एमाले एकताको खुसीको खबर सर्वोच्चको निर्णय आएपछि हुन्छ : वामदेव गौतम

काठमाडौँ — नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा विघटनसम्बन्धि सर्वोच्च अदालतले फैसला गरेपछि पार्टी एकीकृत हुने बताएका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू रहेको कार्यदल समस्या समाधानका लागि सिंहदरबारमा छलफल भइरहेका बेला उपाध्यक्ष गौतमले राष्ट्रिय सभाको बैठकमा उक्त कुरा बताएका हुन् । 

एमाले एकताको खुसीको खबर सर्वोच्चको निर्णय आएपछि हुन्छ : वामदेव गौतम

एमालेको विवाद सर्वोच्च अदालतको निर्णय आएपछि एकीकृत हुने कुरा आफूले विगतमा पनि भन्दै आएको र अहिले पनि त्यसमा दृढ रहेको वामदेव गौतमले बताए । 'एमाले एकताको खुसीको खबर सर्वोच्चको निर्णय आएपछि हुन्छ भनेको थिए । मेरो भनाइ लागू होस् भनेर त भन्दिनँ । भरे बेलुकासम्म भएपनि आओस् भन्ने छ । मेरो दृढता के छ भने सर्वोच्चको निर्णयपछि हाम्रो पार्टी अहिले एकीकृत हुन नसकेपनि त्यसबेलादेखि एकीकृत हुन्छ । त्यसपछि एकीकृत पार्टीको जिम्मेवारी निर्वाह गर्नेछौं भन्ने मलाई लागेको छ ।'

विगतमा नेकपा र पछिल्लो समय एमाले विभाजनको क्रममा आफू कतैतिर सामेल नभएको, नपाएको र नसकेको वामदेव गौतमको भनाइ थियो । उनले एमाले पुनःस्थापित भएपछि पार्टी रोजेको बताए ।

२०७५ साल जेठ २ को अवस्थामा केन्द्रीय कमिटी बैठक अध्यक्ष ओलीले बोलाएपछि आफू गएको गौतमको भनाइ थियो । उनले एमाले भएकाले गएको र त्यसको प्रमाण दिनका लागि गएको बताए ।

आफू जे भूमिका प्राप्त गर्ने आशासहित गएको हो त्यो भूमिका भने प्राप्त नभएको गौतमले असन्तुष्टि व्यक्त गरे । केन्द्रीय कमिटी बैठकमा गौतमले आफूलाई पार्टी एकताको जिम्मा दिन आग्रह गरेका थिए । जुन जिम्मेवारी अध्यक्ष ओलीले दिएनन् ।

प्रकाशित : असार २७, २०७८ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?