३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

निर्वाचन आयोगले नेकपा एमाले ओलीलाई दिए पनि नआत्तिन नेपालको आग्रह

काठमाडौँ — नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोगले वैधानिक रूपमा नेकपा एमाले केपी ओलीलाई दिए नआत्तिन नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।

निर्वाचन आयोगले नेकपा एमाले ओलीलाई दिए पनि नआत्तिन नेपालको आग्रह

मंगलबार आफू निकट वाग्मती प्रदेश कमिटीको बैठकमा बोल्दै नेता नेपालले निर्वाचन आयोगले केपी ओलीलाई वैधानिकता दिइ अध्यक्ष मानेमा नआत्तिन आग्रह गरेका हुन् । उनले समस्या आएमा समाधान निकाल्ने बताए ।आफ्नो पक्षमा लागेका कुनै पनि नेता कार्यकर्तालाई बिचैमा अलपत्र नपार्ने पनि नेता नेपालले बताए ।

एउटै डुंगामा यात्रा गर्नेहरुलाई आफूले सफलताका साथ वारीबाट पारी पुर्‍याइ छाडने प्रतिवद्धता उनले व्यक्त गरे । उनले भने, ‘भोलि वैधानिकरुपमा नेकपा एमालेमा केपी ओली नै अध्यक्ष हो भनेर निर्वाचन आयोगले भन्यो भने के गर्नुपर्ला भनेर तपाईंहरुलाई परेको होला । नआतिनुहोस्, जहाँ समस्या छ त्यहाँ समाधान छ । समाधान हामी निकाल्ने छौं । त्यसो हुनाले बीचमा तपाईंहरुलाई छाडने छैनौं । तपाईंहरु र हामी एउटै डुंगामा सवार भएका छौं । त्यो डुंगालाई सफलताका साथ वारीबाट पारी पुर्‍याइ छाडने छौं । लक्ष्यसम्म पुगी छाडने छौं । त्यसो हुनाले आत्तिनुपर्ने केही छैन ।’

नेता नेपालले आफूहरु लोकतान्त्रिक कम्युनिष्ट शक्तिहरुसँग एकताबद्ध भएर जान चाहिरहेको पनि स्पष्ट पारेका छन् । त्यस क्रममा विभिन्न राजनीतिक दलहका नेतृत्वहरुसँग कुराकानी भइरहेको पनि बताए । उनले भने, ‘हामीले संयुक्त जनमोर्चासँग कुरा गर्‍यौं । उहाँहरु सकारात्मक हुनुहुन्छ । नेकपा माओवादी मोहन वैद्यजीहरुको समूहसँग कुरा गर्‍यौं । उहाँहरु पनि सकारात्मक हुनुहुन्छ । अरु लोकतान्त्रिक पार्टीहरु पनि हाम्रो कुरालाई सकारात्मक रुपमा लिइरहनु भएको छ । हामी सबै सकारात्मक शक्तिहरुसँग एकतावद्ध भएर जान चाहन्छौं । हामीले कसैप्रति नकारात्मक भाव राख्नुपर्ने छैन । तर यदि हाम्रो पार्टी अगाडि बढ्ने क्रममा कसैले बाधा अवरोधहरु खडा गर्‍यो भने त्यसका विरुद्धमा हामी जुध्नका लागि तयार छौं । यही संकल्पका साथ हामी यहाँ भेला भएका छौं ।’

आफूलाई केपी ओली पक्षले भावनात्मक ब्ल्याकमेल गरिरहेको पनि उनले बताए । आफूलाई दाहालसँग मिल्न जाने, कार्यकर्ता बन्न जाने भन्दै ब्ल्यकमेल गरिरहेको उनले बताए । तर केपी ओलीले दाहालसँग चोचोमोचो मिलाउँदा विरोध गर्ने व्यक्ति आफू नै भएको बताए । अहिले दाहाल र अन्य दलहरुसँगको दूरी बढाउनका लागि र आफ्नो सत्ता जोगाउनका लागि केपी ओलीले देशको हितमाथि कुठाराघात गरिरहेको नेता नेपालको भनाइ थियो ।

यस्तै, केपी ओलीले आफूहरुलाई ६ महिनाका लागि निलम्बन गरेर आफ्नो वास्तविक स्वरुप देखाएको पनि नेता नेपालले बताए । आफूहरुमाथि कारबाही गर्दा घुँडा टेक्न आउँछन् कि भन्ने भ्रम केपी ओलीमा रहेको उनले बताए ।

त्यस्तै, अहिले प्रतिनिधिसभा ब्युँतिएपछि पनि ओलीले चुनाव गराउँछु भन्दै हिँडिरहेको उनले बताए । उनले केपी ओलीसँग जोडिएका व्यक्तिहरुले आफूहरुलाई पहिलादेखि नै सताउँदै आएको पनि बताए । २०५१ सालदेखि नै मदन भण्डारी फाउण्डेसन बनाएर पार्टीमा गुटको कमिटी बनाउँदै केपी ओली हिँडेको स्पष्ट देखिएको उनले बताए ।

अहिले आफूहरुले पार्टी जोगाउन र बचाउन धेरै प्रयत्न गरेपनि केपी ओलीको अगाडि नसकेको उनले बताए । केपी ओलीको प्रवृत्तिलाई आफूहरुले स्वीकार गर्न नसक्ने पनि उनले स्पष्ट पारे । ओलीसँग आफूहरुको विचारमा विवाद भएको बताउँदै उनले आफूहरु सामूहिकता, बहस र विचार मन्थनमा विश्वास गर्ने तर अध्यक्ष ओली व्यक्तिवादी, आदेश र निर्देशनमा विश्वास गर्ने भएकाले विवाद भएको बताए ।

प्रकाशित : चैत्र २४, २०७७ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?