न्याय माग्‍नेलाई तितरबितर पार्दै प्रहरी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्याय माग्‍नेलाई तितरबितर पार्दै प्रहरी

रातभर प्रहरी घेरामा रहेकाहरु छुटेर फेरि माइतीघर पुगेका थिए, खानलाई भने सोह्रखुट्टे वृत्त पुर्‍याइएको थियो
कान्तिपुर संवाददाता

काठमाडौँ — न्यायको मागसहित नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं आएका १४ जनालाई प्रहरीले तितरबितर पारेको छ । बुधबार काठमाडौं आइपुगेका उनीहरूले शुक्रबारदेखि माइतीघरमा रिले अनशन सुरु गरेका थिए ।


तर, प्रहरीले उनीहरूमाथि धरपकड गर्दै राति साढे १० बजेतिर रानीवनस्थित मानव सेवा आश्रम पुर्‍याएको थियो । आश्रमकी केन्द्रीय सदस्य सिर्जना ओलीले मध्यरातमा प्रहरीले १३ जनालाई ल्याएर राखेको बताइन् । ५/७ जनाको प्रहरी टोली रातभर आश्रममै खटिएका थिए ।

आन्दोलनको अग्रभागमा खटिएकी रुबी खानलाई भने प्रहरीले महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको थुनामा राखेको थियो । वृत्तका प्रमुख डीएसपी दुर्गा दाहालले कान्तिपुरसँगको कुराकानीमा अरू वृत्तबाट पनि ल्याएर राखिने भएकाले रुबीलाई थुनामा राखिएको बारे थाहा नभएको प्रतिक्रिया दिए । वृत्त स्रोतका अनुसार सिंहदरबार वृत्तको महिला थुनाकक्ष भरिएकाले रुबीलाई सोह्रखुट्टे पठाइएको थियो ।

रातभर आश्रम राखिएकाहरू भने शनिबार छुटेर फेरि माइतीघर पुगेका थिए । खानलाई भेट्न उनीहरू सोह्रखुट्टे वृत्त पनि पुगे । टोलीमा सहभागी सतिना तेलीले आफूहरूले पाँच मिनेट मात्रै रुबीलाई भेटन पाएको र उनले थुनाभित्रै आमरण अनशन सुरु गरेको बताइन् । सतिनाका अनुसार टोलीले शुक्रबार मध्याह्न गृह मन्त्रालय पुगेर आफूहरू न्यायको खोजीमा आउनुको कारणबारे बुझाएका थिए । ‘मन्त्रालयका अधिकृतले प्रदेश डीआईजीबाट छानबिन हुन्छ, तपाईंहरू अनशन बस्न पर्दैन भने,’ तेलीले भनिन्, ‘तर लिखित प्रतिबद्धता नपाएसम्म धर्ना र आन्दोलन जारी राख्छौं ।’

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको र बाँके परस्पुरगाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा चित्तबुझ्दो अनुसन्धान नभएको उनीहरूको भनाइ छ । सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको मागसहित १४ जनाको टोली नेपालगन्जबाट आएको हो ।

प्रकाशित : आश्विन २४, २०७८ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्

विश्वकप २०२२ छनोट : जर्मनीको कठिन जित

एएफपी

ह्यामबर्ग — विश्वकप २०२२ छनोटको बाटोमा रहेका जर्मनीले थोमस मुलरले अन्त्यतिर गोल गरेपछि शुक्रबार रोमानियालाई २–१ ले हरायो भने नेदरल्यान्ड्सले लात्भियामाथि १–० को जित निकाल्यो ।

चारपल्टको विश्वकप विजेता जर्मनीले ह्यामबर्गमा पाएको जितसँगै समूह ‘जे’ मा ६ अंकको अग्रता लियो । तर, युरोपेली महारथीका लागि निकै संघर्षपूर्ण रह्यो ।

रेन्जर्सका विंगर इयानिस हाजीको गोलमा नवौं मिनेटमै रोमानियाले अविश्वसनीय अग्रता लिएको थियो । उनले डिफेन्स र गोलकिपर मार्क–आन्द्रे टेर स्टेगनलाई जिल्याउँदै गोल गरेका थिए । चोटका कारण अन्त्यतिर टेर स्टेगनको स्थानमा म्यानुयल नोयालाई मैदानमा ल्याइएको थियो ।

सर्गे जिनाब्रीले अन्तर्राष्ट्रिय ३० खेलमा २० औं गोल गर्दै ५२ औं मिनेटमा जर्मनीलाई १–१ को बराबरीमा पुर्‍याए । त्यसपछि मुलर जर्मनीका लागि १०७ औं खेल खेल्न ‘बेञ्च’ बाट आए र ४० औं अन्तर्राष्ट्रिय गोल पनि गरे । उनले खेल सकिन ९ मिनेट बाँकीमा निर्णायक गोल गरेका थिए ।

यो नतिजासँगै समूहको शीर्षस्थानको जर्मनीले अग्रता बढाएर ६ अंक बनायो । टोलीले छनोटको अर्को खेलमा सोमबार उत्तरी मेसेडोनियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । स्कोप्जमा जित हात पार्नसके जर्मनीले विश्वकपको टिकट पक्का गर्नसक्छ ।

डेभी क्लासेनले १९ औं मिनेटमा ‘भली’ मा उत्कृष्ट गोल गर्दै रिगामा डच टिमलाई ३ अंक दिलाए । लात्भियाविरुद्धको जितले नेदरल्यान्ड्स समूह ‘जी’ को शीर्षस्थानमा रह्यो । डच टिम नर्वेभन्दा २ अंकले माथि छ । नर्वेले तेस्रो स्थानको टर्कीविरुद्ध १–१ खेल्दै अंक बाँड्यो ।

स्टेफेन कुञ्जले सम्हालेयताको पहिलो खेलमा टर्कीलाई करिम अक्तुकोग्लुले इस्तानबुलमा छैटौं मिनेटमै अग्रता दिलाए । उनको पहिलो अन्तर्राष्ट्रिय गोलको अग्रता धेरैबेर टिक्न पाएन । नर्वेका क्रिस्टियन थोर्सभेतले ४१ औं मिनेटमा गोल गर्दै बराबरी गरे ।

जर्मनीका पूर्वखेलाडी कुञ्जले नेदरल्यान्ड्सविरुद्ध ६–१ को हारपछि सेनोल गुनेसलाई बर्खास्त गरेपछि टर्किस टिम सम्हालेका हुन् । त्यो हार टर्कीको इतिहासकै सबैभन्दा खराब हो ।

समूह ‘ई’ माआरोन राम्सी र डानियल जेम्सको गोलमा वेल्सले प्रागमा चेक गणतन्त्रविरुद्ध २–२ को बराबरी खेल्यो । समूहको दोस्रो स्थानको प्रतिस्पर्धामा रहेका दुवै टिमसँग ८–८ अंक छ । वेल्सले एक खेल कम खेलेको अवस्थामा बेल्जियम १६ अंकसहित शीर्षस्थानमा छ ।

विश्वकप २०१८ को उपविजेता क्रोएसियाले साइप्रसलाई ३–० ले हराएर समूह ‘एच’ मा अग्रता लियो । इभान पेरिसिच, जोसको जिभार्डियोल र मार्को लिभाजाले गोल गरे । मिलान स्क्रिनिरको आत्मघाती गोलमा स्लोभाकियामाथि १–० को जित निकालेको रुस र क्रोएसियाले समान १६ अंक जोडेका छन् । तर, गोलअन्तरका आधारमा क्रोएसिया अगाडि छ ।

प्रकाशित : आश्विन २४, २०७८ ०८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×