२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

८० पारि उत्तम र शशि

कला
उत्तमको परम्परागत कला राम्रो –शशि
घोडा–इमेज नै शशि चिनारी –उत्तम
मधु शाही

काठमाडौँ — अचेल छिनभरमैं कुरा बिर्सन्छन्, कलाकार उत्तम नेपाली । एक पटक भेटेको मान्छे फेरि अर्कोपल्ट भेट्नासाथै परिचय खुलाउनुपर्छ । पाहुनालाई बेवास्ता गरेजस्तो नहोस् भनेरै उनी सुरुमै भनिरहेका हुन्छन्, ‘अचेल बूढो भएछु, चिन्न सकिनँ भने क्षमा चाहन्छुु ।’

८० पारि उत्तम र शशि

‘स्मरण’ बिस्तारै विस्मरणमा गए पनि उत्तमका क्यानभासले धेरै कुरा बोलिरहेझैं लाग्छ, रङ र कुचीमा ताजगी अझै देखिन्छ । बिनाद्विविधा क्यानभासमा कुन संकेत र मर्ममा कस्तो रङ संयोजन गर्ने ?, उत्तम यो मामलामा अभ्यस्त छन् । ८२ वर्षे उनी आफैं दंग पर्दै भन्छन्, ‘भगवान्को लीला मान्नैपर्छ, रङ चिन्न सकेकै छु ।’


क्यानभास सजाउन अल्छी मान्दैनन् उत्तम । हो पनि । एउटै काम जीवनभर गरिरहँदा त्यो काम बानी बन्दोरहेछ । बानी परेपछि हात (र, दिमाग) आफैं सलबलाउने नै भयो । ‘नभए यस्तो स्मरण हराएको मान्छेले कसरी चित्र कोर्थें र ?’ उनी भन्छन्, ‘अब त आँखै चिम्लेर भए पनि चित्र उतार्न सक्छु ।’
महाराजगन्ज, बाँसबारीस्थित घरमा उत्तम अहिले दिनभरजसो रङ, कुची, क्यानभासमै हराइरहेका हुन्छन् । ‘चित्रकार कसरी बन्नुभो ?’ प्रश्न झर्न नपाउँदै उत्तम आफ्नो पारिवारिक पृष्ठभूमितिर लाग्छन् ।


असनमा उत्तमको जन्म भएको हो । उनका बुुबा कस्तूरीको व्यापारी थिए । व्यापारकै सिलसिलामा भारत, लखनउमा परिवार बस्थ्यो । उत्तमको बाल्यकाल उतै बित्यो । कला र कला शिक्षाबारे उतै सिक्ने अवसर पाए । बिस्तारै जब उनले कलाकार बन्ने बाटो रोजे, तब सबैभन्दा दु:खी उनकै बुुबा थिए । ‘चित्रकारले पैसा कमाउन सक्दैन’ भन्ने आम धारणाको प्रभाव बुुबामा थियो । उत्तम भन्छन्, ‘मैले व्यापारी हुने सोच राखेकै थिइनँ, बुुबा जबर्जस्ती गर्नुहुन्थ्यो । उहाँ जति जबर्जस्ती गर्नुहुन्थ्यो, म उति नै जिद्दीसाथ चित्रकार बन्ने अठोटमा उभिएको थिएँ ।’
***


उत्तमले लखनउ कलेज अफ आर्ट एन्ड क्राफ्टबाट पाँचवर्षे पढाइ पूरा गरे । सिकेको सिकाइ र सीप घर फर्केर उपयोगमा ल्याउन चाहे । काठमाडौं फर्केर उत्तमले त्रिचन्द्र क्याम्पसमा एकल कला प्रदर्शनी गरे, राजा महेन्द्रको निगाहमा । ‘राजा महेन्द्रले नै त्रिचन्द्र कलेजमा रहेको सरस्वती सदन हलमा चित्रकला प्रदर्शन गर्न हुुकुम दिवक्सियो,’ उत्तमले सम्झिए, ‘प्रदर्शनी हेर्न आउने मान्छेको घुुइँचो लागेको थियो ।’ राजा महेन्द्र स्वयम्ले थुप्रै चित्र किनेर लगेपछि अरू आगन्तुकले समेत आफूखुसी किन्न थालेको उत्तम सुनाउँछन् । यसरी पहिलो गाँसमै ‘मीठो स्वाद’ पाए पनि नेपाली समाजले आधुनिक कला बुझिसकेको थिएन । कतिले कलाका नाममा ‘बहुलापन’ पनि भन्थे ।


करिअरको सुरुआती दिनमा आउने अनेकानेक प्रतिक्रियाले उत्तम जंगिन्थे पनि । तर, अहिले त्यो आलोचना सम्झँदा ठीकै लाग्छ उनलाई । ‘आधुनिक कला भनेको साँच्चिकै बहुुलापन नै रहेछ,’ उनी भन्छन्, ‘मनमा जे आउँछ, त्यही क्यानभासमा उतार्ने पागलपनजस्तै न हो ।’ उत्तमले बुुझेको आधुुनिक कला भनेको ‘मनको कला’ हो, बन्देज–सीमा–आयामबिनाको कला । जे मन लाग्छ, त्यही । तर, समाजले जहिले पनि ‘सेन्सर’ चाहन्छ, सीमारेखा तोक्न चाहन्छ । हाम्रो समाजलाई वर्षौंवर्ष लाग्यो— आधुनिक चित्रकला बुुझ्न र स्विकार्न ।
उत्तम सुरुमा परम्परागत चित्रकारितामा थिए, पछि आधुनिकतर्फ ढल्केका हुन् । मनको इच्छाले काम गर्न ‘आधुनिकता’ रोजेको उनी सुनाउँछन् । र, उनका अनुसार आधुनिक चित्र पढ्न कुनै कक्षा, कोर्स वा रुटिन चाहिँदैन । मात्रै कलाकारसँग ‘भिजन’ हुनुपर्छ ।


कलाकार उत्तम आफ्ना समकालीन शशि शाहको सृजनाकर्मको खुलेरै प्रशंसा गर्छन् । ‘एउटै थिममा उभिएर निरन्तर सृजनामा लाग्नु शशिको विशेषता हो,’ उत्तम भन्छन्, ‘शशि शाह भन्नासाथ घोडा इमेज र त्यसका अनेक प्रतीक–विम्बहरू आँखामा आइहाल्छन्, यो शशिको चिनारी र खुबी दुवै हो ।’
***

‘भने जति स्वतन्त्रता आधुनिक कलामै पाइन्छ’ भन्ने उत्तम–विचारका पक्षपाती छन् अर्का कलाकार शशि शाह । उत्तम र शशि कला क्षेत्रमा सँगै लागेका हुन् । दुवैले भारतबाटै कला पढेर आए । एकअर्काको कला नजिकबाट नियालेका उनीहरू एकअर्काका ‘आलोचक’ समेत हुन् ।


८७ वर्षे शशिलाई श्रवण समस्या छ । उनी राम्रोसँग सुन्दैनन् । तर, आँखाले हेर्न र सम्झन भने तीक्ष्ण छन्, उत्तमभन्दा धेरै अगाडि । एक पटक देखेको मान्छे झट्ट भुल्दैनन् उनी । अनि, पत्रिका दैनिक रूपमा पढ्छन् । खासगरी कला विषयमा आएका समाचार उनका चासोका विषय हुन् । कुपन्डोलस्थित घरमा शशिको दैनिकी पत्रिका पढ्ने र केही नयाँ सिर्जना कोर्नमै बित्ने गरेको छ । ‘बुढयौली बेलाको जाँगर मुडमा भर पर्ने रहेछ,’ उनी भन्छन्, ‘मन लागे दिनभरि क्यानभास रंगाउँछु, लागेन भने दिनभर सुतेरै बिताइदिन्छु ।’ उमेरमा भने शशि यस्ता ‘मुडी’ थिएनन् । काठमाडौं, भोटेवहालमा जन्मिएका शशि दरबार हाइस्कुल पढ्थे । चित्रकार बनौंला भन्ने उनले कहिल्यै सोचेका थिएनन् । ‘परिस्थितिले चित्रकार बनाएको’ उनी स्विकार्छन् । ‘एसएलसी पास गर्न चित्रकला सिक्यो भने सजिलो हुन्छ,’ (प्राक्टिकल नम्बरका कारण) भन्ने उतिबेला स्कुलमा हल्ला सुनेका थिए । एसएलसी पास हुन्छु भन्ने आसमा उनले चित्रकला पढ्न थाले । पछि यही कला जगत् उनको रोजाइ बन्दै गयो । जानेर या नजानेरै, शशिले आफ्नो लागि सही विषय छनोट गरेको बताए । शशिले वास्तविक चित्रकलाको परिभाषा मुम्बई अध्ययन गर्न गएपछि मात्रै भेउ पाएका थिए, धेरैपछि ।


सन् १९६७ मा मुम्बईको जेजे स्कुल अफ आर्टबाट उनले डिप्लोमा गरे । उनको काम र लगावले भारतमै बस्ने ‘अफर’ आएको पनि थियो । तर, आफ्नो मुलुकबिनाको कला के कला ? भनेर शशि घरै फर्किए ।


काठमाडौंमा भारतबाट पढेर आउने कलाकारहरू निकै भइसकेका थिए— कृष्ण मानन्धर, इन्द्र प्रधान, वत्स्यगोपाल वैद्य आदि । उनीहरू हितैसी बन्न पुगे । कलाकारले आफ्नो सिर्जना अरूलाई बुझाउन स्पेस आफैंले खोज्नुपर्ने शशिको अनुभव छ । कसरी चित्र प्रदर्शन गर्ने विषयमा शशि, कृष्ण, इन्द्र र वत्स्यले एक दिन सल्लाह गरे । एक्लै चित्रकला प्रदर्शन गर्न र यसका लागि अनेक प्रबन्ध जुटाउन हरेक हिसाबले मुस्किल थियो । यही कलाको सहजीकरण खोज्ने क्रममै ‘स्किब’ जन्मेको थियो— शशि, कृष्ण, इन्द्र र वत्स्यको अंग्रेजी नामको पहिलो अक्षर जोडेर बनेको समूह ।


सन् १९७१ मा खोलिएको ‘स्किब’ मार्फत शशिले दर्जनभन्दा बढी सामूहिक चित्रकला प्रदर्शनी गर्न पाए । दुई पटक एकल प्रदर्शनी गरे । स्किबको उदाहरण दिंदै शशि भन्छन्, ‘हामी कहिल्यै एकअर्कासँग तीतो भएनौं । मनले काम गर्‍यौं ।’ हुन त ‘स्किब’ अब इतिहासमा मात्रै छ । कलाकार इन्द्र प्रधानको दुई दशकअघि निधन भएपछि ‘स्किब’ पनि अपुरो बनिहाल्यो ।


आधुनिक कलामा व्यापक संघर्ष गरिरहेका शशिले उसबेला उत्तम नेपालीको परम्परागत शैलीको सृजना देखेका थिए । खासगरी गणेशका अनेक आकृति उनी हुबहु उतार्ने गर्थे । यही सौन्दर्यले शशिको मन उत्तमको कलाचेतप्रति तानिएको रहेछ । प्रभाव कतिसम्म भने शशिले आफ्नो कोठाको भित्तोमा उत्तम–कला सजाएका छन्, परम्परागत शैलीको गणेश चित्र । उत्तमको एकल चित्रकला प्रदर्शनीबाट शशिले किनेर ल्याएका थिए, कुनै बेला । त्यसबारे उत्तम स्वयं ‘बेखबर’ छन् । शशि भने उत्तमको आधुनिक कला, अमूर्त सृजनबारे उत्तिकै ‘वेखबर’ छन् । ‘उत्तमले आधुनिक कलामा चर्चा कमाए होलान्,’ उनी भन्छन्, ‘मचाहिँ उनले बनाउन छोडेको परम्परागत सृजना मन पराउने एउटा फयान हुँ ।’


उत्तमले कलाको आयाम बदलेका छन्, समयानुसार । परम्परागत हुँदै आधुनिक कलासम्म उनी आइपुुगे । शशिलाई थाहा छ— उत्तमको साहित्यिक सृजनशीलता पनि अघि बढिरहयो । आफूभन्दा बढी समयसापेक्ष रहे उत्तम, भन्छन् शशि । उत्तमको यो सामयिकता ढिलो गरी सिकेका रहेछन् शशिले ।


सिग्नेचर कला घोडाको आकृतिमा अमूर्त चित्र बनाउने शशिको शैली अहिले आएर केही फेरिँदै छ । घोडामा शक्ति, शान्ति र वीरताको प्रतिविम्ब पाउने शशिले आफूलाई यही अभिव्यक्तिमा जीवन्त बनाए, चिनाए । उनले आफ्नो करिअरमा थुप्रै प्रतीकात्मक घोडा बनाए होलान् तर ८७ वर्षे अहिलेको उमेरमा बनाएको चित्र भने शशि आफैंलाई विशेष लाग्ने गरेको छ ।


६० लाख रुपैयाँको सृजना !
‘समुद्र मनथन चित्रले शशिको स्वाद फेरिएको छ । एउटै शैलीका चित्र बनाउँदा उनी आफैं दिक्क मानेका थिए । केही नौलोपन खोजिरहेका थिए । यसै खोजीमा उनले ‘समुद्र मन्थन’ थिम छाने जहाँ उनका विम्ब घोडाहरू सधैंभन्दा फरक देखिएका छन् । ‘स्वाद फेर्नैका लागि ‘समुद्र मन्थन’ बनाएको हँुु,’ शशि भन्छन् ।

‘नौलोपन’ झल्कने यो चित्र बिक्री गर्ने मनसायले उनले बनाएका थिएनन् । क्यानभास पूरा नहुँदै ग्राहकको नजरमा परिहाल्यो । चित्रमा समुुद्र परिवेश छ । बीचमा नागको चित्र छ भने राक्षस स्वरूपमा शशिले आफ्नै पोट्रेट बनाएका छन् । ६ फिट उचाइ, साढे ७ फिट चौडाइको यो चित्र अस्ट्रेलियाको एउटा म्युजियममा लैजाने तयारी भइरहेको शशिले सुनाए । तीन वर्षको मिहिनेतसँगै नवीन कामको यो सृजनालाई शशिले मूल्य पनि ‘कामअनुसार’ निर्धारण गर्ने सोच बनाएका छन् । कम्तीमा पनि ६० लाख रुपैयाँ । योभन्दा कममा नबेच्ने उनको अठोट छ ।


कलाकारले आफ्नो मूल्य आफैं स्थापित गर्छ । यसको स्वतन्त्रता र अधिकार कलाकार स्वयम्लाई हुन्छ भन्ने मान्यता शशिको छ । ‘यसमा मेरो निकै मिहिनेत परेको छ, कम मूल्यमा म बेच्दिनँ,’ उनी भन्छन्, ‘तोकेजति मूल्य पाइनँ भने बरु नबेची घरमै राख्छु ।’

तस्बिरहरुः बिजु महर्जन

प्रकाशित : आश्विन १३, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?