नेपाली भूभागमा ज्यादती रोक्न भारतलाई पत्र- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली भूभागमा ज्यादती रोक्न भारतलाई पत्र

मनोज बडू, मातृका दाहाल

दार्चुला, काठमाडौं — महाकाली नदीवारि नेपालतर्फको बाटो भत्काउने र नदीको प्राकृतिक बहाव नै परिवर्तन हुने गरी सीमावर्ती क्षेत्रमा भएका ज्यादती रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतलाई पत्र पठाएको छ ।

भारतले धारचुला–लिपुलेक सडक निर्माणका क्रममा बम विस्फोट गराउँदा खसेको चट्टानले नदी थुनिएपछि पुरिएको दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ र कल्जु गाउँ जोड्ने महाकाली किनारको घोडेटो (बायाँ) । छोटो बाटो पुरिएपछि दुम्लिङबाट छाङरु हुँदै टिंकर जान सशस्त्र र नेपाल प्रहरीले बनाएको वैकल्पिक गोरेटो । तस्बिर सौजन्य : सशस्त्र प्रहरी बल

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढस्थित धारचुलाका जिल्ला अधिकारी (डिस्ट्रिक मजिस्ट्रे^) आनन्द स्वरूपलाई नेपालको भूभागमा असर पुग्ने गरी भएका गतिविधि रोक्न आग्रह गरेका हुन् । प्रजिअ जोशीले त्यसको जानकारी गृह मन्त्रालयमा पनि गराइएको बताए । पत्रमा भारतीयका कारण नदीको बहाव नेपालतर्फ धकेलिनुका साथै बाटोमै नदी पसेकाले त्यसलाई खुलाउन भारतीय पक्षलाई भनिएको छ । यसको जवाफ उताबाट आइनसकेको उनले बताए ।

प्रजिअ जोशीले भारतको धारचुला प्रशासनलाई पठाएको पत्रको व्यहोरासहित भारतीय गतिविधिका कारण नदी पसेर बाटो अवरुद्ध भएको विवरण गृह मन्त्रालयमा दिइएको जनाए ।

लिपुलेक जोड्ने भारतीय सडकले नेपालको घोडेटो पुरियो

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले भारतले आफ्नोतर्फ सडक निर्माण गर्दा खसेको पहिरोले नदीको बहाव नेपालतर्फ आएर सडक डुबाउनुका साथै भत्काएको विषय प्रशासनबाट पत्राचारमार्फत जानकारीमा आएको बताए । यसलाई कूटनीतिक माध्यमबाट समाधान गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतको ध्यानाकर्षण गराइने उनले बताए । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ र कल्जु गाउँ जोड्ने महाकाली किनारतर्फको घोडेटो मंगलबार पारिपट्टि निर्माणाधीन धारचुला–लिपुलेक सडक विस्तार गर्दा चट्टान खसेर भत्किएको थियो ।

त्यसको दुई दिनपछि बिहीबार प्रजिअ जोशीले जिल्ला सुरक्षा समिति बैठकबाट निर्णय गराएर त्यस्ता गतिविधि रोक्न भारतीय पक्षलाई पत्र पठाएका हुन् । नदीमा खसेको चट्टानलाई पन्छाएर पानीको बहावलाई पूर्ववत् प्राकृतिक धारमा फर्काउन भारतीय पक्षसँग आग्रह गरिएको उनले जानकारी दिए ।

भारतले सडक विस्तारका क्रममा महाकालीपारि गर्वाधार क्षेत्रमा चट्टान फुटाउन बम विस्फोट गराएको थियो । यो सडक निर्माणका क्रममा तावाघाटदेखि बुदीसम्म महाकाली किनारको नेपालतर्फको जमिन तीव्र रूपमा कटान गरिरहेको छ । त्यसप्रति नेपाल सरकारले उचित कदम चाल्न सकेको छैन । मंगलबारको विस्फोटबाट खसेको चट्टान महाकाली नदीमा खसेर बहाव रोकिनुका साथै त्यसकै असरले वारिपट्टि नेपालको बाटो भत्केको छ ।

बाटोमा नदी पसेपछि मानिसको आवागमन नरोकियोस् भनेर दुम्लिङस्थित सशस्त्र प्रहरीको बीओपी र प्रहरी चौकीबाट जनशक्ति खटाएर वैकल्पिक गोरेटो खुलाइएको छ । जुन बाटो अहिलेको भन्दा २ घण्टा बढी समय लगाएर पार गर्नुपर्छ । सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालले सशस्त्रका संरचना जहाँ–जहाँ छन्, त्यस क्षेत्रमा बाटो–घाटो, पुलपुलेसा भत्किँदा सामाजिक दायित्व र सरकारका आदेश, निर्देशनअनुसार अवरोध खुलाइँदै आएको बताए । निर्माणाधीन भारतीय सडक नदीबाट ५/६ सय मिटर उचाइमा छ तर नेपालतर्फको गोरेटो करिब २० मिटर र कतै नदी किनारैकिनारमा पर्छ । दुम्लिङस्थित सशस्त्रको बीओपी र नेपाल प्रहरीको चौकी छ । बाटो अवरुद्ध भएको ठाउँ बीओपीबाट करिब २ सय मिटर उत्तरतर्फ पर्छ ।

महाकाली नदीको प्राकृतिक बहावलाई अतिक्रमण गरेर भारतीय पक्षले पटक–पटक गैरकानुनी र एकतर्फी संरचना बनाउने गरेको भन्दै प्रजिअ अधिकारीले आपत्ति जनाए । ‘२०७२ सालमा बाढी आउँदा महाकालीको धार परिवर्तन भएर नेपालतर्फ सोझियो, त्यसको मौका छोपेर एकतर्फी रूपमा पछिल्लोपटक करिब डेढ सय मिटरमा नेपाली भूमिसमेत समेटेर बाँध बनाइएको छ, त्यसले अब नदीमा बाढी आउँदा पनि धार नेपालतर्फ सोझिन्छ,’ उनले भने, ‘यस विषयमा गृहमार्फत परराष्ट्र मन्त्रालयलाई पटक–पटक ध्यानाकर्षण गराइएको हो, पिथौरागढ प्रशासनलाई पठाएको पत्रको त जवाफ नै आएन । गत वर्ष घाँटीबगर क्षेत्रमा नेपालतर्फ घोडेटो बनाउँदा पनि भारतीयले अवरोध गरे ।’

प्रकाशित : जेष्ठ २९, २०७८ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्

‘हटस्पट’ मा घट्यो संक्रमणको ग्राफ

बाँके, रुपन्देही र दाङमा बिरामीले बेड नपाएर अस्पतालबाट फर्किनु पर्दैन, मृत्यु शून्य भएको छ
नेपालगन्जका अस्पतालमा २३१ कोरोना बेड रिक्त
ठाकुरसिंह थारु, अमृता अनमोल, दुर्गालाल केसी

नेपालगन्ज, बुटवल, दाङ — तीन साताअघिसम्म कोरोना भाइरस संक्रमणको हटस्पट बनेका लुम्बिनी प्रदेशका रूपन्देही, दाङ र बाँकेमा संक्रमित घटेका छन् । तीन जिल्लामा न्यून संख्यामा संक्रमण पुष्टि भइरहेको छ ।

संक्रमण घटेपछि जिल्लाका अस्पतालहरूमा बिरामीको चाप कम भएको छ । कोरोना संक्रमितका लागि छुट्याइएका बेड पनि खाली भएका छन् ।

नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड वार्डका दुई सयमध्ये बिहीबार साँझसम्म १ सय ५ बेड खाली थिए । त्यस्तै नेपालगन्ज मेडिकल कलेजको कोभिड वार्डका १ सय ३० मध्ये ९७ र वेस्टर्न अस्पतालका १६ मध्ये १४ बेड खाली भएको छ । युनाइटेड अस्पतालले कोरोना संक्रमितका लागि छुट्याएका १५ बेड पनि खाली छन् ।

संक्रमणको दोस्रो लहर सुरु भएपछि हटस्पट बनेको जिल्लामा दुई साताअघिसम्म बिरामीले बेड सजिलै पाएका थिएनन् । भेरी अस्पतालमा चाप थेग्न नसकेर परिसरमा पाल टाँगेर उपचारको अस्थायी व्यवस्थापन गरिएको थियो । सरकारी र निजी अस्पताल संक्रमितले भरिभराउ थिए । अहिले बाँकेका अस्पतालमा संक्रमितको चाप स्वाट्टै घटेको छ ।

स्थानीय तहले बनाएका आइसोलेसन पनि रित्तै छन् । बिरामीले बेड नपाएर छटपटिनुपर्ने अवस्था हटेको छ । ‘पछिल्लो समय संक्रमण कम हुँदै गएको देखिन्छ । लामो अवधि निषेधाज्ञाका कारण भीडभाड घट्दा यस्तो भएको हुनुपर्छ,’ जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक नरेश श्रेष्ठले भने, ‘शंका लागेर परीक्षण गराउनेमध्ये पनि पहिलेभन्दा कममा संक्रमण देखिन थालेको छ ।’

यसअघि परीक्षण गर्दा ८३ प्रतिशतसम्मलाई कोरोना संक्रमण देखिने गरेको थियो । संक्रमण नियन्त्रणबाहिर गएपछि जिल्लाभरि जारी निषेधाज्ञा अझैसम्म हटाइएको छैन । गत वर्ष पनि लकडाउन र निषेधाज्ञा जारी गरिएपछि कोरोना नियन्त्रणमा आएको थियो । असारमा खेतीपातीको काम सकिएपछि फेरि लापरबाही गर्दा दोस्रो चरणको संक्रमण नियन्त्रणभन्दा बाहिर गएको थियो ।

‘अझै पनि सावधानी नअपनाउने हो भने कोरोनाको संक्रमण काबुभन्दा बाहिर जान बेर छैन । त्यसैले बिरामी घटे भन्दैमा लापरबाही गर्नु हुँदैन,’ भेरी अस्पतालका वरिष्ठ फिजिसियन तथा कोरोना स्रोत व्यक्ति डा. संकेत रिसालले भने, ‘तथ्यांकमा घटेको देखिन्छ तर पूर्णरूपमा नियन्त्रणमा आइसकेको अवस्था होइन ।’ उनका अनुसार संक्रमण दर कम्तीमा ५ प्रतिशतभन्दा कम भए नियन्त्रण भएको मान्न सकिन्छ ।’ संक्रमण दर अझै पनि ५ प्रतिशतभन्दा बढी रहेकाले ढुक्क हुन सक्ने अवस्था नभएको उनले बताए ।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार संक्रमण कम हुँदै गएपछि होम आइसोलेसनमा बस्नेको संख्या पनि घटेको छ । नेपालगन्जका ७०, कोहलपुरका ४७, बैजनाथका २३, खजुराका १२, जानकीका १०, राप्ती सोनारीका ३७, डुडवाका ४६, नरैनापुरका २ जनागरी २ सय ४७ जना होम आइसोलेसनमा छन् । यहाँका अस्पतालमा उपचार गराएकामध्ये बाहिरी जिल्लाका ३ सय २८ समेत गरी ६ सय ३३ को मृत्यु भएको छ ।

संक्रमणको अर्को हटस्पट रूपन्देहीमा पनि संक्रमण घट्दै गएको छ । तीन साताअघिसम्म काठमाडौं उपत्यकाबाहिर सबैभन्दा धेरै संक्रमित पुष्टि भइरहेका थिए । अहिले जिल्लाभर दैनिक सरदर ५० देखि ६० जना हाराहारीमा संक्रमण पुष्टि भइरहेको छ । २० दिनअघिसम्म कुल परीक्षणको ४० प्रतिशत पुगेको संक्रमण दर अहिले २५ प्रतिशतमा झरेको छ ।

अस्पतालमा बिरामीको चाप पनि घटेको छ । स्थानीय तहका आइसोलेसन सेन्टर खाली हुन थालेका छन् । सिकिस्त बिरामी र मृत्यु हुनेको संख्या कम भएको छ । निको हुनेको संख्यासमेत आसलाग्दो किसिमले बढेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत जेठ ७ मा जिल्लामा ३ सय ७६ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरूमध्ये पाँच जनाको मृत्यु भएको थियो । सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय ६० थियो । त्यसको २० दिनपछि गत बिहीबार ७१ जनामा संक्रमण पुष्टि भएको थियो । जिल्लामा सक्रिय संक्रमित १ हजार ९१ जना छन् । स्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्रकुमार गिरीले समुदायमा पनि संक्रमण घटेको बताए । समुदायमा लक्षण देखिएका र संक्रमितका परिवारसहित ११ हजारको नि:शुल्क एन्टिजेन परीक्षण भइरहेको उनले जानकारी दिए । ‘सबैभन्दा बढी संक्रमण रहेको बुटवलमा १ हजार ९ सयसहित जिल्लाका १६ वटै स्थानीय तहमा समुदायमा परीक्षण भइरहेको छ । यसले अझ बढी संक्रमणको चेन भत्काउनेछ,’ उनले भने, ‘अहिलेसम्म ६० प्रतिशत एन्टिजेन परीक्षण भइसकेको छ ।’

निषेधाज्ञा र सामाजिक दूरी पालनाले संक्रमण दर घट्दै गएको स्वास्थ्यकर्मी बताउँछन् । नाकाबाट प्रवेश गर्नेहरू धेरै पीसीआर परीक्षण गरेर आउने र नगर्नेमा पनि संक्रमण दर घटेकाले कम हुँदै गएको उनीहरूको भनाइ छ । ‘कुनै समय बेलहिया नाकाबाट आउने ३० देखि ४० जनामा दैनिक संक्रमण देखिन्थ्यो,’ स्वास्थ्य कार्यालयका सूचना अधिकारी केदारनाथ साहले भने, ‘अहिले २ देखि ३ जनामा मात्रै देखिएको छ ।’ अहिले सामान्यभन्दा दीर्घरोगी र अशक्तलाई मात्रै संक्रमणले सताउने गरेको छ । तिनै बिरामी अस्पताल आइरहेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णुप्रसाद गौतमले सर्वसाधारणले भौतिक दूरीको पालना गर्दै सचेतना अपनाएकाले संक्रमण घटेको बताए ।

दाङमा पनि संक्रमितको संख्या घटेको छ । दैनिक ३ सय ५० भन्दा बढी संक्रमित थपिने गरेकामा अहिले दैनिक सरदर ३० जनामा मात्रै पुष्टि भइरहेको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । वैशाखयता मात्रै जिल्लामा ७ हजार ५ सय २६ जना संक्रमित भएको तथ्यांक छ । त्यसमध्ये हाल सक्रिय संक्रमित ४ सय ३३ मात्रै छन् । अस्पतालमा बिरामी भर्ना र मृत्युदर पनि घटेको छ । दैनिक आठ जनासम्म मृत्यु भएको कोरोना विशेष अस्पताल बेलझुन्डीमा अहिले मृत्यु शून्य छ । उपचारार्थ आउनेको चाप धान्न नसकेर नयाँ भर्ना बन्द गरेको अस्पतालमा अहिले सहजै बिरामी भर्ना गर्न सकिने अवस्था आएको व्यवस्थापक दोर्ण वलीले बताए । अहिले ३३ जना उपचाररत छन् ।

‘अहिले अक्सिजनको पनि अभाव छैन । बिरामीको चाप पनि छैन,’ वलीले भने, ‘उपचारमा पनि सहजता आएको छ ।’ अस्पतालमा बिरामी आउन छोडेको र सामान्य बिरामी घरमै बसिरहेको घरदैलोमा कोरोना संक्रमित बिरामीलाई स्वास्थ्य सामग्री वितरण गर्दै आएका रोटरी क्लब अफ दाङका अध्यक्ष डा. चेतनारायण पाण्डेले बताए । ‘होम आइसोलेसनमा रहेकाको हेरचाह, परिवारका अन्य सदस्यहरूको सावधानी र मास्क लगाउने कुरामा अझै पनि कमजोरी देखिन्छ,’ उनले भने । हालसम्म होम आइसोलेसनमा रहेका ८३ संक्रमितलाई भेट्दा र १ सय ५० बढीलाई परामर्श गर्दा भित्रभित्रै संक्रमण धेरै नै फैलिएको पाइएको उनले बताए । ‘सहरी क्षेत्रमा संक्रमण धेरै नै घटिसकेको छ । गाउँतिर अलि बढी छ,’ उनले भने, ‘धेरै बिरामी के औषधि खाने, के के कुरामा ख्याल गर्ने भन्नेमा अन्योलमा छन् । उनीहरूलाई घरमै सुरक्षित हुने तरिका सिकाएका छौं ।’

पहिलेको तुलनामा अहिले बिरामी घट्दै गएको लमहीस्थित कोरोना आइसोलेसन अस्पतालका प्रमुख डा. पुष्प भुसालले बताए । ‘बिरामीको चाप घट्दा उपचारमा पनि सहजै पहुँच मिलिरहेको छ,’ उनले भने, ‘अब कसैले बेड नपाएर बिरामी फर्काउनुपर्ने अवस्था छैन ।’ कोरोना संक्रमणका कारण १ सय ८९ जनाको मृत्यु भएको तथ्यांक रहेको दाङ जिल्लामा मृत्युदर शून्य भएको छ ।

प्रकाशित : जेष्ठ २९, २०७८ ०७:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×