कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमसीसी पास गर्छौं भनेर चिठी लेखेको होइन : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्छौं भनेर चिठी नलेखिएको प्रस्ट पारेका छन् ।

एमसीसी पास गर्छौं भनेर चिठी लेखेको होइन : दाहाल

ललितपुरको खुमलटारस्थित देउसीभैलो टोलीलाई सम्बोधन गर्दै शुक्रबार दाहालले एमसीसीका लागि राष्ट्रिय सहमति नबनाइ पारित गर्न नसकिने भन्दै थप समयका लागि चिठी लेखेको बताएका हुन् । स्कटल्यान्डको ग्लास्गोमा भएको कोप–२६ मा सहभागी भएर स्वदेश फर्केका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार दाहाल र आफूले एमसीसी पास गराउँछौं भनेर अमेरिकालाई पत्र पठाइसकेको बताएका थिए । सोही भनाइको खण्डन गर्दै दाहालले भने राजनीतिक दलहरुसँग छलफल आवश्यक रहेकोबारे चिठी लेखिएको बताएका हुन् ।

'देशमा सबै दलहरुसँग छलफल नगरी, राष्ट्रिय सहमति नबनाइ हामीले यसलाई पारित गर्न सकिँदैन । त्यसको निम्ति हामीलाई समय चाहिन्छ । हामी छलफल गर्छौं । समस्या कहाँ छ ? त्यसको निदान कसरी गर्न सकिन्छ भन्ने उपाय निकाल्छौं भनेर लेखिएको चिठी हो,' अध्यक्ष दाहालले प्रस्ट्याउँदै भने, ' हामीले पास गर्छौं भनेर लेखेको चिठी होइन, यो कुरा प्रस्ट होस् ।'

अमेरिका, बेलायत वा विश्वका जुनसुकै देशको सहयोग लिनु सामान्य विषय भन्दै दाहालले एमसीसी संशोधन हुनुपर्ने भनाइ दोहोर्‍याए । 'एमसीसीको ओरिजिनल सहमतिसँग डराउनुपर्ने कुरा छैन । बीचमा थपिएका कुराले गर्दा नेपालको राष्ट्रिय हितमाथि नै असर पर्ने आमजनतालाई लागिसकेपछि यसलाई संशोधन नगरीकन पास गर्न सकिँदैन,' दाहालको भनाइ थियो ।

उनले अगाडि भनेका थिए, 'एमसीसी सम्झौता हुँदा संसद्‌मा लानु पर्ने, संसद्‌बाट अनुमोदन गर्नु पर्ने केही कुरा थिएन । अमेरिकाले पैसा दिने र नेपालले लिएर विकास गर्ने भन्नेमात्रै थियो । त्यतिबेला हामी पनि सरकारमा थियौं । त्यतिबेला शेरबहादुर देउवाकै नेतृत्वमा सरकार थियो । त्यतिबेलाका अर्थमन्त्रीले सम्झौता गरेको हो । त्यो सम्झौतामा पार्लियामेन्टमा लगेर ऐनसरह हुने गरी अनुमोदन गर्ने कुरा थिएन । पछि त्यसमा त्यो थपियो । त्यो भएपछि यसको रहस्य के हो त भन्ने प्रश्न खडा भयो । र, यो विवाद बन्न आएको हो ।'

सम्बन्धित समाचार

प्रकाशित : कार्तिक १९, २०७८ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?