कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

दशकको सकसपछि तामाकोसीबाट बिजुली

स्वदेशी लगानीमै निर्मित दोस्रो जलविद्युत् आयोजना तामाकोसीले ७६ मेगावाट क्षमताका ६ युनिटमध्ये एउटाबाट परीक्षण थालेको छ ।
४८ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको आयोजनाको निर्माण अवधि लम्बिँदा लागत बढेर ८४ अर्ब पुगेको छ ।

दोलखा, काठमाडौं — निर्माणको एक दशक अवधिमा अनेक समस्या झेलेको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसीबाट ७६ मेगावाट विद्युत् परीक्षण उत्पादन सुरु भएको छ । जडित क्षमता ४ सय ५६ मेगावाट रहेको यो आयोजनाका ६ वटा युनिटमध्ये पहिलो युनिटबाट परीक्षण उत्पादन थालिएको हो ।

दशकको सकसपछि तामाकोसीबाट बिजुली

पहिलो युनिटबाट परीक्षण उत्पादन सुरु भएको हरेक १० दिनमा थप अर्को युनिटबाट विद्युत् उत्पादन सुरु गर्ने आयोजनाको तयारी छ । भदौ १५ सम्म ६ वटै युनिटबाट विद्युत् उत्पादन हुने आयोजनाको अनुमान छ । दोलखास्थित आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार निवासबाटै स्विच थिचेर भर्चुअल उद्घाटन गरे । आयोजनास्थलमा समेत उद्घाटन कार्यक्रम राखिएको थियो । उद्घाटनका समयमा भने साढे सात मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको थियो ।

पहिलो युनिटबाट ७६ मेगावाट व्यावसायिक उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए । एक सातापछि दोस्रो युनिटबाट थप ७६ मेगावाट विद्युत् उत्पादन हुने उनले बताए । ‘२ सय २० केभी देवीटार सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा विद्युत् पठाएका छौं,’ उनले भने, ‘सोमबार औपचारिक रूपमै उत्पादन सुरु भएको छ ।’

पाँच वर्षमा निर्माण सक्ने लक्ष्यसाथ २०६७ मा निर्माण सुरु भएको आयोजनाको उत्पादन थाल्ने मिति लक्ष्यभन्दा ६ वर्ष पर धकेलिएको हो । आयोजनाको तयारी २०६० सालतिरबाटै थालिएको थियो । आर्थिक वर्ष २०७३/७४ मा निर्माण पूरा गर्ने भनिएकामा भूकम्पपछि आयोजनास्थलमा गएको पहिरो र त्यसपछिको नाकाबन्दीका कारण साढे दुई वर्ष निर्माण बिथोलिएको थियो । यस्तै ठेकेदारको ढिलासुस्ती र कोभिडका कारण आयोजना निर्माण चार वर्ष प्रभावित भएको आयोजनाका अध्यक्ष एवं नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य बताउँछन् ।

हाइड्रोमेकानिकल उपकरण जडानका लागि ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याको रेलवे एन्ड इन्जिनियरिङ लिमिटेडको कमजोर कार्यसम्पादनका कारण आयोजनाको गति निकै सुस्त बनेको थियो । निर्माण अवधि लम्बिँदा आयोजनाको लागत बढेर ८४ अर्ब रुपैयाँ पुगेको छ । सुरुमा लागत निर्माण अवधिको ब्याजसहित साढे ४८ अर्ब रुपैयाँ लाग्ने अनुमान थियो ।आयोजना निर्माणका लागि ५२ अर्ब र निर्माण अवधिको ब्याजबापत ३२ अर्ब रुपैयाँ खर्च भएको छ । माथिल्लो तामाकोसी आयोजनाले वार्षिक २ हजार २ सय ८१ गिगावाट आवर ऊर्जा उत्पादन गर्नेछ ।

‘यसलाई जाडो महिनामा पनि पाँच घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्य भन्छन्, ‘आयोजनाको सबैभन्दा सुन्दर पक्ष यही हो ।’ माथिल्लो तामाकोसीमा रोल्वालिङ खोलाको पानी पनि खसाल्ने तयारी छ । रोल्वालिङ खोलाको पानी तामाकोसीमा मिसाइएपछि यसको ऊर्जा उत्पादन क्षमता थप वृद्धि हुनेछ ।

आयोजनाबाट उत्पादित विद्युत् थप हुँदा जाडो महिनामा भारतबाट आयात हुने विद्युत् ठूलो परिमाणमा घट्नेछ भने वर्षायामको चार महिना करिब ५ सय मेगावाट विद्युत् भारतमा बिक्री गर्न सकिने प्राधिकरणको विश्लेषण छ । ‘हामीले आयोजनाबाट औसतमा ४ रुपैयाँ ६ पैसामा विद्युत् खरिद गर्नेछौं,’ शाक्य भन्छन्, ‘तामाकोसीबाट किनेको विद्युत् भारतमा बिक्री गर्दा घाटा पर्दैन ।’ आयोजनाको निर्माण लागत सस्तो हुने अनुमानसहित सस्तो दरमा विद्युत् खरिदबिक्री सम्झौता भएको हो ।

सोमबार बालुवाटारबाट स्विच थिचेर परीक्षण उत्पादनको भर्चुअल उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।

माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेड र प्राधिकरणबीच २०६७ पुस १४ मा विद्युत् खरिदबिक्री सम्झौता भएको थियो । आयोजनाले २०७२ पुस १० मा ४ वटा युनिटबाट विद्युत् उत्पादन गर्ने र २०७३ असार ३० गतेसम्म ६ वटै युनिटबाट विद्युत् उत्पादन थालिसक्ने मिति तय गरी विद्युत् खरिदबिक्री सम्झौता गरिएको थियो । आयोजना र प्राधिकरणबीच भएको सम्झौतामा आयोजनाले उत्पादन थालेपछि ९ पटकसम्म तीन प्रतिशतका दरले मूल्य वृद्धि गरिने उल्लेख छ । आयोजनाले उत्पादन थालेपछिको औसत विद्युत् मूल्य प्रतियुनिट ४ रुपैयाँ ६ पैसा हुनेछ ।

स्वदेशी लगानीमा मात्रै निर्मित यो दोस्रो आयोजना हो । सुरुमा चिलिमे जलविद्युत् आयोजनामा स्वदेशी लगानी र सीप प्रयोग गरिएको थियो । सोही मोडलमा माथिल्लो तामाकोसी आयोजनालाई अघि बढाइएको हो । स्वदेशी लगानी भए पनि माथिल्लो तामाकोसीमा परामर्शदाता र प्राविधिक विदेशी भएकाले चिलिमेभन्दा यसको मोडल केही फरक भएको प्राधिकरणका कार्यकारी निर्देशक शाक्य बताउँछन् । ‘माथिल्लो तामाकोसी आयोजना निर्माण हुँदा हाम्रो प्राविधिक क्षमता पनि बढेको छ,’ उनी भन्छन्, ‘तामाकोसीबाट सिकेको सीप अब अन्य आयोजना बनाउँदा काम लाग्छ ।’

माथिल्लो तामाकोसीले यसभन्दा ठूलो आयोजनाका लागि मार्गदर्शन गर्ने भए पनि आयोजना समयमै सम्पन्न नभएकाले यसले उत्साहित नबनाउने अर्थशास्त्री विश्व पौडेलको तर्क छ । ‘भनेको समयमै र भनेकै लागतमा निर्माण सम्पन्न भएको भए यसले मानसिक रूपमा हामीलाई उत्साहित बनाउँथ्यो,’ उनी भन्छन्, ‘यसको लागत दोब्बर भएको छ र समयभन्दा निकै ढिला सम्पन्न भएको छ ।’

माथिल्लो तामाकोसी सम्पन्न भएपछि विद्युत् व्यवस्थापनमा उत्तिकै ध्यान दिनुपर्ने उनको सुझाव छ । ‘ऊर्जा उपलब्धता बढेपछि उद्योगीलाई सस्तोमा उपलब्ध गराउने र खपत बढाउनेतर्फ पनि सोच्नुपर्छ,’ उनको सुझाव छ, ‘घरायसी उपभोगलाई पनि बढाउनेतर्फ ध्यान दिनुपर्छ ।’ भूकम्प र नाकाबन्दीका कारण शिथिल बनेको आयोजनालाई गति दिन महत्त्वपूर्ण भूमिका खेलेका प्राधिकरणका पूर्वकार्यकारी कुलमान घिसिङ आयोजनाको लागत अनुमान गर्दा नै कम गरिएको टिप्पणी गर्छन् । लागत अनुमान गर्ने बेलामा डलरको भाउ बढ्न सक्ने अवस्थालाई ख्याल नगर्दा लागत कम देखिए पनि पछि आयोजनाको लागत बढेको उनको धारणा छ ।

यसरी पुग्यो ३५ अर्बबाट ८४ अर्ब

आयोजनाको विस्तृत डिजाइनका क्रममा २०६५ सालमा परामर्शदाता कम्पनी नोरकन्सल्टले तयार पारेको लागत अनुमानमा आयोजनाका लागि कुल ५३ करोड ३० लाख अमेरिकी डलर लाग्ने भनिएको थियो । त्यो बेला डलरको मूल्य ८० रुपैयाँ थियो । परामर्शदाताले तयार पारेको अनुमानित लागतलाई पुनरावलोकन गर्न गठित समितिले आयोजनाका लागि निर्माण अवधिको ब्याजबाहेक ४४ करोड १० लाख अमेरिकी डलर मात्रै लाग्ने अनुमान तयार पारेको थियो ।

सोही अनुमानअनुसार आयोजनाका लागि तत्कालीन विनिमय दरअनुसार निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान तयार पारिएको थियो । आयोजना ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमा तयार पारिएको हो । तर २०७२ को भूकम्पका कारण आयोजनास्थलमा गएको पहिरो, नाकाबन्दी, सुरुङ डिजाइनमा भएको परिवर्तनले गर्दा आयोजनाको निर्माण अवधि लम्बिएको र डलरको मूल्य बढ्दा आयोजनाको लागत बढेको आयोजना व्यवस्थापनको विश्लेषण छ ।

आयोजनाको निर्माण अवधिको ब्याजमात्रै ३२ करोड रुपैयाँ पुगेको छ । आयोजनाका लागि लिइएको ब्याजदरसमेत घटाउनुपर्ने प्राधिकरणका पूर्वकार्यकारी निर्देशक एवं आयोजनाका पूर्वअध्यक्ष घिसिङको भनाइ छ । आयोजनाको लागत बढेका कारण ऋणको तुलनामा स्वपुँजीको अनुपात घटेकाले यसको स्वपुँजी अनुपात बढाउनुपर्ने उनको धारणा छ । ‘आयोजनाका लगानीकर्तालाई अग्राधिकार सेयर जारी गरी स्वपुँजी अनुपात बढाउनुपर्छ,’ उनी भन्छन्, ‘यसले ऋणको परिमाण र ब्याज घटाउँछ र लगानीकर्ताले बढी प्रतिफल पाउँछन् ।’

विविध कारणले माथिल्लो तामाकोसी निर्माणमा ढिलाइ भए पनि यो आयोजनाबाट प्राधिकरणसहित सबै ऋण लगानीकर्तालाई फाइदा पुग्ने उनको विश्लेषण छ । भन्छन्, ‘यो आयोजनाबाट विद्युत् बिक्रीबाट मात्रै प्राधिकरणले वार्षिक १० अर्ब रुपैयाँ नाफा गर्न सक्छ भने ऋण लगानीकर्ताले समेत अन्य लगानीबाट आउनेभन्दा बढी ब्याज पाउनेछन् ।’

प्रकाशित : असार २२, २०७८ ०६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?