को को जान पाउँछन् खाडी र मलेसिया ?- समाचार - कान्तिपुर समाचार

को को जान पाउँछन् खाडी र मलेसिया ?

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले कोरोना भाइरस संक्रमणको जोखिमका कारण खाडी राष्ट्र र मलेसिया भ्रमणमा रोक लगाउने यसअघिको आदेश संशोधन गरेको छ । 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै माघ १० गते सोमबारदेखि भिजिट भिसामा ती राष्ट्रहरुमा जान लगाइएको प्रतिबन्धमा केही खुकुलो पारेको जनाएका हुन् । उनका अनुसार सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरु, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संघ/संस्थाका प्रतिनिधि एवं अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाका प्रतिनिधि भई भ्रमण गर्न जाने प्रतिनिधि, बिरामी कुरुवा वा बिरामीको रेखदेखको रुपमा जानेहरुका लागि अनुमति दिने उल्लेख छ ।

सरकारले कोरोना संक्रमण र अन्य कारण देखाउँदै शुक्रबार अर्को आदेश नभएसम्मका लागि माघ १० देखि खाडी र मलेसिया भ्रमणमा जान रोक लगाउने जनाएको थियो ।

विस्तृतमा


प्रकाशित : माघ ९, २०७८ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्

सरकारले समयमै निर्वाचन गर्छ : सञ्चारमन्त्री कार्की

कान्तिपुर संवाददाता

काठमाडौँ — सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले समयमै तीन वटै तहको निर्वाचन गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार कानुनविद्हरूसँगको छलफलपछि मन्त्री कार्कीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले सरकारले संविधानले व्यवस्था गरेबमोजिम तीन वटै तहको निर्वाचन गर्ने बताए । ‘हामीले निर्वाचन पहिल्यै गर्ने वा पछिलाई सार्ने कुरा गरेका छैनौं । संविधानले जे व्यवस्था गरेको छ, त्यहीअनुसार हुन्छ, त्यसमा कुनै तलमाथि हुँदैन, चाहे त्यो संघ र प्रदेशको होस् वा स्थानीय तहको होस्,’ मन्त्री कार्कीले भने, ‘हामी यो संविधानको मर्म र भावनाअनुसार चल्छौं, संविधानको जुन भावना छ, त्यही भावनाअनुसार हामी मुलुकलाई अघि बढाउँछौं ।’

उनले यो सरकार विशेष परिस्थितिमा बनेको र संविधान र लोकतन्त्रको रक्षार्थ खडा भएको बताए । ‘यो सरकार विशेष परिस्थितिमा गठन भएको हो, संविधानको आडमा एकदलीय अधिनायकवादी व्यवस्थातर्फ मुलुकलाई उन्मुख गराइएको अवस्थामा यो सरकार निर्माण भएको हो । त्यसैले यो सरकार नै संविधानको रक्षार्थ गठन भएको हो,’ उनले अघि भने, ‘त्यसैले यो सरकारले संविधानको मर्म र भावना, लोकतन्त्रको मूल्यमान्यता र जनताको आकांक्षाअनुसार काम गर्छ ।’

उनले गठबन्धन सरकार संविधानको मर्म र भावनाबमोजिम नै निर्वाचन गर्ने गरी अघि बढिरहेको बताए । ‘हामी संविधानको भावनाअनुसार नै चल्छौं, संविधानको जुन भावना छ, हामी त्यहीबमोजिम काम गर्छौं, यसमा तपाईंहरु ढुक्क हुनुहोस्,’ उनले भने, ‘संविधानले जुन व्यवस्था गरेको छ, त्यहीअनुसार तीन वटै निर्वाचन सम्पन्न हुन्छ ।’


प्रकाशित : माघ ९, २०७८ १८:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×