खनाल–नेपालपक्षको निष्कर्ष : पार्टी एकताका निम्ति ओलीबाट इमान्दारीपूर्वक प्रस्ताव आएन

‘ओलीले साँच्चै पार्टी एकता चाहेका हुन भने आफूहरुले राखेका ६ बुँदे अनुसार प्रस्ताव आउनुपर्छ’

काठमाडौँ — नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीबाट इमान्दारीपूर्वक पार्टी एकताको प्रस्ताव नआएको निष्कर्ष निकालेको छ । अध्यक्ष ओलीले अगाडि सारेको ६ बुँदे प्रस्तावबारे छलफल गर्न सोमबार बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो । 

खनाल–नेपालपक्षको निष्कर्ष : पार्टी एकताका निम्ति ओलीबाट इमान्दारीपूर्वक प्रस्ताव आएन

‘पार्टी एकताको निम्ति इमान्दारीपूर्वक आएको प्रस्ताव हैन । उहाँ (ओली)ले राखेका बुँदा स्वीकार गर्न सकिदैँन । साँच्चै एकता चाहेको हो भने हामीले पहिला राखेका ६ बुँदा अनुसार प्रस्ताव आउनु पर्छ भन्ने निष्कर्ष बैठकले निकालेको छ,’ स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने, ‘यसअघि हामीले अगाडि सारेका ६ बुँदे प्रस्ताव लगायतका विषयलाई समेटेर वक्तव्य जारी गर्दैछौं ।’

वैशाख २५ मा नेता नेपालले पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अध्यक्ष ओलीलाई पत्र पठाएका थिए ।

अध्यक्ष ओलीले पनि आइतबार पार्टी एकताका लागि भन्दै ६ बुँदे प्रस्ताव अगाडि सारेका थिए । ओलीको प्रस्तावमा पार्टीलाई जेठ ३ पूर्वको अवस्थाबाट अगाडि बढाइने भन्दै नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिएकालाई आधार मानेर एमाले केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने उल्लेख छ ।

साथै विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा एमालेका सांसदहरुले गरेको हस्ताक्षर फिर्ताको प्रस्ताव पनि ओलीले गरेका छन् । तर, ओलीले अगाडि सारेका प्रस्तावका कुनै पनि बुँदा स्वीकार गर्न नसकिने निष्कर्ष बैठकले निकालेको भुसालले बताए ।

प्रकाशित : जेष्ठ २४, २०७८ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?