सिलिन्डर खोज्दै सरकार

टेन्डरमा कसैले भाग नलिएपछि फेरि आह्वान तयारी
दातासँग मन्त्रालयको समन्वय, खरिद गर्ने जिम्मेवारी स्वास्थ्य सेवा विभागलाई

काठमाडौँ — अक्सिजनको अभाव चर्किएपछि सरकारले दातृ निकाय र छिमेकी मुलुकसँग सहयोगको हात अघि बढाएको छ । टेन्डर आह्वान गर्दा पनि कसैले सहभागिता नजनाएपछि स्वास्थ्य मन्त्रालयले युनिसेफ र चीनलाई अक्सिजन सिलिन्डर तत्काल उपलब्ध गराइदिन गुहारेको हो ।

सिलिन्डर खोज्दै सरकार

अस्पताल भर्ना भएका अधिकांश कोरोना संक्रमितलाई अक्सिजन दिनुपर्ने अवस्था आएपछि मुलुकभर अक्सिजनको अभाव छ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले अक्सिजनको हाहाकार कम गर्न एक साताअघि एक हजार थान सिलिन्डर खरिद गर्न खोज्दा पनि टेन्डरमा कसैले भाग लिएका थिएनन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले शुक्रबार स्वास्थ्य सचिव, विभागका महानिर्देशक, व्यवस्थापन महाशाखाका निर्देशक, औषधि व्यवस्था विभागका महानिर्देशकलगायतलाई बोलाएर आवश्यक स्वास्थ्य उपकरण र अन्य सामग्री तत्काल कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर योजना मागेका थिए । ‘यसअघि टेन्डर गर्दा कसैले इच्छा नदेखाएकाले फेरि छोटो अवधि राखेर टेन्डर निकाल्न निर्देशन आएको छ,’ व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरीले भने, ‘दाताहरूसँग पनि समन्वय गरिरहन्छौं । यता टेन्डर पनि निकाल्छौं ।’

दातासँग मन्त्रालयले समन्वय गरिरहेको छ भने थप सिलिन्डर खरिद गर्ने जिम्मेवारी विभागले पाएको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले चीनले उपलब्ध गराउने २० हजार सिलिन्डरमध्ये ३ हजार ५ सय सिलिन्डर छिट्टै आउने बताए ।

मन्त्रालयले युनिसेफलाई सिलिन्डरको व्यवस्थापन गरिदिन आग्रह गरेको थियो । युनिसेफले बंगलादेशसँग सम्झौता गरे पनि उसले दिन नसक्ने बताएपछि चीनबाटै ल्याएर दिन लागेको तिंकरीले जानकारी दिए । ‘अक्सिजन सिलिन्डर बढाउन कुनै कसरत बाँकी राखेका छैनौं,’ उनले भने । स्वास्थ्य सेवा विभागले अक्सिजन सिलिन्डर खरिदका लागि उत्पादक कम्पनीसँग पनि आग्रह गरिरहेको स्रोतले जनाएको छ । ‘मौखिक रूपमा सहमति जनाए पनि उनीहरू लिखित रूपमा दिन तयार भएका छैनन् । कारबाहीमा परिने डरले अघि बढ्न नचाहेको हुन सक्छ,’ स्रोतले भन्यो ।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले पछिल्लो समय अस्पताल आउने शतप्रतिशत संक्रमितलाई अक्सिजन चाहिएको बताए । ‘जति पनि संक्रमित आउँछन्, सबैको अक्सिजनको मात्रा कम देखिएको हुन्छ,’ उनले भने, ‘कोहीलाई कम दिनुपर्ला, कोहीलाई हाइफ्लोमा दिनुपर्ने हुन्छ ।’ अक्सिजनको सबैभन्दा बढी माग लुम्बिनीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लुम्बिनीमा संक्रमितलाई अस्पतालमा भर्ना गरेर आफन्तले नै अक्सिजन खोजेर लैजाने गरेका छन् । कतिपय उद्योगीले सिलिन्डर अभावकै कारण पूर्ण क्षमतामा प्लान्ट सञ्चालन गर्न नसकेको जनाएका छन् ।

विभागले केही दिनअघि एक हजार सिलिन्डर खरिद गरेर अस्पताललाई वितरण गरेको थियो । काठमाडौं, भक्तपुर र ललितपुर प्रशासन र प्रहरीले उपत्यकाबाट ६ हजार ७ सय ८४ थान सिलिन्डर नियन्त्रणमा लिएर विभिन्न अस्पताललाई वितरण गरेका छन् ।

प्रकाशित : वैशाख २५, २०७८ ०६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?