कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अक्सिजन कन्सनट्रेटर कति सुरक्षित ? कसरी प्रयोग गर्ने ?

काठमाडौँ — कोरोना भाइरसको दोस्रो लहरमा अक्सिजन चाहिने बिरामीको संख्या अत्यधिक बढ्यो । अक्सिजन आवश्यकता पर्छ की भनेर धेरैले अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सनट्रेटर खरिद गरेर राखे । अक्सिजन कन्सनट्रेटर तथा सिलिन्डरको माग धेरै बढ्यो । सामान्यतया शरीरमा अक्सिजन स्याचुरेसनको मात्रा ९८ देखि १०० प्रतिशत भयो भने स्वस्थ्य मानिन्छ । ९० प्रतिशत भन्दा तल भएको खण्डमा जोखिमपूर्ण मानिन्छ ।

अक्सिजन कन्सनट्रेटर कति सुरक्षित ? कसरी प्रयोग गर्ने ?

शरीरमा अक्सिजन लेभलको मात्रा घटेपछि अतिरिक्त अक्सिजनको आवश्यकता पर्दछ । त्यसबेला बिरामीलाई अक्सिजन कन्सनट्रेटर वा सिलिन्डरबाट अक्सिजन प्रवाहको आवश्यकता पर्दछ ।

यो कति बेला प्रयोग गरिन्छ ?
यो अक्सिजनको मात्रा कम भएपछि अतिरिक्त अक्सिजनको लागि बिरामीलाई सल्लाह दिइन्छ । अक्सिजनको मात्रा ९० प्रतिशतभन्दा तल भयो भने बिरामीलाई अक्सिजनको आवश्यकता पर्दछ ।

अक्सिजन कन्सनट्रेटर अक्सिजनको सबैभन्दा सजिलो विकल्प हो । तर, यसले प्रति मिनेट ५ देखि १० लिटरसम्म मात्र अक्सिजन सप्लाइ गर्न सक्छ । सिकिस्त बिरामीलाई प्रति मिनेट ४० देखि ५० लिटर प्रति मिनेट अक्सिजनको आवश्यकता पनि पर्न सक्छ । त्यसैले यो सामान्य बिरामीका लागि मात्रै ठिक हुन्छ ।

निजामती कर्मचारी अस्पतालका छाती रोग विशेषज्ञ डा. विदेश विष्टका अनुसार अक्सिजन कन्सनट्रेटर आईसीयू तथा भेन्टिलेटरमा भएको बिरामीलाई काम लाग्दैन । डा. विष्ट भन्छन् –‘हाई केयर युनिटमा यसको काम छैन । वार्डमा हामीले अक्सिजन कन्सनट्रेटरको प्रयोग गरिरहेका छौं । थोरै मात्र अक्सिजन चाहिने बिरामीलाई मात्र यो प्रभावकारी छ ।’

अक्सिजन कन्सट्रेटरले कसरी काम गर्दछ ? अक्सिजन कन्सनट्रेटरले शुद्ध अक्सिजन प्रवाह गर्छ त ?
यसले वातावरणमा रहेको अक्सिजनलाई फिल्टर गरेर सफा अक्सिजन उत्पादन गर्दछ । अक्सिजन कन्सनट्रेटरले हावाबाट अक्सिजन फिल्टर गर्छ र बिरामीले मास्क र क्यानुलाबाट अक्सिजन प्राप्त गर्छन् । हावामा २१ प्रतिशत अक्सिजन, ७८ प्रतिशत नाइट्रोजन र अरु ग्यासहरु हुन्छन् । यसले हावामा रहेको अक्सिजन तान्छ र ग्यासहरुलाई फिल्टर गर्छ ।

विश्व स्वास्थ्य संगठनको २०१५ को रिपोर्ट अनुसार अक्सिजन कन्सनट्रेटर निरन्तर रुपमा चलाउनका लागि प्रभावकारी छ । यसले ५ वर्ष वा सो भन्दा बढीसम्म अक्सिजन उत्पादन गर्न सक्छ । काठमाडौं मेडिकल कलेजकी अस्पताल निर्देशक तथा वरिष्ठ छाती रोग विशेषज्ञ प्राडा. अर्पना न्यौपानेका अनुसार कन्सन्ट्रेटरले हावामा भएको ग्यासहरु जस्तै अक्सिजन, नाइट्रोजन, कार्बोन्डाइअक्साइड लगायतलाई लिन्छ र त्यसबाट सबै ग्यास फालेर अक्सिजनलाई मात्र शुद्ध निकालेर बिरामीलाई प्रयोग गर्ने गरी पठाउँछ । उनले अधिकांश मेसिनमा ९३ देखि ९५ सम्म शुद्ध अक्सिजन प्रवाह हुने बताइन् ।

प्रयोग गर्दा के कुरामा ध्यान पुर्‍याउने?
श्वास प्रश्वासका समस्या भएका दिर्घरोगीहरुलाई घरमै अक्सिजन कन्सनट्रेटरको आवश्यकता परिरहेको हुन्छ । चिकित्सकहरुले त्यस्ता बिरामीलाई अक्सिजन कन्सनट्रेटर राख्न सुझाव दिने गरेका छन् । अक्सिजन कन्सनट्रेटर चलाउन सजिलो भएपनि केही कुरामा ध्यान दिन आवश्यक छ ।

केही महिनाअघि अक्सिजनको हाहाकार मच्चिएका बेला कतिपयले घरमै अक्सिजन थुपारेर बसेका पनि थिए । प्राडा न्यौपानेले त्यसरी घरमै अक्सिजन थुपार्दा जोखिम हुन सक्ने औंल्याइन् । ‘त्यो त ठूलो जोखिम हुने हो नी । अक्सिजन त आगलागी हुन सक्छ अलिकति पनि झिल्का आायो भने त पड्किने सक्ने हुन्छ । अक्सिजन समान्य रुपमा लिने चिज होइन,’ उनले भनिन् । उनले अक्सिजन कन्सनट्रेटरबाट निस्केको हावा सुख्खा हुने भएकाले अक्सिजन कन्सनट्रेटरको प्रयोग गर्दा ध्यान पुर्‍याउन आवश्यक रहेको बताइन् ।

उनका अनुसार सुख्खा हावाले नाकबाट भित्र पसेदेखि फोक्सोसम्म जाने भाग एकदम सुख्खा गराउाछ जसले पत्र–पत्र निस्कने, रगत आउने तथा संक्रमण हुनेसक्ने हुन्छ । उनले अक्सिजन कन्सनट्रेटर प्रयोग गर्दा हावा सुख्खा हुन नदिन ‘हृयुमिडिफाई’ गर्नुपर्ने सुझाव दिइन् । ‘मोइस्चर हाल्नको लागि अक्सिजन कन्सनट्रेटरमा पानीको बोतल जस्तो हुन्छ । अक्सिजन कन्सट्रेटरले हावा बनाएर ट्यांकमा हालेपछि त्यो हावा पानी भएको बोतलमा र त्यो बोतलबाट निस्केपछि बिरामीमा जान्छ । पानीमा पसेपछि अक्सिजन ह्युमिडिफाइ हुन्छ र मोइस्चर पुग्छ,’ उनले भनिन् ।

अक्सिजनको मात्रा धेरै आवश्यकता नभएकालाई यो राम्रो विकल्प हो । प्रयोग गर्दा विद्युतीय सामान भएकोले ध्यान दिनुपर्छ । साथै भित्ता तथा बिरामीको एकदम नजिक नराख्ने तथा ठूलठूला फर्निचरहरुबाट टाढा राख्ने गर्नुपर्दछ । चिकित्सकको अनुमति बिना आफै अक्सिजन प्रयोग गर्नु भने हुादैन ।

धेरै अक्सिजन प्रवाहले झन् बेफाइदा
कोभिडका बिरामीमा पनि अक्सिजन हाइ कन्सनट्रेसनमा लिएको खण्डमा झ्न फोक्सोमा खराबी गर्ने चिकित्सकहरु बताउँछन् । प्राडा. अर्पणाले कतिपय संक्रमित भेन्टिलेटरमा नबसेको भएपनि छातिमा धेरै हावाको पोकाहरु भेटिएको बताउँदै त्यो हावाको पोका अक्सिजन बिना सावधानी उच्च मात्रामा दिएको कारणले पनि हुनसक्ने संकेत गरिन् ।

उनका अनुसार फोक्सोको सेतोपन बढ्नुमा कोरोनाले पनि गर्छ र यो धेरै अक्सिजन दिएर पनि हुन सक्छ । उनले अक्सिजन टक्सिटीको लागि सावधान हुनुपर्नेमा जोड दिइन् । ‘कोभिडका कारण फोक्सो नै खराब भएको बिरामीलाई एकदम हाइ अक्सिजन नदिइ ठिक्क मात्रामा दिने गर्नुपर्छ,’ उनले भनिन् ।

प्रकाशित : असार ८, २०७८ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?