राज्यको नजरमा नपरेको कछुवा 

गोविन्द पोखरेल

काठमाडौँ — नेपालमा प्रायः ठूला वन्यजन्तुलाई प्राथमिकतामा राखेर योजना निर्माण गरिन्छन् । साना जीव र वन्यजन्तुको क्षेत्रमा लगानी न्यून छ । यी जीवकाे संकटापन्न अवस्थाबारे थाहा पाएर पनि राज्य तिनको संरक्षण र कार्ययोजना निर्माणमा मौन देखिन्छ ।

बाघ, अर्ना, गैंडा, हिउँ–चितुवाजस्ता ठूला जीवमा ध्यान दिने राज्यकाे नजरमा कछुवा, माछा, भ्यागुता, सर्पजस्ता जीव परेका छैनन् ।

नेपालको तराई क्षेत्रमा पाइने कछुवाको संरक्षण, अनसुन्धानको सवालमा सरकारले अहिलेसम्म कुनै कार्ययोजना बनाएको छैन । न त चासो देखाएको छ ।सन् २००० देखि मे २३ तारिखलाई विश्व कछुवा दिवसका रूपमा मनाइँदै आएको छ ।

नेपालमा १६ प्रजातिका कछुवा पाइन्छन् । तीमध्ये ५ वटा साइटिस अभिसन्धिको अनुसूची १ र बाँकी ११ वटा अनुसूची २ मा सूचीकृत छन् । यसले पनि यो जीव कति महत्त्वपूर्ण छ भन्ने पुष्टि गर्छ ।

शरीरमा खबटो भएको एकमात्र मेरुदण्डीय जीव हाे कछुवा । बोहरको सन् २००८ मा प्रकाशित अनुसन्धानात्मक आलेखअनुसार मानवीय अतिक्रमणका कारण सबैभन्दा पहिले लोप हुने ढाड भएका जीवकाे सूचीमा कछुवा नै हुने उल्लेख छ । धेरै प्रजातिका कछुवा सिमसारमा आश्रित छन् । सिमसार क्षेत्रको अतिक्रमणले कछुवा प्रजातिलाई निकट भविष्यमा धेरै असर गर्ने उनले उल्लेख गरेका छन् ।

नेपालका कछुवामध्ये इलंगेटेट टर्टोइस (लाम्चे कछुवा, ठोटरी) र तीन धर्के कछुवा (ट्राइक्यारिनेटा) जमिनमा पाइन्छन् । लाम्चे कछुवा संकटापन्न र साइटिस अभिसन्धिको अनुसूची २ मा सूचीकृत जीव हो । यो कछुवाबारे अनुसन्धान गरिरहेकी बालिका चापागाईंका अनुसार यसको मुख्य वासस्थान तराई तथा सिवालिक क्षेत्र हो । विशेष गरी सालका जंगलमा लाम्चे कछुवा पाइने उनले बताइन् । मानवीय अतिक्रमण, वन फँडानीजस्ता गतिविधिले यो झनै संकटमा पर्दै छ । लजालु स्वभावको यो कछुवा अधिकांश समय लुकेर बस्छ । वन फँडानी, आगलागी, सहरीकरण, पानीको स्रोतमा ह्रास, वनक्षेत्रमा विषादी फ्याँक्ने गतिविधि, सिकार गर्ने तथा घरमा पाल्नेजस्ता क्रियाकलापले यो प्रजाति झन् संकटमा परेको ‘आरको नेपाल’ले जनाएको छ । उक्त संस्थाले नेपालमा सरिसृप र उभयचर प्रजातिको अध्ययन/अनुसन्धान एवं संरक्षण गर्दै आएको छ ।

टर्टल ट्याक्सोनोमी वर्ल्ड ग्रुपले सन् २०१७ मा निकालेको प्रतिवेदनअनुसार विश्वमा ३ सय ५६ प्रजातिका कछुवा छन् । तीमध्ये ६१ प्रतिशत प्रजाति खतराको सूचीमा छन् ।

नेपालको तराई क्षेत्र कछुवाको उपयुक्त वासस्थान हो । यी प्रजातिमध्ये केही पानीको स्रोतनजिक, कुनै पानीभित्रै र दलदलमा बस्ने हुन्छन् । पर्यावरणीय दृष्टिले पनि कछुवाकाे विविध महत्त्व छ । यसले सिमसार एवं नदीभित्र पाइने वनस्पति खाइदिएर अन्य जीवका लागि वासस्थान निर्माण गरिदिन्छ । पानीमा पाइने वनस्पतिको उत्पादकत्व बढाइउन सघाउँछ ।

समुद्र एवं ठूला नदीमा पाइने कछुवाको महत्त्व अझ बढी छ । सबैजसाे कछुवाले प्रायः नदी किनारमा अण्डा पार्छन् । कछुवाको अण्डा केही जीवका लागि आहारा बन्छ । अण्डाले सामुद्रिक क्षेत्रमा उत्पादकत्व बढाउन भूमिका खेलेको हुन्छ । अण्डामा भएको करिब ८२ प्रतिशत ऊर्जा जमिनमा मिल्ने र त्यसमा रहेका क्याल्सियमजस्ता पौष्टिक तत्त्वले तटीय क्षेत्रमा घाँस एवं वनस्पति फैलाउन, कटान कम गर्न सघाउने मोसको सन् २०१७ मा प्रकाशित अनुसन्धानमा उल्लेख छ । कछुवाले समुद्र र जमिनबीचको पौष्टिक चक्रमा पनि प्रभाव पारेको अनुसन्धानले देखाएका छन् । कछुवाले पारगसेचनमा पनि भूमिका खेल्छन् । लाम्चे कछुवाजस्ता प्रजातिले कुहिएका जैविक वस्तु खाएर वातावरण सफा गरिदिन्छन् ।

कछुवाको शारीरिक वृद्धि पनि ढिलो हुन्छ । यसको रहनसहन र खानपिनको विशिष्ट मिश्रणले लामो आयु हुने गरेको वैज्ञानिकको दाबी छ । अर्काथरी वैज्ञानिक कछुवाको पाचन प्रक्रिया र कोषको वृद्धि ढिलो हुने भएकाले धेरै वर्षसम्म बाँच्ने बताउँछन् ।

कछुवाकाे अण्डाबाट भाले निस्कन्छ कि पाेथी, त्याे तापक्रमले निर्धारण गर्छ । औसत तापक्रमभन्दा केही बढी हुँदा पोथी र कम हुँदा भाले निस्कने गर्छ । कछुवाले आफ्नो बच्चाकाे रेखदेख गर्दैन । एकपटक अण्डाबाट निस्किएपछि कछुवाले बाँच्नका लागि आफैं संघर्ष गर्नुपर्छ । केही बच्चालाई अन्य जीवले खाइदिन्छन् । कछुवाका बच्चा सर्वाहारी हुन्छन् । केही वयष्क हुँदै गएपछि शाहाकारी हुन्छन् ।

लामो समय बाँच्ने जीव भएकाले यिनको प्रजनन पनि ५० वर्षसम्म हुने गरेको पाइएको छ । फिमेल फल्स म्याप टर्टल २ देखि ३ वर्षको उमेरमा वयष्क हुन्छ भने मड टर्टल ३ देखि ४ वर्षमा । कमन स्न्यापिङ टर्टल १० देखि १२, मेक्सिकन टर्टोइस १४ देखि १५ र अस्ट्रेलियाको ग्रेट बेरियर रिफमा पाइने कछुवा ४० वर्षमा प्रजननयोग्य हुन्छन् । कछुवा गोहीभन्दा अघिदेखि अस्तित्वमा आएको जीव मानिन्छ । नेपालकाे सन्दर्भमा भने कछुवाको यकिन संख्याका विषयमा पनि अध्ययन भएको छैन ।

मानवीय अतिक्रमणसँगै यो जीव संकटमा परेको छ । सहरी क्षेत्रमा कछुवालाई घरपालुवा जीवका रूपमा राख्ने प्रचलन बढ्दै छ । यस्ता कछुवा अधिकांश वासस्थानबाटै चोरेर ल्याइएका छन् । अन्य मुलुकमा पाइने रातो काने कछुवा अहिले ‘एक्वारियम’मा राख्ने गरिएको छ । काठमाडौंको टौदहमा पनि अहिले यस्ता कछुवा ल्याएर छाडिएको पाइएको छ । नेपालका लागि याे कछुवा ‘मिचाहा प्रजाति’बन्दै गएकाले पारिस्थितिकीय प्रणालीलाई असर गर्ने निश्चित छ ।

लेस्मिस पंकटाटा कछुवा । यो नेपालमा धैरे देखिने गर्छ । यो कछुवा बढी मात्रामा मानिसहरुले खाने गरेका छन् ।

१० वर्षअघि क्यारोन नेपालले गरेको एउटा अनुसन्धानमा सुनसरी, कपिलवस्तु, रूपन्देहीमा बढी मात्रामा कछुवाको बेचबिखन हुने गरेको उल्लेख छ । त्यस्ता कछुवा केही मासुका लागि, केही पाल्न र केही अन्य प्रयोजनले सहरमा पठाउने गरिएको जनाइएको छ ।

कछुवालाई हिन्दू धर्मावलम्बीले विष्णुको दोस्रो अवतारका रूपमा लिन्छन् । नेपाल र भारतका कयौं मन्दिरमा विभिन्न प्रजातिका कछुवा राख्ने गरिएको छ । घरमा पनि आयातित प्रजातिका कछुवा पाल्ने चलन बढेको छ ।

मानिसको सोख र अन्धविश्वासका कारण कछुवा चेपुवामा परेको देखिन्छ । नेपालमा मात्र होइन, विश्वमै । सन् २०१९ जुनमा मलेसियामा ५ हजार २ सय ५५ वटा रातोकाने कछुवासहित २ भारतीयलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको थियो । सोही वर्ष फिलिपिन्सको मनिला विमानस्थलमा मुखमा टेप लगाइदिएको अवस्थामा १ हजार ५ सय २९ वटा कछुवा सुटकेसमा भेटिएको थियो ।

वाइल्ड लाइफ जस्टिस कमिसन (डब्लूजेसी) ले सन् २०१६ देखि २०१८ सम्म कछुवाको चोरीतस्करीविरुद्ध ‘अपरेसन ड्रागन’ चलाएको थियो । अपरेसन दौरान २० हजार ४ सयवटा कछुवा पूर्वी एसियाली मुलुकहरूबाट नियन्त्रणमा लिइएको थियो । डब्लूजेसीको प्रतिवेदनअनुसार एसियाली क्षेत्रमा मात्रै वार्षिक ३१ करोड ९८ लाख ४० हजार रुपैयाँबराबरको कछुवाको कारोबार हुन्छ ।

सन् २०१६ मा लुका लुइसेलीको समूहद्वारा प्रकाशित अनुसन्धानले २० वर्षमा २ करोड कछुवाको चोरीसिकार भएको उल्लेख गरेकाे छ । सन् १९९० देखि २०१० सम्मका कछुवा तस्करीको घटनासम्बन्धी अनुसन्धानले ४८ प्रजातिका कछुवा तस्करी हुने गरेको देखाएको छ । यसअनुसार विश्वका १ सय ७ वटा मुलुकबाट कछुवाको तस्करी र ६६ वटा मुलुकमा बेचबिखन हुने गरेको छ । त्यसमा चीनमा (हङकङसहित) मात्रै २७ प्रतिशत कछुवा भित्रिएको उल्लेख छ ।

कोसी क्षेत्रमा कछुवा बेचबिखनमा केन्द्रित भएर अनुसन्धान गरिरहेकी अस्मिता श्रेष्ठका अनुसार एसियाका चीन र भियतनाममा कछुवाका ठूलो बजार हुन् । कछुवाको मासुले यौनक्षमता बढाउने, औषधिका रूपमा प्रयोग हुनेजस्ता अन्धविश्वासले यसको तस्करीलामलजल गरेको छ ।

भारत र नेपालमा कछुवा पाल्दा शुभ हुने धारणाका कारण पनि चोरीसिकार बढेको अनुसन्धानकर्मीको भनाइ छ । यस्ता विविध पक्षले संकटमा पर्दै गएको कछुवाला राज्यले हालसम्म प्राथमिकतामा पार्न सकेको छैन । सरकारी तबरबाट चितवन र बर्दिया निकुञ्‍ज तथा सामुदायिक स्तरबाट झापामा केही पहल गरिए पनि त्याे पर्याप्त छैन । नेपालमा पाइने कछुवा र यसकाे पर्यावरणीय पक्षकाे बृहत् अनुसन्धान भएकाे छैन । प्रकाशित : जेष्ठ १०, २०७७ १२:२५

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कांग्रेस नेता शाक्यको निधन 

माधव अर्याल

पाल्पा — पाल्पाका कांग्रेस नेता चकोरमान शाक्यको ७८ वर्षको उमेरमा शनिबार निधन भएको छ । तानसेन नगरपालिका–३, टक्सार निवासी शाक्यको उपचारको क्रममा काठमाडौंमा निधन भएको हो । 

शाक्यको पछिल्लो समय काठमाडौंमा क्यान्सरको उपचार भइरहेको थियो । उनको पार्थिव शरीरलाई शनिबार बेलुकीसम्म तानसेन ल्याउने र आइतबार शोक सभा गरिनेछ ।

शाक्य झण्डै तीन दशक नेपाली कांग्रेस नगर समितिको सभापति थिए । उनी पछिल्लाे समय कांग्रेसका सल्लाहकार थिए । शाक्य प्रजातन्त्र सेनानी पूर्णमान शाक्यका छोरा हुन् ।


प्रकाशित : जेष्ठ १०, २०७७ १२:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×