२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं

महिलामाथि निरन्तर कसरी हिंसा भइरहेको छ, कसरी उनीहरुको ज्यानैसम्म जाने गरेको छ र किन त्यसको निष्पक्ष छानबिन भएको छैन भनेर केन्द्र सरकारलाई सोध्न नेपालगन्जबाट आएका छन्  

काठमाडौँ — कुनै बेला ‘न्याय नपाए गोरखा जानु’ भन्ने उक्ति प्रचलनमा थियो । बाँकेका ११ महिलासहित १४ जना भने न्यायको खोजीमा नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं आइपुगेका छन् । कलंकीमा बुधबार साँझ भेटिँदा उनीहरू सबैका खुट्टामा फोका उठेका थिए । थकित र गलित अवस्थामा भेटिएका उनीहरू सिंहदरबारले न्याय देला र सबै दुःख भुलेर गाउँ फर्किन सकिएला भन्ने आशामा थिए । 

न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं

उनीहरूले दुईवटा घटनालाई मुख्य रूपमा उठाएका छन् । बाँकेको नेवाजी गाउँकी नकुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा चित्तबुझ्दो अनुसन्धान नभएको र नजिकैको परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा राम्ररी खोजीनीति नभएको । यही दुईवटा विषय सुनाउन उनीहरू केन्द्र सरकारको दैलो ताकेर नेपालगन्जबाट हिँडेका हुन् ।

पैदल यात्राको २० दिन उनीहरूले मुख्य राजमार्ग छेउछाउका टहरा, गोठ र सामुदायिक भवनमा गोडा बिसाए । यात्रामा सामेल राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य रुबी खानले धेरैजसो रात आफूहरूले हिँडेरै बिताएको बताइन् । उनले भनिन्, ‘बरु दिउँसो र साँझ हामी बस्यौं, रातको शीतलमा भने हिँडिरह्यौं ।’ महिला दिनदिनै हिंसामा परिरहेको तर उनीहरूको मृत्यु र हिंसाको घटनामा प्रहरीले राम्ररी अनुसन्धान नगरेको सुनाउँदै उनले नकुन्नी धोबी र निर्मला कुर्मीको निम्ति न्याय माग्न आफूहरू काठमाडौं आउनुपरेको बताइन् । भनिन्, ‘सबैले यो कुरा थाहा पाऊन् र न्यायका निम्ति हामी कतिसम्म गर्न तयार छौं भन्ने बुझुन् भनेर हिँडेरै आएका हौं ।’

तस्बिर : रुबी खान

न्यायका निम्ति हिँडेकामध्ये नकुन्नीका भाइ माताप्रसाद, बैनी शीला र परिवारका अन्य सदस्यसहित अधिकारको निम्ति नबोली हुन्न भन्ने स्थानीय छन् । उनीहरूमध्ये मुस्किलले एक–दुई जना मात्रै नेपालीमा बोल्छन् । अवधी भाषी उनीहरूमध्येकी आवादा दर्जीले आफ्नै लवजमा भनिन्, ‘बहुतै दिक्कत होईगा । तभीनय न्याय मागेक लिए चला आवागवा ।’

तस्बिर : रुबी खान

गत साउन ५ मा नकुन्नी आफ्नै घरभित्र मृत फेला परेकी थिइन् । उनका भाइ माताप्रसादका अनुसार विवाहको झन्डै सात वर्ष भएपछि पनि दिदीभिनाजुको सन्तान भएको थिएन । माताले सुनाए, ‘छोराछोरी नभएपछि भिनाजुले दाइको छोरालाई गोद लिन खोजेका थिए तर दिदी त्यो पक्षमा थिइनन् ।’ उनका अनुसार भिनाजु रामकुमारको पहिलो श्रीमतीबाट एक छोरी थिइन् । पहिलो श्रीमती बितेपछि उनले दोस्रो विवाह गरेका थिए । दोस्रोबाट पनि सन्तान नभएपछि नकुन्नीसँग तेस्रो विवाह गरेका थिए । ‘सौताको छोरीले पनि आफूहरूलाई पालिहाल्छ भनेर दिदीले गोद लिन मानेकी थिइनन्,’ उनले भने ।

घटनाबारे जानकार स्थानीय सतिना तेलीका अनुसार यही विषयलाई लिएर नकुन्नी र रामकुमारबीच खटपट भएको थियो । खटपट समयक्रममा हिंसामा बदलिएको थियो । श्रीमानबाट कुटपिट भएपछि दिदी निलडामसहित एक साता आफ्नो घरमा आएर बसेको बैनी शिलाले बताइन् । दिदीको न्यायको निम्ति काठमाडौंसम्म पैदलै आएकी शिलाले भनिन्, ‘दिदीको मृत्युबारे हामीले न्याय पाएनौं ।’

सतिनाका अनुसार नकुन्नी घरेलु हिंसामा परेको बारे स्थानीय प्रहरी घटनाको केही दिन अघिबाटै जानकार थियो । घटनाको करिब एक महिनाअघि असार ५ मा नकुन्नीले आफूमाथि हिंसा भएको भन्दै स्थानीय महिला अधिकार मञ्चमा निवेदन दिएकी थिइन् । संस्थाले त्यसबारे बेलभार प्रहरी चौकी र जोगगाउँ प्रहरी चौकीमा जानकारी गराएको थियो । सतिनाले भनिन्, ‘तर प्रहरीले समयमै यसबारे गम्भीरता देखाएन ।’

प्रहरीले चासो नदेखाएको अर्को महिनामै नकुन्नीले संसार छोडिन् । न्याय माग्न काठमाडौं आएकी रुबीका अनुसार उनीहरूले घटनाबारे निष्पक्ष छानबिन गर्न १९ दिनसम्म जिल्ला प्रहरी कार्यालयअगाडि धर्ना पनि दिएका थिए । जिल्ला प्रहरीले नकुन्नीको मृत्यु आत्महत्याबाट भएको मेडिकल रिपोर्टले प्रमाणित गरेको बताउँदै आए पनि उनीहरूको चित्त बुझेको छैन ।

उनीहरूले गत वर्षको मंसिरदेखि बेपत्ता भएकी निर्मला कुर्मीका निम्ति पनि न्याय मागिरहेका छन् । दुई छोरीकी आमा निर्मलालाई किन र कसले बेपत्ता पार्‍यो ? त्यसका पछाडि के–कस्ता कारण जिम्मेवार छन् भन्नेबारे पनि उनीहरू जान्न चाहन्छन् । कुर्मी हराएपछि उनका परिवारले गत मंसिर १६ मै स्थानीय प्रहरीमा किटानी जाहेरी दिए पनि प्रहरीले गरेको अनुसन्धानप्रति उनीहरू सन्तुष्ट छैनन् ।

नौ दिन हिँडेर प्रदेश राजधानी बुटवल आएपछि उनीहरूले मुख्यमन्त्री कुलप्रसाद केसीलाई पनि भेटेका थिए । रुबीका अनुसार मुख्यमन्त्रीले प्रहरी र सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको दुई फरक–फरक छानबिन टोली गठन गर्ने र २० दिनभित्र टोलीले प्रतिवेदन बुझाउने आश्वासन दिएका थिए तर मुख्यमन्त्रीको आश्वासनले पनि उनीहरूको न्याय–यात्रा रोकिएन । रुबीले भनिन्, ‘हामी आश्वस्त हुन सकेनौं । पहिले पनि निर्मला पन्तको बलात्कार र हत्या घटनामा थुप्रै छानबिन समिति बने पनि न्याय मिलेन । त्यही भएर हामी हाम्रो कुरा सुनाउन काठमाडौं हिँडिराख्यौं ।’

२०६१ सालमा स्थापना भएको महिला अधिकार मञ्च अहिले ४४ जिल्लामा विस्तार भएको छ । मञ्चकी केन्द्रीय अध्यक्ष रेणुका मल्लले आफूहरू कुनै गैरसरकारी संस्था नभएर गाउँबाट उठेर फैलिएको ‘लुज नेटवर्क’ मात्रै भएको बताइन् । यही संस्थाले अहिले नकुन्नी र निर्मलाको निम्ति न्याय खोज्न काठमाडौंसम्मको पैदल यात्राको चाँजोपाँजो मिलाएको हो । जसमा १८ वर्षकी बब्ली धोबीदेखि झन्डै ५० वर्ष पुग्न आँटेकी आवाजा दर्जीसम्म सामेल छन् ।

रुबीका अनुसार यो लामो पैदल यात्रामा उनीहरूलाई महिला अधिकार मञ्चको सचिवालय संस्था नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रले सुरुमा २५ हजार रुपैयाँ दिएको थियो । त्यसपछि यात्राका क्रममा खान र सामान्य भइपरी उपचारका निम्ति अन्य संस्था र व्यक्तिले केही रकम जुटाइदिएका थिए ।

उनीहरूले काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई भेटने योजना बनाएका छन् । रुबीले खुट्टाभरि उठेका फोकाको दुखाइ सहँदै भनिन्, ‘उहाँहरूलाई हामी घटनाको सबै कुरा बताउँछौं र न्याय कसरी पाएनौं भनेर भन्छौं ।’

प्रकाशित : आश्विन २१, २०७८ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?