कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कछुवाको अध्ययन न संरक्षण

लामो समययता नेपालमा फेरि देखिएनन् बाटागुर, बाटागुर ढोंगोका र चित्रा इन्डिका प्रजाति
गोविन्द पोखरेल

काठमाडौँ — वातावरण विज्ञानकी विद्यार्थी अस्मिता श्रेष्ठले सन् २०२० को मार्चमा सप्तरीमा धर्के भनिने भारतीय धुरी कछुवा फेला पारिन् । ती कछुवा कोसी ब्यारेजभन्दा २ सय मिटर पश्चिम नजिकैको एक पोखरीमा भेटिएको थियो । वातावरण विज्ञानकी शोधार्थी श्रेष्ठले भेट्नुअघि कछुवाको उक्त प्रजाति सप्तरीमा पाइएको स्थानमा रेकर्ड थिएन ।

कछुवाको अध्ययन न संरक्षण

प्राध्यापक एवं हर्पिटोलोजिस्ट करन शाहद्वारा लिखित ‘हर्पिटो फाउना अफ नेपाल’ किताबमा यो कछुवा सुनसरी जिल्लामा पाइने उल्लेख भए पनि उक्त ठाउँ विशेषका लागि तस्बिरसहितको प्रमाण भने थिएन ।सप्तरीमा भेटिएको भारतीय धुरी कछुवा (ढोंड) वा धर्के कछुवा । तस्बिर सौजन्य: अस्मिता श्रेष्ठ

आईयूसीएन रेड लिस्टले यो कछुवालाई असुरक्षित प्रजाति (भल्नर्रेबल स्पीसीस) श्रेणीमा राखेको छ । कछुवा भेटिएको बारे यसै महिना जर्नल अफ थ्रिटेन्ड ट्याक्सामा श्रेष्ठको यो अनुसन्धान प्रकाशित भएको छ ।

०००

सन् २०२० मा लुम्बिनीमा पनि इन्डियन आइड टर्टल (मोरेनिया पेटर्सी) प्रजातिको कछुवा भेटियो । त्यहाँ यो लामो समयपछि देखिएको थियो । साउथ एसिएन रेप्टाइल नेटवर्कमा यसबारे मे २१ मा आलेख प्रकाशित छ ।

उक्त कछुवा हरैया खोला नजिकै भेटिएको थियो । यो प्रजातिको अनुसन्धान निकै कम भएको उक्त आलेखमा उल्लेख छ । कछुवामा विद्यावारिधि गरिरहेका झापाका टपिलप्रकाश राईको मुख्य लेखकीय भूमिकामा प्रकाशित उक्त आलेखअनुसार यो कछुवा नदी क्षेत्र छेउछाउ बन्ने पोखरी तथा नदीले बहावको दिशा बदल्दा बनेका तालहरूमा पाइन्छ । यो तराई क्षेत्रको खोला पनि पाइने गरेको पछिल्ला अध्ययनहरूले देखाएका छन् । यसअघि अनुसन्धानकर्ता प्रकाशचन्द्र अर्याल लगायतको टोलीले सन् २००९ मा गरेको अनुसन्धानका क्रममा रूपन्देहीको गैंडाताल (नेपालमा प्रजातिको पहिलो रेकर्ड भएको स्थान) तथा आसपासका क्षेत्रमा यो प्रजातिको कछुवा भेटिएको थिएन ।

लुम्बिनीमा भेटिएको इन्डियन आइड टर्टल (मोरेनिया पेटर्सी) कछुवा । तस्बिर सौजन्य : गीत भण्डारी ।

आईयूसीएनले कछुवाको यो प्रजातिलाई पनि असुरक्षित अवस्थामा रहेकाको सूचीमा राखेको छ । साइटिस अभिसन्धिअन्तर्गत यो अनुसूची २ मा सूचीकृत छ । पश्चिम नेपालका तराई क्षेत्रहरूमा अझै पनि यो प्रजातिका कछुवाहरू रहेको उक्त आलेखले देखाएको छ ।

०००

नेपालमा पाइने कछुवाहरूमध्ये लाम्चे पनि भनिने ठोटरी (इलंगेटेट इन्डोस्टुडो टर्टोइस) अति संकटापन्नमा सूचीकृत कछुवा हो । यो साइटिस अभिसन्धिको अनुसूची २ मा सूचीकृत छ । यसबारे अनुसन्धान गरिरहेका वातावरण अध्ययन तथा संरक्षण केन्द्र (इन्प्रोक्स) का अनुसन्धानकर्ता परमानन्द राजवंशी तराईदेखि चुरे क्षेत्रसम्म कछुवा पाइए पनि यसको संरक्षण स्थानीयस्तरबाटै गरिनुपर्ने बताउँछन् । सालको जंगलमा पाइने यो कछुवालाई कतिपयले पहेंलो कछुवा भनी भन्छन् ।

यसको संरक्षणमा चुनौती देखिएको उनी बताउँछन् । ‘ठोटरी विरलै भेटिन्छन्, भेटिहाले मानिसहरूले पकाएर खाइदिन्छन्,’ उनले भने, ‘प्राय: आदिवासी रैथाने समुदायहरूले कछुवालाई रोग निको पार्ने, धेरै पोषणयुक्त हुने भन्दै खाने गर्छन् । त्यसैले यो जोगाउन पनि स्थानीयस्तरबाटै थालिनु गर्नुपर्छ ।’ यो प्रजातिको कछुवा लजालु स्वभाव हुने र वन क्षेत्रमा लुकेर बस्ने उनले बताए ।

प्राकृतिक बासस्थानमा फेला पारेको इलंगेटेट इन्डोस्टुडो टर्टोइस (लाम्चे कछुवा, ठोटरी) कछुवा । तस्बिर सौजन्य : परमानन्द राजवंशी ।

रूपन्देही र पाल्पा जिल्लामा कछुवा खोजी गर्दा उनले १३ वटा ठोटरी प्राकृतिक वासस्थानमा फेला पारेका थिए । उनले दुई वर्षअघि ती जिल्लामा ३ प्रजातिका १९ वटा कछुवा फेला परेको उनले बताए ।

०००

शोधार्थीहरूका अनुसार नेपालमा १६ प्रजातिका कछुवा पाइएको रेकर्ड छ । तीमध्ये ५ वटा साइटिस अभिसन्धिको अनुसूची १ र बाँकी ११ वटा अनुसूची २ मा सूचीकृत छन् । तीमध्ये ठोटरी र तीन धर्के कछुवा (ट्राइक्यारिनेटा) जमिनमा पाइन्छन् । ‘हामीकहाँ १६ प्रजाति पाइने भनिए पनि बाटागुर, बाटागुर ढोंगोका र चित्रा इन्डिका लामो समयदेखि फेरि कतै पाइएको प्रकाशमा आएको छैन,’ कछुवा अनुसन्धानकर्ता प्रकाशचन्द्र अर्यालले भने, ‘किताब र लेखहरूमा पाइने भने पनि विभिन्न सर्भे तथा अनुसन्धानहरूमा अझै रेकर्ड गर्न सकिएको छैन । यी सबै प्रजातिहरू संकटग्रस्त हुन् । ’

आसाम लिफ टर्टल । तस्बिरः आरके नेपाल ।

आईयूसीएनको कछुवा विशेषज्ञ समूहका संयोजक प्रा.डा. क्रेक स्टान्डफर्ड भन्छन्, ‘बाटागुर कछुवा धेरै नै जोखिमको सूचीमा छन् । यिनको संख्या पक्कै पनि घटेको छ । नेपालमा पनि यसको बृहत् सर्भे गर्नुपर्ने देखिन्छ ।’

०००

प्राकृतिक वातावरणमा पाइने जीवका सबै प्रजातिको आआफ्नै महत्त्व छ । त्यस्तै कछुवा पनि सिमसारको कुचीकारमध्येमा पर्छ । कछुवाका प्रजातिको अध्ययन, अनुसन्धान नेपाल सरकारको प्राथमिकतामा परेको छैन । ठूला जीवहरूको संरक्षण गर्दा साना जीवहरू आफैं संरक्षण हुने राज्यको मान्यताका कारण नेपालमा साना प्रजातिका जीवबारे संक्षणका योजना नीति निर्माताको चासोमा परेको देखिँदैन । धेरै ठाउँमा कछुवाहरू भेटे मारेर खाइहाल्ने प्रवृत्तिका कारण पनि यसको संरक्षणमा चुनौती थपिएको इन्प्रोक्सका अनुसन्धानकर्तासमेत रहेका पद्मकन्या कलेजका वातावरण उपप्राध्यापक अर्याल बताउँछन् ।

कछुवाको अध्ययन तथा संरक्षणमा नयाँ पुस्तालाई प्रेरित गर्न जेठ ९ गते वातावरण संरक्षण तथा अध्ययन केन्द्रले गोष्ठी गरेको थियो । त्यसमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कछुवाका लागि काम गरिरहेकाहरूले आफ्नो अनुसन्धानको नतिजा प्रस्तुत गरेका थिए । नेपाली अनुसन्धानकर्ताले कछुवाका बारेमा युवा पुस्ताको धारणा, घोडाघोडीको वरपरका कछुवाको अवस्था, मिनी चिडियाखानाका रूपमा स्थापित केन्द्रहरूमा कछुवाको अवस्थिति तथा संरक्षणका लागि कानुनी प्रावधानका विषयमा प्रस्तुतिहरू दिएका थिए ।

इन्डियन ब्ल्याक टर्टल । तस्बिरः आरको नेपाल ।

वातावरण विज्ञानकी विद्यार्थी अंकिता तिमिल्सेनाले रामसारस्थलको रूपमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा अहिले पनि कछुवाको संकलन गर्ने तथा खानाको रूपमा उपयोग गर्ने प्रवृत्ति भएकाले संरक्षणमा चुनौती रहेको बताइन् ।

गोष्ठीमा नेपालभर रहेका १७ वटा मिनी चिडियाखनामध्ये ११ वटामा कछुवा राखिएको पाइएको नारायण निरौलाले बताए । ‘चिडियाखानाहरूमा १ सय ५३ वटा कछुवाहरू रहेको पाइएको छ,’ उनले भने । चिडियाखनाले कछुवा संकलन कहाँबाट गर्छन्, व्यवस्थापन कसरी भइरहेको छ भन्ने बारेमा अनुसन्धान हुनुपर्ने भनाइ राखे । वन तथा वातावरण मन्त्रालयका उपसचिव हरिप्रसाद पाण्डे कछुवा संरक्षणमा सरकारले नीतिगत कामहरू गरेको भए पनि त्यो प्रयासलाई थप परिस्कृत गर्न पर्ने देखिएको बताउँछन् । हालसम्म २९ प्रजाति पाइएको भारतमा एउटा संस्थाले कछुवाका दुर्लभ प्रजाति पहिचान र संरक्षणका लागि मोबाइल एप नै बनाएको छ । कछुवा देख्नेहरूले फोटो र जानकारी राख्दा त्यसबाट संरक्षणमा मद्दत पुगेको छ ।

यो पनि पढ्नुहोस्ः

राज्यको नजरमा नपरेको कछुवा

प्रकाशित : जेष्ठ १९, २०७८ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?