कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५
पर्यटनमा नयाँ फड्को

घुमघाम अब अन्तरिक्षमा

अमेरिकी कम्पनी ‘सीप–४’ का मालिक जरेद आइज्याकम्यान र अन्य तीन जना पृथ्वीको कक्षको भ्रमणका लागि निजी यात्रामा निस्किएका हुन्

काठमाडौँ — ‘स्पेसएक्स’ ले इतिहास रचेको छ । फेरि एकपटक । त्यो पनि अन्तरिक्षमा पेसेवर यात्रीबिनै पर्यटक पठाएर । कोभिड–१९ का कारण झन्डै दुई वर्षदेखि विश्वकै पर्यटन प्रभावित भइरहेका बेला स्पेसएक्सका मालिक तथा विश्वकै दोस्रो धनी एलन मस्कको ध्यान अन्तरिक्षतिर तानियो । 

घुमघाम अब अन्तरिक्षमा

उनले स्पेसएक्स कम्पनीको ‘ड्र्यागन क्याप्सुल’ मार्फत चार जना गैरपेसेवर यात्रीलाई बुधबार अन्तरिक्षमा उतारेका छन् । अमेरिकी कम्पनी ‘सीप–४’ का मालिक जरेद आइज्याकम्यान र अन्य तीन जना अमेरिकाको फ्लोरिडास्थित केनेडी अन्तरिक्ष केन्द्रबाट पृथ्वी कक्षको भ्रमणका लागि निजी यात्रामा निस्किएका हुन् ।

खर्चको चाँजोपाँजो भने ३८ वर्षीय अर्बपति आइज्याकम्यानले गरेका हुन् । क्रेडिट कार्डबाट रकम तिर्ने प्रणाली विकास गरेका आइज्याकम्यानले प्रेरणादायी जीवन बिताएका तीन जनालाई निःशुल्क लैजाने तय गरेका थिए । भ्रमणमा सहभागी २९ वर्षकी हेली एर्सेनो स्वास्थ्यकर्मी हुन् । कलिलै उमेरमा हड्डीको क्यान्सर जितेकी उनी हाल अमेरिकाको मेम्फिसस्थित सेन्ट जुड अस्पतालमा कार्यरत छिन् । एर्सेनोलाई १० वर्षको उमेरमा क्यान्सर भएको थियो ।

अर्की यात्री ५१ वर्षकी सायन प्रोक्टर भूगर्भ वैज्ञानिक र विज्ञान सञ्चारविद् हुन् । सन् २००९ मा नासाको अन्तरिक्ष यात्री बन्ने चरणको नजिक पुगेकी प्रोक्टर अन्तिम छनोटमा असफल भएकी थिइन् । आइज्याकम्यानका अनुसार कलासम्बन्धी भूमिका र व्यावसायिक गुणका आधारमा उनलाई यात्रीमा छनोट गरिएको हो । एक सामुदायिक कलेजमा अध्यापन गराउँदै आएकी प्रोक्टर आइज्याकम्यानले गरेको अनलाइन प्रतियोगितामार्फत छानिएकी हुन् । उनले ड्रागन क्याप्सुलको झ्यालबाट देखिने दृश्यलाई चित्रमा उतार्ने तयारी गरेकी छन् ।

तेस्रो यात्री ४२ वर्षीय क्रिस सेम्ब्रोस्की अमेरिकी हवाई सेनाका अवकाश प्राप्त अधिकारी हुन् । सेन्ट जुड अस्पतालका लागि चन्दा दिएका उनलाई यात्रामा जान पाउने चौथो सदस्यका लागि चिट्ठामा सामेल गराइएको थियो । उनी छानिएनन् तर अन्तिम समयमा भाग्यले साथ दिएपछि भने अन्तरिक्षमा उक्लने सौभाग्य पाए । अर्थात् चिट्ठा उनका एक जना साथीलाई पर्‍यो, ती साथीको अनुरोधमा सेम्ब्रोस्की यात्रामा निस्किए ।

आइज्याकम्यानले सेन्ट जुड अस्पतालमा चन्दा दिनेमध्येकालाई एउटा सिट दिने घोषणा गरेका थिए । स्पेसएक्सको फाल्कोन हेभी रकेटले उनीहरूलाई बुधबार स्थानीय समयअनुसार राति ८ बजे अन्तरिक्षमा पुर्‍याएको छ । उनीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) भन्दा एक सय किलोमिटर माथि छन् । आईएसएस ४ सय किलोमिटर माथिबाट पृथ्वीलाई परिक्रममा गरिरहेको छ । अन्तरिक्षमा रहेका यी ‘गैरअन्तरिक्ष यात्री’ स्पेसएक्सको ‘ड्रागन क्याप्सुल’ यानमा छन् । यानको चार वटा सिटमा रहेर उनीहरूले अन्तरिक्षको अवलोकन गरिरहेको जनाइएको छ । ड्रागन क्याप्सुलको एउटा सिटको मूल्य ५ करोड ५५ लाख अमेरिकी डलर पर्छ ।

अन्तरिक्षयात्रीहरू क्रिस सेम्ब्रोस्की, सायन प्रोक्टर, जरेद आइज्याकम्यान र हेली एर्सेनो । तस्बिर : एपी

सात जना मानिस अट्न सक्ने यो क्याप्सुलको स्वरूप हल्का परिवर्तन गरेर पर्यटकले देख्ने, मिल्ने गरी सिसा हालिएको छ । यो यानले आईएसएसमा कार्गो लैजाने र सुरक्षित रूपमा पृथ्वीमा फर्कने गर्दै आएको छ । यो आईएसएसमा कार्गो ओसारपोसार गर्ने निजी क्षेत्रबाट सञ्चालित विश्वको पहिलो यान हो । हालसम्म ड्रागन क्याप्सुल २५ पटकसम्म आईएसएसमा पुगेको स्पेसएक्सले जनाएको छ । यो अन्तरिक्ष यानले हरेक ९० मिनेटमा पृथ्वीको फन्को लगाइरहेको छ । ड्रागन क्याप्सुल पर्यटकको टोलीसहित शनिबार फ्लोरिडाको एक तटीय क्षेत्रमा उत्रने जनाइएको छ ।

पछिल्लो घटना अन्तरिक्ष पर्यटनका लागि महत्त्वपूर्ण कोसेढुंगा हुने ठानिएको छ । एक दशकसम्म रोकिएको अन्तरिक्ष पर्यटनले पुनः गति लिएको छ । अन्तरिक्ष पर्यटन सन् २००१ देखि सुरु भएको हो । सन् २००३ र २००४ बाहेक २००१ देखि २००८ सम्म हरेक वर्ष एक/एक जना पर्यटकले अन्तरिक्षको यात्रा गरेका थिए । सन् २००९ मा भने दुई यात्रीले भ्रमण गरेका थिए । त्यसपछि सन् २०२१ को जुलाईमा १८ वर्षीय ओलिभर डेइमेन अन्तरिक्षमा पुगेका थिए । त्यस्तै, गत जुलाईमा अर्बपति जेब बेजोस र सेप्टेम्बर सुरुमा रिचार्ड ब्यान्सन पनि अन्तरिक्षको यात्रामा निस्किएका थिए । बेजोस ६२ माइल माथि र ब्यान्स ५० माइल माथि पुगेका थिए । रुसी चलचित्र निर्देशक र नायिकाले अक्टोबरमा अन्तरिक्षको भ्रमण गर्दै छन् ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले अन्तरिक्ष पर्यटन बढ्नुलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । उनी अन्तरिक्षको क्षेत्रमा आएको नवप्रवर्तनले स्पेसमा कमर्सियल गतिविधि बढ्दा ‘स्पेस फर अल’ भन्ने म्यासेज सबैलाई दिएको बताए । ‘हिजो अन्तरिक्ष यात्री र उसले लगाउने सुट ह्युमोनोइड थियो तर अहिले जो कोही पनि अन्तरिक्षमा जान सक्ने भए, अहिले मानिसको इमोसनसँग जोडिएको छ,’ उनले भने ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा एरो स्पेस इन्जिनियरिङमा प्राध्यापन गराउँदै आएका उपप्राध्यापक सुदीप भट्टराईले अन्तरिक्ष पर्यटनलाई ‘टेम्प्रोररी एक्साइटमेन्ट’ का रूपमा अर्थ्याए । ‘अहिले स्पेसएक्सले कमर्सियल्ली भन्दै उडान गरेको छ, यो क्षणिक मात्रै हुन्छ जस्तो लाग्छ,’ उनले भने, ‘१९६९ देखि १९७९ सम्म मुन मिसन चल्यो तर त्यो क्षणिक भयो । त्यसपछि निरन्तरता भएन । यो पनि त्यस्तै हुन्छ जस्तो लाग्छ ।’

अन्तरिक्ष पर्यटनलाई व्यावसायिक बनिनेमा उनले आशंका व्यक्त गरे । भारतका पहिलो अन्तरिक्ष यात्री राकेश शर्माले भने अन्तरिक्ष यात्रा मानव हित र वैज्ञानिक खोजका लागि हुनुपर्ने बताए । गत वर्ष नासाद्वारा आयोजित कार्यक्रममा उनले अन्तरिक्षलाई व्यापारिक स्वार्थ पूर्तिका लागि प्रयोग गर्दा असर गर्ने धारणा राखेका थिए ।

प्रकाशित : आश्विन १, २०७८ ०६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?