प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउन दलहरूलाई बारको आह्वान- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउन दलहरूलाई बारको आह्वान

'संविधानद्वारा निर्दिष्ट न्यायिक एवम् प्रशासनिक जिम्मेवारी पालना गर्न असक्षम एवम असमर्थ प्रधानन्यायाधीश राणाको व्यक्तिगत सन्तुष्टि वा रहर पूरा गर्ने र हाजिरी बजाउने पद होइन'
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउन राजनीतिक दलहरूलाई आह्वान गरेको छ । आफूमाथि गम्भीर आरोप लाग्दासमेत पदबाट राजीनामा नदिएको र संवैधानिक दायित्व पूरा गर्न नसकेको भन्दै प्रधानन्यायाधीशविरुद्ध महाभियोगको पर्याप्त आधार रहेकाले त्यसतर्फ अगाडि बढ्न राजनीतिक दलहरूलाई बारले आह्वान गरेको हो ।

प्रधानन्यायधीश राणामाथि निरन्तर प्रश्न उठेर गम्भीर आरोप लाग्दा पनि उनले सरकारी सेवा सुविधाको दुरुपोग गरेको र प्रधानन्यायाधीश पदकै अपमान गरेको पनि बारको भनाइ छ । मंगलबार आन्दोलनको ७३ औँ दिनमा बारका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले पत्रकार सम्मेलन गरेर उक्त आह्वान गरेका हुन् ।

'प्रधानन्यायाधीशले हालसम्म गरेका र सार्वजनिक भएका विकृति, विसंगतीजन्य कार्यहरू र निजले दुई महिनाभन्दा बढी अवधिसम्मको सवैधानिक दायित्व निर्वाह गर्न असक्षम रहेको आधार र कारण नै महाअभियोगको लागि पर्याप्त भएकोले त्यसतर्फ संसद्मा उपस्थित राजनीतिक दललाई जिम्मेवार बनाउने कार्यमा यहाँहरूको सक्रिय साथ र सहयोगका लागि आह्वान गर्दछौं ,' अध्यक्ष श्रेष्ठको विज्ञप्तिमा भनिएको छ ।

प्रधानन्यायाधीश राणाले संविधानको धारा १३६ ले दिएको दायित्व पूरा गर्न नसकेको पनि बारले निष्कर्ष निकालेको छ । उक्त धारामा न्याय प्रशासन र न्याय सम्पादनको प्रमुखको रूपमा प्रधानन्यायाधीशको दायित्व तोकिएको छ । 'संवैधानिक परिषद्को सदस्य, न्याय सेवा आयोगको अध्यक्ष, न्याय परिषद्को अध्यक्ष जस्ता अन्य महत्वपूर्ण संवैधानिक अंगको समेत संवेधानिक दायित्व सुम्पिएकोमा विगत २ महिनादेखि उल्लिखित संवैधानिक जिम्मेवारीहरू सम्पादन गर्न वर्तमान प्रधानन्यायाधीक्क पूर्णतः विफल भएको अवस्था छ,' विज्ञप्तिमा भनिएको छ ।

प्रधानन्यायाधीश राणाको भूमिकाका कारण समग्र न्यायकर्मीहरूको शीर निहुरेको भन्दै नेपाल बार एसोसिएसनले राजीनामा गर्न पनि भनेको छ । आफूमाथि गम्भीर आरोप लाग्दा पनि सरकारी सेवाको दुरुपयोग गरेको भन्दै राणाको भूमिकाप्रति बारले आपत्ति जनाएको छ ।

'संविधानद्वारा निर्दिष्ट न्यायिक एवम् प्रशासनिक जिम्मेवारी पालना गर्न असक्षम एवम असमर्थ प्रधानन्यायाधीश राणाको व्यक्तिगत सन्तुष्टि वा रहर पूरा गर्ने र हाजिरी बजाउने पद होइन । कुनै पदासीन प्रधानन्यायाधीश कुनै पनि कारणले पदीय जिम्मेवारी पूरा गर्न असक्षम र असमर्थ हुनासाथ संविधानको धारा १२९ (६) ले नै सक्षम एवम् सक्रिय रुपमा संवैधानिक जिम्मेवारी पालन गर्नसक्ने कार्यवाहक प्रधानन्यायाधीशको उपस्थितिको प्रत्याभूति गर्दछ । तर विगत २ महिनादेखि वर्तमान प्रधानन्यायाधीश स्वयमकै भ्रष्ट एवम् अनैतिक आचरणको कारणले गर्दा केवल हाजिरी जनाउने र सरकारी निवासमा बस्ने औपचारिकतामा संकुचित हुन पुगेको तथ्य जगजाहेर छ,' बार एसोसिएसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानन्यायाधीश राणाले पदबाट राजीनामा नदिए प्रधानन्यायाधीश पदको नै अपमान हुने बारको विज्ञप्तिमा जनाइएको छ । साथै यसले समग्र न्यायसेवामा रहेका कानुन व्यवसायीहरूको नै शीर निहुरेको कानुन व्यवसायीहरूले जनाएका छन् ।

बारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'भ्रष्टाचार र अनैतिक आचरणको संगीन आरोप खेपिरहेका प्रधानन्यायाधीश राणाले नेपाल राज्यको सम्मानित प्रधानन्यायाधीशको हैसियतले दैनिक राष्ट्रिय झण्डा हल्लाएर सरकारी सुविधा र सम्मान दुरुपयोग गर्दै हिँडेको कार्यले हामी समग्र न्यायकर्मीहरूको शीर निहुरेको छ, राष्ट्रको सम्मानित प्रधानन्यायाधीशको पदको अपमान भएको छ र निजको बहिर्गमन नभएसम्म यो लज्जास्पद अवस्था कायम नै रहनेछ ।'

साथै प्रधानन्यायाधीशमाथि महाअभियोगको विषयमा ह्विप लगाउन नमिल्ने वा नमिल्ने विश्वव्यापी संवैधानिक अभ्यास रहेको र नेपालमा समेत राजनीतिक दल सम्बन्धी ऐनमा सोही व्यवस्था भएकोले प्रत्येक दलका प्रत्येक सांसदहरूले आफ्नो विवेक प्रयोग गर्नसक्ने भन्दै बारले सांसदहरूको ध्यानाकर्षण गराएको छ ।

यस्तै प्रधानन्यायाधीशकै कारणले सिंगो न्यायपालिका र संवैधानिक प्रक्रिया नै अवरुद्ध हुँदासमेत राजनीतिक दल, संसद र सांसदहरूको मौनता, लाचारी वा निरिहताले सार्वजनिक जवाफदेहिता शून्य हुन पुगेको बारले जनाएको छ।

'राष्ट्रको सर्वोच्च अदालतको प्रधानन्यायाधीशको पदमा आसीन रहने व्यक्तिको असक्षमता एवम् अहमको प्रतीक बन्न सक्तैन । कुनै पनि न्याय प्रशासनको संचालन र राष्ट्रको न्याय सम्पादनको जिम्मेवारी न्यायाधीशको मात्र नभई नेपाल बार एसोसिएसन अन्तर्गत संगठित २०औं हजार कानुन व्यवसायीहरूको सक्रिय सहयोग र समर्थन बिना सम्भव हुँदैन,' बारले भनेको छ, 'प्रधानन्यायाधीश राणाले पदमा आसीन भएपछि नै उनमा न्यायिक विचलन सुरु भएको र निजको यस्तो गतिविधिबाट समग्र न्यायपालिका प्रभावित हुन थालेको हाम्रो ठम्याइ छ । स्वच्छ, स्वतन्त्र र पक्षपातरहित न्याय प्रशासनको प्रत्याभूति गर्ने जिम्मेवारीमा बसेको व्यक्तिको आचरणबाट नै न्यायपालिका खतरामा पुग्न थालेपछि न्यायको पहरेदारको हैसियतले बार एसोसिएसन मूकदर्शक भएर बस्न सक्दैन र बस्नेछैन ।'





प्रकाशित : पुस २७, २०७८ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्

पाँचथरमा सबैखाले कार्यक्रम गर्न प्रतिबन्ध 

लक्ष्मी गौतम

काठमाडौँ — जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन समिति (डिसिएमसी) पाँचथरले सार्वजनिक स्थलमा राजनैतिक, प्रशासनिक र सामाजिक कार्यक्रम गर्न रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा मंगलबार बसेको बैठकले आजैबाट यस्ता कार्यक्रममा रोक लगाउने निर्णय गरेको हो । बैठकले नियमित र अत्यावश्यक कार्यक्रम गर्नुपर्ने भए स्थानीय प्रशासनको अनुमति लिएर स्वास्थ्यका सबैखाले मापदण्ड पालना गरेरमात्रै सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी सार्वजनिक स्थलमा मेला महोत्सव र भेला नगर्न तथा जुनसुकै कार्यक्रममा २५ जनाभन्दा धेरै मानिस भेला नगर्न/नगराउन पनि रोक लगाइएको प्रजिअ न्यौपानेले बताए ।

बैठकले कोरोना विरुद्वको खोप उमेर पुगेका सबै नागरिकको पहुँचमा पुर्‍याउन अभियान चलाउनका साथै माघ ७ गतेदेखि खोप लगाएको कार्ड नदेखाइ प्रवेश गर्न नदिने निर्णयसमेत भएको छ । विद्यालयहरुमा जारी परीक्षा स्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित : पुस २७, २०७८ १७:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×