उच्चस्तरीय समिति राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गर्नमात्रै : प्रधानमन्त्री देउवा

कार्तिक २५, २०७८

कुलचन्द्र न्यौपाने

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन पॉच दलबीच बनेको उच्चस्तरीय राजनीतिक समन्वय समिति आगामी राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागिमात्रै बनेको बताएका छन् । पार्टीका आफूनिकट पदाधिकारी र मन्त्रीहरुसँग बिहीबार बालुवाटारमा बोलाइएको बैठकमा देउवाले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गर्नेबाहेक विषयमा यसले हात नहाल्ने जनाएका हुन् ।

त्यसअघि पार्टी उपसभापति बिमलेन्द्र निधिले समिति गठनप्रति असन्तुष्टि पोखेका थिए । ‘यो समितिको पक्षमा म छैन । यस्तो समिति बनाइनु हुन्नथ्यो, यो कम्युनिस्ट पार्टीको पोलिटब्युरोजस्तो भयो’, निधिको भनाइ थियो,‘यसप्रति मेरो गम्भीर असहमति छ ।’ निधिको असन्तुष्टिमा जवाफ दिँदै देउवाले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेर जानेबाहेक उद्देश्य नभएको बताएका हुन् । 

बैठकमा देउवा र निधिबीच घोचपेच र ठट्टासमेत चलेको थियो । निधिले आगामी निर्वाचनमा सत्ता घटक पॉच दलबीच गठबन्धन गरेर जाने विषयमा पनि देउवासँग प्रश्न गरेका थिए । पार्टीलाई पुरानै अवस्थामा लैजान्छु भन्ने अर्कोतिर गठबन्धनको कुरा गर्ने कुरा विरोधाभाष भयो भन्दै निधिले गठबन्धनको पक्षमा पनि आफू नभएको बताएका थिए । उनले कांग्रेसले कसैसँग गठबन्धन गर्न नहुने पनि बताएका थिए । देउवाले गठबन्धनको कुरा नभएको जवाफ दिएका थिए । 

बैठकमा अहिलेसम्म सम्पन्न पार्टीको स्थानीय तह निर्वाचनको परिणामका विश्लेषण गर्दै मंसिर ६ मा हुने प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनमा आवश्यक रणनीति बनाउने विषयमा छलफल भएको थियो । देउवाले पहिलो चरणमै परिणाम आउने गरी तयारी गर्नुपर्ने भन्दै प्रत्येक प्रदेशमा आफ्नो समूहको वर्चश्व स्थापित गर्न जिम्मेवारी पनि तोकेका छन् ।

सम्बन्धित समाचार

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully