संविधान संशोधन गर्नुपर्ने वामदेव गौतमको माग - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संविधान संशोधन गर्नुपर्ने वामदेव गौतमको माग 

'घोषणापत्र लेख्नको निम्ती मैले ३ महिना लगाएको छु, त्यहाँ समय लगाउन नपरेको भए मैले चुनाव जितेर आउने थिएँ'
कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौमतले संविधान संशोधन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा प्रतिनिधिसभा नभएको बेलामा राष्ट्रिय सभाले संसद्को काम गर्ने गरी संविधान संशोधन गर्नुपर्ने गौतमको माग थियो । 

विगतमा राष्ट्रिय सभाबाट पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरेमा मात्रै राष्ट्रिय सभा सदस्यमा जाने भनेर तत्कालीन नेकपाभित्र माग गरेका गौतमले अहिले भने राष्ट्रिय सभामा बजेट पेस गर्ने व्यवस्थाका लागि संविधान संशोधन गर्नुपर्ने माग राखेका हुन् । संविधान संशोधनका लागि राष्ट्रिय सभाले प्रस्ताव पास गर्नुपर्ने र बाहिर कोठामा पेस गरेको बजेट सभामा पेस गर्नुपर्ने बताए ।

'नियमावलीमा परिवर्तन गर्नुपर्छ भने गरौं । यदि त्यसो हुँदैन भने माग गरौं । संविधानमा छैन भने यो आवश्यकता छ । बाहिर सडकमा बजेट प्रस्तुत हुन सक्ने त्यसलाई यो राष्ट्रिय सभाले पनि मान्नपर्ने । राष्ट्रिय सभा संघीय संसद्को एउटा अभिन्न अंग हो । यसमा यो अधिकार छ, छलफल गर्नसक्ने त्यो क्षमता छ,' गौमतको माग थियो, 'यसमा विचार, विमर्श गर्न सकिन्छ । त्यसो भएकाले त्यो आउनुपर्दछ । यो मेरो माग हो ।'

विगतमा राष्ट्रिय सभा र प्रतिनिधिसभा बीचको विभेद अन्त्य गर्नुपर्ने माग राखेको पनि गौतमले स्मरण गरे । उनले विगतमा राष्ट्रिय सभाबाट पनि प्रधानमन्त्री नियुक्त हुने व्यवस्था संविधानमा राख्नुपर्ने माग राखेको स्पष्ट पारे । त्यो प्रस्ताव राख्दा आफ्नो चरित्र हत्या भएको पनि उनको गुनासो थियो ।

प्रतिनिधिसभा अस्थायी र राष्ट्रिय सभा स्थायी भएकाले पनि राष्ट्रिय सभामा बजेट पेस गर्ने व्यवस्था संविधानमा हुनुपर्ने गौतमको तर्क थियो । 'प्रतिनिधिसभा कुनै पनि बेला प्रधानमन्त्रीको अविश्वास प्रस्तावबाट हटाउने भयो भने वर्षदिनमा फेरिन्छ । हरेक ५ वर्षमा परिवर्तन हुन्छ । राष्ट्रिय सभा निरन्तर जारी हुन्छ । प्रतिनिधिसभा नभएको बेला राष्ट्रिय सभाले काम गर्न पाउनुपर्छ,' उनको माग थियो ।

सरकारले आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत् ल्याएको थियो । जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेर जेठ १५ गते अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत् बजेट सार्वजनिक गरेका थिए । त्यसरी बाहिर बजेट सार्वजनिक गर्न मिल्ने तर संसद्‌मा नहुने ? भन्दै गौतमले संविधान संशोधनको माग गरेका हुन् ।

यसपटक एमालेले चुनावमा तय गरेका योजनाअनुसार नै अर्थमन्त्रीले बजेट ल्याएको गौतमको भनाइ थियो । विगतमा अर्थमन्त्री युवराज खतिवडा हुँदा घोषणापत्र अनुसार बजेट नआएको पनि उनले बताए ।

चुनावमा समाजवादको निम्ती जनतामा घोषणापत्र लिएर गएको र त्यो घोषणापत्र लेख्नका निम्ती ३ महिना समय बिताएको गौतमले बताए । आफू घोषणापत्र लेखनमा संलग्न नभएको भए प्रतिनिधिसभा चुनाव जित्ने उनको दाबी थियो ।

'घोषणापत्र लेख्नको निम्ती मैले ३ महिना लगाएको छु । त्यहाँ समय लगाउन नपरेको भए मैले चुनाव जितेर आउने थिएँ,' गौतमले भने ।

प्रकाशित : असार २७, २०७८ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्

एमाले एकताको खुसीको खबर सर्वोच्चको निर्णय आएपछि हुन्छ : वामदेव गौतम

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा विघटनसम्बन्धि सर्वोच्च अदालतले फैसला गरेपछि पार्टी एकीकृत हुने बताएका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू रहेको कार्यदल समस्या समाधानका लागि सिंहदरबारमा छलफल भइरहेका बेला उपाध्यक्ष गौतमले राष्ट्रिय सभाको बैठकमा उक्त कुरा बताएका हुन् । 

एमालेको विवाद सर्वोच्च अदालतको निर्णय आएपछि एकीकृत हुने कुरा आफूले विगतमा पनि भन्दै आएको र अहिले पनि त्यसमा दृढ रहेको वामदेव गौतमले बताए । 'एमाले एकताको खुसीको खबर सर्वोच्चको निर्णय आएपछि हुन्छ भनेको थिए । मेरो भनाइ लागू होस् भनेर त भन्दिनँ । भरे बेलुकासम्म भएपनि आओस् भन्ने छ । मेरो दृढता के छ भने सर्वोच्चको निर्णयपछि हाम्रो पार्टी अहिले एकीकृत हुन नसकेपनि त्यसबेलादेखि एकीकृत हुन्छ । त्यसपछि एकीकृत पार्टीको जिम्मेवारी निर्वाह गर्नेछौं भन्ने मलाई लागेको छ ।'

विगतमा नेकपा र पछिल्लो समय एमाले विभाजनको क्रममा आफू कतैतिर सामेल नभएको, नपाएको र नसकेको वामदेव गौतमको भनाइ थियो । उनले एमाले पुनःस्थापित भएपछि पार्टी रोजेको बताए ।

२०७५ साल जेठ २ को अवस्थामा केन्द्रीय कमिटी बैठक अध्यक्ष ओलीले बोलाएपछि आफू गएको गौतमको भनाइ थियो । उनले एमाले भएकाले गएको र त्यसको प्रमाण दिनका लागि गएको बताए ।

आफू जे भूमिका प्राप्त गर्ने आशासहित गएको हो त्यो भूमिका भने प्राप्त नभएको गौतमले असन्तुष्टि व्यक्त गरे । केन्द्रीय कमिटी बैठकमा गौतमले आफूलाई पार्टी एकताको जिम्मा दिन आग्रह गरेका थिए । जुन जिम्मेवारी अध्यक्ष ओलीले दिएनन् ।

प्रकाशित : असार २७, २०७८ १३:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×