निधिलाई देउवाको प्रस्ताव- ‘अहिले मलाई सघाउनुस्, १५ औं मा तपाईं नै हो’

प्रकाश धौलाकोटी

काठमाडौँ — नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई आसन्न महाधिवेशनमा आफूलाई सघाए अर्को महाधिवेशनमा सभापतिका लागि सघाउने प्रस्ताव दोहोर्‍याएका छन् । देउवाले बिहीबार आफूपक्षीय पदाधिकारी र नेताहरुलाई बोलाएर निधिसँग यस्तो प्रस्ताव गरेका हुन् ।

निधिलाई देउवाको प्रस्ताव- ‘अहिले मलाई सघाउनुस्, १५ औं मा तपाईं नै हो’

देउवा र निधि दुवै जना आसन्न महाधिवेशनमा सभापतिका आकांक्षी हुन् । १३ औँ महाधिवेशनमा निधिको सहयोग लिएर पार्टीको सभापति जितेका देउवाले निधिलाई उपसभापति मनोनीत गरेका थिए ।

देउवा आफैं १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा दोहोरिन चाहेका छन् भने निधि पनि देउवाकै सहयोगमा सभापति बन्न चाहन्छन् । तर, देउवाले नसघाए पनि आफू सभापतिमा उम्मेदवारी दिने निधिको घोषणा छ । १२ औं र १३ औं महाधिवेशनमा आफ्नो समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार बनेका देउवालाई अहिले निधिले चुनौती दिएका हुन् ।

निधि सभापतिका लागि उम्मेदवारी घोषणा गर्दै बानेश्वरमा सम्पर्क कार्यालय नै स्थापना गरेर प्रचारप्रसारमा लागिसकेका छन् । निधिले सभापतिमा उठ्ने घोषणा गरेपछि देउवा–निधि सम्बन्ध चिसिएको थियो । त्यसयता देउवाले आफ्नो रणनीतिक छलफलमा प्राय:जसो निधिलाई बोलाउँदैनन् । तर, निधिको प्रभाव क्षेत्र प्रदेश २ का जिल्लामा अधिवेशनको संघार पारेर देउवाले बिहीबार निधिसहित आफूपक्षीय नेताहरुसँग छलफल गरेका हुन् । त्यही क्रममा देउवा–निधिबीच उम्मेदवारीलाई लिएर छलफल र हाँसीमजाकसमेत भयो ।

भेटमा निधिले आसन्न महाधिवेशनमा आफूलाई सभापतिमा सघाउन देउवासँग आग्रह गरेका थिए । ‘सभापतिमा उठ्ने तयारी गरिरहेको छु । यो पटक मलाई सघाउनुहोला,’ निधिले देउवालाई भनेको उदृत गर्दै स्रोतले भन्यो, ‘तपाईंले पहिले नै वचन दिनुभएकै हो । त्यसको पालना गरौं । मेरो माहोल आएको छ । तर मलाई तपाईंको सहयोग आवश्यक छ ।’

जवाफमा देउवाले निधिलाई यसपटक आफूलाई सघाउन भनेका थिए । ‘उठ्ने/नउठ्ने भन्ने त तपाईंको अधिकारको कुरा हो । तर अहिले तपाईं नउठ्नु, मलाई मद्दत गर्नु । १५ औं महाधिवेशनमा तपाईं नै सभापतिको उम्मेदवार हो । त्यसका लागि मेरो तर्फबाट शुभकामना नै छ,’ देउवाले भनेका थिए ।

देउवाको प्रस्तावसहितको शुभकामनामा निधि भने झुक्किएका थिए । ‘तपाईंको शुभकामना त मेरो लागि गुड न्युज हो,’ निधिले भनेका थिए । देउवाले पुनः यसपटक होइन, मेरो शुभकामना १५ औंका लागि हो भनेपछि निधिले यसपटक नै आफूलाई सघाउन आग्रह गरेका थिए । ‘म १५ औं मा होइन, यही महाधिवेशनमा सभापतिमा उठ्ने हो । तर तपाईंको समर्थनमा उठ्ने हो, मलाई सघाउनुस् । तपाईं प्रधानमन्त्री हुनुहुन्छ, फेरि पनि प्रधानमन्त्री बन्नुस्,’ निधिले भनेका थिए ।

त्यहीक्रममा देउवा–निधिका बीचमा ज्योतिषीको भनाइलाई लिएर ठट्टासमेत भएको स्रोतको भनाइ छ । ‘तपाईंलाई ज्योतिषीले प्रधानमन्त्री पो ७ पटक हुनुहुन्छ भनेका हुन् । सभापति त होइन नि !,’ निधिले भनेका थिए । निधिले त्यस्तो भनेपछि देउवा र निधिसहित अरु नेताहरु पनि हाँसेका थिए ।

निधिले यसअघि सभापतिमा उठ्छु भनेर प्रस्ताव गर्दा पनि देउवाले यसपटक आफूलाई सघाउन भनेका थिए । तर, निधि भने निकै अघि बढिसकेका छन् । त्यसो त, महाधिवेशनको मिति नजिकिँदै गर्दा देउवा समूहबाट देउवा एक्लै उम्मेदवार बन्छन् वा निधिले विद्रोह गर्छन् ? भन्ने चासो बढ्दो छ । कतिपयले निधिले देउवासँग घुर्कीमात्रै देखाएको भन्ने गरेका छन् भने कसैले निधि अझै पनि देउवा समूहमै फर्किएलान् कि ? भन्ने अनुमान लगाउँछन् ।

तर, निधि आफैंले भने अन्तिममा आफूलाई शेरबहादुर देउवाले नै टिमबाट सभापतिको उम्मेदवार बनाउने विश्वास रहेको बताउन छाडेका छैनन् । ‘म परिवर्तनको पक्षपाती हुँ, म पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको पक्षपाती हुँ, त्यसैले मप्रति धेरै साथीहरु उत्साहित हुनुहुन्छ,’ निधिले इकान्तिपुरसँग भनेका थिए, ‘त्यसैले म प्रतिको समर्थनको माहोल पनि आएको छ । मलाई देउवाजीले पनि समर्थन गर्नुहुन्छ ।’ यसअघि १९ साउनमा पनि निधिले देउवालाई भेटेर सभापतिमा आफूलाई सघाउन आग्रह गरेका थिए ।

तर, देउवाले निधिको घुर्कीलाई नजरअन्दाज गर्दै आएका छन् । देउवानिकट एक नेताकाअनुसार देउवाले निधि बाहिरिँदा हुने क्षतिको अन्दाज गरिसकेका छन् । ‘अहिले यसै हुन्छ भनेर भन्न सकिने अवस्था छैन । १६५ वटै निर्वाचन क्षेत्रको अधिवेशन सकिएर प्रतिनिधिको चयन भइसकेपछि सम्भावित अंकगणित हेरेर टिम बन्छ,’ ती नेताले भने । त्यसबेला निधि वा अरु जो कोहीसँग पनि देउवाले आफू सभापति बन्ने गरी गठबन्धन गर्न सक्ने ती नेताको भनाइ छ ।

ती नेताले अहिले देउवा–निधिसहित पदाधिकारीको भेटलाई तत्कालै हुने तल्ला तहको अधिवेशनको तयारीका रुपमा अर्थ लगाए । ‘अहिले विमल दाइले पनि आकांक्षा देखाउनुभएको हो । तर, टिम फुटेको होइन । विमल दाइले पनि टिम छाडेको भन्नुभएको छैन । त्यसैले यो छलफल निरन्तर हो । तल्ला तहमा टिमको अवस्था के छ ? भन्ने विषयमा छलफल भइरहेको छ,’ ती नेताले भने ।

देउवाले महाधिवेशनको तयारीका लागि आइतबार दिउँसो केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । बैठकअघि पदाधिकारी बैठकबाट एजेन्डामाथि छलफल गर्ने तयारी छ । त्यही कारण उनले बिहीबारकै लागि बोलाइएको पदाधिकारी बैठक स्थगित गरेर आफूपक्षीय नेताहरलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् । बैठकमा उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महतलगायत सहभागी थिए ।

प्रकाशित : कार्तिक २५, २०७८ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?