका कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन् ।

यस्तै, गण्डकी प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेसकी कमला पन्त, माओवादी केन्द्रका भुवनबहादुर सुनार र सुरेश आलेमगर निर्वाचित भएका छन् ।

लुम्बिनी प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा, एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका छन् ।

कर्णाली प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेसकी दुर्गा गुरुङ र माओवादीका नरबहादुर विष्ट र एकीकृत समाजवादीका उदय बोहरा निर्वाचित भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा गठबन्धनबाट कांग्रेसका नारायणदत्त मिश्र, माओवादी केन्द्रका जगतबहादुर पार्की र एकीकृत समाजवादीका मदनकुमारी शाह (गरिमा) निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार १९ पदका लागि ४३ जना प्रतिस्पर्धामा थिए ।

राष्ट्रिय सभाका २० जना सदस्यहरूको पदावधि आगामी फागुन २१ गते सकिँदैछ । त्यसमध्ये एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित सदस्य छन् । बाँकी १९ पदका लागि निर्वाचन भएको थियो । राष्ट्रिय सभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअघि नै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम राष्ट्रिय सभामा सिट खाली हुनुअघि नै निर्वाचन भएको हो ।

क-कसको पदावधि सकिँदैछ ?

यसपटक प्रदेश १ बाट एमालेका परशुराम मेघी गुरुङ र नैनकला दाहाल, प्रदेश २ बाट सुमन प्याकुरेल र शशीकला दाहाल, वाग्मतीबाट राधेश्याम अधिकारी र उदया शर्मा पौडेल, गण्डकीबाट दिनानाथ शर्मा र शान्तिकुमारी बिसी, लुम्बिनीबाट दृगनारायण पाण्डे र कोमल वली, कर्णालीबाट खगेन्द्र पुरी र कविता बोगटी तथा सुदूरपश्चिमबाट शेरबहादुर कुँवर र तारादेवी भट्टको पदावधि सकिँदैछ ।

समावेसी दलित समूहतर्फ गण्डकी प्रदेशबाट खिमकुमार विक, सुदूरपश्चिमबाट चक्रप्रताप स्नेही र लुम्बिनीबाट रामलखन चमार तथा अपाङ्गता वा अल्पसंख्यकतर्फ कर्णालीबाट जीवन बुढा र प्रदेश १ बाट अगम वान्तावाको पदावधि सकिँदैछ ।

राष्ट्रपतिबाट मनोनित भएका रामनारायण विडारीको पदावधि पनि यसैपटक सकिँदैछ । ५९ सदस्यीय राष्ट्रिय सभामा सदस्यहरूको कार्यकाल ६ वर्ष हुन्छ।

तर, पहिलो एक कार्यकालका लागि गोलाप्रथाबाट सदस्यहरूको पदावधि निर्धारण गरिएको थियो । त्यसमध्ये पहिला दुई वर्षमै १९ जनाको पदावधि सकिएर निर्वाचन भइसकेको छ । यसपटक २० जनाको पदावधि सकिनै लाग्दा राष्ट्रपतिबाट मनोनित हुनेवाहेकका १९ सीटका लागि निर्वाचन भएको हो ।

प्रकाशित : माघ १२, २०७८ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्

हरि खड्कामाथि नक्कली प्रमाण पत्रको आरोपमा मुद्दा दायर

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अखिल नेपाल फुटबल संघ (एन्फा) का महिला फुटबल प्रमुख हरि खड्कामाथि प्रहरी सेवामा छँदा ‘नक्कली प्रमाणपत्र पेस गरी बढुवा भएको’ आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड सदस्यसमेत रहेका खड्काबारे अख्तियारद्वारा विज्ञप्तिमार्फत् ‘महानगरी प्रहरी गण नं.२ मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिषण केन्द्र (केन्द्रीय खेलकुद समिति) मा कार्यरत प्र.ना.नि. हरि खड्काको शैक्षिक योग्यता आईएको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले माध्यमिक शिक्षा परिषद वराणसी, उत्तरप्रदेशबाट जारी भएको शैक्षिक योग्यता (आईए) को झुट्टा प्रमाणपत्र पेस गरी २०५५/०७/१ मा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरिक्षक पदमा नियुक्ति’ भएको जनाएको छ । साथै, खड्काले ‘प्रहरी सेवामा निरन्तर वहाल भई २०५९/०९/१४ मा प्रहरी नायब निरिक्षक पदमा बढुवा भई सरकारलाई हानीनोक्सानी पुर्‍याई आफूसमेतलाई लाभ हुने बदनियत’ राखेको बताइएका छ ।

साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) अनुसार कसुर गरेको प्रमाणित भएको दाबी गर्दै अख्तियारले खड्काविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ र २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिम दण्डसजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तानसमेत रहेका खड्का पुरुष टिमको लागि सर्बाधिक गोलकर्ता पनि हुन् । उनीसँगै नजीराजन रायमाझीले १३–१३ गोल गरेका छन् । पुलिस क्ल्बका यी चर्चित् फरवार्डले प्रशिक्षक र व्यवस्थापकको रुपमा केही वर्ष पुलिस टिम सम्हालेपछि प्रहरी सेवाबाट पेन्सन पाक्न लागेको अवस्थामा राजिनामा दिएका थिए । एन्फा निर्वाचनमा प्रशिक्षक संघको अध्यक्षमा विनोद लामासँग पराजित भएका खड्का चुनावपछि सन् २०१९ मा राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक भएका थिए । एसियाली फुटबल महासंघ (एएफसी) को सहयोगमा महिला फुटबल प्रमुखमा नियुक्त भएपछि उनले प्रशिक्षकबाट हटेका थिए ।

प्रकाशित : माघ १२, २०७८ १९:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×