१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

माधव नेपाल पक्षको वक्तव्य- ओलीका अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कृत्य पराजित गर्छौं

काठमाडौँ — नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी गतिविधि पराजित गरिछाड्ने बताएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल पक्षले ओलीमा अहंकार र संकीर्णतामा रमाउने प्रवृत्ति रहेको पनि आरोप लगाएको छ ।

माधव नेपाल पक्षको वक्तव्य- ओलीका अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कृत्य पराजित गर्छौं

गत शुक्रबार ओली पक्षको केन्द्रीय कमिटी बैठकले नेपाल पक्षका पदाधिकारीको पद खारेजी र जिम्मेवारी खोसेको थियो । त्यसपछि नेपाल पक्ष असन्तुष्टि राख्दै फरक गतिविधि गर्दै आएको छ । यो समूहले छुट्टै राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ भने निर्वाचन आयोगमा ओली समूहले गरेका निर्णयलाई वैधानिकता नदिन पत्र लेखेको थियो ।

निर्वाचन आयोगलाई पत्र लेखेपछि नेपाल पक्षका नेताहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन् । 'सम्पूर्ण पार्टी सदस्य र समर्थकहरूले केपी ओलीको राज्यसत्ता संरक्षित दक्षिणपन्थ र विसर्जनवादका विरुद्ध दृढताका साथ संघर्ष गर्दै अघि बढ्नु अपरिहार्य भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी, लेनिनवादी)को सिद्धान्त, नीति र विधि हाम्रो पक्षमा छ र हामी केपी ओली गुटका अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कृत्यहरूलाई पराजित गरी छाड्नेछौं,' विज्ञप्तिमा उल्लेख छ ।

वक्तव्यमा मुलुकको अग्रगामी परिवर्तनलाई सुदृढ र वामपन्थी शक्तिहरूलाई एकताबद्ध बनाउँदै अगाडि बढ्नुपर्ने लेखिएको छ । ओलीमा कम्युनिष्ट पार्टीको सदस्यका सामान्य राजनीतिक आचरण नैतिकता नरहेको तथा अहंकार, संकीर्ण स्वार्थमा रमाउने प्रवृत्तिले रहेको नेपाल पक्षको भनाइ छ ।

ओली विधानअनुरुप सञ्चालन गर्नबाट ओली चुकेको र गुटगत गतिविधि अगाडि बढाएको नेपाल पक्षको भनाइ छ । 'विधानअनुरूप पार्टी सञ्चालन हुनुपर्ने कुरामा जोड दिँदा केपी ओली गुटलाई पाच्य भएन । कार्यकर्ता र जनताका सामू लोकतन्त्र र विधिका नक्कली कुरा गर्दै व्यवहारमा निरंकुश र तानाशाही व्यवहार गर्ने, गुटबन्दी गर्ने, दक्षिणपन्थी अवसरवादलाई अंगाली वामपन्धी आन्दोलन र पार्टीलाई विसर्जनको दिशातिर लैजाने काम केपी गुटबाट भयो,' अगाडि भनिएको छ, 'अन्तत:, सात दशक लामो संघर्षबाट नेपाली कम्यनिष्ट आन्दोलनले प्राप्त गरेका उपलब्धिमाथि घात गर्दै जनता, देश र पार्टीमाथि नै विश्वासघात गरिएको छ। उपर्युक्त वस्तु तथ्यले केपी ओलीबाट कम्युनिष्ट पार्टीलाई एकीकृत हुन नदिने, वामपन्थीहरूको नेतृत्वमा देश र जनताप्रति समर्पित सरकार सञ्चालन गर्न नदिने तथा विधि र पद्धतिको रक्षा गर्न नदिने कार्य नै भइरहने देखिन्छ ।'

यस्तो स्थितिबाट देश र पार्टीलाई जोगाउन, वामपन्थीहरूको सरकार बनाएर नेपालको संविधानद्वारा निर्देशित समाजवाद उन्मुख प्रणालीलाई अगाडि बढाउन सक्रिय हुनुपर्ने यो समूहको आग्रह छ । पार्टीलाई विभाजनबाट रोक्नुपर्ने यो समूहको भनाइ छ ।

विज्ञप्तिमा माधवकुमार नेपाल, झलनाथ खनाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, घनश्याम भुसाल, भीमप्रसाद आचार्य, मुकुन्द न्यौपाने, योगेशकुमार भट्टराई, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टको हस्ताक्षर रहेको छ ।

पढ्नुहोस् विज्ञप्तिको पूर्णपाठः

प्रकाशित : चैत्र १, २०७७ २२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?