यसरी बरामद भयो बहुमूल्य ‘युरेनियम’

डेढ अर्बमा डिल, ४ करोड कमिसन, ग्राहक बनेर पुगेको थियो प्रहरी

फाल्गुन २९, २०७७

गोविन्द पोखरेल, मातृका दाहाल

काठमाडौँ — दुई साताअघि नेपाल प्रहरीलाई कतैबाट सूचना आयो– ‘बौद्ध क्षेत्रमा बहुमूल्य खनिज पदार्थ युरेनियम (रेडियोधर्मी पदार्थ) बेच्न ग्राहकको खोजी भइरहेको छ ।’ प्रहरीलाई सुरुमा पत्यार लागेन । नेपालमा युरेनियमको खरिदबिक्री सम्भवतः अहिलेसम्म खुला गरिएको छैन । युरेनियमको खपत हुने अस्पताललगायत क्षेत्रले पनि विदेशबाट आयात गर्दा निश्चित सर्त र बन्देज पालना गर्नुपर्छ ।

प्रहरीले पनि विगतमा युरेनियम कसैबाट बरामद गरेको थिएन । युरेनियम खानी भएको सम्भाव्यता अध्ययनपछि बल्ल केहीअघि मात्रै मुस्ताङको लोमन्थाङमा सेनाले खानी सुरक्षार्थ फौज तैनाथ गरेको थियो । त्यसबाहेक युरेनियमबारे खासै छलफल र बहस पनि भएको छैन । तैपनि काठमाडौं उपत्यका प्रहरी कार्यालय र प्रहरी वृत्त बौद्धको टोली सूचनामा भनिएअनुसार युरेनियम बेच्नेको खोजीमा जुट्यो ।

हुलिया बदलेर सादा पोसाकका प्रहरी ‘युरेनियम’ किन्न ग्राहक बनेर पुगे । सूचनामा उल्लेख गरिएअनुसार खोजी गर्दै जाँदा प्रहरी युरेनियम राख्ने र बिक्रीको योजना बनाउने दुई जना र ग्राहक खोज्ने दुई गरी चार जनाको पहुँचमा पुग्यो । त्यही क्रममा रामेछापका ४० वर्षीय नारायणसिंह तामाङ र सोही ठाउँ घर भई हाल बौद्धमा बस्दै आएकी ४० वर्षकी जानुका तामाङ, रामेछापकै २० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपानेसँग हुलिया बदलेका प्रहरीले करिब डेढ सातासम्म युरेनियम किन्न डिल गरे ।

१ अर्ब ५० करोडदेखि २ अर्बसम्ममा युरेनियम किन्ने गरी डिल भयो । ग्राहकमार्फत नै नारायणसिंह हुँदै जानुकाको बौद्धस्थित घरसम्म ग्राहक बनेका प्रहरीको पहुँच पुगेको थियो । युरेनियम भनिएको सामान जानुकाकै घरमा राखिएको रहेछ । युरेनियम हो/होइन भनेर ग्राहकभेषी प्रहरीले ‘स्याम्पल’ ‘नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा परीक्षण गरायो । परीक्षणमा उक्त वस्तुमा प्रशोधन नगरिएको ‘युरेनियम–२३८’ का कण भेटियो । यद्यपि नास्टको परीक्षणबाट प्रमाणित यसबारेको तथ्य भने आउन बाँकी नै छ ।

वैज्ञानिकहरूका अनुसार यो भनेको प्रशोधनअघिको प्राकृतिक युरेनियम कच्चापदार्थ हो । प्रशोधन गरिएको युरेनियमलाई ‘युरेनियम–२३५’ उल्लेख गरिन्छ । प्रशोधित युरेनियम अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलो १५ देखि २० अर्ब रुपैयाँसम्म पर्न सक्ने बताइएको छ । प्रहरी जानुकाको कोठामा युरेनियम किन्न पुगेपछि सबै एकसाथ पक्राउ परेका थिए । त्यसपछि मात्रै उनीहरूले थाहा पाए– ग्राहक बनेर पुगेको टोली त प्रहरी रहेछ । स्टिलको क्यान र प्लास्टिकको बट्टामा राखिएको अवस्थामा प्रहरीले करिब २ केजी ९ सय ग्राम सामान बरामद गर्‍यो । उनीहरूलाई प्रहरीले बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

जानुका, नारायणसिंह र अन्य दुई जनालाई बरामद सामानसहित उपत्यका प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले पत्रकार सम्मेलन गरी सार्वजनिक गरे । ‘बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनियम भएको परीक्षणबाट पुष्टि भएको छ । पक्राउ परेकालाई विस्फोटक पदार्थसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ,’ पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएको छ । प्रहरीले बरामद वस्तु अन्दाजी साढे २ केजी भने पनि २ केजी ९ सय ग्राम भेटिएको छ । बरामद सबै सामान नास्टमा पठाइएको छ ।

त्यसको रिपोर्ट नास्टले आइतबार मात्रै दिने भनेको एआईजी पालले बताए । प्रहरीसँगको प्रारम्भिक सोधपुछका क्रममा ग्राहक खोज्ने जिम्मा पाएका प्रकाश चौहान र मनोज न्यौपानेले आफूहरूलाई २–२ करोड रुपैयाँ कमिसन दिने प्रलोभन दिएको बताएका छन् । ‘ग्राहक खोज्नु, यसबाट दुई जनालाई ४ करोड कमिसन आउँछ भनेपछि हामी लोभियौं,’ मनोज र प्रकाशले बयानमा भनेका छन् । 

जानुका छोराछोरीसहित बौद्धमै बस्छिन् । उनका पति अमेरिकामा छन् । जानुकाका ससुरा अमर लामा पहिले भारतको खानीमा मजदुरी गर्थे । करिब अढाई दशकअघि खानीबाट अमर नेपाल फर्किएका थिए । त्यसबखत अमरले बट्टामा हालेर केही सामान ल्याएका थिए तर परिवार र बाहिरका कसैलाई पनि सुइँको दिएका थिएनन् । केही वर्षदेखि अमर पनि छोरीज्वाइँसँगै अमेरिकामा बस्छन् तर आफूसँग भएको सामानबारे उनले केही नखुलाएको जानुका बताउँछिन् । ‘यो बहुमूल्य वस्तु हो मात्रै भन्नुभएको थियो, हामीले पनि त्यतिबेला केही वास्ता गरेनौं, पछि पो यसबारे थाहा भयो,’ उनले भनिन् । युरेनियम भन्ने शंका लागेपछि जानुका र नारायणसिंहले पनि गोप्य रूपमा त्यसको परीक्षण गरेको र त्यसपछि मात्रै बिक्रीका लागि ग्राहक खोज्दै हिँडेको हुन सक्ने प्रहरीको आशंका छ ।

अनुसन्धानमा भएकाले यसबारे केही खुलाइएको छैन । जानुकाले प्रहरीलाई दिएको जानकारीअनुसार उमेरले ८० काटेका ससुरा अमर पक्षघात भएका कारण हिँडडुल गर्न सक्दैनन् तर त्यसको पुस्ट्याइँ भइनसकेको प्रहरीले जनाएको छ । अमरबारे उनकी छोरीसँग प्रहरीले शुक्रबारै अमेरिकामा कुराकानी गर्‍यो । ‘बुबा बोल्न सक्नुहुन्न, प्यारालाइसिस भएको छ, हामीलाई यसबारे केही थाहा छैन’ भन्दै उनी पन्छिएकी छन् । 

ससुरा र पति अमेरिकामै भएको बेला केही समयअघि नै उक्त सामानबारे जानुकाले चिनेजानेकै नारायणसिंहलाई जानकारी गराएकी रहिछन् । नारायणसिंह पेसाले औषधि विक्रेता भएको बताएका छन् । औषधिसम्बन्धी जानकार भएकै कारण उनले युरेनियमसम्बन्धी जानुकाबाट सुइँको पाएका रहेछन् । ‘गोप्य सूचनाका आधारमा हामीले केही साताअघिबाटै यसमाथि निगरानी बढाएका थियौं, हाम्रा टोली ग्राहक बनेर खटिएका थिए,’ उपत्यका प्रहरी कार्यालयका एआईजी पालले कान्तिपुरसँग भने, ‘सूचनालाई पछ्याउँदै जाने क्रममा युरेनियम छ भन्ने पुष्टि भयो । परीक्षणमा युरेनियमको कच्चापदार्थ हो भन्ने अनौपचारिक जानकारी पाएका छौं, विस्तृत रिपोर्ट नास्टबाट आइतबार आउँछ ।’

यसअघि भारतमा सन् २०१८ र सन् २०१० मा १/१ केजी युरेनियम बरामद भएको थियो । नेपालमा भने अहिलेसम्म युरेनियम बरामद भएको जानकारी आफूसँग नभएको एआईजी पालले बताए । पक्राउ परेका चारै जनालाई अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । चारैलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ । बहुमूल्य खनिज भएका कारण युरेनियमको कारोबार आफैंमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा खतरासँग पनि जोडिन्छ भने मानवलगायत जीवको स्वास्थ्यका दृष्टिकोणले युरेनियम ज्यादै हानिकारक मानिन्छ ।

राष्ट्रिय सुरक्षा संवेदनशीलताकै कारण अध्ययनबाट खानी क्षेत्र भएको पुष्टिपछि लोमन्थाङमा १ हजार २ सय ७१ रोपनी क्षेत्रफलको सुरक्षामा सेना तैनाथ छ । २०७३ साउन ७ को मन्त्रिपरिषद् बैठकले लोमन्थाङमा सम्भावित युरेनियम खानी सुरक्षार्थ सेना परिचालनको निर्णय गरेको थियो । सन् १९९० तिर मकवानपुरको धियाल–तीनभंगाले क्षेत्रमा पनि युरेनियम सम्भाव्यता अध्ययन गरिएको थियो । तर, यसको संरक्षण र सुरक्षामा सरकारले ध्यान दिएको छैन । युरेनियमलगायत बहुमूल्य खानी क्षेत्र सबैको पहुँचमा समेत नदिने चलन छ ।

नेपालमा पनि युरेनियमको उत्खनन, प्रयोग र बिक्रीसम्बन्धी रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन–२०७७ जारी भइसकेको छ । गत असार ११ मा  राष्ट्रपतिबाट ऐन प्रमाणिकरण भएको हो । ऐनको दफा ५५ मा ‘नेपालभित्र फेला परेको रेडियोधर्मी पदार्थ वा सोसँग सम्बन्धित पदार्थउपर नेपाल सरकारको स्वामित्व रहनेछ’ भनिएको छ । 

के हो युरेनियम ?

सन् १९४५ को अगस्टमा जापानको हिरोसिमामा एउटा १० मिटर ठूलो बम खस्यो । बम खसेको क्षणभरमै हिरोसिमा सहर नासियो । हजारौं मानिसहरूको ज्यान गयो । यो घटनामै हो संसारले पहिलो पटक देखेको ‘युरेनियम’ को शक्ति । एक केजी युरेनियमबाट दुई लाख मेगावाट इलेक्ट्रोनभोल्ट ऊर्जा उत्पादन हुने अमृत साइन्स कलेजमा भौतिकशास्त्र अध्ययनरत मदन भण्डारी बताउँछन् । युरेनियम प्राकृतिक रूपमा टुक्रिनका लागि पनि धेरै समय लाग्ने गर्छ ।

रसायनशास्त्रमा आधुनिक पेरियोडिक तालिकामा तत्त्वहरूलाई उनीहरूको आणविक संख्याको आधारमा वर्गीकरण गरेर राखिएको छ । उक्त तालिकाको ९२ नम्बरमा छ, युरेनियम अर्थात् ‘यू’ । रेडियोधर्मी पदार्थ भएकाले यसबाट विभिन्न प्रकारका विकिरणहरू आउने भौतिकशास्त्र केन्द्रीय विभागका प्राध्यापक राजु खनाल बताउँछन् । एक हजार १ सय ३२ डिग्री सेल्सियस तापक्रममा पग्लने युरेनियमका ‘यू–२३८’, ‘यू–२३४’, ‘यू–२३५’ जस्ता आइसोटप्सहरू पाइन्छन् । आइसोटप्स भनेको एउटै तत्त्वको धेरै न्युट्रोनहरू हुन्छन् । यू–२३८ प्राकृतिक रूपमा धेरै पाइने गरे पनि यू–२३५ प्रशोधन गरेर निकालिने नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक एवं आणविक पदार्थ विज्ञ बुद्धराम साह बताउँछन् । 

युरेनियम प्राकृतिक रूपमा कम मात्रामा पाइने खनिज भएको उनले बताए । युरेनियम २३८ प्राकृतिक रूपमा पाइने गरे पनि यू–२३५ धेरै कम मात्रामा पाइने उनले सुनाए । आणविक भट्टी केन्द्रहरूमा यू–२३८ लाई टुक्र्याएर यू–२३५ बनाइने गरेको उनको भनाइ छ । यू–२३५ आणविक भट्टीमा प्रयोग हुने गरेको छ । 

‘यू–२३५ सजिलैसँग टुक्र्याउने सकिने भएकाले यो बम बनाउनका लागि प्रयोग हुन्छ,’ वरिष्ठ वैज्ञानिक साहले भने । प्रहरीले बरामद गरेको वस्तु युरेनियम नै हो भने यसलाई यति रकम नै पर्छ भन्न नसकिने बताए । अन्तर्राष्ट्रिय आणविक एसोसिएसनका अनुसार विश्वमा १० प्रतिशत विद्युत् युरेनियम प्रयोग गरिएका आणविक भट्टीहरूबाट उत्पादित हुने गरेको छ । युरेनियम मेडिकल, सैन्यलगायत क्षेत्रहरूमा प्रयोग हुने गर्छ । 

खानी तथा भूगर्भ विभागका प्रवक्ता नारायण बाँस्कोटाले नेपालमा मकवानपुरको तीनभंगाले, मुस्ताङको लोमन्थाङ र बैतडीमा युरेनियमका कणहरू भेटिएको बताए । उनले भने, ‘यी क्षेत्रहरूमा युरेनियमका कणहरू भेटिएकाले हामीले प्रारम्भिक रूपमा अध्ययन गरेका छौं ।’ यो तत्त्व नेपालमा शुद्ध रूपमा पाइन्छ भन्ने सम्बन्धमा बृहत् अनुसन्धान नभएको बाँस्कोटाले बताए । नेपालमा यसको शुद्धता परीक्षण र अनुसन्धान गर्ने सबै उपकरणहरू नभएकाले थोरै अध्ययन भएको उनले बताए । 

‘नेपालमा शुद्ध युरेनियम सम्भावना नै छैन’

नेपाल प्रहरीले बरामद गरेको सामान युरेनियम–२३८ नै भएको बताए पनि विज्ञहरूले त्यसमा आशंका व्यक्त गरेका छन् । नास्टका प्रवक्तासमेत रहेका भौतिकशास्त्री डा. सुरेशकुमार ढुंगेलले प्रहरीले परीक्षणका लागि ल्याइएको पदार्थमा विकिरणको मात्रा असामान्य रूपमा अत्यधिक देखिएको बताए ।

‘परीक्षणका लागि ल्याइएको पदार्थ ठ्याक्कै युरेनियम भन्न सकिने अवस्था नै छैन, विकिरणहरू असामान्य रूपमा छ । यो प्रारम्भिक चरणमै छ,’ उनले भने, ‘प्रहरीले परीक्षणका लागि ल्याएको वस्तु परीक्षण रिपोर्ट नआएसम्म युरेनियम नै हो भन्न सक्ने अवस्था छैन ।’ 

गोविन्द पोखरेल विज्ञान, वन, वातावरण, प्रविधि लगायतका क्षेत्रमा कलम चलाउँछन् ।

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully