रहेनन् आधुनिक चित्रकलाका प्रवर्तक उत्तम नेपाली

गणेश राई

काठमाडौँ — वरिष्ठ कलाकार उत्तम नेपाली (उत्तमप्रसाद कर्माचार्य)को ८५ वर्षको उमेरमा बुधबार बिहान साढे ४ बजे निधन भएको छ । करिब तीन वर्षदेखि श्वासप्रश्वास, मुटु रोग र अल्जाइमर्सबाट पीडित नेपालीको उपचारको क्रममा शिक्षण अस्पतालमा निधन भएको हो । 

रहेनन् आधुनिक चित्रकलाका प्रवर्तक उत्तम नेपाली

कलाकार नेपाली नेपालको आधुनिक अमूर्त चित्रकलाको प्रवर्तकमध्ये एक मानिन्छन् । ‘नेपालको आधुनिक चित्रकलाका पायोनियरमध्ये उत्तम सर एकजना पर्नुहुन्छ,’ कलाकार रविन कोइराला भन्छन्, ‘आधुनिक कला भित्राउनेमा लैनसिंह बाङ्देल, उत्तम नेपाली र उर्मिला गर्ग हुनुहुन्छ । त्यसपछि शशिविक्रम शाह पर्नुहुन्छ ।’

काठमाडौंको किलागलमा वि.सं. १९९४ वैशाख जन्मिएका नेपालीले लखनऊबाट चित्रकलामा स्नातक गरेका थिए । अध्ययनपछि २०१८ सालमा स्वदेश फर्केर आधुनिक चित्रकलामा अगुवाइ गरेका थिए । कलाकार नेपाली नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य हुन् । उनको नेपाल, भारत, जापान, तत्कालीन सोभियत संघ, बंगलादेश, कोरिया, अस्ट्रेलियालगायत मुलुकमा चित्रकला प्रदर्शनी भएको थियो । न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको कार्यालय, नारायणहिटी संग्रहालयलगायतमा नेपालीका कृतिहरू संग्रहित छन् ।

उत्तम नेपालीले कोरेको चित्र । फाइल तस्बिर : बिजु महर्जन/कान्तिपुर

उत्तम नेपाली गीतकार, कवि र अभिनय कलाकारका रूपमा समेत चिनिन्छन् । उनको ‘विना शीर्षकको’ नामक कवितासंग्रह प्रकाशित छ । यसैगरी ‘आमा’ र ‘हिजो आज भोलि’ चलचित्रमा अभिनयसमेत गरेका थिए । उनी निजामती सेवा प्रवेश गरी सूचना विभागको विभागीय प्रमुखका रुपमा अवकाश पाएका थिए ।

‘करिब पाँच वर्षदेखि स्वास्थ्य स्थिति बिग्रिँदै गएकोले बुवाको एकल चित्रकला प्रदर्शन हुन सकेन,’ नेपालीकी कान्छी छोरी प्रकृति कर्माचार्यले भनिन्, ‘उहाँको सयौं कृतिहरू प्रदर्शन हुन बाँकी छन् ।’

नेपालीका श्रीमती मन्दिरा कर्माचार्य, दुई छोरा उद्यम र सुद्यम तथा दुई छोरी छन् । उनको बुधबारै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने उनका जेठो छोरा उद्यमले जनाएका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण ६, २०७८ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?