काबुलको ‘दलाल क्याम्प’ मै अल्झिए नेपाली- समाचार - कान्तिपुर समाचार

काबुलको ‘दलाल क्याम्प’ मै अल्झिए नेपाली

होम कार्की

काठमाडौँ — अफगानिस्तानको राजधानी काबुलबाट ठूला कम्पनीमा कार्यरत नेपाली कामदारको उद्धार भए पनि साना कम्पनीमा काम गर्ने र कामविहीन नेपाली भने दलाल क्याम्पमै अल्झिएका छन् । उनीहरूले जतिसक्दो छिटो उद्धार गरिदिन नेपाल सरकारलाई आग्रह गरेका छन् । 

‘हामी अहिलेसम्म दलाल क्याम्पमै छौं । पहिलाभन्दा गाह्रो छ । बाहिरको स्थिति पनि ठीक छैन । जतिसक्दो छिटो उद्धार भए हुन्थ्यो,’ काबुलको एक भवनमा बस्दै आएका नेपालीले कान्तिपुरसँग भने, ‘हामी यहाँबाट छिटो निस्कन चाहन्छौं ।’ उनीसँगै ४० जना नेपालीको समूह छ । उनीहरू ६ देखि १६ महिना अगाडि काबुल पुगेका हुन् । ‘यस्तो स्थिति आयो कि रोजगारी होइन जीवन जोगाएर स्वदेश फर्कन पनि कठिन भयो,’ उनले भने । सुरक्षाका डरले आफ्नो परिचय र काबुलसम्म पुर्‍याउने दलालबारे उनीहरूले बताउन भने चाहेनन् । ‘जति अलपत्र परेका छन् सबै एजेन्टबाट आएकाहरू छन्,’ १५ जनाको अर्को समूहमा रहेका एक नेपालीले भने, ‘अहिले काबुलमा अलपत्र नेपालीबीच सम्पर्क बढेको छ ।’ उद्धारका लागि उनीहरूले परराष्ट्र मन्त्रालय, दिल्लीस्थित नेपाली दूतावास र काबुलमा तोकिएका सम्पर्क व्यक्तिसँग कुराकानी गरिरहेका छन् ।

‘विमानस्थलसम्म कसरी पुग्ने र उड्ने निकै ठूलो चुनौती छ,’ ती नेपालीले भने । काबुल छोड्न चाहने हजारौं अफगान नागरिकले विमानस्थलका ढोका घेरेका छन् । ‘हामी झन्डै ७२ घण्टाको संघर्षपछि विमानस्थल प्रवेश गर्न पायौं,’ दोलखाका सुमन मोक्तानले भने, ‘प्रवेशद्वारमा घम्साघम्सी चल्छ । अमेरिकी सेनाले भित्र छिर्न दिँदैन । भीड व्यवस्थापन गर्न नसकेपछि सेनाले हवाई फायर गरिरहन्छ ।’ एक सातायता विमानस्थलमा २० जनाको ज्यान गइसकको छ । विमानस्थल प्रवेश गरेको दुई दिनपछि मोक्तानले शनिबार बिहान काबुल छोड्न पाएका थिए । ‘८७ जना भारतीय नेपालीसँगै हामी दुई नेपालीको उद्धार भयो । टिकट पाउनासाथ काठमाडौं आउनेछौं,’ उनले भने ।

नेटो सेनाको समन्वयमा झन्डै २८ हजार जनाको उद्धार भइसकेको छ । तीमध्ये एक हजार नेपाली सुरक्षा हुन् । ५ सय ४ जना काठमाडौं आइसकेका छन् । अन्यलाई कतार, कुवेत, यूएई र बेलायत पुर्‍याइएको छ । ‘हामीलाई बेलायतमा ल्याएर होटल क्वारेन्टाइनमा ल्याएर राखिएको छ । एकमहिने भिसा दिइएको छ,’ जर्मन दूतावासमा कार्यरत एक नेपालीले भने, ‘कहिलेसम्म यहाँ राख्ने हो थाहा छैन ।’ दलाल क्याम्पमा रहेका नेपाली भने नेपाल सरकारले नै अगुवाइ र समन्वय गरे मात्रै आफूहरूको उद्धार सम्भव हुने बताउँछन् । त्यसरी परराष्ट्र मन्त्रालयमा नाम टिपाउनेको ३ सय ५६ पुगेको छ । त्यसरी नाम टिपाउनेहरू साना कम्पनीमा काम गर्ने सुरक्षा गार्ड, कुक, निर्माण क्षेत्रका कामदार र कामविहीन छन् । ‘ठूला कम्पनीमा काम गर्नेको जिम्मेवारी त सम्बन्धित देशले लिइसके । हाम्रो जिम्मेवारी नेपाल सरकारले नै लिनुपर्ने अवस्था छ,’ १३ जनाको समूहमा रहेका अर्का नेपालीले भने, ‘कहिले उद्धार हुन्छ ? कसरी हुन्छ ?’ परराष्ट्र मन्त्रालयका अनुसार नेपालीको पहिचान, नेपालीबीच अन्तरसञ्जाल निर्माण र मित्रराष्ट्रसँग समन्वय भइरहेको छ ।

‘विमानस्थलमा बसेको ३ दिनपछि दिल्ली आइपुग्यौं’

हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गरेका ३ दिनपछि आइतबार बिहान २ बजे दिल्ली आइपुग्यौं । काबुलमा रहेका ८७ जना भारतीय नागरिकलाई लिन एयर इन्डियाको जहाज गएको बेला म (सुमन मोक्तान) र इलामको सन्तोष राईलाई ल्याइदियो । हामी गत बुधबार विमानस्थलमा पस्न दिनभर प्रयास गरेका थियौं । सम्भव नभएपछि सुरक्षाका लागि विमानस्थलको छेउकै होटल परिसरमा आएर बस्ने मौका पायौं । होटललाई बेलायती सेनाले सुरक्षा दिएको थियो । होटलमा कोठा नपाइएपछि बाहिरै नै बस्नुपर्‍यो । चर्को घाममा दिन कटाउनुपर्‍यो । विमानस्थल छिर्न पाइन्छ भनेर होटलमा रहेका सबै बाहिर नै आएर बस्थे । बेलायती विमानस्थल छिर्ने ग्यारेन्टी नभएसम्म होटलबाट बाहिर ननिस्कनु भन्थ्यो । बाहिर निस्किए सुरक्षा दिन नसक्ने बताउँथ्यो । बिहीबारको हुलदंगामा ३ जनाको मृत्यु भएपछि हाम्रै अगाडिबाट लास लगिएको थियो ।

होटलमा खानेकुरा केही थिएन । कहिलेकाहीं साथीहरूले बिस्कुट पाइन्थ्यो । नत्र पानीको भर । मंगलबार बिहानदेखि खाना खाएको छैन । भारतीयको साथमा भएकाले हामीलाई दिल्लीस्थित नेपाली दूतावासले भारतबाट आउने विमानमा ल्याउने पहल भइरहेको खबर दिएको थियो । यताको अवस्था नाजुक भएकाले भारतबाट विमान आउन पनि सकेन । उडान नै रद्द भएको खबर आयो । बेलायती सेनाले अमेरिकी सेनासँग समन्वय गरेर शुक्रबार बिहान ७ बजे विमानस्थलभित्रको अमेरिकी सेनाको क्याम्पभित्र ल्यायो । भित्र छिरेपछि अब बाँचिन्छ भन्ने आस बढ्यो । उनीहरूले खाना खान दिए । शनिबार बिहान एयर इन्डिया लिन आयो । ताजिकिस्तान हुँदै आइतबार बिहान दिल्ली आइपुग्यौं । अहिले नेपाल जाने प्रतीक्षामा बसिरहेका छौं । अब त ढुक्क भएको छ ।

प्रकाशित : भाद्र ७, २०७८ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्

अन्डामा आत्मनिर्भर भने पनि अपर्याप्त

पछिल्लो डेढ वर्षमा थोकमा क्रेटमै ११५ रूपैयाँ वृद्धि, खुद्रामा २१५ रूपैयाँसम्म बढाइयो
कोरोना महामारीमा माग बढ्नु, दाना, चल्ला र औषधि महँगिनु तथा बिचौलियाका कारण पनि अन्डाको भाउ अकासिएको हो
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले अन्डामा आत्मनिर्भर भएको दाबी गरे पनि पर्याप्त उत्पादन नहुँदा बजार मूल्य बढेको बढ्यै छ । पछिल्लो डेढ वर्षमा प्रतिक्रेट अन्डाको मूल्य १ सय १५ रुपैयाँ बढेको नेपाल अन्डा उत्पादक संघले जानकारी दिएको छ ।

खुद्रा बजारमा भने प्रतिक्रेट २ सय १५ रुपैयाँसम्ममा कारोबार भइरहेको छ । संघले २०७६ पुसमा ठूलो अन्डाको प्रतिक्रेट मूल्य २ सय ७५ रुपैयाँ र सानो अन्डाको प्रतिक्रेट मूल्य २ सय ५५ रुपैयाँ तोकेको थियो । अहिले बढेर ठूलो अन्डाको मूल्य प्रतिक्रेट ३ सय ९० र सानो अन्डाको प्रतिक्रेट ३ सय ६० रुपैयाँ पुगेको छ ।

संघले नै मूल्य बढाएपछि खुद्रा बजारमा पनि सोहीअनुसार वृद्धि भएको छ । खुद्रा बजारमा अहिले प्रतिक्रेट ४ सय ९० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । ‘होलसेलमा मूल्य बढाएका छन् । मूल्य घटाउन भन्दा अन्डा दिन मान्दैनन्,’ नाम उल्लेख गर्न नचाहने एक खुद्रा व्यापारीले भने, ‘त्यसले खुद्रा बजारमा पनि मनलाग्दी भएको छ । उपभोक्ताले एउटा अन्डा किन्दा २० रुपैयाँ तिर्छन् । दुई वटाको ३५ रुपैयाँ ।’

विश्व खाद्य तथा कृषि संगठनले एक व्यक्तिले एक वर्षमा न्यूनतम ४८ वटा अन्डा उपभोग गर्नुपर्ने जनाएको छ । नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ६१ वटा अन्डा उपलब्धता भएको दाबी गर्दै गत चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले अन्डा उत्पादनमा मुलुक आत्मनिर्भर भएको दाबी गरेका थिए । ओली र तत्कालीन कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले यो क्षेत्रलाई एक कदम अगाडि बढाउन सफल भएको दाबी गरे पनि अहिले उनीहरूले भनेजस्तो अन्डा उत्पादन पर्याप्त छैन । मागअनुसार उत्पादन नभएपछि व्यवसायीहरूले आफूखुसी मूल्य बढाउन थालेका हुन् ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका सचिव देवकुमार गिरीले पनि उत्पादन कम भएकै कारण बजारमा मूल्यवृद्धि भइरहेको दाबी गरे । पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले भने विश्व खाद्य तथा कृषि संगठनले तोकेभन्दा बढी नै अन्डा उपलब्ध रहेको बताए । ‘प्रतिव्यक्ति प्रतिवर्ष ४८ वटा अन्डा उपलब्ध हुनुपर्नेमा अहिले ५४ वटा पुगेको छ । यसको मतलब आत्मनिर्भर भन्ने मान्यता हो,’ उनले भने, ‘१५ औं योजनासम्म प्रतिव्यक्ति प्रतिवर्ष ७८ वटा पुग्ने प्रक्षेपण गरेका छौं ।’

पछिल्लो समय कोरोना महामारीले माग बढाइदिएको विभागको दाबी छ । अन्डामा प्रोटिन पाइने हुँदा खपत बढेको संघका अध्यक्ष शिवराम केसीले बताए । उनका अनुसार गर्मीयाममा कुखुराले कम दाना खान्छन्, जसले गर्दा उत्पादनमा पनि केही कमी हुन्छ । ‘दानाकै कारण पनि करिब १०–१५ प्रतिशत उत्पादन घटेको छ,’ उनले भने, ‘पछिल्लो समय कोरोनाले पनि माग अत्यधिक बढाइदिएको हो ।’

मुलुकभर दिनमा ३२/३३ लाख अन्डा उत्पादन भइरहेको संघले जनाएको छ । अन्डा मुख्यतः चितवन, दाङ, मकवानपुर, झापा, मोरङ, सुनसरीलगायतमा उत्पादन हुन्छ । यी सबै क्षेत्रमा माग बढ्दा पनि मूल्य बढेको केसीको दाबी छ । ‘यसअघि खुद्रामा प्रतिगोटा १२/१३ रुपैयाँ थियो । अहिले १६ रुपैयाँ पुगेको छ,’ उनले भने, ‘क्रेट नै किन्दा त्यति मूल्य पर्दैन । कतिपय ठाउँमा ढुवानीका कारणले पनि मूल्य बढेको छ ।’ दाना र चल्लाको मूल्य बढ्दा पनि त्यसको भार उपभोक्ता मूल्यमा परेको उनी बताउँछन् । ‘औषधि र कच्चा पदार्थको मूल्य बढेको भन्दै दानाको मूल्य बढाइयो । जसले गर्दा अन्डाको मूल्य पनि स्वतः बढ्न पुग्यो,’ उनले भने, ‘दानाको मूल्य घटे अन्डाको मूल्य पनि घट्न सक्छ । तर अहिलको अवस्थामा तत्काल घट्ने सम्भावना छैन ।’

किसानको लागत मूल्य नै बढी भएको उनको दाबी छ । यद्यपि पछिल्लो समय किसानले पर्याप्त मूल्य भने पाएको उनको भनाइ छ । जानकारहरूका अनुसार बिचौलियाका कारण पनि उपभोक्ता मारमा परिरहेका छन् । मासु तथा अन्डा उत्पादनका विषयमा पशु सेवा विभागले नियमन गर्छ । मूल्य भने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नियमन गर्नुपर्छ । तर यी निकाय आँखा चिम्लिएर बसेको उपभोक्ताकर्मीको आरोप छ । मनलाग्दी मूल्य बढाउँदासमेत नियमन नगरिँदा पक्कै केही स्वार्थ रहेको बुझिने उपभोक्ताकर्मी ज्योति बानियाँको तर्क छ ।

आवश्यकभन्दा बढी मूल्य लिएको पुष्टि भए अनुगमन र कारबाही गर्नुपर्ने संघका अध्यक्ष केसीले बताए । ‘बिचौलियाका कारण पनि मूल्य बढ्छ । आवश्यकभन्दा बढी मूल्य लिए सचेत गराउन सरकारी निकाय छन्, यसतर्फ प्रशासन सचेत हुनुपर्छ,’ उनले भने, ‘उपभोक्तालाई पनि महँगो नपरोस्, किसानलाई पनि घाटा नहोस् ।’

प्रकाशित : भाद्र ७, २०७८ ०७:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×