न्याय खोज्दै माइतीघरमा रिले अनशनमा बसेकालाई मध्यरातमा मानव सेवा आश्रम लगियो

कान्तिपुर संवाददाता

काठमाडौँ — न्यायको खोजीमा नेपालगन्जदेखि पैदलै काठमाडाैं आएर माइतीघरमा रिले अनशनमा बसेका १३ जनालाई नियन्त्रण लिएर प्रहरीले मानव सेवा आश्रममा राखेको छ ।

माइतीघरमा शुक्रबार अनिश्चितकालीन रिले अनशन थालेका उनीहरूलाई साँझ प्रहरीले धरपकड गर्दै लिएर गएको थियो । प्रहरीले उनीहरुलाई मध्यरातमा रानीवनस्थित मानव सेवा आश्रममा पुर्‍याएको छ ।

बाहिर ५–६ जना प्रहरीले पहरा दिइरहेको आश्रमकी केन्द्रीय सदस्य सिर्जना ओलीले बताइन् ।'प्रहरीले उहाँहरुलाई राति ल्याएको हो । बाहिर प्रहरीहरु बसिरहेका छन्,'उनले भनिन् ।

१४ जनामध्ये रुबी खानलाई भने महानगरीय प्रहरी वृत्त लैनचौरमा राखिएको छ । वृतका डिएसपी दुर्गा दाहालले खानलाई आफूहरुले नल्याएको, अरु वृत्तले ल्याएकोमा जानकारी नभएको बताए ।

महिलाहरुको टोलीमै रहेकी सकिना खानले आफूहरुमध्ये ३ जना माइतीघरमा रहेको तर अरुलाई कहाँ लगिएको भन्ने थाहा नभएको बताइन् ।

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको र परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा स्थानीय प्रहरी–प्रशासनले चित्तबुझ्दो अनुसन्धान नगरेको भन्दै उनीहरू बुधबार काठमाडौं आइपुगेका हुन् । घटनाको सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय दिनुपर्ने माग केन्द्र सरकारसँग राख्न काठमाडौं आउनुपरेको उनीहरूको भनाइ छ । टोलीमा ११ महिलासहित १४ जना छन् ।

२० दिन हिँडेर आएका उनीहरू शुक्रबार बिहानै ब्यानर बोकेर माइतीघर पुगेका थिए ।

प्रकाशित : आश्विन २३, २०७८ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्

मन्त्री हमालको नियुक्तिबारे अनावश्यक चर्चाको तुक छैन : दाहाल

रमेशकुमार पौडेल

चितवन — सत्ता  गठबन्धनको मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गजेन्द्र हमालका बारेमा चलेको चर्चाको कुनै तुक नभएको बताएका छन् ।

शनिबार बिहान भरतपुर विमानस्थलमा आयोजना भएको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता दाहालले भने, ‘हमाललाई मन्त्री बनाएको विषयमा होहल्ला गर्नु आवश्यक नै छैन । त्यस्ता कुनै अनावश्यक चर्चाको केही तुक छैन ।’

कांग्रेसी पृष्ठभूमि भएका हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दिएका छन् । उनी नाताले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका नातेदार हुन् । हमाल संघीय संसद् सदस्य छैनन् । गैरसांसद पनि निश्चित समयका लागि मन्त्री बन्न पाउने संवैधानिक प्रवधान रहेको र यसअघि पनि यस्तो काम धेरै भएको हुँदा हमालको विषय कुनै नयाँ नभएको दाहालको थप भनाइ थियो ।

हमालको नियुक्ति संविधानवादमाथि हमला

‘उहाँ कांग्रेसको मान्छे हो । कांग्रेसको कोटामा मन्त्री हुनु भएको हो । त्यसैले यताको र उताको किन भनिरहने,’ दाहालले भने । गत वर्ष पहिलो पटक संसद् विघटन हुँदा ओलीले सेटिङ गरेको हुन सक्ने चर्चा चलेझैं अहिले कसैले त्यसैको सिको गरेर सेटिङ भन्न थालेको हुन सक्ने उनले बताए । यसमा अन्य केही सेटिङ र अन्य विषय नलुकेको भन्दै दाहालले हमालको बचाउ गरेका थिए ।

राजनीतिक दलहरूबीचको भागबन्डामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम जोडिएपछि देशमा नयाँ बेथिति संस्थागत हुने भय बढेको छ । प्रधानन्यायाधीश जबराका जेठान तथा गैरसांसद गजेन्द्र हमाललाई मन्त्री बनाएर न्यायपालिका, संविधानवाद र लोकतन्त्रमाथि हमला गरिएको भन्दै पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश र वरिष्ठ अधिवक्ताहरूले गम्भीर आपत्ति जनाएका छन् ।

प्रकाशित : आश्विन २३, २०७८ १०:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×