किन चर्कियो अक्सिजन अभाव ?- समाचार - कान्तिपुर समाचार

किन चर्कियो अक्सिजन अभाव ?

अहिलेकै उत्पादन क्षमताले प्रतिदिन १४ हजार सिलिन्डरसम्मको माग थेग्न सक्छ । हाल माग ११ हजार सिलिन्डरको मात्र छ । कालोबजारी र व्यक्तिगत भण्डारणलगायतका कारण अभाव चर्किन पुगेको हो । प्लान्टहरु पूर्ण क्षमता चलाए दिनहुँ १७ हजार सिलिन्डरसम्म अक्सिजन उत्पादन हुन सक्छ ।
अतुल मिश्र

काठमाडौँ — कोरोना संक्रमितको उपचारमा खपत बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चर्किंदै गएको छ । उपत्यकाका अक्सिजन प्लान्टलाई बुधबारबाट पूर्ण क्षमतामा सञ्चालन गरिए पनि उपत्यकाबाहिरका प्लान्टले क्षमताको ५५ प्रतिशत मात्र अक्सिजन उत्पादन गरिरहेका छन् । उत्पादकहरूले भने सबै प्लान्ट पूर्ण क्षमतामा चल्ने गरी खाली सिलिन्डर नै नरहेको जनाएका छन् ।

ललितपुरमा बिहीबार नियन्त्रणमा लिएका अक्सिजन सिलिन्डर । उपत्यकाका विभिन्न स्थानबाट ६७८४ सिलिन्डर नियन्त्रणमा लिइएको छ । तस्बिर : प्रशान्त माली/कान्तिपुर

अस्पताल भर्ना भएका अधिकांश संक्रमितलाई अक्सिजन चाहिन थालेपछि कतिपय व्यापारीले कालोबजारी गर्दा र व्यक्तिगत तहमा समेत जोहो गरेर राख्नाले सिलिन्डर अभाव हुन थालेको जानकारहरू बताउँछन् । सिलिन्डर लुकाउने प्रवृत्ति बढेपछि स्थानीय प्रशासन र सरोकारवाला निकायले छापा मार्न थालेका छन् । काठमाडौं उपत्यकामा मात्र बिहीबार ६ हजार ७ सय ८४ थान अक्सिजन सिलिन्डर नियन्त्रणमा लिइएको छ । सिलिन्डर लुकाएर मोलमोलाइ गरेको गुनासोपछि बुधबार धनगढीमा जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायतको टोलीले अमित मेडिसिनका सञ्चालक दुष्यन्त बस्नेतको गोदाममा छापा मारेर ६० वटा सिलिन्डर बरामद गरेको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार प्लान्टका ८० प्रतिशतसम्म सिलिन्डर अस्पतालमै रहने भएकाले खाली सिलिन्डर पुनः भरेर पठाउन चुनौती छ ।

अक्सिजन प्लान्टहरूसँग करिब ६० हजार सिलिन्डर रहेको तथ्यांक छ । उत्पादकहरूले भने कोरोना संक्रमण बढिरहेकाले अक्सिजन अभाव हुन सक्ने आकलन गरेर तीन साताअघि नै व्यवस्थापनका लागि सरकारलाई आग्रह गरेको जनाएका छन् । ‘हामीले भारतबाहेकका मुलुकबाट एयर लिफ्ट गरेर तुरुन्त २० हजार अक्सिजन सिलिन्डर ल्याउन भनेका थियौं,’ नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव शारदाले भने, ‘त्यसबेला सरकारले कुरा सुनेन ।’

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले भने आत्तिहाल्नुपर्ने अवस्था नरहेको दाबी गरेका छन् । उनीहरूले अक्सिजन सहज उपलब्ध हुने व्यवस्था गर्न ‘युद्धस्तरमा’ काम भइरहेको जनाएका छन् । ‘हामी अक्सिजन अभाव हुन नदिन प्रयासरत छौं,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले भने, ‘भएका अक्सिजन प्लान्टको क्षमता विस्तार गर्ने र अधिकतम उत्पादन गर्ने जस्ता वैकल्पिक उपायमा काम गरिरहेका छौं ।’ उनका अनुसार गत वर्ष कोरोना महामारीका बेला प्लान्टको क्षमताको २० प्रतिशत उत्पादनले अक्सिजनको माग धानेको थियो । अक्सिजनको माग बढेपछि सरकारले चीनबाट २० हजार थान अक्सिजन सिलिन्डर ल्याउँदै छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले पहिलो चरणमा चीनबाट ३ हजार ५ सय सिलिन्डर सात दिनभित्र आउने जानकारी दिए ।

मुलुकमा तरल अक्सिजन उत्पादन नहुने भएकाले सिलिन्डरको अभाव देखिएको उत्पादकहरू बताउँछन् । उत्पादकहरू भने सरकारले प्रोत्साहन नगर्दा तरल अक्सिजन उत्पादन नगरेको बताउने गरेका छन् । हाल भारतबाट तरल अक्सिजन ल्याइने गरेको छ । मुलुकमै तरल अक्सिजन उत्पादन हुने हो भने ठूलो ट्यांकरमा स्टोर गर्न सकिने उत्पादकहरू बताउँछन् । ‘तरल अक्सिजन स्टोरेजलाई कम ठाउँ चाहिन्छ । तरल अक्सिजन भए सिलिन्डरको समेत अभाव हुँदैन । अक्सिजन अस्पतालको ट्यांकरमै हाल्न सकिन्छ,’ अक्सिजन उत्पादक संघका अध्यक्ष शारदाले भने । तरल अक्सिजन आयात गर्न भने समस्या नरहेको उत्पादकहरूले जनाएका छन् । उनीहरूका अनुसार एक ट्यांकरले १ हजार ५ सय सिलिन्डर बराबर तरल अक्सिजन ल्याउन सक्छ । एक महिनामा १० देखि १५ ट्यांकर तरल अक्सिजन ल्याउने तयारी रहेको उनीहरूको भनाइ छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पौडेलले हाल काठमाडौंमा प्रतिदिन ४ हजार ३ सय ९४ सिलिन्डरको माग रहेको जानकारी दिए । ‘अहिले देशभरिमा ११ हजार २ सय ३३ सिलिन्डरको माग छ,’ उनले भने, ‘अहिलेको उत्पादनले प्रतिदिन १४ हजार ३ सय ७३ सिलिन्डरसम्मको माग थेग्छ ।’ स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. पोखरेलले अक्सिजनको आवश्यकता बढेका बेला कतिपय सिलिन्डर लुकाइएका, रिजर्बमा राखिएकाले समस्या भएको बताए । ‘हामी चिन्तित छौं,’ उनले भने, ‘साना अस्पतालले समेत धेरै परिमाणमा सिलिन्डर मागिरहेका छन् ।’ डा. पोखरेलले बिरामी वृद्घिको यही दर रहे उपत्यकामै केही दिनपछि १२ हजारदेखि १५ हजार सिलिन्डर अक्सिजन चाहिन सक्ने बताए ।

बढ्दो आवश्यकतासँग तारतम्य मिलाउन काठमाडौंका सबै ८ वटा अक्सिजन प्लान्ट बुधबारदेखि शतप्रतिशत क्षमतामा चलाइरहेको अक्सिजन उत्पादक संघका अध्यक्ष शारदाले जानकारी दिए । उनका अनुसार उपत्यकामा दिनमा ४७ लिटर क्षमताका ठूला आठ हजार सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिन्छ । उपत्यकाबाहिर रहेका १६ वटा अक्सिजन प्लान्टले दिनमा ९ हजार सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्छन् । मुलुकका सबै प्लान्टलाई अधिकतम क्षमतामा चलाउँदा दिनमा १७ हजार ठूला सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । ४७ लिटर सिलिन्डरको अक्सिजनको मूल्य करिब ४ सय रुपैयाँ पर्छ ।

काठमाडौं उपत्यकाबाहिरका अक्सिजन प्लान्ट कुल क्षमताको ५५ प्रतिशत मात्र सञ्चालन भइरहेका छन् । अक्सिजन उत्पादक संघका अध्यक्ष शारदाले महामारीका बेला राजधानीबाहिरका अक्सिजन प्लान्टलाई पनि शतप्रतिशत क्षमतामा सञ्चालन गर्न पूर्वाधार व्यवस्थापनलगायतका लागि संयन्त्र विकास तुरुन्त गर्नुपर्ने बताए । ‘अक्सिजन प्लान्ट चलाउनसमेत सिलिन्डर खोज्नुपर्ने अवस्था आएको छ,’ उनले भने ।

कोरोना महामारीअघि काठमाडौं उपत्यकामा ३ हजारदेखि ३ हजार ५ सय सिलिन्डर र उपत्यकाबाहिर ३ हजार सिलिन्डर अक्सिजन चाहिन्थ्यो । त्यतिबेला प्लान्ट करिब एक तिहाइ क्षमतामा चलेका थिए । अक्सिजनको ठूलो सिलिन्डर सामान्यतया २० हजारदेखि २२ हजार रुपैयाँसम्ममा आउँछ । तर हाल चीनले मूल्य बढाएको र हवाई मार्गबाट ल्याउने बाध्यता भएकाले एउटा सिलिन्डरकै ४० हजारसम्म पर्न थालेको अक्सिजन उत्पादक संघका अध्यक्ष शारदा बताए । ‘केरुङ नाकाबाट सिलिन्डर ल्याउन सके केही सस्तो पर्छ,’ उनले भने ।

सहज यातायातको सुविधा भएको ठाउँमा अक्सिजन पुर्‍याउन सजिलो देखिए पनि पहाडी क्षेत्रमा आपूर्ति जटिल, खर्चालु र चुनौतीपूर्ण देखिएको छ । पहाडी जिल्लामा अक्सिजन आपूर्ति गर्न ‘अक्सिजन कन्सन्ट्रेटर’ उपयोग गर्ने रणनीतिमा स्वास्थ्य मन्त्रालय देखिएको छ । अक्सिजन कन्सन्ट्रेटरले हावामा भएको अक्सिजनलाई एकत्रित गर्छ । वातावरणको हावामा करिब ७८ प्रतिशत नाइट्रोजन, २१ प्रतिशत अक्सिजन र एक प्रतिशत अन्य ग्यास हुन्छन् । अक्सिजन कन्सन्ट्रेटरले वातावरणको हावालाई तानेर नाइट्रोजन फ्याँक्छ र अक्सिजन बिरामीका लागि उपलब्ध गराउँछ । यसबाट प्राप्त अक्सिजन ९० देखि ९५ प्रतिशतसम्म शुद्ध हुन्छ । आईसीयूमा भर्ना गर्नुपर्ने गम्भीर अवस्थाका बिरामीका लागि कन्सन्ट्रेटर प्रभावकारी नहुन सक्छ । किनभने उनीहरूलाई एक मिनेटमा २४ लिटर वा योभन्दा बढी अक्सिजन चाहिन सक्छ । ‘दुर्गम पहाडी क्षेत्रमा अक्सिजन कन्सन्ट्रेटर उपयोग गर्नु सहज छ । कन्सन्ट्रेटरले प्रतिमिनेट १० लिटर अक्सिजन दिन सकिन्छ,’ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सिंहले भने, ‘२ सय ४० वटा कन्सन्ट्र्रेटर वितरण गरिसकेका छौं, १ सय ५० वटा कन्सन्ट्रेटर वितरण गर्दै छौं । अरू ४ सय वटा आउँदै छ ।’ मन्त्रालयले हालसम्म एक हजार वटा ठूला अक्सिजन सिलिन्डर किनेर वितरण गरिसकेको जनाएको छ ।

प्लान्टमा प्रहरीको पहरा

सुनसरी– अक्सिजन अभावका बेला दुरुपयोग रोक्न सुनसरीका तीन अक्सिजन प्लान्टमा प्रहरीले पहरा दिन थालेको छ । स्थानीय प्रशासनले इटहरी उपमहानगरको खनारस्थित दुर्गा अक्सिजन प्लान्ट, दुहबी नगरपालिकाको सोनापुरस्थित विनायक अक्सिजन प्लान्ट र पाथीभरा अक्सिजन प्लान्टमा चार दिनदेखि प्रहरी खटाएको हो ।

स्वास्थ्य क्षेत्रमा मात्र अक्सिजन प्रयोग गर्न निर्देशनसमेत जारी गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । ‘भारतको दिल्लीको जस्तो यहाँ नहोस् भनेर पहिलेदेखि नै अक्सिजन प्लान्टमा प्रहरी खटाइएको हो,’ उनले भने ।

सुनसरीमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित सुनसरी र मोरङका अक्सिजन प्लान्टसँग ठूलासाना गरेर करिब १६ हजार सिलिन्डर छन् । ती प्लान्टबाट दिनमा ५ हजार सिलिन्डरमा अक्सिजन भर्न सकिन्छ । प्रतिष्ठानबाहेकका सुनसरी र मोरङका प्लान्टले जनकपुरदेखि पूर्वका अस्पताल र उद्योगका लागि अक्सिजन उत्पादन र बिक्री गर्दै आएका छन् ।अ

प्रकाशित : वैशाख २४, २०७८ ०६:२२
प्रतिक्रिया
पठाउनुहोस्

संक्रमितका स्वास्थ्य अवस्था बुझ्‍न घरघरै पुगे मेयर

मधु शाही

बाँके — नमस्कार ! के छ तपाईंको स्वास्थ्य स्थिति ? भन्दै बाँके, कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले बिहीबार दिनभरी आफ्नो वडाका कोरोना संक्रमितको घरघरै पुगे । नगरपालिकाले संचालनमा ल्याएको कोभिड अस्थायी अस्पताल र घरै आइसोलेट भएका बिरामीलाई भेटेरै मनोबल बढाउन भन्दै उनी संक्रमितको अवस्था बुझ्न खटिएका हुन् ।

त्यसक्रममा संक्रमितहरुले बेलैमा उपचार पाएका छन् कि छैनन ? स्वाथ्यकर्मीले सोधपुछ गरेका छन् या छैनन् ? उपचारमा केही समस्या छ कि छैन ? लगायतका विषय पनि बिरामीसँग प्रत्यक्ष रुपमा बुझे ।

उनी आफै पनि पहिलो चरणको कोरोना लहरमा संक्रमित भएको अनुभव सुनाउँदै होम आइसालेसनमा बसेका संक्रमितलाई घरेलु औषधि बनाउने तरिकासमेत सिकाएका थिए ।

उमेर ७० नाघेका मेयर रावतका अनुसार परम्परागत रुपमा बुढापाकाले खाने खानपिन, जीवनशैली स्वास्थ्यका लागि लाभदायक रहेको छ । बेसार, बोझो, कुरिलो, मह, तुलसीको पातजस्ता घरमा सजिलै पाइने जडिबुटी सेवन गरेर शरीर स्वस्थ्य हुने उनले बताए । ‘कुरिलो, तुलसी, मह हाम्रा पुर्खौली आयुर्वेद औषधि हुन्’, उनी भन्छन्,‘म ७० नाघे, अहिले पनि नियमित खान्छु ।’

आफू संक्रमित हुँदा उच्च मनोबल बनाएर कोरोनासँग लडेको बताए । सबैभन्दा ठूलो औषधी हिम्मत रहेको र जित्न सक्छु भन्ने आत्मविश्वास बढाउन जरुरी रहेको उनले बताए ।

कोरोना संक्रमितका घर घरमै गएर मेयरले स्वास्थ्य अवस्था सोधपुछ गर्दा स्थानीय जनताले आत्मीय महसुस गरेका थिए । कोहलपुर नगरपालिका १४ की संक्रमित महिलाले जनप्रतिनिधि नै आएर स्वास्थ्य बुझ्दा मनोबल उच्च भएको बताइन् । उनले पाका मेयरसँग परम्परागत आयुर्वेदिक औषधि सेवनका ज्ञानसमेत लिएकी थिइन् ।

कोहलपुर नगरपालिकाले नगरवासीका लागि दुई वटा अस्थायी कोभिड अस्पताल सञ्चालन गरेको छ । कोहलपुर नगरपालिकाका कोरोना फोकल पर्सन गेहराज खनालले वडामा संक्रमित अधिकांश होम आइसोलसनमा रहेको बताए । अति बिरामी भएकालाई मात्रै अस्पताल भर्ना गरेर अक्सिजनको व्यवस्था मिलाएको उनले बताए ।

प्रकाशित : वैशाख २३, २०७८ २२:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×